काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले आफ्नो साताव्यापी जेनेभा भ्रमण सफल र उपलब्धिमूलक भएको प्रतिक्रिया दिएकी छिन् ।
संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषदको ५८औँ उच्चस्तरीय सत्रमा सहभागिताका लागि जेनेभा भ्रमणबाट स्वदेश फर्किएपछि विमानस्थलमा परराष्ट्रमन्त्रीले यस्तै प्रतिक्रिया दिएकी हुन् ।
मन्त्री डा. देउवाले गत मंगलबार राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को उच्चस्तरीय सत्रलाई सम्बोधन गरेकी थिइन् । सो सत्रमा राष्ट्रसङ्घका सदस्य राष्ट्रहरूका परराष्ट्र तथा मानवअधिकारसम्बन्धी मन्त्री एवं मानवअधिकारका क्षेत्रमा कार्यरत व्यक्तिहरूको सहभागिता थियो ।
नेपाल फर्किएपछि मन्त्री डा. राणाले मानवअधिकारको रक्षा र प्रवर्द्धनमा नेपालले विगत लामो समयदेखि काम गरिरेहको जानकारी विश्व समुदायलाई गराउँदै सोही प्रतिबद्धताका साथ नेपालले उक्त परिषदको आगामी सन् २०२७ देखि २०२९ सम्मका लागि सदस्यमा उम्मेदवारी दिएकाले संयुक्त राष्ट्रसङ्घका सबै सदस्य राष्ट्रहरूसँग नेपाललाई सहयोग गर्न आग्रह गरेको जनाईन ।
संयुक्त राष्ट्रसङ्घको सन् २०२७ देखि २०२९ सम्मका लागि मानवअधिकार परिषद्को सदस्य, २०२९ देखि २०३१ सम्मका लागि आर्थिक तथा सामाजिक परिषद एवं सन् २०३७ देखि २०३८ का लागि सुरक्षा परिषद्को अस्थायी सदस्यमा नेपालले उम्मेदवारी दिने भएकाले त्यसमा सहयोगका लागि राष्ट्रसङ्घका सबै सदस्य राष्ट्रहरूसँग मन्त्री डा. राणाले आग्रह गरिन् ।
संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को सदस्यसहितको उम्मेदवारीमा नेपाललाई मतदान गर्न आफूले विश्व समुदायलाई आग्रह गरेको र उनीहरूले पनि नेपाललाई सहयोग गर्ने वचन दिनुभएको मन्त्री डा. राणाले जानकारी दिइन् ।
यस भ्रमणका क्रममा मन्त्री डा।देउवाले संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार उच्च आयुक्त भल्कर टकसँग भेटवार्ता गरी नेपालमा मानवअधिकार तथा संक्रमणकालीन न्यायको अवस्थाका बारेमा जानकारी गराएकी थिइन् ।
त्यसैगरी उनले जेनेभामा रहँदा स्वीट्जरल्याण्ड, नर्वे, स्पेन, स्लोभाकिया, फिलिपिन्स, अजरबैजान, किर्गिस्तान, मेक्सिकोलगायतका मुलुकका समकक्षी, प्रतिनिधिमण्डल र नेताहरूसँग भेटवार्ता गरी द्विपक्षीय हित र चासोका विषयहरूमा छलफल गरेकी थिइन् ।
साथै भ्रमणका क्रममा संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोग, जेनेभाले आयोजना गरेको स्वागत समारोहमा उपस्थित भएका एक सयभन्दा बढी मुलुकका नियोगप्रमुख तथा प्रतिनिधि एवं संयुक्त राष्ट्रसङ्घलगायत विभिन्न अन्तर्राष्ट्रिय सङ्घसंस्थाका पदाधिकारीसँग पनि मन्त्री डा देउवाले नेपाललाई मानवअधिकार परिषद्को सदस्यमा मत दिएर सहयोग गर्न आग्रह गरेकी थिइन् ।
मन्त्री डा. राणा ६ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत शनिबार जेनेभा गएकी थिइन्। उनीसहितको प्रतिनिधिमण्डल आज बिहान १०ः३० मा काठमाठौँ आइपुग्ने कार्यक्रम रहेकोमा यहाँको मौसम खराब भएपछि दोहाबाट आएको कतार एयरवेजको विमान भारतको कोलकाता डाइभर्ट गरिएको थियो। त्यसपछि कोलकाताबाट अपराह्न मात्र उहाँ काठमाडौँ फर्किएकी थिइन् ।
जेनेभा भ्रमण सफल र उपलब्धिमूलक भएको परराष्ट्रमन्त्रीको प्रतिक्रिया
संविधान संशोधनका लागि कार्यदल बनाउने कांग्रेसको निर्णय
काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसले संविधान संशोधनका लागि कार्यदल बनाउन प्रस्ताव गर्ने भएको छ । सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पार्टीका पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकले संविधान संशोधनका लागि सत्तारुढ दलहरूको बैठकमा प्रस्ताव गर्ने निर्णय गरेको हो ।
