प्रतिनिधि सभा निर्वाचन ः एक हजार ६१ उजुरी फर्छ्यौट

काठमाडौँ । जिल्ला आचारसंहिता अनुगमन समिति र अनुगमन अधिकृतसमक्ष कूल एक हजार ७६ उजुरी परेको छ ।
निर्वाचन आयोगका अनुसार प्राप्त भएका उजुरीमध्ये एक हजार ६१ अर्थात् ९९ प्रतिशत फर्छ्यौट भएको छ ।
प्रदेशगत रूपमा सबैभन्दा धेरै लुम्बिनी प्रदेशमा २४४ उजुरी परेका छन भने सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा ९६ उजुरी परेका छन् ।
प्राप्त उजुरीमध्ये ९७ लिखित र ९७९ टेलिफोन, एसएमएसलगायत अन्य स्रोतबाट प्राप्त भएका थिए । प्राप्त उजुरीमध्ये सबैभन्दा धेरै तोकिएको आकारभन्दा ठूला तुल ब्यानर र झण्डा प्रयोग गरेको रहेको आयोगले जनाएको छ । यस्तै, सामाजिक सञ्जालको दुरुपयोग गरेको, डिजे माइक बजाएर ध्वनि प्रदूषण गरेको उजुरी पनि परेको छ ।
त्यस्तै, शिक्षक तथा कर्मचारी र स्थानीय जनप्रतिनिधि प्रचारप्रसारमा हिँडेको, सार्वजनिक स्थान र सवारीसाधनमा झण्डा टाँगेको, अनुमति नलिएका सवारी साधन प्रयोग गरेको लगायतका छन् ।

मोदीलाई लेखेको भनिएको पत्र नक्कली हो ः रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ नेता बालेन साहको संयुक्त हस्ताक्षर रहेको भन्दै सार्वजनिक गरिएको पत्र पूर्णतः नक्कली र कपोलकल्पित रहेको जनाएको छ ।
रास्वपाले शुक्रबार राति एक विज्ञप्ति जारी गर्दै सञ्चारमाध्यम र सामाजिक सञ्जालमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सम्बोधन गरी लेखिएको भनिएको पत्रप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
‘सार्वजनिक गरिएको उक्त पत्र पूर्णतः नक्कली, किर्ते र कपोलकल्पित रहेको हामी स्पष्ट पार्न चाहन्छौँ,‘ विज्ञप्तिमा लेखिएको छ, ‘दुई जिम्मेवार व्यक्तिहरूको नाम जोडेर परराष्ट्र सम्बन्ध जस्तो संवेदनशील विषयमा यस्ता अनर्गल र आधारहीन भ्रम फैलाउनु अत्यन्तै निन्दनीय कार्य हो ।’
सार्वजनिक गरिएको पत्र किर्ते र झुटो रहेको दाबी गर्दै रास्वपाले त्यसप्रति विश्वास नगर्न आग्रह गरेको छ । रास्वपाले सर्वसाधारणलाई निर्वाचनको मुखमा फैलाइएका यस्ता फेक न्यूज र भ्रामक प्रचार पछि नलाग्न र सचेत रहन अपिल समेत गरेको छ ।

