काठमाडौं । २० औं लोकतन्त्र दिवस आज देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ ।
विसं २०६३ वैशाख ११ गते जनआन्दोलनको दबाबपछि तत्कालीन राजा ज्ञानेन्द्र शाहले विघटित प्रतिनिधिसभा पुनर्स्थापना गरेपछि नेपालमा लोकतान्त्रिक परिवर्तनको नयाँ अध्याय सुरु भएको थियो । यही दिनलाई २०६४ सालदेखि लोकतन्त्र दिवसका रूपमा मनाउन थालिएको हो ।
संसद् विघटनपछि देशमा राजनीतिक अस्थिरता बढेको थियो ।
२०६१ माघ १९ गते राजा ज्ञानेन्द्रले प्रत्यक्ष शासन हातमा लिएपछि सात दल र तत्कालीन नेकपा (माओवादी) बीच १२ बुँदे समझदारी भयो, जसले जनआन्दोलनलाई निर्णायक बनायो ।
लाखौं जनता सडकमा उत्रिएपछि वैशाख ११ गते संसद् पुनर्स्थापना भयो । त्यसपछि २०६५ जेठ १५ गते संविधानसभाले २४० वर्षे राजसंस्थाको अन्त्य गर्दै नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गर्यो ।
यसैले वैशाख ११ लाई गणतन्त्रको आधारशिला र जनअधिकारको विजय दिवसका रूपमा स्मरण गरिन्छ ।