प्रवक्ता डा. प्रकाशशरण महतले संविधान संशोधनका लागि कार्यदल बनाउन प्रस्ताव गर्ने विषयमा बैठकमा छलफल भएको जनाए ।
त्यस्तै बैठकमा ताप्लेजुङको पाथीभरामा क्षेत्रमा बनाउन लागिएको केबलकार निर्माणका विषयमा देखिएको विवाद वार्ताबाटै समाधान गर्नुपर्ने पक्षमा कांग्रेस देखिएको छ । बैठकपछि मुख्य सचिव कृष्णप्रसाद पौडेलले केबुलकार निर्माणका सम्बन्धमा देखिएको समस्या वार्ताका माध्यमबाट समाधान गर्ने विषयमा सुझाव दिने नेताहरूले जनाएको जानकारी दिए ।
बैठक अनौपचारिक भएकाले कुनै ठोस निर्णय भने भएन । बैठकमा नेताहरूले दिएको सुझावका आधारमा सत्तारुढ दलको संयन्त्रमा कुरा राख्ने निर्णय भएको मुख्यसचिव पौडेलले जनाए ।
एलआईसीको अवितरित हकप्रद बाँडफाँट
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपाल लिमिटेडले माघ २१ गतेदेखि फाुगन ५ लिलाम बढाबढमार्फत बिक्री खुलाएको अवितरित हकप्रद शेयर बाँडफाँट सम्पन्न भएको छ ।
कम्पनीले सर्वसाधारण समूहतर्फ ४ लाख ९२ हजार ५७७ कित्ता अवितरित हकप्रदक बिक्रीमा राखेको थियो ।
प्रतिकित्ता १०० रुपियाँ तोकिएको यो शेयरको बाँडफाँटको अन्तिम मूल्य (कट अफ प्राइस) १०२२ रुपियाँ रहेको छ ।
साथै शेयर भरेका तर नपाएका खरिदकर्तालाई यही फागुन १९ गते सोमबारदेखि आवेदनमा उल्लेख भएको बैंक–वित्तीय संस्थाको खातामा रकम फिर्ता गर्ने कम्पनीले जनाएको छ ।
यस्तो छ शुक्रबार विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ २३ पैसा र बिक्रीदर १३९ रुपैयाँ ८३ पैसा निधाएरण भएको छ ।
राष्ट्र बैंकका अनुसार आज युरोपियन युरो एकको खरिददर १४५ रुपैयाँ ८६ पैसा र बिक्रीदर १४६ रुपैयाँ ४९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७६ रुपैयाँ ४७ पैसा र बिक्रीदर १७७ रुपैयाँ २३ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५५ रुपैयाँ ०२ पैसा र बिक्रीदर १५५ रुपैयाँ ६९ पैसा कायम गरिएको छ ।
यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ७२ पैसा र बिक्रीदर ८८ रुपैयाँ १० पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ११ पैसा र बिक्रीदर ९७ रुपैयाँ ५३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रुपैयाँ ७८ पैसा र बिक्रीदर १०४ रुपैयाँ २३ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ २९ पैसा र बिक्रीदर नौ रुपैयाँ ३३ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ १५ पैसा र बिक्रीदर १९ रुपैयाँ २४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ १२ पैसा र बिक्रीदर ३७ रुपैयाँ २८ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ २० पैसा र बिक्रीदर ३८ रुपैयाँ ३७ पैसा कायम भएको छ ।
त्यस्तै, थाई भाट एकको खरिददर चार रुपैयाँ ११ पैसा र बिक्रीदर चार रुपैयाँ १३ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ९१ पैसा र बिक्रीदर ३८ रुपैयाँ ०८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४६ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ६५ पैसा र बिक्रीदर नौ रुपैयाँ ६९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३ रुपैयाँ १० पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ५६ पैसा र बिक्रीदर १९ रुपैयाँ ६४ पैसा निर्धारण भएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ९१ पैसा र बिक्रीदर १७ रुपैयाँ ९९ पैसा, कुवेती दिनार एकको खरिददर ४५१ रुपैयाँ २८ पैसा र बिक्रीदर ४५३ रुपैयाँ २३ पैसा, बहराइन दिनार एकको खरिददर ३६९ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३७१ रुपैयाँ, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
