काठमाण्डौं । मुग्लिङ–मलेखु सडक खण्ड मंगलबारदेखि रातिको समयमा तीन दिनसम्म बन्द हुने भएको छ ।
यस सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–६ मा पर्ने घोप्टेभिर क्षेत्रमा भइरहेको भित्ता कटिङ कार्यलाई सुरक्षित र व्यवस्थित बनाउन रातको समयमा राजमार्ग पूर्णरुपमा बन्द गर्न लागिएको हो ।
मुग्लिन–नागढुङ्गा सडक योजना (पश्चिम खण्ड) का अनुसार राति १० बजेदेखि बिहान ४ बजेसम्म एम्बुलेन्स, दमकलजस्ता अत्यावश्यक गाडीबाहेक अरु गाडी चल्न पाउने छैनन् ।
यस अवधिमा थप उपकरण प्रयोग गरी भित्ता कटिङको काम तीव्र बनाइने सडक योजनाले जनाएको छ ।
मुग्लिङ–मलेखु सडक आजदेखि राति ३ दिन बन्द
एमालेको सचिवालय बैठक बस्दै, आन्दोलनका थप कार्यक्रमबारे छलफल हुने
काठमाडौं । नेकपा (एमाले) ले सचिवालय बैठक बोलाएको छ । पार्टी कार्यालय च्यासलमा आज बिहान ११ बजे सचिवालय बैठक बस्न लागेको हो ।
पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउपछि पार्टीको दोस्रो सचिवालय बैठक बस्न लागेको हो । यसअघि शनिबार बसेको आकस्मिक सचिवालय बैठकले अध्यक्ष ओलीलाई तत्काल रिहा गर्न माग गर्दै कानुनी तथा राजनीतिक रूपमा सशक्त प्रतिवाद गर्ने निर्णय गरेको थियो । सोही दिनबाट पार्टीको जनसंगठनहरूको तर्फबाट देशभर विरोध प्रदर्शन भइरहेको छ । साथै, चैत १५ गते देशैभरका जिल्ला पार्टी कमिटीहरुले प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारी कार्यालयमार्फत पूर्वप्रधानमन्त्री ओली र कांग्रेस नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउको विरूद्धमा सरकारलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
आजको सचिवालय बैठकमा आन्दोलनका थप कार्यक्रमबारे छलफल हुने जनाईएको छ । अध्यक्ष ओलीलाई राजनीतिक प्रतिशोधका आधारमा गैरकानुनी रुपमा पक्राउ गरिएको भन्दै एमालेले देशभर विरोध प्रदर्शनका कार्यक्रमहरु गरिरहेको छ ।
काठमाण्डौंका तत्कालीन सीडीओ छवि रिजाल पक्राउ
काठमाण्डौं । काठमाण्डौं जिल्लाका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजाल पक्राउ परेका छन् ।
उनलाई मंगलबार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनका लागि उनलाई पक्राउ गरिएको हो ।
जेनजी आन्दोलन हुँदा रिजाल काठमाण्डौंका प्रमुख जिल्ला अधिकारी थिए।
गत भदौ २३ र २४ गते भएको जेन जी आन्दोलन नियन्त्रणका क्रममा भएको सुरक्षा दमनमा उनको भूमिकालाई लिएर जाँचबुझ आयोगले लापरबाही र हेलचेक्र्याइँ गरेको ठहर गर्दै कारबाहीका लागि सिफारिस गरेको थियो।
आयोगको प्रतिवेदनले उनलाई मुलुकी अपराध संहिताअनुसार ज्यान सम्बन्धी कसुरमा अनुसन्धान गर्न सिफारिस गरेको थियो।
यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक पक्राउ परिसकेका छन्।
रेखा शर्मालाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
काठमाडौँ । पक्राउ परेकी नेकपा एमालेकी लुम्बिनी प्रदेश सांसद रेखा शर्मालाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ ।
