Page 4

आज पनि बडादशैंको टीका र जमरा लगाइँदै

काठमाडौं । आश्विन शुक्लपक्ष पापाङ्कुशा एकादशीका दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने क्रम जारी रहन्छ ।
आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना गरिएको प्रसादस्वरुप विजयादशमीका दिनदेखि सुरु भएको टीका र जमरा लगाउने क्रम आज पनि निरन्तर चलिरहन्छ । मान्यजन टाढा टाढा हुने आफन्त आजदेखि आश्विन शुक्ल पूर्णिमासम्म आशीर्वाद थाप्न घरमा जाने गर्छन् ।
आज एकादशीको व्रत गर्नाले सबै पाप हरण हुने विषय विभिन्न शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ । ‘पापाङ्कुशेति विख्याता सर्वपापहरा परा’ यस एकादशीमा मानिसले ‘पद्मनाभ’ नाम गरेको लक्ष्मीनारायण भगवान्को पूजा गर्नुपर्ने ती ग्रन्थमा उल्लेख गरिएको छ । जबसम्म मनुष्यले पद्मनाभ अर्थात पापाङ्कुशा एकादशीको गर्दैनन्, तबसम्म उनीहरूको शरीरमा पापले निवास गर्दछ भनी ती ग्रन्थमा लेखिएको पण्डित बालमुकुन्द देवकोटाले जानकारी दिए। यो एकादशीले स्वर्ग, मोक्ष, आरोग्यता, सुन्दर स्त्री तथा अन्न र धनलाई प्रदान गर्दछ ।
एकादशीको व्रतको समानता गङ्गा, गया, काशी, कुरुक्षेत्र र पुष्कर नामक तीर्थले पनि गर्न सक्दैनन् । हरिवासर अर्थात एकादशीको व्रत लिनाले र जागरण गर्नाले सहजै मनुष्यले विष्णु पद प्राप्त गर्दछ । यो व्रत नगर्दा पाप बाँकी रहन्छ र अन्त्यमा नरकमा जानुपर्दछ । कलिकालमा मनुष्यहरुले दुर्लभ यो चोलालाई सुलभ बनाउन यो व्रत बस्नु उचित मानिन्छ ।
यो एकादशीको विधिपूर्वक व्रत गर्नाले आमापक्षका दश पिँढी, बाबुपक्षका दश पिँढी अनि आफ्नी पत्नीका र पतिका पक्षका दश पिँढी त्यसपछि विगतका स्त्री र पुरुषलाई उद्धार गरिदिन्छ अर्थात् वैकुण्ठमा बास गराइदिने विशवास पनि गरिन्छ । बाल्यावस्था, युवावस्था र वृद्धावस्थामा यस व्रतलाई लिनाले पापी मनुष्य पनि दुर्गति प्राप्त नगरी सद्गति प्राप्त गर्दछ ।
आश्विन मासको शुक्लपक्षको यस पापांकुशा एकादशीको व्रत जुन मनुष्यले गर्दछ, त्यो अन्त्यमा हरिलोक पुग्दछ तथा समस्त पापबाट मुक्त हुन्छ । सुन, तिल, भूमि, गौ, अन्न, जल, छाता तथा जुत्ता दान गर्नाले मनुष्यले यमराज देख्नै पर्दैन भन्ने विश्वास पनि रही आएको छ ।