सानिमा रिलायन्सको साधारणसभा चैत ८ मा
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले लाभांश वितरणको प्रस्तावसहित साधारणसभा बोलाएको छ ।
सभा, चैत ८ गते अनमोल बैंक्वेट, नयाँ बानेश्वरमा बिहान ११ बजेबाट शुरु हुनेछ ।
सभाले कायम चुक्ता पुँजीको १.२४८९ प्रतिशत बोनस शेयर र ८ प्रतिशत नगद लाभांश (करसहित) वितरणको प्रस्ताव पारित गर्नेछ । त्यस्तै, बोनस शेयर वितरणपश्चात् पुँजी वृद्धि हुने भएकाले त्यसका लागि कम्पनीको प्रबन्धपत्र र नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिइनेछ ।
गत आवका सबै वित्तीय विवरण छलफल गरी पारित गर्ने, चालू आवका लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछन् ।
साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले फागुन २६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले फागुन २५ गतेसम्म कायम शेयरधनी मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।
जनताका समस्या राष्ट्रिय मुद्दाका रुपमा स्थापित गरिने प्रचण्डको दाबी
धरान । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताका समस्यालाई राष्ट्रिय मुद्दाको रुपमा स्थापित गरिने दाबी गरेका छन् ।
जनतासँग माओवादी तराई मधेस जागरण अभियानका क्रममा आज सुनसरीको गढी गाउँपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले तराईका जनताको समस्या समाधान र एकता कायम गर्न हुलाकी मार्ग केन्द्रित अभियान सुरु गरिएको जनाए ।
पूर्वप्रधानमन्त्री समेत रहेका दाहालले जनताले कृषि क्षेत्रमा भोग्दै आएका समस्या समाधान र बजारीकरणलाई सम्बोधन गर्ने सङ्कल्पसहित यो अभियान सञ्चालन गरिएको प्रष्ट पारे ।
उनले भने, “कृषि पेन्सन, कृषि बिमा, शीत भण्डार र बजार उपज बिक्री केन्द्र स्थापना गर्नुपर्ने छ । यसका लागि हामो पार्टीले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।”
राज्यले दक्षिण भेगमा बस्दै आएका नागरिकमाथि वर्षौंदेखि विभेद गरिरहेकाले यसको विरुद्ध सङ्घर्षको झण्डा उठाउन अभियान थालिएको उनको भनाइ थियो ।
उत्पीडित क्षेत्र र समुदायको योगदानको स्मरण गर्दै यी क्षेत्र र समुदायको आर्थिक अवस्था रूपान्तरण कसरी गर्न सकिन्छ भन्ने विषयमा गम्भीर रहेको अध्यक्ष दाहालले जना ।
प्रधानमन्त्रीले बोलाए उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाएका छन् ।
प्रधानमन्त्रीले भोलि साँझ ५ बजे बालुवाटारमा बैठक बोलाएका हुन् । बैठकमा पछिल्ला समसायिक राजनीतिक घटनाक्रम र सरकार सञ्चालनबारे छलफल हुने जनाईएको छ ।
संयन्त्रमा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, महासचिव शंकर पोखरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल रहेका छन् भने कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री आरजु राणा देउवा रहेका छन् ।
शिवम् सिमेन्टले पायो कर्पोरेट एक्सिलेन्स अवार्ड
काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडले उत्पादनमूलक उद्योग समूहबाट ‘ कर्पोरेट एक्सिलेन्स अवार्ड’ प्राप्त गरेको छ ।
काठमाडौंमा कर्पोरेट क्लब नेपालले आयोजना गरेको कार्यक्रममा शिवम् सिमेन्ट्सलाई उत्पादनमुलक बर्गिकरण कम्पनीहरु मध्येबाट उत्कृष्ठ छनौट भई उक्त अवार्डबाट सम्मान गरिएको हो ।
उक्त कार्यक्रममा फरक फरक विधामा विभिन्न कम्पनीहरु तथा संस्थाहरुलाई अवार्ड प्रदान गरिएको थियो ।
