राष्ट्रपतिद्वारा एउटा अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले एउटा अध्यादेश जारी गरेका छन् ।
सरकारले पठाएका अध्यादेशमध्ये राष्ट्रपतिले एउटा जारी गरेका हुन् । राष्ट्रपतिले ‘सहकारी पहिलो संशोधन अध्यादेश २०८३’ लाई शुक्रबार प्रमाणीकरण गरेका हुन्।
बाँकी अध्यादेश भने विचाराधीन नै रहेको राष्ट्रपति कार्यालय शीतल निवासले जनाएको छ।

रोल्पा दुर्घटना ः मृतकको संख्या २० पुग्यो

काठमाडौं । रोल्पामा भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुगेको छ।
खोज तलासका क्रममा दुर्घटनास्थलमा २० जनाको शव फेला परेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जनाए।
उनका अनुसार रूकुम पूर्वको सिस्ने गाउँपालिका–५ का ३२ वर्षीय समिर कामी घाइते छन्।
उनको बायाँ खुट्टा, निधार र बायाँ आँखामा चोट रहेको तथा अवस्था मध्यम रहेको प्रहरी निरीक्षक नेपालीले जानकारी दिए।
बोल्ने सक्ने अवस्थाका उनको आधारभूत जलजला अस्पताल थवाङ रोल्पामा उपचार भइरहेको छ।
दुर्घटनामा परेको लु १ ज ४१६७ नम्बरको जिप सिस्ने गाउँपालिका–५ टाकुराका बेदबहादुर बिकले चलाएका थिए।
जिप दिउँसो करिब पौने ३ बजेतिर थवाङ गाउँपालिका–१ सल्यापबाट जिप झन्डै ८०० सय मिटरमुनि खसेको थियो।
घटनास्थल जटिल भूगोल हुनुका साथै पानी परिरहेको हुँदा उद्धार कार्यमा ढिलाइ भएको रोल्पाका प्रहरी प्रमुख डिएसपी वीरेन्द्रवीर विश्वकर्माले जनाए।
दुर्घटनामा ज्यान गुमाउनेहरू वैशाख पूर्णिमाका दिन रोल्पाको जलजलामा लाग्ने ठूलो मेलाका लागि त्यता जाँदै थिए।

काठमाण्डौं आईपुगे ट्रम्पका विशेष दूत गोर

काठमाण्डौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाका विशेष दूत सर्जियो गोर ३ दिने नेपाल भ्रमणका लागि बिहीबार साँझ काठमाण्डौं आइपुगेका छन् ।
उनी ६ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल वायुसेवा निगमको जहाजमार्फत काठमाण्डौं आएका हुन् ।
विशेष दूत गोरको सुरक्षा अवस्था र भ्रमणको पूर्वतयारी बुझ्न अमेरिकी संघीय अनुसन्धान ब्युरो (एसबीआई) का दक्षिण एसिया प्रमुख सुहेल दाउद उनीभन्दा अगावै काठमाण्डौं पुगेका थिए ।
राष्ट्रपति ट्रम्पका अत्यन्त विश्वासपात्र मानिने गोर हाल भारतका लागि अमेरिकी राजदूत समेत हुन् ।
नयाँ सरकार गठन भएयता नेपाल आउने उनी अहिलेसम्मकै उच्च तहका अमेरिकी कूटनीतिज्ञ हुन् ।
गोरले शुक्रबार र शनिबार परराष्ट्रमन्त्री शिशिर खनाल र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । भेटमा वैदेशिक लगानी भित्र्याउन आवश्यक कानुनी सुधार र आर्थिक सहयोगका विषयमा छलफल हुने जनाईएको छ ।
विशेष दूत गोरले प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ सँग शिष्टाचार भेटका लागि समय मागेका छन् । प्रधानमन्त्री शाहले विदेशी राजदूत वा तल्लो तहका अधिकारीहरूलाई भेट्न अस्वीकार गर्दै आएका कारण भेटको टुङ्गो लागेको छैन । यसअघि आएका सहायक विदेशमन्त्री एस पावल कपुरसँग पनि प्रधानमन्त्रीले भेट गरेका थिएनन् ।
गोरले नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसँग पनि भेट्ने तालिका रहेको छ । राजनीतिक भेटघाटबाहेक उनले सगरमाथा क्षेत्रको भ्रमण गर्ने समेत योजना छ ।
नेपाल आउनुअघि गोरले बङ्गलादेश, भुटान, श्रीलङ्का र काजकिस्तानको भ्रमण गरिसकेका छन् । ती देशहरूमा उनले राष्ट्र प्रमुखहरूसँग उच्चस्तरीय भेटवार्ता गरेका थिए ।
गोर ३ दिने भ्रमण सकेर शनिबार वासिङ्टन फर्किने कार्यक्रम छ ।