बडादशैं टीकाको उत्तम साइत बिहान ११ः३६ बजे

काठमाण्डौं । विजया दशमीको अर्थात् बडादशैंको टीका लगाउने उत्तम साइत बिहान ११ः३६ बजे रहेको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले समय हेर्नेका लागि उत्तम साइतबारे निर्धारण गरे पनि दिनभरि नै टीका लगाउन सकिने जानकारी दिएको छ ।
समितिले देवीको प्रसाद ग्रहण गर्न कुनै साइत कुर्न नपर्ने भन्दै जुनसुकै बेला लगाउन सकिने जनाएको छ । शनिबार बिहान ८ः३३ बजे विजया दशमीको देवी बिसर्जनको समय छ ।
बडादशैंको मुख्य दिन सबैले टीका लगाउँछन् भने एकादशीदेखि पूर्णिमासम्म टाढा रहेका आफन्तलाई भेटेर वा निश्चित भेगमा टीका लगाउने चलन छ ।
यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले विजयादशमी २०८१ को अवसरमा राष्ट्रपति भवन शीतलनिवासमा सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिने भएका छन् ।
उनले असोज २६ गते शनिबार दिउँसो ३ः३० देखि ५ बजेसम्म इच्छुक सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिने कार्यक्रम तय भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
विजया दशमीका उपलक्ष्यमा शनिबारै दिउँसो राष्ट्रपति पौडेलले ३ः०० देखि ३ः३० बजेसम्म अतिविशिष्ट र विशिष्ट व्यक्तित्वलाई टीका–जमरा लगाइदिने कार्यक्रम छ ।
राष्ट्रपति कार्यालयका अनुसार दिउँसो ३ः०० देखि ३ः३० बजेसम्म सम्माननीयहरू, उपप्रधानमन्त्री, प्रदेश प्रमुख, मन्त्री, न्यायाधीश, सांसद, संवैधानिक निकायका पदाधिकारी लगायत विशिष्ट महानुभावहरूलाई राष्ट्रपति भवनमा राष्ट्रपति पौडेलले टीका–जमरा लगाइदिने छन् । निजामती, जंगी, प्रहरीतर्फका अधिकृतस्तरका राष्ट्रसेवकलाई समेत टीका–जमरा लगाइदिने कार्यक्रम छ ।

दशैं मान्न १३ लाख मानिस उपत्यकाबाट बाहिरिए

काठमाडौं, २५ असोज । एक सातामा काठमाडौं उपत्यकाबाट १३ लाख मानिस बाहिरिएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघकाअनुसार यो संख्या आजसम्मको हो ।अठार लाख मानिस दशैं मान्न काठमाडौं उपत्यकाबाट बाहिरिने अपेक्षा गरिएकामा बाढीपहिरोका कारण १३ लाखको हाराहारीमा मानिस बाहिरिएका महासंघका अध्यक्ष विजय स्वारले जानकारी दिनुभयो ।हामीले यस वर्ष दशैंमा १५ देखि १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान गरेका थियौँ’, उहाँले भन्नुभयो, ‘तर मुलुकका विभिन्न स्थानमा बाढीपहिरोका कारण सडक अवरुद्ध भएकाले जोखिम मोलेर पनि १३ लाख बाहिरिएका छन् ।’
अघिल्लो वर्षको दशैंमा १८ लाख मानिस काठमाडौंबाट बाहिरिएका थिए ।

आज १२ बजे एमाले सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा (एमाले) को सचिवालय बैठक आज बस्दैछ । बैठक पार्टी कार्यालय च्यासलमा मध्यान्ह १२ बजे बस्नेछ ।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमकाअनुसार बैठकमा दशैंको शुभकामना आदानप्रदान र बाढी पहिरोमा सरकार र पार्टीले खेलेको भूमिका बारेमा छलफल हुनेछ ।

आज दशैंको सातौं दिन, घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौं । आश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दशैं घरमा फूलपाती भित्र्याइँदैछ ।
प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ ।
घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैं घर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने गरिन्छ ।
नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नौवटी देवीको प्रतीकको रूपमा भित्र्याई शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष एवं धर्मशास्त्रविद् प्रा.डा. रामचन्द्र गौतमले जानकारी दिए । ‘केरामा ब्रह्मायणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकी देवीको आह्वान गरी पूजा गरिन्छ, यी देवी नवदुर्गाका पार्षद् अर्थात् सहायक हुन् ।’ उनले भने ।
देवीलाई बलियो बनाउन सहायक देवीको भूमिका हुने शास्त्रीय मान्यता छ । फूलपाती भित्र्याएपछि नौवटै देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ । फूलपाती भित्र्याउनका लागि साइतको आवश्यकता नपर्ने पूर्वअध्यक्ष गौतमले जानकारी दिए ।
यस्तै, हनुमानढोका दरबारको दशैं घरमा गोरखाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ । गोरखाबाट धादिङको जीवनपुरसम्म दशैं घरका पूजारीसहित मगर जातिका छ जनाले ल्याउने र धादिङको जीवनपुरबाट काठमाडौंको जमलसम्म काठमाडौंबाट गएका ब्राह्मण जातिका छ जनाले ल्याउने परम्परा रही आएको छ ।
जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्च पदस्थ अधिकारी, गुर्जुका पल्टन, ब्याण्डबाजा, पञ्चेबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती ल्याउने गरिएको छ ।
राजतन्त्र रहुञ्जेलसम्म हनुमानढोका दरबारको दशैंघरमा फूलपाती भित्र्याउने क्रममा राज्यप्रमुखका नाताले राजाको पनि उपस्थिति रहने गरेकोमा गणतन्त्रको स्थापनापछि भने संस्कृति मन्त्री उपस्थित हुने गरेको हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिले जनाएको छ ।
आश्विन शुक्ल प्रतिपदाका दिनमा वैदिक विधिपूर्वक घटस्थापना गरी जमरा राखेपछि सुरु हुने दशैं अर्थात् दुर्गापूजाको सामाजिक चहलपहल भने आजैका दिनदेखि बढ्ने गर्दछ ।
आजैका दिनदेखि सरकारी कार्यालय पनि बिदा हुने भएकाले विभिन्न पेसा र व्यवसायमा सङ्लग्न मानिस सपरिवार बसेर दुर्गा भवानीको प्रसादका रूपमा टीका थाप्न आआफ्नो घर फर्कने क्रम अझ तीब्र हुने गर्दछ ।
फलस्वरूप नेपालका ग्रामीण भेगमा आजैका दिनदेखि दोबाटो, चौतारो र चौबाटामा हालिने लिङ्गे पिङ र रोटे पिङले दशैंको रौनकतालाई अझ बढाउने गर्दछ ।

