‘जेनजी’ आन्दोलनको भावनाअनुसार अघि बढ्न सरकारलाई खबरदारी

काठमाडौँ । ‘जेनजी’ युवाहरुले आन्दोलनको भावनाअनुसार अघि बढ्न सरकारलाई खबरदारी गरेका छन् । ‘जेनजी युनाइटेड–फर परिवर्तन’ संस्थाले आज माइतीघर मण्डलामा आयोजना गरेको खबरदारी सभामा सम्बोधन गर्दै अभियान्ताहरुले देशभरको जेनजीलाई एकताबद्ध बनाउन सरकारले नै पहल गर्नुपर्नेमा जोड दिएका छन् ।

उनीहरुले सरकार जेनजी आन्दोलनको भावनाअनुसार अघि बढ्न नसकेको, सम्पूर्ण जेनजी युवालाई एकताबद्ध बनाउनुको सट्टा बेग्लाबेग्लै समूहमा विभाजित गर्न भूमिका खेलेको भन्दै असन्तुष्टि व्यक्त गरे । उनीहरुले जेनजी युवालाई एकताबद्ध गराउन सरकारले तत्काल ७७ वटै जिल्लामा ‘जेनजी सम्मेलन’ आयोजना गर्नुपर्ने धारणा राखेका थिए ।

जेनजी आन्दोलनको घाइते मदन कार्कीले सरकारले आफूहरुको माग सुनुवाइ नगरी निर्वाचनमा सहभागी हुन दबाब दिएको जनाउँदै माग पूरा गराउन सम्पूर्ण जेनजी एक हुनुपर्ने आवश्यकता औँल्याए ।

जेनजी युवा सडकमा विजयी र वार्तामा पराजित भए पनि अब एकताबद्ध भएर सङ्घर्ष गर्नुपर्छ’, उनले भने– ‘जात, भाषा, पार्टी बिर्सेर सम्पूर्ण जेनजी एकताबद्ध हुनुपर्छ, अहिले हाम्रो राष्ट्र भन्दा ठूलो केही छैन ।’

घाइते कार्कीले २०८४ को निर्वाचनलाई २०८२ मा सार्नका लागि मात्रै वर्तमान सरकार नबनेको भन्दै आन्दोलनको भावना र माग पूरा गर्न सरकार प्रतिबद्ध हुनुपर्ने बताए ।

जेनजी एकताको माग गर्दै माइतीघरमा खबरदारी सभा गर्दै आएको सो संस्थाले आफूहरुको माग पूरा नभएसम्म विरोध जारी रहने जनाएको छ । जेनजी एकता अभियान्ता ज्योतिका राईले सरकारले नै सम्पूर्ण जेनजी युवालाई एकताबद्ध हुन पहल र आह्वान गर्नुपर्ने आफूहरुको माग रहेको र सो माग पूरा नभएसम्म विरोध जारी रहने बताइन् ।

रुकुमपश्चिममा जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु, १० घाइते

रुकुम  । रुकुम पश्चिमको मुसिकोट खलंगाबाट आठविसकोट नगरपालिकाको स्यालाखदीतर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने १० घाइते भएका छन् ।

रा १ ज ४२२ नम्बरको बोलेरो जिप बाँफिकोट गाउँपालिका–७ लिस्ने भिरमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।  जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हरि पुनले आफू घटनास्थल पुग्दैगरेको तर त्यहाँ पहिले पुगेको स्थानीय प्रहरीले ७ जनाको शव बाटोमा राखेको र १० जनालाई उपचारका लागि अस्पताल पठाएको सूचना दिएको नेपाल प्रेसलाई बताए ।

मृतकको पहिचान भने भइसकेको छैन र सबै विवरण आउन बाँकी रहेको छ । उनका अनुसार जिपमा कति यात्रु सवार थिए भन्ने खुलिसकेको छैन । घटनास्थल खलंगाबाट करिब ३५ किलोमिटरको दूरीमा पर्छ ।

मोरङको लेटाङमा १८ दिनदेखि बेपत्ता बालिका मृत फेला, बलात्कारपछि हत्या भएको आशङ्का

विराटनगर । मोरङको लेटाङमा दुई सातादेखि हराईरहेकी बालिकाको बलात्कारपछि हत्या भएको आशंका गरिएको छ ।  असोज २१ गतेदेखि हराइरहेकी लेटाङ नगरपालिका–२ स्कुलचोककी १३ वर्षीया अंशु गौतमको शुक्रबार जंगलभित्र विभत्स अवस्थामा शव भेटिएको हो ।

मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार लेटाङ–२ स्थित बेलबारी–चिसाङ साझेदारी वनभित्र शव भेटिएको हो । लेटाङ र बेलबारीको सिमानामा पर्छ बन क्षेत्रमा भेटिएको शव विभत्स रहेको स्थानीयले बताएका छन् ।

घटनास्थल वरिपरि अंशुले लगाएको ट्राउजर र हाफपाइन्ट फुकालिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । कपडा शवको नजिकै फेला परेकाले बलात्कारपछि उनको हत्या गरिएको हुनसक्ने आशंका प्रहरीले गरेको छ ।

बालिकाको शवको टाउको र शरीर छुट्टिएको अवस्थामा रहेको देखिएको प्रहरीले जनाएको छ । घटना भएको धेरै दिन भएकोले शव सडेर दुर्गन्धित अवस्थामा फेला परेको एसपी कटवालले जानकारी दिए । घाँस काट्न गएका स्थानीयले शव देखेपछि शुक्रबार दिउँसो प्रहरीलाई खबर गरेपछि प्रहरी टोली घटनास्थल पुगेको थियो ।

घटनाको अनुसन्धानका लागि एसपी कटवाल आफैं घटनास्थल पुगेका छन् । अंशु असोज २१ गते दिउँसो ४ः३० बजेतिर घरबाटै सम्पर्कविहीन बनेको बताइएको छ । छोरी बेपत्ता भएपछि अभिभावकले खोजीमा सहयोग गरिदिन प्रहरी लगायतका सरोकारवालालाई आग्रह गरेका थिए । उनको खोजी भएपनि कुनै सुराक फेला पर्न सकेको थिएन ।

‘शवको अवस्था हेर्दा कुनै धारिलो हतियार प्रहार गरेर हत्या गरिएको हुनसक्ने आशंका छ’ एसपी कटवालले भने, ‘जंगली जनावरले आक्रमण गर्दा ज्यान गएको पनि हुनसक्छ । विभिन्न कोणबाट अनुसन्धान भइरहेको छ ।’ उनका अनुसार प्रारम्भिक अनुसन्धानबाट यौनजन्य अपराध हो कि जंगली जनावरले आक्रमण गरेको हो भनेर यकिन भने भइसकको छैन ।

लेटाङ–२ का वडाध्यक्ष तेजप्रसाद तिम्सिनाका अनुसार अंशु लक्ष्मी माध्यमिक विद्यालयको कक्षा ५ मा अध्ययनरत थिइन् । बालिकाको मृत्युको खबरले सिंगो गाउँ स्तब्ध एवं त्रसित बनेको उनले बताए ।

विभत्स अवस्थामा शव फेला परेकाले बालिकाको हत्या नै भएको बताउँदै स्थानीयले दोषीलाई तत्काल पक्राउ गरी कारबाहीको दायरामा ल्याउन माग गरेका छन् । वडाध्यक्ष तिम्सिनाले पनि घटनाको प्रकृति हेर्दा बालिकाको हत्या नै भएको अनुमान गरिएको बताए ।

प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरेर बालिकाको शवलाई पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको छ । पोस्टमार्टम रिपोर्ट आएपछि र थप अनुसन्धान अघि बढाएपछि मृत्युको कारण स्पष्ट हुने एसपी कटवालले बताए ।

प्रहरीले घटनास्थललाई नियन्त्रणमा लिएर घटनासँग सम्बन्धित प्रमाण संकलन गरेको छ । प्रहरीले वरपर बस्तीका केही व्यक्तिहरूमाथि सोधपुछ पनि गरिरहेको जनाएको छ ।

