काठमाडौं । कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दैछ ।
बिहान ८ः३० बजे पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा कांग्रेस पुराना नेता एवं पूर्वसांसद ढुण्डिराज शास्त्रीप्रति पार्टीका तर्फबाट श्रद्धाञ्जली व्यक्त गर्न र सम्मान साथ अन्तिम बिदाइ गर्नका लागि आकस्मिक बैठक बोलाइएको जनाईएको छ । बैठकमा शोक प्रस्ताव पारित गरिने बुझिएको छ ।
शास्त्रीको ९० वर्षको उमेरमा सोमबार बिहान निधन भएको थियो ।
शास्त्री विसं २०४८ र २०५१ मा अर्घाखाँची निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।
कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै
प्रधानमन्त्री र पूर्वराष्ट्रपति भण्डारीबीच बालुवाटारमा भेटवार्ता
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति तथा तत्कालीन एमाले उपाध्यक्ष विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ ।
मंगलबार साँझ पूर्वराष्ट्रपति भण्डारी प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेकी थिइन् । उनीहरूबीच करिब २ घण्टा कुराकानी भएको बालुवाटार स्रोतले जनायो ।
पछिल्लो समय अध्यक्ष ओली र पूर्वराष्ट्रपति भण्डारीबीचको सम्बन्धमा तिक्तता आएको सार्वजनिक टिप्पणी भइरहेका बेला यो भेटवार्तालाई अर्थपूर्ण रूपमा हेरिएको छ । भेटमा उनीहरुबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको जनाईएको छ ।
भेटमा पूर्वराष्ट्रपति भण्डारीले हालै भएको आफ्नो चीन भ्रमणका बारेमा पनि प्रधानमन्त्री ओलीलाई जानकारी गराएकी थिइन् ।
एमाले पूर्वउपाध्यक्ष समेत रहेकी पूर्वराष्ट्रपति भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्किने तयारीमा छिन् ।
दिलभूषणलाई उपस्थित हुन भन्दै साइबर ब्यूरोले जारी गर्यो सूचना
काठमाडौं । नेपाल प्रहरीको साइबर ब्यूरोले कार्यालयमा उपस्थित हुन भन्दै पत्रकार दिलभूषण पाठकको नाममा सूचना जारी गरेको छ ।
पीडित ‘साइबर ब्यूरो ५९’को जाहेरीले सरकार प्रतिवादी भएको विद्युतीय कारोबार ऐन, २०६३ अन्तरगतको कसुरमा पक्राउ अनुमति प्राप्त भएको भन्दै उपस्थित हुन सूचनामा भनिएको छ ।
जिल्ला अदालत काठमाडौंले दिएको पक्राउ पूर्जीविरुद्ध पाठकका तर्फबाट उच्च अदालत, पाटनमा निवेदन परेको थियो ।
त्यसक्रममा अदालतले दुवै पक्षलाई ५ असारमा छलफलका लागि बोलाउँदै अल्पकालीन अन्तरिम आदेश दिएको थियो । त्यसअघि उनलाई पक्राउ नगर्न अदालतले भनेको थियो ।
मंगलबार ब्यूरोको वेवसाइटमा सूचना जारी गर्दै उनलाई ब्यूरो वा नजिकको प्रहरी कार्यालयमा उपस्थित भएर अनुसन्धानमा सहयोग गरिदिन भनिएको छ ।
प्रहरीले यसअघि पक्राउ अनुमति जारी भएका कोही पनि व्यक्तिलाई उपस्थित भइदिन भन्दै सार्वजनिक सूचना जारी गर्ने गरेको थिएन ।
हिल्टन होटलसँग सम्बन्धित भिडियोमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीरलाई जाडेको भन्दै उनीविरुद्ध प्रहरीको साइबर ब्यूरोमा उजुरी परेको थियो । त्यसपछि प्रहरीले विद्युतीय अपराध ऐनको दफा ४७ अन्तरगतको कसुरमा पाठकलाई पक्राउ गर्न जिल्ला अदालत, काठमाडौंबाट अनुमति लिएको थियो ।
राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र ३ लाख धरौटीमा रिहा