सानिमा रिलायन्स लाइफको साधारणसभा सम्पन्न, १८ प्रतिशत बोनस शेयर पारित

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको सातौं वार्षिक साधारणसभा आज (असोज २३) काठमाडौंको शंखमूलस्थित अनमोल बैंक्वेटमा सम्पन्न भएको छ ।
सभाले शेयरधनीहरूलाई १८.३८११ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव सर्वसम्मत रूपले पारित गरेको छ ।
यसका साथै सञ्चालक समितिको तर्फबाट प्रस्तुत हुने आव २०७९.८० वार्षिक प्रतिवेदन, साबिक रिलायन्स र सानिमा लाइफको सोही आवको लेखापरीक्षण प्रतिवेदन लगायतका अन्य वित्तीय विवरणहरू पनि पारित भएको छ ।
त्यस्तै लेखापरिक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने र सञ्चालकहरूको सुविधा परिमार्जन गर्ने लगायतका प्रस्तावहरू पनि सभाबाट पारित भएको छ ।
सभा प्रयोजनार्थ कम्पनीले असोज ११ गते एक दिनका लागि बुक क्लोज गरेको थियो । बुक क्लोजका आधारमा असोज १० गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरूले सभाले पारित गरेको लाभांश पाउनेछन् ।

सिद्धार्थ बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा २५ लाख सहयोग

काठमाडौं । सिद्धार्थ बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा २५ लाख रुपैया सहयोग प्रदान गरेको छ ।
हालै देशभर भएको अविरल वर्षाका कारणले आएको बाढी पहिरोका कारण जनधनको क्षति व्यहोर्नु परेकोले खयस दुःखद घडीमा बाढी, पहिरो र डुबानका कारण प्रभावित जनताको राहतका लागि बैंकले उक्त सहयोग गरेको हो ।
बैंकले विभिन्न समयमा दैवी प्रकोपमा परेका पीडितहरुको उद्दार र पुनस्र्थापनाको कार्यहरूमा सामाजिक उत्तरदायित्व अन्तर्गत देशको एक जिम्मेवार वित्तिय संस्थाको रुपमा सहभागिता जनाउदै आएको छ ।

मन्त्री पौडेलले विपद्को घडीमा तमाम कठिनाइकाबीच आम नागरिकको सेवामा तल्लिन

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले विपद् प्रभावित क्षेत्रमा आवश्यक स्वास्थ्य सामग्री पठाइएको भन्दै प्राप्त नभए मन्त्रालयलाई खबर गर्न आग्रह गरेका छन्।

विपद् प्रभावित क्षेत्रका नागरिकलाई सम्बोधन गर्दै मन्त्री पौडेलले पानीको शुद्धिकरण, व्यक्तिगत सफाइ तथा स्वास्थ्य उपचारका लागि आवयश्यक सामग्री मन्त्रालयले पठाएको उल्लेख गरे।