हमासको ग्रिनेड फालेर साथीहरूलाई जोगाए, आफू युद्धभूमिमै बिलाए विपिन

इजरायल र हमासबीचको युद्ध दुई वर्षपछि अन्त्य भएपछि सोमबार हमासले २० इजरायली बन्धक मुक्त गर्‍यो।
गाजामा बन्धक बनाइएकाहरुको परिवारमा पुनर्मिलन हुँदाको क्षणले इजरायलमा खुसीयाली छ। बन्धक मुक्तको हुँदा यस्तै खुसीयाली नेपालसम्म पुग्ने अपेक्षा थियो।
तर भीमदत्त नगरपालिका–३ भाँसीस्थित विपिन जोशीको घरमा बिहानै सोचेभन्दा भिन्न, मनै कुडिने खबर आयो। हमासले रिहाइ गर्ने जीवित बन्धकको सूचीमा नेपाली विद्यार्थी विपिन थिएनन्।
दुई वर्षदेखि परिवार गाजामा बन्धक बनाएका विपिन घर फर्किने आशमा बाटो कुरेर बसेका थिए। यसपालीको तिहारमा खुसी भित्रिने आशा थियो तर आशाको त्यान्द्रो चुँडियो। विपिन परिवारका एक्ला छोरा थिए। आमा पद्मा र बहिनी पुष्पा अमेरिकामा छन्।
इजरायलमा हमासले गरेको आक्रमणमा परेर १० नेपालीको ज्यान गएको थियो। ‘सिक्दै कमाउँदै’ कार्यक्रममा इजरायल गएका विपिन वि.सं. २०८० असोज २० गते शनिबारदेखि परिवारको सम्पर्कमा थिएनन्।
‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत टीकापुर कृषि क्याम्पसका ४९ जना विद्यार्थी ०८० भदौ अन्तिम साता इजरायल गएका थिए।
७ अक्टोबर २०२३ मा हमासको आक्रमणमा परेर इजरायलमा १० नेपाली विद्यार्थी मारिए। हमासले फालेको ‘ग्रिनेड’ हालेर नेपाली विद्यार्थी जोगाउने विपिनलाई हमासले बन्धक बनाएर लगेको थियो।
दुई वर्षअघि हमासले आक्रमण गर्नुअघि दक्षिणी इजरायल शान्त नै थियो। किबुज क्षेत्रमा रहेको कृषि फार्ममा १७ नेपाली विद्यार्थी बस्थे। नेपालबाट गएका कृषि प्रशिक्षार्थीलाई एकै ठाउँमा राख्ने गरिन्छ।
एक्कासी सीमा नाघेर हमास आक्रमणकारी बन्दुक र बमसहित किबुज क्षेत्रमा पसेका थिए। गाजाबाट आक्रमण भएलगत्तै इजरायलको अलर्ट साइरन बजेपछि किबुजमा रहेका १७ नेपाली विद्यार्थी बंकरभित्र छिरे। बाहिर हमास लडाकु ग्रिनेट र बन्दुक लिएर घुमिरहेका थिए।
‘गोलीबारी पनि भइरहेको थियो। त्यसको केहीपछि दुईवटा ग्रिनेड बंकरभित्र फाले आतंकवादीले। एउटाचाहिँ विपिनले बाहिर फाल्यो,’ दुई वर्षअघि इजरायलबाट फर्किएका धनबहादुर चौधरीले भनेका थिए, ‘अर्को चाहिँ बंकरभित्रै पड्किहाल्यो। त्यसपछि हामी सबैजना ‘ब्ल्याकआउट’ जस्तै भयौं।’
हमासको आक्रमणमा नारायणप्रसाद न्यौपाने, आशीष चौधरी, दीपेशराज विष्ट, लोकेन्द्रसिंह धामी, गणेशकुमार नेपाली, आनन्द साह, राजेशकुमार स्वर्णकार, राजन फुलारा, पदम र प्रवेश भण्डारीको मृत्यु भएको थियो।

‘जेनजी विद्रोह’पछि एमाले र माओवादीद्वारा मंसिरमा महाधिवेशन घोषणा, माैन कांग्रेस

काठमाडौं । भदौ २३ र २४ गतेको ‘जेनजी विद्रोह’पछि देशको राजनीतिक परिदृश्य उथलपुथल बनेको छ । यसबीच, दुई ठूला कम्युनिस्ट दल—नेकपा एमाले र नेकपा माओवादी केन्द्रले मंसिरको अन्त्यतिर आफ्ना महाधिवेशन गर्ने निर्णय गरेका छन् ।

आइतबार सम्पन्न एमाले सचिवालय बैठकले पार्टीको ११औँ महाधिवेशन मंसिरको अन्तिम साता गर्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । स्थान र मिति केन्द्रीय समिति बैठकले टुंग्याउनेछ ।

सचिवालय बैठकले तयार पारेको एजेन्डाबारे निर्णय गर्नका लागि असोज २९ गते केन्द्रीय समिति बैठक बोलाइएको छ । जेनजी विद्रोहका कारण अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढलेपछि पार्टीभित्र नेतृत्व हस्तान्तरणको माग तीव्र बनेको थियो । त्यसपछि ओलीले बैठक बोलाएर उक्त विषय महाधिवेशनबाटै टुंग्याउने बताएका थिए ।