नेपाल लाइफको व्यतित बीमालेख नवीकरणमा १०० प्रतिशतसम्म्म छुट

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले रजत जयन्तीको अवसरमा ल्याएको विशेष बीमा पुनर्जागरण योजनामा थप छुटको व्यवस्था गरेको छ। कम्पनीले बीमितहरूको मागलाई मध्यनजर गर्दै वैशाख १७ गतेदेखि योजना परिमार्जन गरी बाँकी अवधि जेठ ५ गतेसम्म लागू हुने जनाएको हो।
यसअघि १८० दिनभन्दा बढी समयदेखि व्यतित बीमालेखलाई नवीकरण गर्दा बिलम्ब शुल्कमा छुट दिने व्यवस्था गरिएको थियो। अब भने ५ वर्षभन्दा बढी समयदेखि निष्क्रिय रहेका बीमालेखहरूमा पनि थप छुट प्रदान गरिएको छ।
विभिन्न बीमा योजनामा ५ वर्षसम्म व्यतित बीमालेख नविकरण गर्दा बिलम्ब शुल्कमा १०० प्रतिशतसम्म छुट दिइनेछ भने केही अन्य योजनाहरूमा सोही अवधिमा ५० प्रतिशत छुट लागू हुनेछ। साथै ५ वर्षभन्दा बढी समयदेखि व्यतित बीमालेखहरूमा २५ प्रतिशत छुटको व्यवस्था गरिएको कम्पनीले जनाएको छ।
कम्पनीले छुट सुविधा लिएका बीमालेखहरू निश्चित अवधिभित्र समर्पण (सरेण्डर) गरेमा दिइएको छुट रकम कट्टा गरिने जनाएको छ। १०० प्रतिशत छुट पाएका बीमालेख ३ वर्षभित्र र ५० तथा २५ प्रतिशत छुट पाएका बीमालेख २ वर्षभित्र समर्पण गरेमा सो सुविधा फिर्ता हुने व्यवस्था गरिएको हो।
योजना अन्तर्गत छुट प्राप्त गर्न बीमालेख कम्तीमा १८० दिन व्यतित भएको हुनु पर्नेछ र पुनर्जागरण मितिदेखि बीमा समाप्ति मितिसम्म कम्तीमा १ वर्ष बाँकी हुनु पर्नेछ। साथै एकपटक छुट लिइसकेपछि सोही बीमालेखमा पुनः यस्तो सुविधा नदिइने पनि कम्पनीले जनाएको छ।