‘अहिले विपद्पछि पानीका श्रोतमा हुने प्रदुषण र फोहोरका कारण झाडापखाला, हैजा वा लामखुट्टेको टोकाइबाट डेंगु र जापानिज इन्सेफलाइटिस्जस्ता संक्रमणको सिकार तपाईं हुन नपरोस् भनेर हामीले सचेतना र आवश्यक शुद्धिकरण तथा सरसफाइका सामग्री विपद्प्रभावित तपाईंको क्षेत्रलाई प्राथमिकता दिएर पठाएका छौं’ मन्त्री पौडेलले भिडिओ सम्बोधनमा भनेका छन्, ‘तपाईंको ठाउँमा ती सामग्री पुगेको छैन वा तपाईंलाई कुनै आपतकालीन सहायता आवश्यक छ भने स्थानीय स्वास्थ्य संस्था वा मन्त्रालयको आपतकालीन सहायता नम्बर १११५ मा सम्पर्क गरिदिनुहुन म विनम्र अनुरोध गर्दछु। हामी तपाईंलाई यथासम्भव सघाउन तत्पर छौं।’

देश प्राकृतिक विपद्को चपेटामा परेका कारण नागरिकले अझै पनि कस्ट भोगिरहनुपरेको भन्दै मन्त्री पौडेलले एउटा संकटबाट पार पाए पनि हामीले बाढी पहिरोका कारण सिर्जित संकटको चुनौतीबाट पार पाइ नसकेको उल्लेख गरे।

‘हामीले विपद्का समयमा घाइतेहरुको निःशुल्क उपचारको प्रयत्न गर्यौं। तर, अब हामीले यत्तिकैमा सन्तोष मानेका छैनौं। नागरिकको स्वास्थ्य रक्षाका लागि आवश्यक हरेक प्रयत्नहरुमा हामी तपाईंको साथमा छौं।’

तीनै तहका सरकारको सहकार्यमा हामीले तपाईंलाई सकेसम्म स्वस्थ पिउने पानी उपलब्ध गराउने प्रयत्न संघ सरकारले गरिरहेको भन्दै उनले कतिपय स्थानमा तत्काल विकल्प प्राप्त नहुँदासम्म र संक्रामक रोगबाट जोगिन पानी उमालेर वा शुद्धीकरण गरेर मात्र पिउन अनुरोध गरेका छन्।

‘यसले अर्को ठूलो विपत्तिबाट तपाईं र देशलाई जोगाउने हाम्रो विश्वास र आशा छ’ मन्त्री पौडेलले भने।

मन्त्री पौडेलले विपद्को घडीमा तमाम कठिनाइकाबीच आम नागरिकको सेवामा तल्लिन भएको भन्दै स्वास्थ्यकर्मी र स्वयंसेवीहरुमा हृदयदेखि नै आभार प्रकट गरेको उल्लेख गरेका छन्।

कवि शिरोमणि लेखनाथ पौड्यालको यो कवितांशले दसैँ सम्झाउँछ

हट्यो सारा हिलो मैलो
हरायो पानीको वर्षा
भवानीको भयो पूजा
चल्यो आनन्दको वर्षा।

कवि शिरोमणि लेखनाथ पौड्यालको यो कवितांशले दसैँ सम्झाउँछ। अथवा यसो भने पनि हुन्छ– दसैँ आयो कि पौड्यालको यो कविता सम्झनामा आइहाल्छ। सायद मजस्तै धेरैलाई पौड्यालको यो कविता र दसैँ पर्याय लाग्छ होला। बाल्यकालमा पाठ्यक्रममा नै यो कविता पढेकाले पनि होला खास लाग्ने।

तर पौड्यालको कवितामा भनिएजस्तो यसपालिको दसैँमा सारा हिलो मैलो हट्नेवाला छैन। कारण वर्षा हराएको छैन। मौसमविद्को भाषामा भन्ने हो भने मनसुन बाहिरिएको छैन। असोज दोस्रो साताको उच्च वर्षाले पूर्वी र मध्य नेपालमा डुबान, बाढी र पहिरोले कयौँको ज्यान गयो। कतिले घरबार गुमाउनु पर्‍यो। दसैँ मनाउन घर हिँडेकाहरू बाटैमा अलपत्र परे। कोही घर पुग्नै पाएनन्, कोही ढिला गरि पुगे। रित अनुसार भवानीको पूजा अर्चना चलिरहेको भएपनि यसपालिको दसैँले आनन्दको वर्षा भने त्यति गराउन सकेको छैन। आश गरौँ अब मौसममा सुधार आउला, दसैँ रमाइलो र घमाइलो बन्ला।