मधेसका चार जिल्लामा आज काँग्रेसको चुनावी सभा

काठमाडौँ । नेपाली काँग्रेसले शनिबार मधेसका चार जिल्लामा चुनावी सभा गर्दैछ।
कांग्रेसले आज सर्लाही, रौतहट, बारा र पर्सामा चुनावी सभा गर्न लागेको हो।
चार वटै जिल्लामा हुने सभालाई सभापति गगन थापाले सम्बोधन गर्नेछन्। उनले सर्लाहीको लालबन्दी, रौतहट र बारा हुँदै पर्साको वीरगञ्जमा पुगेर चुनावी सभालाई सम्बोधन गर्ने भएका हुन् ।
त्यस्तै सभापति थापाले आइतबार फागुन १७ गते काठमाडौँ उपत्यकामा हुने कार्यक्रममा सम्बोधन गर्नेछन् ।
गत फागुन ६ गते जनकपुरधाममा पार्टीको प्रतिज्ञा पत्र सार्वजनिक गरेपछि फागुन ७ गते काठमाडौँको राष्ट्रिय सभागृहमा प्रतिज्ञा पत्रबारे चर्चा गर्दै प्रतिज्ञा पत्रबारे उठेका प्रश्नको जवाफ दिएका थिए ।
सभापति थापाले गत बिहीबार सुर्खेत र बाँकेको चुनावी सभालाई सम्बोधन गरेका थिए । त्यस्तै सभापति थापाले शुक्रबार रुपन्देही, कपिलवस्तु, बागलुङ र कास्कीमा भएको चुनावी सभालाई सम्बोधन गरेका थिए।
बुटवलको सभामा उपसभापति पुष्पा भुसाल गौतम पनि थिइन् भने पोखराको सभामा उपसभापति विश्वप्रकाश शर्मा रहेका थिए ।
उपसभापति शर्मा आज तीन जिल्ला घुम्ने कार्यक्रम रहेको छ । शुक्रबार पोखरामा बसेका उपसभापति शर्मा शनिबार पहिले गुल्मीको कार्यक्रममा सम्बोधन गर्नेछन् । त्यसपछि डोल्पा जानेछन् ।

संखुवासभा र ताप्लेजुङमा भूकम्पको धक्का

काठमाडौं । संखुवासभा र ताप्लेजुङको सीमा क्षेत्रमा आज बिहान भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ३ बजेर १८ मिनेटमा ४.७ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको केन्द्रविन्दु संखुवासभाको टोप्के गोला आसपास रहेको थियो ।
भूकम्पको धक्का संखुवासभा र ताप्लेजुङ जिल्लाका विभिन्न स्थानमा महसुस गरिएको थियो ।

बीबीसीको डकुमेन्ट्री भूराजनीतिक चलखेलको जिउँदो प्रमाण ः शंकर पोखरेल

दाङ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले जेनजी आन्दोलनबारे बीबीसीले तयार पारेको डकुमेन्ट्री भूराजनीतिक चलखेलको जिउँदो प्रमाण भएको टिप्पणी गरेका छन् ।
‘चुनावको मुखमा सार्वजनिक गरिएको बीबीसीको डकुमेन्ट्री केवल सञ्चार सामग्री मात्र होइन ।’ पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘यो भूराजनीतिक चलखेलको जिउँदो प्रमाण हो ।’
महासचिव पोखरेलले नेपालजस्तो सार्वभौम राष्ट्रको आन्तरिक राजनीतिक प्रक्रियामा बाह्य प्रभाव पार्ने कुनै पनि प्रयास अस्वीकार्य रहेको जनाए । चुनावको संवेदनशील समयमा यस्ता सामग्री सार्वजनिक हुनु संयोग मात्र हो कि नियोजित हस्तक्षेप हो ? भन्दै उनले प्रश्न समेत गरेका छन् ।
पोखरेलले थप लेखेका छन्–
हामीले बुझ्नुपर्छः
🔎 लोकतन्त्रको रक्षा नेपाली जनताले आफैं गर्नुपर्छ ।
नेपालको सार्वभौमिकता हाम्रो साझा जिम्मेवारी हो ।
⚖️ सूचना स्वतन्त्र हुनुपर्छ, समय सन्दर्भ र उद्देश्य पनि पारदर्शी हुनुपर्छ ।
भूराजनीतिक दबाब र प्रोपागान्डाको खेलमा नेपाललाई प्रयोग हुन नदिऔँ ।
सचेत बनौँ, तथ्य जाँचौँ, र राष्ट्रिय हितको पक्षमा उभिऔँ ।

निर्वाचन आउन अब मात्र ६ दिन बाँकी ः आजदेखि मादक पदार्थ बिक्रीवितरण र सेवन गर्न नपाइने