५३ ग्रेड तथा ४३ ग्रेडको ओ।पि।सि। सिमेन्ट उत्पादन तथा विक्रि वितरण गर्दै आईरहेको शिवम् ओ.पि.सि. सिमेन्ट देशका राष्ट्रिय गौरवका योजना तथा अन्य ठूला–ठूला परियोजनाहरुका साथै अनेकौं संरचना निर्माणमा समेत शिवम् सिमेन्टले विगत लामो समय देखि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको विज्ञप्तिमा उल्लेख छ ।
हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधी युक्त प्लान्टबाट आफ्नै चुनढुङ्गाकोे प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र ४३ तथा ५३ ग्रेडको शिवम् सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आइरहेको छ ।
नेपाल लाइफको ‘छुट्ला है छुट’ योजना, विलम्ब शुल्कमा ५० प्रतिशत छुट दिने
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ‘छुट्ला है, छुट’ योजना सार्वजनिक गरेको छ ।
यो योजना अन्तर्गत यस कम्पनीका बीमितहरुले भुक्तानी गर्नुपर्ने नविकरण बीमाशुल्क भुक्तानी नगरी १८० दिन भन्दा माथि व्यतित भएका बीमालेखहरुमा यही फागुन १५ गतेदेखि २०८२ जेठ १३ गतेसम्म नविकरण बीमाशुल्क भुक्तानी गरी सुचारु गरेमा बीमालेख नविकरण गर्दा लाग्ने विलम्ब शुल्कमा ५० प्रतिशत छुट प्रदान गरिने कम्पनीले जनाएको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले कम्पनी २५औं वर्षमा प्रवेश गर्दै गरेको अवसरमा यो आकर्षक योजना सार्वजनिक गरिएको जनाए । उनले बीमितहरूको हितलाई मध्यनजर गर्दै यो विशेष योजना एक पटकको लागि सार्वजनिक गरिएको र व्यतित भएका बीमालेखहरु समयमा नै नविकरण बीमाशुल्क भुक्तानी गरी बीमालेख नविकरण गर्दा लाग्ने विलम्ब शुल्कमा ५० प्रतिशत छुटको लाभ उठाउन आग्रह गरे ।
साथै बीमालेखलाई निरन्तरता प्रदान गर्दै जोखिम हस्तान्तरण गरी ढुक्कका साथ जीवनयापन गर्न पनि आग्रह गरे ।
नेशनल लाईफले ३८औं बार्षिकोत्सव सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रम गरी मनायो
काठमाडौं । नेशनल लाईफ इन्स्यारेन्स कम्पनीले आफ्नो ३८औं बार्षिकोत्सव समारोह सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रम गरी भव्य रुपमा सम्पन्न गरेको छ ।
कम्पनीको ३८ औं बार्षिकोत्सवको अवसरमा कम्पनीमा आवद्ध बीमित, अभिकर्ता एवं कर्मचारीवर्गहरु र शुभेच्छुकहरु प्रति प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले हार्दिक आभार व्यक्त गर्दै यस शुभ अवसरमा कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत मातृ नेपाल बालगुह तारकेश्वरलाई आर्थिक सहयोग सहित तहाँ रहेका बाल बालिकाहरुलाई खाना खवाउनुका साथै रक्तदान कार्यक्रम समेत सम्पन्न गरिएको जनाए ।
सोही अवसरमा कम्पनीका देशैभर रहेका प्रदेश तथा शाखा कार्यालयहरुले पनि विभिन्न वृद्धाश्रम, बाल कल्याण संस्था एवं मानव सेवा आश्रम जस्ता संस्थाहरुमा यस प्रकारका कार्यक्रमहरु आयोजना गरिएको जानकारी दिए ।
उनले कर्मचारीहरुलाई आन्तरिक क्रियाकलापमा सहभागि गराई शारिरीक तथा मानिसिक रुपमा सवल र सक्षम बनाउने उदेश्यले अन्तर कर्मचारी खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष तर्फ क्रिकेट, पुरुष तथा महिला तर्फ फुटसल, ब्याडमिण्टन र बुद्धिचाल जस्ता विभिन्न प्रकारका खेल प्रतियोगिता आयोजना गरिएको जनाए ।
बुढानिलकण्ठ स्थित होटल लेमन ट्रि मा मनोरञ्जानात्मक प्रस्तुती सहित भव्य रुपले सम्पन्न गरिएको बार्षिकोत्सव समापन कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत खत्रीले नृत्य प्रदर्शन गर्ने कर्मचारीहरुलाई मायाको चिनो तथा खेलकुद प्रतियोगिताका विजेतालाई पदक तथा प्रमाण पत्र र रक्तदान गर्ने कर्मचारीहरुलाई प्रमाण पत्र प्रदान गरेका थिए ।