सोमबार उनलाई प्रहरीले काठमाडौँको धुमबाराहीबाट पक्राउ गरेको थियो ।
उनले एक बालिकालाई घरमा राखेर बालश्रम गराएको आरोप लागेका थियो । शर्मालाई मुद्दा चलाउन नपर्ने राय सहित जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौँमा तयार भएको फाइल उच्च सरकारी वकिलको कार्यालय हुँदै महान्यायाधिवक्ताको कार्यालयमा पुगेको थियो ।
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
काठमाडौं । सरकारले आगामी चैत १९ गते संघीय संसद्को अधिवेशन बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले चैत १९ गते संसद्को अधिवेशन आह्वान गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।
महेश बस्नेतलाई पक्राउ अनुमति दिन अदालतद्वारा अस्वीकार
काठमाण्डौं । जिल्ला अदालत काठमाण्डौंले नेकपा एमालेका सचिव महेश बस्नेतलाई पक्राउ गर्ने अनुमति दिन अस्वीकार गरेको छ ।
न्यायाधीश ध्रुव कार्कीको इजलासमा सोमबार फाइल पेश हुँदा अदालतले पक्राउ पुर्जी जारी गर्न अस्वीकार गरेको छ ।
काठमाण्डौं जिल्ला अदालतका स्रेस्तेदार तीर्थराज भट्टराईले बस्नेतको विवादको विषय उच्च अदालत पाटनमा विचाराधीन रहेकाले इजलासले अनुमति दिन अस्वीकार गरेको जानकारी दिए ।
उच्च अदालतबाट नटुंगिएसम्मका लागि अनुमति दिन नमिल्ने आदेश भएको छ ।
सन् नेपाल लाइफ इन्स्युरेन्सका सीईओ अर्याल पक्राउ
काठमाडौँ । सन् नेपाल लाइफ इन्स्युरेन्स कम्पनीका सीईओ राजकुमार अर्याल पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले अर्याललाई आज पुतलीसडकबाट पक्राउ गरेको हो ।
कर्मचारीलाई छुट्याएको शेयरमा सीईओ अर्यालले किर्ते गरेर आफैंले कब्जा गरेको सम्बन्धमा अनुसन्धान गर्न पक्राउ गरिएको बुझिएको छ ।
नेशनल लाइफ इन्स्योरेन्सको कम्पनी सचिवमा हिमाल कोइराला नियुक्त
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको कम्पनी सचिवमा हिमाल कोइराला नियुक्त भएका छन् । कम्पनीमा नायव प्रशासन प्रबन्धक पदमा कार्यरत रहेका उनी कानुन संकायमा स्नाकोत्तर उत्तिर्ण गरेका कर्मचारी हुन् ।
कम्पनीको प्रशासन प्रबन्धक शर्मीला श्रेष्ठ कम्पनी सचिवको रुपमा कार्यरत रहेकी थिइन् । उनले आफ्नो सो पदबाट राजिनामा दिएपछि रिक्त पदमा कोइरालालाई नियुक्त गरिएको छ ।
कम्पनी सञ्चालक समितिको चैत ९ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले अनुभवी तथा कानुन सम्बन्धि राम्रो ज्ञान भएका हिमाल कोइरालालाई कम्पनी सचिवमा नियुक्त गरेको हो ।
दराजद्वारा ४.४ नव वर्ष उत्सव सार्वजनिक
काठमाडौं । दराज नेपालले नयाँ वर्ष २०८३ लाई विशेष बनाउन आफ्नो बहुप्रतीक्षित ४.४ नव वर्ष उत्सव सार्वजनिक गरेको छ । ७५ प्रतिशतसम्मको छुट, निःशुल्क होम डेलिभरी र रु. ८३ लाख बराबरका भौचरहरू सहितको यो सेल चैत २० देखि २७ गतेसम्म सञ्चालन हुनेछ।