खैर, वर्षदिनको चाड त मनाउनै पर्‍यो। हिन्दु नेपालीहरूको ठूलो चाड बडादसैँको महिमा जति छ, रहर पनि उत्तिकै लाग्छ हामीलाई। जसरी बालबालिकाहरू एउटा जन्मदिन सकिएलगत्तै अर्को जन्मदिन कुरेर बस्छन्, लगभग लगभग हामी नेपालीहरू एउटा दसैँ सकिएपछि अर्को दसैँ कुरेर बस्छौँ। किनकि हामीलाई दसैँ मन पर्छ। दसैँको माहौल मन पर्छ। पिङ खेल्न मन लाग्छ, खानपिउन मन लाग्छ। घटस्थापना रमाइलो लाग्छ, फूलपातीको रमझम गज्जब लाग्छ, टीका जमरा मन पर्छ। निधार रातै बनाएर, कानमा झपक्कै जमरा सिउरिएका फोटो, भिडिओ खिच्न रहर लाग्छ। तथापि, दसैँमा साबिकको भन्दा कयौँ गुणा खर्च बढ्छ। तर त्यसको परवाह हुँदैन, हुन्छ त केवल पारिवारिक खुसीको।

विजयादशमी यस्तो पर्व हो, जसले छुट्टिएका आफन्त भेटाइदिन्छ। वर्षौँ परदेशिएकाहरू दसैँमा घर सम्झिएर फिर्छन्। जिम्मेवारी र कामले परिवार छोडेर टाढा बस्नुपरेकाहरू आफ्नै गुँड फर्किन्छन्। वर्षभरिको छुट्टी दसैँकै लागि साँचेर बस्छन् कामकाजीहरू। दसैँमा नै खर्च गर्न भनेर वर्षभरिको कमाइ समेत बचाउँछन् नेपालीहरू। छुटिएर बसेकाहरू समेत एउटै भान्छा गर्छन्। लाउँछन्, खान्छन्, खेल्छन्, रमाउँछन्। वास्तवमा दसैँ रमाइलो पर्व हो। खेतबारीको काम, कार्यालयको काम, व्यापार व्यवसायको काम, पढ्ने काम, पढाउने काम सबैसबै ठप्प हुन्छन्, ८/१० दिन। स्वास्थ्य संस्था, सञ्चा माध्यम तथा केही अत्यावश्यक कार्यालय सञ्चालन हुन्छन्, त्यो अलग्गै कुरा। नभए दसैँका हप्तादस दिन खानपिन, बस्न र रमाउनकै लागि छुट्याइन्छ।

सरकारले नै दसैँ मनाउन छुट्टी दिने भएकाले पनि धेरैलाई फुर्सद हुन्छ। नभएकाले पनि आलोपालो गरेर निकाल्छन् समय। जे हुन्छ, दसैँमा गज्जब हुन्छ। तर, मैले चर्चा गर्न खाजेको दसैँको मात्रै होइन, रातो टीका र जमराको मात्रै पनि होइन। माछामासुको मात्रै होइन, दसैँसँगै जोडिएर आउने कामको हो। जिम्मेवारीको हो, जिम्मेवारी बाँडफाँटको हो। अनि, दसैँसँगै जोडिएर आउने खुसीको हो।

भनिहालेँ दसैँ मात्रै यस्तो चाड हो, सकेसम्म सबै परिवार एकै ठाउँमा जम्मा भएर खाने, पिउने हुन्छ। परिवार एकै ठाउँमा बस्नु, खानु त रमाइलो कुरा हो। तर परिवार भित्र पकाउने, तुल्याउने, खुवाउने, भाँडावर्तन सरसफाइ पूरै जिम्मा घरका महिला सदस्यको टाउकोमा मात्रै आउँछ। यो चाहिँ रमाइलो माहौलमा टुप्लुक्क आइपुग्ने थोरै दिक्कलाग्दो कुरा हो। तपाईंलाई त्यस्तो लागेन? भनिरहनु पर्दैन, दसैँमा घर सरसफाइदेखि शृंगारपटारसम्मको जिम्मा महिलाकै हुन्छ। खसी, बोका, माछा, मासु, खाद्यान्नको जोहो महिलापुरुष सकेसम्म मिलेरै गरे पनि पकाउने, तुल्याउने र सबैलाई पुर्‍याउने जिम्माचाहिँ महिलाको मात्रै!