गरिमा विकास बैंकका ग्राहकलाई ओम हस्पिटल र कान्तिपुर डेन्टलको सेवामा छुट

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडका ग्राहकहरुलाई ओम हस्पिटल एण्ड रिसर्च सेन्टर र कान्तिपुर डेन्टल हस्पिटल (केडिसी) एण्ड रिसर्च सेन्टरको विभिन्न उपचार सेवामा आकर्षक छुट प्रदान गर्ने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ । सम्झौता पश्चात गरिमा विकास बैंकका ग्राहकहरुले ओम हस्पिटल एण्ड रिसर्च सेन्टरको उपचार सेवाअन्तर्गत सिटि स्क्यान, एक्सरे लगायत अन्य स्वास्थ्य सेवामा १० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् ।
त्यसैगरी, कान्तिपुर डेन्टल हस्पिटल (केडिसी) को बेड शुल्कमा १५ प्रतिशत तथा अन्य स्वास्थ्य सेवामा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । कान्तिपुर डेन्टल हस्पिटल (केडिसी) ले प्रदान गर्ने उक्त छुट काठमाडौंको बसुन्धारासहित सुन्दरबस्ती र सतुंगल, पोखरा (कास्की), नारायणगढ र भरतपुर (चितवन) र बुटवल (रुपन्देही) स्थित शाखाहरुबाट पनि प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।
गरिमा विकास बैंकका ग्राहकहरुले विकास बैंकको मोबाइल बैंकिङ र डेविटरक्रेडिट कार्डबाट बिल भुक्तानी गर्दा दुवै हस्पिटलहरुबाट सहजै छुट प्राप्त गर्न सक्नेछन् ।
हाल, गरिमा विकास बैंकले देशभर १२६ शाखा कार्यालय, ५१ एटिएम एवं नवीनतम डिजिटल बैंकिङमार्फत करिब ९ लाख ग्राहकहरुलाई सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

नबिल बैंकको केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुवात

काठमाडौं । नबिल बैंक लिमिटेडले तीनधारास्थित केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुवात गरेको छ । बिहीबार आयोजित उद्घाटन कार्यक्रममा बैंकका अध्यक्ष निर्वाण चौधरी तथा प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीको उपस्थितीमा संचालक समितिका सदस्य सरिता भट्ट अधिकारीद्वारा रिबन काटी उद्घाटन गरिएको थियो ।
उक्त कार्यक्रममा बैंकका संचालक समिति सदस्यहरु अन्नत पौड्याल, प्रविन टिबडेवाला र अनिल केशरी शाह लगायत नायब प्रमुख कार्यकारी अधिकृतद्वय आदर्श बजगाईं र भुपेन्द्र पाण्डेका साथै अन्य उच्चपदस्थ कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।
कर्मचारीको हितलाई उच्च महत्व दिँदै आएको नबिल बैंकले बैंकमा कार्यरत कर्मचारी आमाहरुलाई स्तनपान गराउन सहज बनाउने उद्देश्यले नर्सिङ रुमको स्थापना गरेको हो । नर्सिङ रुमले कर्मचारीहरुलाई कार्यालय समयमा मर्यादित, आरामदायी र सुरक्षित रुपमा स्तनपान गराउने वातावरण बनाउने बैंकले विश्वास लिएको छ ।
‘यस कक्षको थालनी मार्फत हामीले हाम्रो कर्मचारीप्रतिको जिम्मेवारी पुरा गरेका हौं। यसले कर्मचारी आमाहरुलाई कार्यालयभित्र आफ्नो बच्चासँग सुरक्षित छु भन्ने महशुस गराउने छ,’ संचालक समितिका सदस्य सरिता भट्ट अधिकारीले जनाईन ।
उद्धाटन कार्यक्रममा बोल्दै नबिल बैंकका अध्यक्ष निर्वाण चौधरीले नर्सिङ रुम बैंकको तर्फबाट एउटा राम्रो सुरुवात भएको जनाए । ‘लैङ्गिक समानता, कर्मचारीको हित नबिल बैकका प्रमुख मान्यता भित्र पर्दछन् र आज सुरु भएको यो कक्षले हाम्रा ती मुल्यमान्यताहरुलाई प्रतिबिम्बित गर्छ,’ अध्यक्ष चौधरीले भने।
‘हेर्दा सानो देखिए पनि यस कदमले हाम्रो कर्मचारीहरुलाई सकारात्मक असर पार्नेछ र यो कक्ष हाललाई केन्द्रिय कार्यालयमा मात्र भएपनि आउने दिनमा अरु शाखाहरुमा पनि विस्तार गर्दै लगिने छ,’ उनले थपे ।
यसप्रकारका प्रयासमार्फत नबिल बैंकले आफ्ना कर्मचारीका ख्याल राख्नुका साथै सहयोग गर्ने वातावरणलाई बढावा दिइरहेको प्रमुख कार्यकारी अधिकृत ज्ञवालीको भनाइ छ ।
नबिल बैंकले देशभर २६८ शाखा सञ्जालसहित ३१८ एटिएम मेसिनबाट सेवा प्रदान गर्दै आएको छ । बैंकले २५ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आफ्ना सबै सरोकारवालासँग मिलेर सँगै अघि बढ्ने विश्वास राखेको छ । चार दशकदेखि गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको बैंकले पछिल्लो समयमा दिगो बैंकिङको अवधारणालाई आत्मसाथ गर्दै डिजिटल बैंकिङका लागि एनबैंक सञ्चालनमा ल्याएको छ ।