काठमाण्डौं । निर्वाचन आयोगले निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म शुक्रबारदेखि मादक पदार्थ बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध लगाएको छ ।
सुरक्षाको समग्र अवस्थाको समीक्षा एवं वस्तुस्थितिको आकलन तथा सुरक्षा व्यवस्थासम्बन्धी मार्गदर्शन तथा सिफारिसका आधारमा आयोगले निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म शुक्रबारदेखि मादक पदार्थ बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध लगाउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।
आयोगले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न गराउन गृह मन्त्रालयले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायहरूलाई पनि निर्देशन दिएको छ ।
मतदानको दिनमा अत्यावश्यक सेवाका सवारीसाधन एम्बुलेन्स, दमकल, शववाहन, रक्तसञ्चार सेवाका साधन, सुरक्षा निकायका सवारीसाधन, विद्युत् मर्मत, खानेपानी तथा ढल मर्मतका सवारीसाधन निर्वाध चल्न सक्ने आयोगले जनाएको छ ।

 

बैतडीमा‌ रास्वपा र एमाले कार्यकर्ताबीच झडप, दुईजना घाइते

बैतडी । बैतडीमा चुनाव प्रचारप्रसारका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाल कम्युनिस्ट पार्टी (एमाले)का कार्यकर्ताबीच झडप भएको छ । झडपमा दुईजना घाइते भएका छन् ।
जिल्लाको डिलासैनी गाउँपालिका–७ लेक टोलमा घरदैलो कार्यक्रमका क्रममा दुई पक्षबीच विवाद चर्किएपछि झडप भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
प्रहरीका अनुसार घाइते हुनेमा डिलासैनी–७ का २८ वर्षीय जनक धामी र २६ वर्षीय माधव धामी छन् । दुवै एमालेनिकट युवा संघसँग आबद्ध रहेको जनाईएको छ ।
झडपमा जनकको टाउको र निधारमा चोट लागेको छ । माधवको ढाड र दाहिने खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ । उनीहरूको उपचार गोकुलेश्वर अस्पतालमा भइरहेको छ ।
घटनाबारे थप अनुसन्धानका लागि प्रहरी निरीक्षकको नेतृत्वमा टोली खटिएको छ । अहिले अवस्था नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

एमाले अध्यक्ष ओली जनतासँगै, आज दिनभर कमल गाउँपालिकामा

दमक । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली आज झापाको कमल गाउँपालिकाअन्तर्गका विभिन्न स्थानमा पुगेर मतदातासँग भेटघाट गर्दैछन् ।
झापा निर्वाचन क्षेत्र नम्बर ५ को एमाले निर्वाचन परिचलन समितिका संयोजक देवेन्द्र दाहालका अनुसार बिहीबार दिनभरी कमल गाउँपालिकाका विभिन्न आठ स्थानमा पुगेर भेटघाट गर्ने कार्यक्रम तय भएको छ । बिहान ११ बजे कमल–५ को सिम्लेस्थित सिरिजङ्गा चौकमा स्थानीयसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
त्यस्तै, साढे १२ बजे सोही वडाको झारबारीस्थित राधाकृष्ण मन्दिरमा पुगेर अध्यक्ष ओलीले स्थानीयसँग भेटघाट गर्नेछन् ।
यहाँको कार्यक्रम सम्पन्न गरेलगत्तै साढे १ बजे कमल–३ सानो केर्खामा भेटघाट कार्यक्रम तय भएको छ । साढे २ बजे कमल–४ को भलायोडाँडामा मतदातासँग भेटघाट कार्यक्रम रहेको जनाइएको छ । यहाँको भेटघाट सकिएलगत्तै साढे ३ बजे कमल–२ को भुत्लुङमा अध्यक्ष अ‍ोलीले स्थानीयसँग प्रत्यक्ष भेटघाट गर्ने कार्यक्रम छ ।
पार्टीको स्थानीय वडा कमिटीले भेटघाट आयोजना गरिए अनुसार विभिन्न स्थानमा भेटघाट गरी सुझाव र समस्याका विषयमा छलफल गरिने जनाइएको छ । यहाँको भेटघाट सकिएलगत्तै सोही वडाको जीवन चौकमा ४ बजे भेटघाट गर्ने कार्यक्रम तय भएको जनाइएको छ ।
अपरान्ह्र साढे ४ बजे कमल–४ र ६ मा पर्ने नयाँ बस्तीका बासिन्दासँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । यसरी नै आजै साँझ ५ बजे कमल–५ को रत्नपुर टोलमा मंलगबारेमा पुगेर मतदातासँग भेटघाट कार्यक्रम सम्पन्न गरिने भएको छ ।भेटघाटको क्रममा स्थानीयले राखेका समस्या र सुझावका विषयलाई लिएर बाँकी विकास निर्माण कामको येजना बनाइनेछ ।
अध्यक्ष ओलीले पनि जनतासँग प्रत्यक्ष टोलटोलमा पुगेर त्यस स्थानका समस्या सुनेर समाधानको योजना निर्माण गरिने रणनीतिको रुपमा लिएका छन् । मतदाता भेटघाट कार्यक्रममा सबैभन्दा बढी प्रथामिकता स्थानीय बालबालिका, महिला, वृद्धवद्धालाई दिने गरिएको छ । जो आफ्नो समस्या राख्न धेरै टाढा जान सक्दैनन् उनीहरुसँग घर तथा टोलमा नै पुगेर अध्यक्ष ओलीले भेटघाट गर्दै आएका छन् । हिजो मात्र उनले यही निर्वाचन क्षेत्रअन्तर्गतको गौरीगञ्ज गाउँपालिकाको ११ स्थानमा पुगेर भेटघाट सम्पन्न गरेका थिए ।