एकदिन कुरैकुरामा एकजना साथीले भनिन्– ‘वर्षदिनको चाड मनाउन त रमाइलो। तर पकाउने, खुवाउने, चिल्ला भाँडा माझ्ने, घरको सरसफाइदेखि गोठसम्मको काम त्यसमाथि बच्चाको रेखदेख……सबै सम्झिँदा त घरै पनि जाऊँ कि नजाऊँ हुन्छ।’ उनी घरकी कान्छी बुहारी। दुई जेठाजु, दुई जेठानी, छारोछोरी, सासू, ससुरा। त्यसमाथि दसैँमा भाइभाइका परिवार पनि सँगै खाने, बस्ने चलन। साथमा चार वर्षको आफ्नो नानी। ‘बिहान घाम उदाएदेखि पकाउने, खुवाउने र चिल्ला भाँडा माझ्ने मात्रै गर्दा ढाड भाँचिएजस्तै हुने। उभिनै मुस्किल हुन्छ, एकछिन आराम गर्न र मन लागेको तरिकाले खान बस्न पनि समय हुन्न,’ उनी सुनाउँछिन्।

‘अनि श्रीमानले सघाउनुहुन्न?’ म सोध्छु।

‘एक्लै हुँदा अरु बेलामा त सघाउनुहुन्छ, दसैँको समयमा त वल्लोपल्लो घर डुल्दै र तास खेल्दैमा कहाँ फुर्सद हुन्छ र? फुर्सदै भए पनि सघाइदिनु न भने त एकैछिन एउटा काम सघाइदिनुहुन्छ, फेरि उस्तै! एउटा मात्रै काम भए पो सघाएर पनि सकिन्छ!’ उनी भन्छिन्।

अब तपाईं भन्नुहोला– आफ्नै घर, आफ्नै परिवार, आफ्नै इष्टमित्र बोलाएर दुईचार छाक खाँदा/खुवाउँदा पनि के को कामको चाप? एकजनालाई मात्रै हो र? सबैलाई उस्तै हो। दसैँको बेला नखाए कहिले खाने? दसैँको बेला नखेले कहिले खेल्ने? दसैँमा नबोलाएको इष्टमित्र कहिले बोलाउने? दसैँको बेलामा अलिअलि कामको चाप नपरे कहिले पर्छ? अनि २/४ दिन काम गर्नुपर्दा पनि गुनासो? वर्षाँैदेखि यसैगरि चलिरहेकै छ त? खै, कसैले गुनासो गरेको छैन त। तर होइन नि, परम्परादेखि नै दसैँमा हुने पारिवारिक कामको चाप महिला मात्रैले सम्हाल्दै आएकाले तपाईंलाई सामान्य लागेको हुन सक्छ। दसैँमा थपिएको कामको बोझबारे तपाईंको परिवारमा पनि महिला सदस्यको गुनासो छ कि! अब भने सोध्नुहोला, सुन्नुहोला। र, सकेको सहयोग गर्नुहोला।

जहाँ छ त्यहीँ (घरै) बसिरहेकालाई होस् वा दसैँ मनाउन सहर–बजारबाट घर फर्किएकाहरूलाई। वा दसैँ मनाउन भनेर विदेशबाटै आएकाहरूलाई। बसिरहेको परिवारभन्दा दुईचारजना थपिँदा यसै पनि कामको मेसो मिल्दैन। कसले के खान्छ, कसलाई के मन पर्छ थाहा हुँदैन। त्यसमाथि बिहानैदेखि चियानास्ता। कसैलाई चिनी हालेको, कसैलाई हाल्दै नहालेको, कसैलाई ट्वाक्क चिनी र मरिच मिसाएको चिया। कोही दूधचिया मन पराउने, कोही फिक्का। कसैलाई नुनमसला टक्क मिलाएको खाजा, कसैलाई सादा। बालबालिकालाई उमेर अनुसार दूध, लिटो तयार गरेर खुवाउनु त छँदैछ।

यति सकेर बस्तुभाउको सेवा। घाँस दाउरा, मेलापात। त्यसपछि फेरि भातभान्छा। कोही मासु खाने, कोही नखाने, कोही चिल्लोपिरो मिलेको टक्क मीठो नभए रुच्दैन भन्ने। कसैलाई फेरि स्वास्थ्यका कारण खान नमिल्ने। एकै भान्छामा थरीथरीका परिकार पकाउन व्यस्त हुन्छन् महिलाहरू। एउटा पकवान पाक्न पाएको छैन, अर्कोको लागि भाँडा बसालिहाल्नुपर्छ। भाँडाकुडा, सरसफाइ। बिहानदेखि टुसुक्क बस्न नपाउँदै फेरि दिउँसोको खाजा। माछा मासु, भुटेको, साँधेको, छोयला, भुटन, चिसो, तातो। चिउरासँग खाने कि पेय पदार्थसँग, सबैका इच्छा अनुुसारले पकाउँदै खुवाउँदै, फेरि पकाउँदै खुवाउँदै। दसैँसहित चाडबाडको समयमा यस्तो देखिन्छ– मानौँ महिलाहरू मेसिन नै हुन्, उनीहरू अर्डर अनुसार पकाउँदै पस्कँदै गर्छन्। तर पुरुषहरू सरसामग्री जोहो गरिदिएर ढुक्कैले खाएर, खेलेर, घुमेर बिताइदिन्छन्। केहीको घरमा बाहेक सबैको घरमा महिलालाई कामैकाम, पुरुषलाई आरामै आराम हुन्छ।

