काठमाण्डौं । नेपालमा विभिन्न खेलहरूको प्रबर्धनमा आफूले सकेको योगदान पु¥याउने उद्देश्य राखी विगतका विभिन्न वर्षहरूमा यस पुष्पसदन आवासीय माध्यमिक विद्यालयले कीर्तिपुर नगरस्तरीयदेखि लिएर उपत्यकाव्यापी तथा राष्ट्रिय स्तरसम्मको अन्तर्विद्यालय तथा खुल्ला बुद्धिचाल (चेस) प्रतियोगिताका साथै बास्केटबल र टेबल–टेनिस प्रतियोगिताहरूको आयोजना गर्न सफल भइसकेको छ । यसै सन्दर्भ यो वर्ष पनि बुद्धिचाल प्रतियोगितालाई अन्तर्राष्ट्रिय स्तरसम्म लैजाने उद्देश्यले भारत, बङ्गलादेश, श्रीलङ्का तथा चीनजस्ता छिमेकी मित्र राष्ट्रहरूका केही इच्छुक विद्यालयहरूलाई समेत आमन्त्रण गरी यही ११ देखि १३ जनवरी २०२५ सम्म (२०८१ पौष २७ देखि २९ गते) तीन दिवसीय (पुष्पसदन अन्तर्राष्ट्रिय अन्तर्विद्यालय बुद्धिचाल प्रतियोगिता–२०२५) आयोजना गर्ने निश्चय गरेको व्यहोरा जानकारी गराउन पाउँदा हामीलाई हर्ष लागेको छ । प्रतियोगितामा काठमाडौँ उपत्यकाबाहिर र नेपालबाहिरबाट सहभागी हुने खेलाडीहरूको टोलीलाई विद्यालयले आफ्नै खर्चमा निःशुल्क आवास र खानपिनको प्रबन्ध मिलाएको छ, साथै नेपालबाहिरबाट सहभागी हुन आउने खेलाडीहरूलाई दर्ता शुल्कमा समेत सहुलियत प्रदान गर्ने निश्चय गरेको छ ।
प्रतियोगिता नेपाल बुद्धिचाल संघको प्राविधिक सहयोगमा स्वीस लीग प्रणालीका आधारमा (७ राउण्डमा) सञ्चालन गरिनेछ, जसमा अण्डर ११, अण्डर १३ र अण्डर १५ उमेरका छात्र तथा छात्राहरूले छुट्टाछुट्टै प्रतिस्पर्धा गर्नेछन् । १०औँ स्थानसम्म हासिल गर्ने उत्कृष्ट खेलाडीहरूलाई स्वर्ण, रजत तथा कास्यँ पदक तथा प्रमाणपत्र दिइनेछ भने विजेता तथा उपविजेता विद्यालयहरूलाई ट्रफी तथा प्रमाणपत्र प्रदान गरिनेछ ।
१३ जनवरी २०२५ (२०८१ पौष २९ गते) अपरान्ह सम्पन्न हुने उक्त प्रतियोगिताको समापन तथा पुरस्कार वितरण समारोहमा कीर्तिपुर नगरपालिकाका मेयर श्री कृष्णमान डङ्गोलको प्रमुख अतिथि रहनुहुने निििश्चत भइसकेको व्यहोरा पनि जानकारी गराउँदछौँ ।
त्यसै गरी, आगामी २०८१ माघ २४ देखि २६ गते (६ देखि ८ फरवरी २०२५) मा विभिन्न समूहअन्तर्गत काठमाडौँ उपत्यकाव्यापी अन्तर्विद्यालय टेबुल–टेनिस प्रतियोगिता समेत सम्पन्न गर्ने विद्यालयको योजना रहेको जानकारी गराउँदछौँ ।