निर्वाचन आउन अब ७ दिन बाँकी ः देशैभर सुरक्षा निगरानी बढाइयो

काठमाण्डौं । निर्वाचन आउन ७ दिन मात्र बाँकी रहँदा देशभर सुरक्षा निगरानी बढाइएको छ ।
देशभर चुनावी सरगर्मी उत्कर्षमा पुगेको बेला सुरक्षा निगरानी बढाइएको हो ।
निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न सरकारले देशभर ३ लाख ३८ हजार सुरक्षाकर्मी परिचालन गरेको छ। जसमा करिब ८० हजार नेपाली सेना, १ लाख ४ हजार नेपाल प्रहरी र १ लाख १५ हजार म्यादी प्रहरी रहेका छन्।
निर्वाचन आयोगले ३ हजार ६ सय ८० मतदान केन्द्रलाई अति संवेदनशील सूचीमा राख्दै विशेष सुरक्षा निगरानी बढाएको छ।
फागुन १८ गते मध्यरातदेखि नेपाल–भारत सीमा नाकाहरू ७२ घण्टाका लागि पूर्ण रूपमा बन्द गरिनेछ। निर्वाचन बिथोल्न छिमेकी मुलुकबाट आपराधिक समूह छिर्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै सीमा नाकाहरू पूर्ण रूपमा बन्द गर्ने निर्णय भएको छ।
सरकारले मतदानको समयमा आम नागरिकलाई सहज होस् भनी फागुन २०, २१ र २२ गते तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
सरकार र सुरक्षा निकायले तयार पारेको एकीकृत सुरक्षा योजना–२०८२ अनुसार निर्वाचन बिथोल्ने समूहहरूका लागि लिइएका मुख्य रणनीतिहरूमा तीन घेराको कडा सुरक्षा दिइने भएको छ।
पहिलो घेरामा नेपाल प्रहरी र म्यादी प्रहरी (मतदान केन्द्रको भित्र), दोस्रो घेरामा सशस्त्र प्रहरी बल (मतदान केन्द्रको बाह्य सुरक्षा), तेस्रो घेरामा नेपाली सेना (गस्ती र आपत्कालीन परिचालनका लागि) प्रयोग गरिने भएको छ।
गृह मन्त्रालयले निर्वाचन बहिष्कार गर्ने घोषणा गरेका साना कम्युनिस्ट घटकहरू र राजावादी समूहका गतिविधिमाथि विशेष निगरानी बढाएको छ। निर्वाचन विरोधी गतिविधिमा संलग्न हुने, झन्डा जलाउने वा प्रचारप्रसारमा अवरोध गर्नेहरूलाई तत्काल नियन्त्रणमा लिन निर्देशन दिइएको छ।
राष्ट्रिय अनुसन्धान विभागका झन्डै २ हजार गुप्तचरहरूलाई निर्वाचन विरोधी योजनाको पूर्व–सूचना सङ्कलन गर्न परिचालन गरेको छ ।
आयोगले देशभरका अति संवेदनशील मानेका क्षेत्रमा अन्यको तुलनामा सुरक्षाकर्मीको संख्या दोब्बर बनाइएको छ र कुनै पनि अवरोध हुनासाथ ५ देखि १० मिनेटभित्र थप टोली पुग्ने गरी ‘क्विक रेस्पोन्स टिम’ परिचालन गरिने भएको छ।
नेपाली सेनाले संवेदनशील मानिएका क्षेत्रहरूमा हेलिकप्टरमार्फत हवाई गस्ती गर्न सुरु गरिरहेको छ। सामाजिक सञ्जालमार्फत निर्वाचन बिथोल्ने, भ्रम फैलाउने वा डर पैदा गर्नेहरूलाई रोक्न प्रहरी र सेनाले छुट्टै ‘आईटी सेल’ मार्फत २४ सै घण्टा निगरानी गरिरहेका छन्। भ्रामक सूचना फैलाउने कतिपय वेबसाइटहरूलाई सरकारले ब्लक गर्न थालिसकेको छ।