नेपाल टेलिकमद्वारा स्याटेलाइट प्रविधिमार्फत दुर्गम क्षेत्रमा सेवा विस्तार

काठमाडौं । नेपाल टेलिकमले देशका विभिन्न विकट तथा दुर्गम स्थानहरूमा स्याटेलाइट प्रविधिमा आधारित दूरसञ्चार सेवालाई तीव्रता दिएको छ। भौगोलिक प्रतिकूलताका कारण अन्य प्रविधि पुग्न कठिन भएका स्थानहरूमा कम्पनीले भीस्याट र जीएसएम प्रविधिमार्फत मोबाइल, टेलिफोन र डाटा सेवा उपलब्ध गराइरहेको छ।
चालु आर्थिक वर्षमा मात्रै टेलिकमले डोल्पाको कुगाउँ र निजाल, दोलखाको ना–गाउँ र रसुवाको चन्दनबारी गरी चार स्थानमा नयाँ जीएसएम मोबाइल सेवा विस्तार गरेको छ। यससँगै हाल देशभरका विभिन्न ३८ दुर्गम स्थानमा यो प्रविधिबाट सेवा प्रवाह भइरहेको छ।
कम्पनीका अनुसार सबैभन्दा बढी १४ वटा साइट डोल्पा जिल्लामा रहेका छन् भने हुम्ला र मुगुका ५–५ स्थानमा सेवा सञ्चालनमा छन्। यस्तै मनाङ, दोलखा, ताप्लेजुङ, सोलुखुम्बु, रसुवा, दार्चुला, बाजुरा र जुम्लाका अति विकट क्षेत्रहरूमा पनि यो प्रविधिमार्फत सञ्चार पहुँच पुर्‍याइएको छ।
न्यून जनसंख्या भएका र अत्यन्त विकट भौगोलिक अवस्थितिका कारण कतिपय स्थानमा हेलिकप्टरबाट उपकरण ओसारेर सेवा पुर्‍याइएको कम्पनीले जनाएको छ।
यी स्थानहरूमा लगानीअनुसार व्यावसायिक लाभ नहुने भए तापनि ‘नेपाल टेलिकम राष्ट्रको सञ्चार’ भन्ने मूल नारालाई सार्थक तुल्याउन सेवा विस्तार गरिएको टेलिकमको भनाइ छ। आगामी दिनमा यी स्याटेलाइट साइटहरूलाई अन्य अत्याधुनिक प्रविधिमा स्तरोन्नति गर्ने लक्ष्य समेत राखिएको छ।
कम्पनीले ब्याकबोन ट्रान्समिसन परियोजना अन्तर्गत अप्टिकल फाइबर नेटवर्क विस्तारको कार्यलाई पनि तीव्रता दिएको छ। पूर्व–पश्चिम तथा उत्तर–दक्षिण करिडोरका साथै ग्रामीण क्षेत्रमा उच्च क्षमताको डाटा ट्रान्समिसन सुनिश्चित गर्न नेपाली सेना र सडक विभागसँगको समन्वयमा ओएफसी विस्तार र सुदृढीकरण भइरहेको छ।
नेटवर्कलाई भरपर्दो बनाउन पुराना स्विच उपकरणहरूलाई आधुनिक राउटरमा स्तरोन्नति गर्ने र वैकल्पिक लिङ्क ९रिडन्डन्सी० स्थापना गर्ने कार्यलाई पनि प्राथमिकता दिइएको छ।
यसबाट एउटा लिङ्कमा समस्या आए पनि सेवा निरन्तर रहने सुनिश्चित गरिएको छ। विकट क्षेत्रमा सेवाको निरन्तरताका लागि मर्मतसम्भार र पूर्वाधार संरक्षणका उपायहरू समेत अवलम्बन गरिएको टेलिकमका प्रवक्ता रबिन्द्र मानन्धरले जानकारी दिएका छन ।