यस उत्सव अन्तर्गत ग्राहकहरूले विभिन्न क्याटेगरी र प्रमुख साझेदार ब्रान्डहरूमा दैनिक फ्ल्यास सेल मार्फत विशेष अफर प्राप्त गर्न सक्नेछन्। प्लाटिनम पार्टनर ब्रान्डहरू चर्च एण्ड ड्वाइट, एंकर, होनसा, ब्राण्डहाउस, युनिलिवर र मिनिमलिस्टमा ६० प्रतिशतसम्म छुट, गोल्ड पार्टनर ब्रान्डहरू फोरया र एक्सएजमा ६० प्रतिशतसम्म र सिल्भर पार्टनर ब्रान्डहरू नाइक, फ्यानटेक र पीसेफमा ६५ प्रतिशतसम्म छुट उपलब्ध हुने कम्पनीले जनाएको छ।
चार प्रमुख बैंकहरूसँगको सहकार्यअनुसार नबिल बैंक, हिमालयन बैंक, महालक्ष्मी बैंक र नेपाल बैंकका क्रेडिट कार्ड प्रयोगकर्ताले १५ प्रतिशत र डेबिट कार्ड प्रयोगकर्ताले १० प्रतिशत छुट पाउनेछन्। साथै, ईसेवा र खल्ती बाई आईएमई प्रयोगकर्ताका लागि विशेष ‘रश आवर’ अफरहरू पनि उपलब्ध हुनेछन्।
रोमाञ्चक पुरस्कारमा फिलिप्सको सहयोगमा १५ वटा साना होम अप्लायन्स सहितको प्रिमियम बन्डल, भिभो भी७० स्मार्टफोन, बडी जिम एक्सरसाइज साइकल, मिर्याकल्स ईन्डस्ट्रियल उडन डिस्प्ले र्याक,मिर्याकल्स सजिलो प्रिन्टर र्याक, स्टिलबर्ड हेल्मेट र एससीएस एसएण्डएक्स हेल्मेट ब्लुटुथ ईन्टरकम समावेश छन्। न्यूनतम रु. ५,००० खरिद गर्ने ग्राहकहरू स्वतः लक्की ड्रमा सहभागी हुनेछन्।
“४.४ सेलले नेपालको डिजिटल व्यापार प्रणालीलाई सुदृढ बनाउने हाम्रो निरन्तर प्रतिबद्धतालाई प्रतिबिम्बित गर्छ ।” ४.४ नव वर्ष उत्सवबारे बोल्दै दराज नेपालका प्रबन्ध निर्देशक, आँचल कुँवरले भने, “सशक्त ब्रान्ड साझेदारी, आकर्षक भुक्तानी अफरहरू र रोमाञ्चक पुरस्कारहरूको संयोजन गर्दै, हामीले ग्राहकहरूलाई नयाँ वर्ष २०८३ स्वागत गर्ने तयारीमा एक समग्र र उत्कृष्ट किनमेल अनुभव प्रदान गर्ने लक्ष्य राखेका छौं ।”
सेयर बजारमा ४७.७१ अंकको गिरावट, अधिकांश सूचक राताम्य
काठमाडौं । आइतबार ७१.०५ अंकको पहिरो गएको सेयर बजारमा सोमबार पनि उच्च गिरावट आएको छ । साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४७.७१ अंकले घटेर २८३१.३९ बिन्दुमा कायम भएको छ ।
अघिल्लो कारोबार दिन आइतबार पनि नेप्से ७१.०५ अंकले घटेर २८७९.११ बिन्दुमा कायम भएको थियो । सोमबार सूचकसँगै कारोबार रकम पनि घटेको छ । आज नेप्सेमा कुल १२ अर्ब ९६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
अघिल्लो कारोबार दिन आइतबार भने नेप्सेमा कुल १४ अर्ब ७८ करोड माथिको कारोबार भएको थियो ।
सोमबार कारोबारमा आएकामध्ये २६ कम्पनीको सेयर मूल्य बढ्दा २३७ कम्पनीको घटेको छ । यस्तै, पाँच कम्पनीको सेयर मूल्य स्थिर छ ।
आज रिलायन्स स्पिनिङ मिल्स, भुजुङ हाइड्रोपावर, सुपर खुदी हाइड्रोपावर, रिज लाइन इनर्जी र होटल फरेस्ट इन लिमिटेडेको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा सुर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको सेयर मूल्य ९.९८ प्रतिशत र सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य९.९८ प्रतिशतले बढेको छ । सामेबार १३ वटै उपसमूहको सेयर मूल्य घटेको छ ।

