ज्ञवालीका अनुसार केही नेताले नेतृत्वको विकल्पबारे कुरा उठाए पनि बाहिर फैलिएको कित्ताकाटको हल्ला गलत भएको बताए । “पार्टीभित्र मतभेद हुँदा मिडियाले म्यानुपुलेट गर्ने गर्छ,” उनले भने, “तर योपटक खुलेर आफ्ना विचार राख्ने वातावरण बनेको छ ।”

भदौ २०–२३ मा सम्पन्न विधान महाधिवेशनले ७० वर्षको उमेर सीमा र दुई कार्यकालको व्यवस्था खारेज गर्दै ओलीलाई अध्यक्ष बनाउने बाटो खुलेको थियो । पार्टीभित्र बढ्दो असन्तुष्टि बीच महाधिवेशन घोषणा भएपछि ओलीले केही हदसम्म राहत महसुस गरेको बताइन्छ ।

एमालेजस्तै नेकपा माओवादी केन्द्रमा पनि नेतृत्व हस्तान्तरण र पार्टी पुनर्गठनको विषयमा मतभेद बढेका छन् । पार्टीले मौजुदा केन्द्रीय समिति विघटन गरी मंसिरको अन्त्यतिर विशेष महाधिवेशन गर्ने निर्णय गरिसकेको छ ।

जेनजी विद्रोहअघि नै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नेतृत्व छोड्न दबाब बढिरहेको थियो । असोज ९ र १० गते बसेको केन्द्रीय समिति बैठकमा नारायणकाजी श्रेष्ठ, जनार्दन शर्मा लगायत नेताहरूले कार्यवाहक नेतृत्व दिएर महाधिवेशनमा जान सुझाव दिएका थिए । तर बहुमत सदस्यहरूले प्रचण्डकै संयोजकत्वमा महाधिवेशन समितिले बनाएका छन् ।

नेता हरिबोल गजुरेलका अनुसार, विशेष वा एकता महाधिवेशन गर्ने भन्नेबारे अझै बहस जारी छ । “समाजवादी मोर्चा र अन्य वामपन्थी घटकहरूसँग एकताको पहल भइरहेको छ,” उनले भने ।

प्रचण्डले एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी (नेसपा) र नेकपा विप्लव समूहसँग पनि एकता सम्भावनाबारे सकारात्मक संकेत दिएका छन् ।

माैन रुपमा कांग्रेस

एमाले र माओवादीले महाधिवेशनको मिति तय गरिसक्दा नेपाली कांग्रेस भने अझै निर्णयविहीन अवस्थामा छ ।
जेनजी विद्रोहका बेला आफ्नै निवास बुढानीलकण्ठमा आक्रमणमा परेका सभापति शेरबहादुर देउवा असोज २३ गतेदेखि बसिरहेका नियमित बैठकहरूमा उपस्थित छैनन् । उनी अनुपस्थित रहेपछि बैठकको नेतृत्व उपसभापति पूर्णबहादुर खड्काले गरिरहेका छन् ।

मंगलबारदेखि सुरु हुने केन्द्रीय कार्यसमिति बैठकको मुख्य एजेन्डा महाधिवेशन हो । प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार, बैठकको सभापतित्व देउवाले नै गर्नेछन् । कार्यवाहक सभापतिको विषयमा कुनै औपचारिक प्रस्ताव नआएको उनले स्पष्ट पारे ।

पूर्वउपसभापति विमलेन्द्र निधि र पूर्वमहामन्त्री डा. शशांक कोइरालाले कार्यवाहक सभापतिको जिम्मेवारी दिनुपर्ने सुझाब दिएका छन् भने महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नेतृत्व हस्तान्तरण र पार्टी रुपान्तरणका लागि विशेष महाधिवेशनमा जानुपर्ने प्रस्ताव गरेका छन् ।

कांग्रेस विधानअनुसार नियमित महाधिवेशन मंसिरमा गर्नुपर्ने व्यवस्था छ, तर विशेष परिस्थितिमा एक वर्ष कार्यकाल बढाउन सकिने वैधानिक प्रावधान छ । विशेष वा नियमित महाधिवेशन कुन गर्ने भन्ने विषय केन्द्रीय समिति बैठकले नै टुंग्याउने कांग्रेस नेताहरूले बताएका छन् ।