क्रियाशील सदस्यता नवीकरणको समय थप गर्ने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरण र नयाँ क्रियाशील इन्ट्रीका लागि एक हप्ता समय दिने निर्णय गरेको छ ।
बुधबार सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक महामन्त्री प्रदीप पौडेलको अध्यक्षतामा ललितपुरस्थित कांग्रेसको केन्द्रीय कार्यालय बिपी स्मृति भवनमा बसेको बैठकले क्रियाशील सदस्यता नवीकरण र नयाँ क्रियाशील इन्ट्रीका लागि एक हप्ता समय दिने निर्णय गरेको हो ।
‘१५ औं महाधिवेशनका लागि जिल्ला कार्यसमितिबाट क्रियाशील नवीकरण र प्रतिनिधिसभा क्षेत्रबाट नयाँ क्रियाशील सदस्यता नेपाली कांग्रेसको डिजिटल सिस्टममा प्रविष्ट गरी शुल्कसहित केन्द्रीय कार्यालयमा बुझाएका जिल्ला छुट्याउने, नवीकरण शुल्क र नयाँ क्रियाशील सदस्यता शुल्कसहित केन्द्रीय कार्यालयको सिस्टममा इन्ट्री नभएका जिल्ला र क्षेत्रको हकमा वैशाख १६ गतेदेखि १ हप्ताका लागि नवीकरण र नयाँ क्रियशील इन्ट्री गर्ने समय दिने निर्णय गरियो,’ निर्णयमा उल्लेख छ ।
बैठकले सदस्यता व्यवस्थापन केन्द्रीय समितिले तोकिएको मितिदेखि डिजिटल प्रणाली खुला गर्ने निर्णय गरेको छ । अनलाइन सदस्यता खुला गरेको जानकारी नेपाली कांग्रेसको वेबसाइटमा राखिनेछ जनाएको छ । नेपाली नागरिकता भएका व्यक्तिका लागि जनसम्पर्क समिति सदस्यता र कांग्रेसको क्रियाशील सदस्यता उपलब्ध गराउन आवश्यक व्यवस्था गर्ने निर्णय गरेको छ । बैठकले अन्यको हकमा कांग्रेसको विधान २०१७ (एघारौं संशोधनसहित) बमोजिम व्यवस्था गरिएको जनाएको छ ।
विभिन्न कारणले रिक्त रहेका वडा सभापतिहरूको हकमा कांग्रेसको डिजिटल प्रणालीमा क्रियाशील सदस्यता अद्यावधिक गर्नका लागि जिल्ला र क्षेत्र केन्द्रीय प्रतिनिधि वडा कार्यसमितिले आफूमध्येबाट तोकेको व्यक्तिमार्फत अद्यावधिक गराउन सकिने उल्लेख छ ।

आज डोनाल्ड ट्रम्पका विशेष दूत गोर नेपाल आउँदै, बालेनसँग भेट्लान ?