हामी घरबाहिर हुने लैङ्गिक असमानताबारे कुरा उठाउँछौँ। तर घरभित्रका काममा हुने असमान बोझलाई नजरअन्दाज गरिदिन्छौँ। मानौँ एकैछिन लामो सास तान्ने समेतको फुर्सद ननिकाली परिवारका सदस्यलाई खुवाउने, पियाउने र खुसी बनाउने काम महिलाको मात्रै हो। तर अब दसैँ लगायत चाडबाडमा कामको विषयलाई लिएर हुने लैङ्गिक असमानता हटाउनुपर्छ। घरबाहिरका हरेक काम गर्नमा महिलाहरू सक्षम छन्, अब्बल छन्, अग्रणी रूपमा आफ्नो जिम्मेवारी सम्हालिरहेका छन्। यससँगै काममा हुने भेदभाव विस्तारै कम हुँदैछ। त्यसैगरी घरभित्रको काममा पनि पुरुषले आफ्नो जिम्मेवारी बोध गर्ने हो भने, जिम्मेवारी लिने हो भने महिलालाई धेरै सजिलो हुन्छ। हल्का हुन्छ। चाडबाडमा घर नजाउँजस्तो होइन, छिटो जाउँजस्तो हुनसक्छ।

धेरै केही गर्नुपर्दैन, दिनभरि भान्छाको तापले रातो अनुहार भइसकेको श्रीमतीलाई सोध्न सक्नुहुन्छ– मैले के गरौँ? उनले केही पर्दैन नै भनिन् भने पनि काटकुट गर्ने, मरमसला बनाइदिने, खाना तयार गर्ने, भुट्भाट्मा सघाइदिनुस्। मिलीमिली पकाएर सँगै मिलेर बसेर खाँदाको स्वादै अर्को हुन्छ। बाटाभरि चिल्ला भाँडा लिएर एक्लै माझ्न तम्सिएकी छोरीलाई छेउमा बसेर पखाल्न सघाइदिनुस्। खानपानपछि घर भान्छाको सरसफाइ, पुछपाछमा सहयोग गरिदिनुस्। एक्लै घरगोठ गरिरहेकी बुहारीलाई घाँसदाउरा, गोबर, सोत्तरमा थोरै भए पनि सहयोग गरिदिनुस्।

काम आधाआधा बाँड्नुस्। घरधन्दा होस् कि बाहिरको। कोही फुर्सदमा खाने र बस्ने अनि कोही काममा दलिने नगरी सबैले गरे घरको काम समयमै सकिन्छ। काम सकिएपछि महिलापुरुष, छोराछोरी, हजुरबुवा, हजुरआमा, नातिनातिना सबै सँगै बसेर खानुस्, खेल्नुस्। पालैपालो सबैको कुरा सुन्नुस्, सुनाउनुस्, तब पो दसैँ आएजस्तो हुन्छ। अनि पो खुसी पनि बराबरी बाँडिन्छ। होइन भने त दसैँ पुरुषहरूलाई मस्ती, महिलाहरूलाई सास्ती जस्तो मात्रै हुन्छ। नवरात्रीभरि नवदुर्गालाई पुज्ने अनि आफ्नै घरका देवीहरूलाई चाहिँ काममा मात्रै दलाउने? यो बिलकुलै सुहाउने कुरा भएन। मिल्दो कुरा भएन। महिलालाई सम्मान र प्रेम गर्नुस्, सुखदुःख, खानपान, रमाइलो हरेक कुरामा समान दर्जा दिएपछि तपाईंको घरमा यसै खुसियाली छाउँछ। खुसी आएपछि सुख त्यसै आउँछ।

यसपालिको दसैँ रमाइलो बनाउन तपाईं घरको माहौल रमाइलो बनाउनुस्। घरको माहौल रमाइलो बनाउन काम बाँडफाँट गर्नुस्। जिममेवारी भाग लगाउनुस्। घरको काम मिलेर गर्नुस्। त्यसपछि घरमा रमाइलो आउने छ, खुसीयाली छाउने छ। दसैँको हार्दिक शुभकामना!