२०७८ साल मंसिरमा कांग्रेस र एमालेका महाधिवेशन भएका थिए भने माओवादीले सोही वर्ष पुसमा आफ्नो महाधिवेशन सम्पन्न गरेको थियो । यदि जेनजी विद्रोह नभएको भए, यी तीनै दलले २०८३ सालमा महाधिवेशन गर्ने तयारी गरेका थिए ।

ओली–लेखकविरुद्धको जाहेरी प्रहरीबाटै सीधै जाँचबुझ आयोगमा

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरी प्रहरीमार्फत दर्ता नभई सीधै जाँचबुझ आयोगमा पुगेको छ।

जेनजी आन्दोलनका क्रममा अन्धाधुन्ध गोली चलाएर बालबालिकाको हत्या गरेको आरोपमा मृतकका परिवार तथा जेनजी समूहले जाहेरी दिएका थिए। तर, काठमाडौं प्रहरी परिसरले उक्त जाहेरी दर्ता नगरी आयोगमा पठाएको हो।

प्रहरी परिसरका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार यो प्रकृतिको मुद्दा जाँचबुझ आयोगको कार्यक्षेत्रमा पर्ने भएकाले जाहेरी आयोगमा पठाइएको हो। उनका शब्दमा, “चार जनाको तर्फबाट जाहेरी आएको थियो, हामीले आयोगको कार्यक्षेत्रमा पर्ने भएकाले त्यहाँ पठायौं।”

सरकारले जेनजी आन्दोलनका क्रममा भएको दमनबारे अनुसन्धान गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ। आयोगलाई तीन महिनाभित्र प्रतिवेदन बुझाउने म्यान्डेट दिइएको छ।

मृतक परिवार र आन्दोलनकारीहरूले ओली र लेखकलाई तत्काल पक्राउ गर्न माग गर्दै जाहेरी दर्ताको प्रयास गरेका थिए। जाहेरी नदर्ता भएपछि सोमबार राति र मंगलबार दिनभर जिल्ला प्रहरी परिसरमा तनावपूर्ण स्थिति बनेको थियो।

खाड़ीचौर सडक खण्डमा बस दुर्घटना

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको चरिकोट– खाड़ीचौर सडक खण्डमा बस दुर्घटना भएको छ । सिन्धुपाल्चोकका प्रहरी प्रमुख रामेश्वर कार्कीका अनुसार चरिकोट–खाडीचौर सडक खण्डको सुनकोशी–७ पाँचकिलोमा बस दुर्घटना भएको हो ।

दुघटना हुँदा २१ जना घाइते भएका प्रहरीले जनाएको छ  । रामेछापको खाडादेवी गागलभदौरे ८ बाट चरिकोट हुँदै काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०३–००१ ख २५२१ नम्बरको बस अनियन्त्रित भई सडकको भित्तामा ठक्कर खाएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रहरी चौकी लामोसाँघुबाट अशोक महतोको नेतृत्वमा ट्राफिक सहित गएको टोलीले घटनास्थल पुगेर चालक, ३ जना नाबालक समेत गरी २१ जना घाइतेलाई उद्वार गरी उपचारका लागि सिन्धु सदाबहार अस्पताल खाडीचौर पठाइएको प्रहरीले जनाएको छ । सबै घाइतेहरूको अवस्था सामान्य रहेको कार्कीले बताए ।

हिमाल तराई यातायातको बस दुर्घटनामा परेपछि गाडीमा सवार यात्रुलाई लिन बनेपाबाट खाडीचौर बस पठाइएको हिमाल तराई यातायातका अध्यक्ष आत्मराम थापाले जानकारी दिए ।