काठमाण्डौं । तीनकुने घटनामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र ३ लाख धरौटीमा रिहा भएका छन् ।
काठमाण्डौं जिल्ला अदालतका न्यायाधीश तारादेवी महर्जनको इजलासले मिश्रलाई धरौटीमा छाड्न आदेश दिएको छ ।
तीनकुनेमा चैत १५ गते भएको हिंसात्मक आन्दोलनपछि मिश्रलाई पक्राउ गरिएकोमा सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिटबाट उनी छुटेका थिए ।
यसअघि उनीसँगै पक्राउ परेका राप्रपाका महामन्त्री डा. धवलशमशेर राणालाई पनि अदालतले ३ लाख धरौटीमा रिहा गरेको थियो ।
प्रतिनिधिसभा बैठक बिहीबारसम्मका लागि स्थगित
काठमाडौँ । प्रतिनिधि सभा बैठक यही असार ५ गते बिहीबारसम्मका लागि स्थगित गरिएको छ।
मंगलबार केही समय बसेको बैठक आधा घण्टाका लागि स्थगित गरिएको थियो। पछि साढे चार बजे बस्ने गरी सूचना टाँस गरिएको थियो । तर, सो समयमा पनि बैठक नबसेपछि सङ्घीय संसद् सचिवालयले सूचना टाँसेर असार ५ गते बिहान ११ बजे बस्ने गरी स्थगित गरिएको हो।
दलहरूबिच भिजिट भिसा प्रकरणमा सहमति जुट्न सकेको छैन। रास्वपा र राप्रपाले भिजिट भिसा प्रकरणमा छानबिन समिति गठनको माग गर्दै संसद् बैठक अवरोध गर्दै आएका छन्।
माओवादीसँग दुई बुँदे सहमति भएर सदन चलाए पनि रास्वपा र राप्रपाले स्वीकार गरेका छैनन्। सदन चलाउन सभामुखले आजै गृहमन्त्री, ठूला पाँच दलका प्रमुख सचेतकहरुसँग छलफल गरे पनि सहमति बनेन।
सिटिजन्स बैंक र टिका रिर्सोट पोखराबीच संझौता
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र लेकसाईड पोखरा स्थित टिका रिर्सोटबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो समझदारी पत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक, प्रिभिलेज कार्ड बाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले टिका रिर्सोटमा २० प्रतिशत आकर्षक छुट पाउनेछन् ।
यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।
बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साह गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।
हालसालै मात्र विश्वकै प्रतिष्ठित अवार्ड ूबैंक अफ द ईयर २०२४ू को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समय अघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड ”(भर्चुअल क्रेडिट कार्ड) सञ्चालनमा ल्याएको छ । साथै मोबाइल बैंकिङ एप मार्फत नै शेयर आवेदन र सिआरएन नम्बर सेवा लिन सकिने सुबिधा लगायत क्रस बैंक टेलर सुविधा जसमा अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट टेलर क्यू आर स्क्यान गरी नगद प्राप्त गर्न सकिने समेत ल्याएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६८ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट १९ लाख ०४ हजार भन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
सानिमा रिलायन्सको बीमालेख नवीकरणमा शत प्रतिशत विलम्ब शुल्क छुट
काठमाडौँ । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले व्यतीत बीमालेखको नवीकरण गर्दा
लाग्ने विलम्ब शुल्कमा शत प्रतिशत छुट सहितको पुनर्जागरण अभियान शुरु गरेको छ ।
विभिन्न कारणले समयमै बीमाशुल्क भुक्तानी गर्न असमर्थ ग्राहकवर्गहरूलाई मध्य नजर
गर्दै यो योजना सार्वजनिक गरेको हो ।