आगामी कार्तिक ३० गते रिलिज हुने फिल्म ‘मिसिङः

आगामी कार्तिक ३० गते रिलिज हुने फिल्म ‘मिसिङः केटी हराएको सूचना’को पोस्टर सार्वजनिक भएको छ। सार्वजनिक पोस्टरमा फिल्मका मुख्य कलाकार नाजिर हुसेन र सृष्टि श्रेष्ठलाई देख्न सकिन्छ।

पोस्टरमा रेलको लिकमा फिल्मका नाजिर  र सृष्टि श्रेष्ठलाई हात समाएर हिँडिरहेको देख्न सकिन्छ। कुर्ता सुरुवालमा सजिएकी सृष्टिले शीरमा ह्याट लगाएर कालो ब्याग बोकेकी छन्। उनले सेतो रंगको जुत्तासमेत लगाएकी छन्।

त्यस्तै, सर्ट र पेन्टको गेटअपमा देखिएका नाजिरले शीरमा ह्याट लगाएका छन् भने जुत्ता पनि सेतै रंगको छ। पृष्ठभूमिमा फिल्मका अर्का कलाकार दुरा सञ्जय गुप्ता रातो रंगको हिरो होण्डा मोटरसाइकलमा छन्।

कालो चस्मा लगाएर काँधमा गाम्छा भिरेका सञ्जयले पान खाएको देख्न सकिन्छ। सञ्जयको पछाडि जनकपुर–जयनगर रुटमा चल्ने रेललाई राखिएको छ । कलाकार र रेलको पृष्ठभूमिमा पहाड र तराईको दृश्य छ।

पोस्टर आशिस सापकोटाले डिजाइन गरेका हुन्। ट्री सिटी पिक्चर्स प्रस्तुतकर्ता रहेको फिल्म ट्री सिटी पिक्चर्स व्यानरमा निर्माण भएको हो।

यस फिल्ममा ३२ वर्षअघिको डकु–ड्रामा ‘उजेली’का निर्देशक दीपेन्द्र गौचनको निर्देशन छ। दीपेन्द्रकै निर्माण रहेको फिल्ममा उनकै स्क्रिप्ट लेखन छ । फिल्ममा नाजिर, सृष्टि र सञ्जयसँगै रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल र ओमप्रकाश कर्णको अभिनय छ। फिल्ममा अमितेष शाहको विशेष भूमिका छन्।

नकिम उद्दिन कार्यकारी निर्माता रहेको फिल्ममा मनोहर दास मुल, अनिन राजभण्डारी, राजीव थापा, रोबिन थापा, राधेश पन्त, महेन्द्र शाक्य, ज्योतिमान शेरचन, चन्द्र भट्टचन, सञ्जय भट्टचन सह–कार्यकारी निर्माता, अमितेष शाह सहायक निर्माता, दीपेन्द्र गौचनको कथा र लेखन, अमित पोखरेल र अमितेष शाहको सहायक लेखन, अमित पोखरेलको स्क्रिप्ट सुपरभिजन छ।

लेटेष्ट समाचार

हमासको ग्रिनेड फालेर साथीहरूलाई जोगाए, आफू युद्धभूमिमै बिलाए विपिन

इजरायल र हमासबीचको युद्ध दुई वर्षपछि अन्त्य भएपछि सोमबार हमासले २० इजरायली बन्धक मुक्त गर्‍यो। गाजामा बन्धक बनाइएकाहरुको परिवारमा पुनर्मिलन हुँदाको क्षणले इजरायलमा खुसीयाली छ।...

‘जेनजी विद्रोह’पछि एमाले र माओवादीद्वारा मंसिरमा महाधिवेशन घोषणा, माैन कांग्रेस

काठमाडौं । भदौ २३ र २४ गतेको ‘जेनजी विद्रोह’पछि देशको राजनीतिक परिदृश्य उथलपुथल बनेको छ । यसबीच, दुई ठूला कम्युनिस्ट दल—नेकपा एमाले र नेकपा...

ओली–लेखकविरुद्धको जाहेरी प्रहरीबाटै सीधै जाँचबुझ आयोगमा

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरी प्रहरीमार्फत दर्ता नभई सीधै जाँचबुझ आयोगमा पुगेको छ। जेनजी आन्दोलनका क्रममा...