काठमाडौँका सडकमा टीका लगाउन हिँड्नेहरूको चहलपहल

यस वर्षको दसैँको टीकाको साइत आज बिहान ११ बजेर ५३ मिनेट निर्धारण गरिएको थियो । पञ्चाङ्ग निर्णायक समितिका अनुसार साइतपछि पनि टीका लगाउन मिल्छ ।
प्रचलनअनुसार टाढाका आफन्तकहाँ पुगेर पूर्णिमासम्म पनि दसैँको टीका र आशीर्वाद ग्रहण गर्न मिल्छ । कोजाग्रत पूर्णिमाका दिन महालक्ष्मीको ब्रत बसी पूजा गरेपछि दसैँ पर्व समापन हुन्छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार दसैँको घटस्थापनादेखि आजसम्मको नवौँ दिनको अवधिमा मात्रै छ लाख ११ हजार ६५७ जनाले काठमाडौँ छाडेका छन्।  
यही अवधिमा तीन लाख १९ हजार १५ जना उपत्यका भित्रिएका छन्।
पछिल्लो २४ घण्टामा मात्रै ५८ हजार ३९६ जनाले काठमाडौँ उपत्यका छाडेको प्रहरीको रेकर्ड छ।
दसैँ सुरु भएसँगै काठमाडौँ उपत्यका छाड्ने नागरिकको सङ्ख्या तीव्र रुपमा बढ्दै गएको र पछिल्लो २४ घण्टामा मात्र १३ हजार ३२६ यात्रुवाहक सवारी साधन उपत्यकाबाट बाहिरिएका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए।
घटस्थापनादेखि आजसम्म काठमाडौँ उपत्यकाबाट बाहिरिएका सवारी साधनको सङ्ख्या एक लाख १३ हजार ४१५ पुगेको छ। यिनै सवारी साधनमार्फत यात्रामा निस्किनेहरुको मुख्य गन्तव्य भने देशका पूर्वी, पश्चिमी र सुदूरपश्चिम प्रदेशका जिल्ला रहेका छन्।

असोज १७ देखि २० सम्म अति जरुरी छैन भने टाढाको यात्रा नगर्नू : विपद् व्यवस्थापन प्राधिकरण

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले असोज १७ गतेदेखि २० गतेसम्म देशका पाँचवटा व्यापक वर्षाको सम्भावना देखिएकाले यस अवधिमा अत्यन्त जरुरी नपरी टाढाको यात्रा नगर्न सुझाव दिएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार यही असोज १७ गतेदेखि २० गतेसम्म देशका खासगरी कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना छ। यस क्रममा नारायणी, बागमती, कमला र कोसी नदीमा बहाब खतरा तह आसपास पुग्न सक्ने देखिएको छ।

विशेषगरी बागमती प्रदेशको काठमाडौँ उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, मकवानपुर, चितवन, कोसी प्रदेशको संखुवासभा, ताप्लेजुङ, इलाम, झापा, मोरङ, मधेस प्रदेशका बारा, पर्सा, सर्लाही, रौतहट र आसपासका जिल्ला भई वहने ससाना नदीहरूमा आकस्मिक बहाबको सम्भावना उच्च रहेको हुँदा सतर्कता अपनाउन र पूर्वतयारी गर्न विपद् प्राधिकरणले सल्लाह दिएको छ।

यस्तो छ, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पूरा सूचना

उच्च सतर्कताका लागि अनुरोध
जल तथा मौसम विज्ञान विभागका अनुसार यही असोज १७ गतेदेखि २० गतेसम्म देशका खासगरी कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ। नारायणी, बागमती, कमला र कोसी नदीमा बहाब खतरा तह आसपास पुग्न सक्ने देखिएको छ।

विशेषगरी बागमती प्रदेशको काठमाडौँ उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, मकवानपुर, चितवन, कोसी प्रदेशको संखुवासभा, ताप्लेजुङ, इलाम, झापा, मोरङ, मधेस प्रदेशका बारा, पर्सा, सर्लाही, रौतहट र आसपासका जिल्ला भई वहने ससाना नदीहरूमा आकस्मिक बहाबको सम्भावना उच्च रहेको हुँदा सतर्कता अपनाउनु हुन र पूर्वतयारी तथा पूर्वकार्य गर्नु हुन सबैमा अनुरोध गर्दछौँ।

यतिबेला दसैँको माहोल पनि भएकाले तपसिलबमोजिमका कार्य गर्न/गराउन सम्बन्धित सबैमा अनुरोध छ।

  • उल्लिखित अवधिमा अत्यन्त जरुरी नभई सकेसम्म घरदेखि टाढा र रातिको समयमा यात्रा नगर्ने।
  • सम्बन्धित जिल्ला विपद् व्यवस्थापन समितिले वर्षा र बाटोको अवस्था हेरी सवारी सञ्चालनमा रोक लगाउनेबारे आवश्यक निर्णय लिने र सो निर्णय पालना गराउने।
  • पहिरोको जोखिममा रहेका तथा नदी किनारका बस्तीहरूमा उच्च सतर्कता अपनाउने।
  • डुबान हुने बस्तीका बासिन्दाहरूले उँचो (अग्लो) र सुरक्षित स्थानबारे जानकारी लिने र अरूलाई पनि जानकारी दिने। आवश्यक पर्नासाथ सुरक्षित स्थानमा जाने।
  • तीनवटै सुरक्षा निकाय, स्थानीय तह, स्वयंसेवकलगायत सरोकारवाला सबै निकाय प्रतिकार्यका लागि तयारी अवस्थामा रहने।
  • जोखिमयुक्त राजमार्ग र सडकहरूमा तुरुन्त परिचालन हुने गरी डोजर, एक्साभेटर, लोडरलगायतका साधनहरू तयारी अवस्थामा राख्ने।
  • पूर्वतयारी, पूर्वकार्य र प्रतिकार्यमा सहयोग गर्ने साझेदार संस्थाहरू जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिको सम्पर्कमा रही सतर्क (अलर्टमा) रहने।