यस पुनर्जागरण अभियान आसर २ गते देखी २७ गते सम्म लागू हुनेछ । पुनर्जागरण
अभियान अन्तर्गत बिमालेख अवधिभित्र एक पटक मात्र ब्याज छुटको सुबिधा प्रदान
गरिने संस्थाले जनाएको छ । सामान्य अवस्थामा बीमालेख ब्यतीत रहँदा बिमितले
रक्षावरण गुमाउनुका साथै अतिरिक्त विलम्ब शुल्क पनि भुक्तानी गर्नुपर्ने हुन्छ ।
संस्थाले सार्बजनिक गरेको पुनर्जागरण अभियानमा भने बिलम्ब शुल्कमा छुटको सेवा
सुबिधा लिई व्यतित बीमालेख नबिकरण गरि मौकाको फाईदा लिन कम्पनीले अनुरोध
गरेको छ ।
हरेक नेपालीलाई बिमाको दायरा भित्र ल्याई बिमित र बिमितसँग आश्रितको आर्थिक
पक्ष सबल र सदृढ गर्नको लागि जीवन बिमा अनिवार्य रहेको छ।
ग्राहकवर्गहरुले संस्थाको देशैभरि रहेका १६९ शाखा कार्यालयहरूबाट वा अनलाइन
भुक्तानीको माध्यम हरूबाट यस योजनामा सहभागी हुन सक्नेछन।
टेलिकमको प्रणाली मर्मतका कारण केही सेवा बन्द हुने
काठमाडौं । नेपाल टेलिकमले ग्राहक सेवा प्रणालीको नियमित मर्मतसम्भारका कारण केही सेवा अस्थायी रुपमा बन्द हुन सक्ने जानकारी दिएको छ। कम्पनीका अनुसार असार ३ गते राति ११ बजेर ५५ मिनेटदेखि करिब १ घण्टासम्म रिचार्ज, ब्यालेन्स सोधपुछ तथा प्याकेज सदस्यता लिनेजस्ता सेवाहरू प्रभावित हुन सक्छन्।
तर, उक्त मर्मत अवधिमा स्वर सेवा, छोटो सन्देश सेवा, इन्टरनेट सेवा तथा इन्टरनेट प्रोटोकल टेलिभिजन सेवा भने यथावत सञ्चालन हुने कम्पनीले जनाएको छ। कम्पनीले यस मर्मत कार्यका क्रममा ग्राहकवर्गमा पर्न सक्ने असुविधाप्रति क्षमायाचना समेत गरेको छ।
संस्थापक सेयर बिक्री गर्दै प्रभु बैंक र छिमेक लघुवित्त
काठमाडौं । प्रभु बैंक लिमिटेड र छिमेक लधुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्री खुल्ला गरेको छ ।
प्रभु बैकको ९,८८२ कित्ता सेयर र छिमेक लधुवित्तको २,४४,४८० कित्ता सेयर बिक्रीका लागी आजबाट सिलबन्दी बोलपत्र खुला गरेको हो ।
कम्पनीले बोलकबोल माध्यमबाट प्रभु बैंकको सेयरको न्यूनतम मूल्य प्रति कित्ता १०० रुपैयाँ र छिमेक लधुवित्तको लागि सेयरको न्यूनतम मूल्य प्रति कित्ता ३९० रुपैयाँ तोकेको छ ।
सेयर खरिदका लागि बोलकबोल गर्दा प्रभु बैंकको न्यूनतम १,००० कित्ताको लागि र छिमेक लधुवित्तको लागि न्यूनतम ५०,००० कित्ताको लागि आवेदन दिनुपर्ने छ ।
आवेदन आगामी असार १० गते भित्र बिक्री प्रबन्धक रहेको मुक्तिनाथ क्यापिटल लिमिटेडमा पेश गर्न सकिनेछ ।
सेयर खरिद गर्न इच्छुक बोलपत्रदाताले अथवा संघरसंस्था, कम्पनी भएमा दर्ता प्रमाणपत्र, कर चुक्ता प्रमाणपत्र, सेयर खरिद गर्ने सम्बन्धमा संस्थाको सञ्चालक समितिको निर्णयको प्रतिलिपि र विगत २ आर्थिक वर्षदेखि संस्था मुनाफामा रहेको प्रमाणित गर्ने कागजात समेत आवेदन फारमका साथ संलग्न गर्नुपर्ने कम्पनीले जनाएको छ ।
अदालतमा हाजिर भए रवीन्द्र मिश्र
काठमाडौं । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र काठमाडौं जिल्ला अदालत हाजिर भएका छन् । मंगलबार बिहान उनी अदालतमा हाजिर भएको सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए ।
तीनकुनेको आन्दोलनलाई लिएर पक्राउ परेका मिश्र सर्वोच्च अदालतको आदेशले हाजिरी जमानीमा छुटेका थिए । अदालतमा हाजिर भएसँगै उनको थुनछेक बहस सुरू भएको छ ।
