काठमाण्डौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाका विशेष दूत सर्जियो गोर आज नेपाल आउँदैछन् । ३ दिने नेपाल भ्रमणका लागि आज उनी काठमाण्डौं ओर्लदैछन् ।
दक्षिण तथा मध्य एशियाली मामिलाका लागि अमेरिकी सहायक विदेशमन्त्री समीर पॉल कपुरको नेपाल भ्रमणपछि गोर नेपाल आउन लागेका हुन् ।अमेरिकी सहायक विदेशमन्त्री एस पावल कपुर ११ दिनअघि नेपाल भ्रमणमा आएका थिए ।
उनको भ्रमणका क्रममा अर्थमन्त्री स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटघाट गर्ने कार्यक्रम तय गरिएको छ। साथै, उनले सगरमाथा क्षेत्रको पनि भ्रमण गर्नेछन्।
पहिलेबाट तय भएका आधिकारिक कार्यक्रमका कारण यस भ्रमणमा प्रधानमन्त्री बालेन शाहसँग भेट हुने तालिका भने राखिएको छैन।
गोरले यसअघि उनी बङ्गलादेश, भुटान, श्रीलंकालगायत देशका भ्रमण गरेर त्यहाँका राष्ट्र प्रमुखसँग भेटेका थिए । हिजो मात्र उनले काजिकिस्तानका राष्ट्रपतिसँग भेटेका थिए ।

अध्यादेशबारे संविधानविद्हरुसँग परामर्श गर्दै राष्ट्रपति

काठमाडौं । सरकारले संसद् रोकेर एकैपटक ६ वटा अध्यादेश सिफारिस गरेर अप्ठेरोमा परेका राष्ट्रपति रामचन्द्र पौडेलले अध्यदेशका विषयमा संविधान र कानुविद्हरूसँग परामर्श गर्ने भएका छन् ।
संवैधानिक परिषद्सम्बन्धी अध्यादेशका कारण राष्ट्रपति पौडेल अप्ठेरोमा हुन् । अघिल्लो सरकारमा संसदबाट पारित भएको विधेयक समेत पुनर्विचारका लागि फिर्ता पठाएका राष्ट्रपति पौडेल समक्ष त्यस्तै प्रावधान राखेर अध्यादेश सिफारिस भएपछि नैतिक संकट परेको हो ।
राष्ट्रपति पौडेलले आज दिउँसो ४ बजे संविधानविद्हरूलाई परामर्शका लागि शीतल निवास बोलाएका छन् ।
सरकारले सार्वजनिक निकायमा हुने नियुक्तिलाई पारदर्शी र प्रतिस्पर्धी बनाउने, दलीय राजनीतीकरण अन्त्य गर्ने, सार्वजनिक निर्माणलाई तीव्रता दिने, सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तथा भूमि, मालपोत र नापी लगायतका सेवा प्रभावकारी बनाउने उद्देश्यसहित ६ वटा अध्यादेश सिफारिस गरेको छ ।
सिफारिस भएका अध्यादेशहरूमा संवैधानिक निकायका पदाधिकारीको नियुक्तिको सिफारिसका लागि बस्ने बैठकसम्बन्धी कार्यविधिलाई व्यवस्थित गर्ने उद्देश्यका साथ संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्ने अध्यादेश, सहकारी ऐन, २०७४ लाई संशोधन गर्न बनेको अध्यादेश, विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, विगतमा राजनीतिक रूपमा नियुक्ति तथा मनोनयन भएका सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा विशेष व्यवस्था गर्न बनेको अध्यादेश, सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा विशेष व्यवस्था गर्न बनेको अध्यादेश र सार्वजनिक खरिद ऐन, २०६३ मा संशोधन गर्ने अध्यादेश छ ।

लेटेष्ट समाचार

इरानका सर्वोच्च नेता मोजतबा खामेनीसँग भेट्ने ट्रम्पको इच्छा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता मोजतबा खामेनीसँग भेट्ने इच्छा व्यक्त गरेका छन् । मोजतबा युद्ध अन्त्यका लागि जारी कूटनीतिक प्रयासमा...

एसियाली छनोट क्रिकेटमा नेपाल र मलेसिया खेल्दै

काठमाण्डौं । एसियाली खेलकुद छनोट अन्तर्गत नेपालले बिहीबार मलेसियासँग प्रतिस्पर्धा गर्दैछ । सिंगापुरमा हुने खेलमा नेपाल समूह विजेता बन्ने लक्ष्यका साथ मैदानमा हुनेछ । नेपाल...

कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक आज (बिहीबार) बस्ने भएको छ । बैठक दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय, बी।पी।स्मृति भवन ललितपुरमा बस्ने...