 

रित्तिएको गाउँमा दशैंको रौनक, पर्व सकिनासाथ उस्तै

काठमाडौँ । स–साना घरहरू सुनसान देखिने गाउँ, जहाँ वर्षभरि मान्छेको चहलपहल थोरै हुन्छ, दशैंको समयमा अचानक जीवन फर्किन्छ। रित्तिएको गाउँले यसै उत्सवको कारण आफ्नो पहिचान, रौनक र मिलनको अनुभूति पाउँछ ।

दसैं नजिकिँदै गर्दा गाउँका सडक, घरको मुख्यद्वार र मठ–मन्दिरहरूमा हल्का हल्का सजावट देखिन थाल्छ। धुलोले ढाकिएका बाटोमा मानिसहरूको पाइलाको आवाजले वातावरण जीवन्त बनाउँछ। वर्षभरि देश–परदेशमा काम गर्न गएका युवा–युवतीहरू घर फर्कने यही बेला हो। उनीहरूको उपस्थितिले गाउँमा नयाँ ऊर्जा र उत्साह थपिन्छ।

गाउँका कृषकहरूका लागि दशैं केवल धार्मिक पर्व मात्र होइन, परिवारसँग भेटघाट र थकाइ मेट्ने समय पनि हो। वर्षभरि खेतबारीमा खटिने उनीहरूले दशैंमा एकसाथ खाना खाने, जमघट गर्ने र पुरानो चिन्ता साझा गर्ने अवसर पाउँछन्। हरेक घरमा रसोईको चुलोमा विशेष परिकार बनाइन्छ—मासु, दाल, भात, र विभिन्न मौसमी तरकारीहरूको मेलले दसैंको स्वाद अझ मिठो बनाउँछ।

घरका सबै सदस्य जुटेर घरको मुख्यठाउँमा दशैँ टीका, जमरा र रात्रि पूजाआजा गर्छन्। कतिपय गाउँमा पुराना मन्दिर र पथ–मन्दिरमा विशेष पूजाआजा आयोजना हुन्छ। महाअष्टमीको राति हुने कालरात्रि पूजा जस्तै परम्परागत क्रियाकलापहरू गाउँले उत्साहका साथ पालना गर्छन्। स्थानीय तान्त्रिक र पुजारीहरूले आफ्नो परम्परागत विधि अनुसार बलि, मंत्रोच्चारण र पूजा सञ्चालन गर्छन्, जसले गाउँको सांस्कृतिक पहिचानलाई अझ जीवित बनाउँछ।

दसैंको बेला गाउँले सडक र घरभरि मानिसको चहलपहल बढ्छ। अन्य बेला खाली देखिने बजार, स्कूल र सडकमा एकाएक रमाइलो र हलचल देखिन्छ। बजारमा विभिन्न आवश्यक सामानको भीड, नयाँ लुगा र मिष्ठान्न किन्न आएका मानिसहरूको हल्ला र हाँसोले वातावरण झन् रौनकिलो बनाउँछ। विदेश वा शहरबाट फर्किएका युवाले गाउँमा छोटो समयमा नयाँ ऊर्जा ल्याउँछन्।

वर्षभरि टाढा बस्नुका कारण परिवारसँग समय बिताउन नपाएका बुजुर्ग र बच्चाहरूको खुशी झल्किन्छ। घर फर्किएका मान्छेहरूको हाँसो, कथा–किस्सा र मिठा खानेकुराले गाउँमा आनन्द र उत्सवको माहोल सिर्जना गर्छ। नातेदार, छिमेकी र साथीहरू एकसाथ बसेर पुराना सम्झनाहरू साझा गर्ने अवसर पाउँछन्। बच्चाहरूको दौडधुप, झूला र पारिवारिक खेल–कुदले गाउँको माहोलमा जीवन्तता र रंगीनता थप्छ।

कृषक हरू खेतबाट फर्केर माटोले ढाकिएका लुगा धोएर, नयाँ कपडा लगाएर घरमा आउँछन्। उनीहरूको अनुहारमा थकान भए पनि दसैंको खुशी र उत्साह प्रष्ट देखिन्छ। केही युवाहरूले गाउँको पुरानो पर्खाल वा घुम्तीको पाटीमा बसेर आफ्ना साथीहरूसँग वर्षभरि भएका अनुभव बाँड्छन्।

दसैं मात्र धार्मिक पर्व होइन, गाउँको सांस्कृतिक र सामाजिक जीवनको प्रतीक हो। यसले गाउँमा परिवार, समुदाय र सांस्कृतिक सम्बन्ध बलियो बनाउँछ। गाउँका वृद्धहरूले आफ्नो अनुभव र परम्परा स–साना पुस्तासँग बाँड्छन्, जसले सांस्कृतिक ज्ञानको हस्तान्तरण सुनिश्चित गर्छ। विशेषगरी पर्वको समयमा गाउँका हरेक घटना—टीका लगाउने, जमरा राख्ने, पूजा गर्ने र साँझको भेला—सांस्कृतिक पहिचानको अभिन्न हिस्सा बन्न पुग्छ।

दसैंको अवसरमा गाउँमा संगीत र नाचको पनि माहोल बनाउँछ। केही गाउँले म्यूजिक ब्यान्ड, ढोल–नगारा र स्थानीय गीत–नृत्यको आयोजना गर्छन्। बच्चाहरू र युवाहरूले गाउँको मुख्यचोकमा झुम्दै, हाँस्दै र गीत गाएर पर्वको खुशी दर्शाउँछन्।

माटोको सम्झना

दसैंले गाउँमा मात्र नभई परिवार र समुदायलाई जोड्ने भूमिका खेल्छ। शहर र विदेशमा रहेका मानिसले पनि घर फर्केर आत्मीय सम्बन्ध र गाउँको माटोको सम्झना ताजा गर्छन्। यो अवसरले मानिसहरूलाई आफ्नो जरा र पहिचान सम्झाउँछ।

त्यसैगरी, दशैंको समयमा गाउँले सामुदायिक काम पनि गर्छ। सडक मर्मत, नदी–नालामा सफाइ, पुराना संरचना र मठ–मन्दिरको मर्मत, र आम मानिसलाई सहयोग गर्ने कामहरू बढ्छ। यसले गाउँमा सहकार्य र आपसी मेलमिलापलाई अझ मजबुत बनाउँछ।

दसैं सकिएपछि…

पर्व सकिएपछि गाउँ फेरि सामान्य जीवनमा फर्किन्छ । तर दसैंको रमाइलो, स्वाद, हाँसो र संस्कारहरूको स्मृति लामो समयसम्म स्मृतिमा टिक्छ। गाउँले अनुभवले मात्र होइन, फोटो, भिडियो र कथाहरू मार्फत पनि दशैंको यादलाई अर्को वर्षसम्म जीवित राख्छ।

स–साना गाउँमा, जहाँ दैनिक जीवन शान्त र सुनसान देखिन्छ, दसैंको यो रौनक र जीवन्तता गाउँले र गाउँबासीलाई एकतामा बाँध्ने पुलको काम गर्छ। पर्वको प्रत्येक पाइलामा, हर एक घरको चुलोमा र हरेक मन्दिरको ढोकामा, जीवनको उत्सव र सामूहिक पहिचान झल्किन्छ।

लेटेष्ट समाचार

साफ महिला च्याम्पियनसिपमा आज दुई खेल हुँदै

काठमाण्डौं । पोखरा अन्तर्राष्ट्रिय फुटबल रंगशालामा सञ्चालन भइरहेको १९ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता अन्तर्गत सोमबार लिग चरणका दुई खेल हुँदैछन्। पहिलो खेल बांग्लादेश...

राष्ट्रपति पौडेल जापानमा, नेपाल –जापान सम्बन्धको ७०औँ वार्षिकोत्सव मनाइँदै

काठमाण्डौं । नेपाल र जापानबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सव सोमबार मनाइँदैछ । यस अवसरमा आयोजित विशेष समारोहमा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेल...

प्रतिनिधिसभा निर्वाचन ः प्रत्यक्षतर्फ २५ जिल्लाका ३० लाख मतपत्र छापियो

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ हालसम्म ३० लाख मतपत्र छपाइ भएको छ । निर्वाचन आयोगका अनुसार कूल २५...