दुर्गा प्रसाईं थुनामुक्त, आरजु राणासँगको भेटबारे के भने ?

काठमाण्डौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाऊ महाअभियानका संयोजक तथा व्यवसायी दुर्गा प्रसाईं थुनामुक्त भएका छन् ।
मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र मेघराज पोखरेलको इजलासले बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरेपछि उनी बुधबार थुनामुक्त भएका हुन् ।
जिल्ला प्रहरी परिसरको हिरासतमा गैरकानूनी रूपमा थुनामा राखिएको दावी गर्दै उमा प्रसाईंले गत हप्ता सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता गराएकी थिइन् । जुन रिटलाई सर्वोच्चले सदर गरिदिएपछि उनी रिहा भएका हुन् ।
रिहा भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले नेपाली कांग्रेसकी नेत्री आरजु राणा देउवासँगको तस्वीर पुरानो भएको दाबी गरेका छन् । सामाजिक सञ्जालमा पछिल्लो समय भाइरल भएको तस्वीर दुई–अढाई वर्ष पुरानो भएको उनले जनाए ।
उनले भने, ‘आरजु राणा, पूर्णबहादुर खड्कासँगको फोटो लिक भएको मैले थाहा पाएँ । लिक भएको होइन, त्यो आएको हो, खिचिएको हो । त्यसमा ढाँट्नुपर्ने छैन, एआई होइन । पर्सनल कामले भेटेको हो । दुई–अढाई वर्ष जति भयो । उहाँको पनि स्कूल छ र मेरो पनि स्कूलको कामले जाँदाखेरी कुनै नेताको घरमा भेट भएको बेला खिचिएको फोटो हो । त्यतिबेला उहाँ परराष्ट्रमन्त्री हुनुहुन्थ्यो ।’
नेताहरूसँग फोटो खिच्दैमा गलत अर्थ नलगाउन प्रसाईंले आग्रह गरे । ‘मैले आरजु देउवासँग अढाइ–दुई वर्ष अगाडि फोटो खिच्दाखेरी के बिग्रियो ? अनि अब अहिले नयाँ डेट हालेर फेरि ल्याउन बेर लाउँदैनन् ।’

 

लेटेष्ट समाचार

इरानका सर्वोच्च नेता मोजतबा खामेनीसँग भेट्ने ट्रम्पको इच्छा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता मोजतबा खामेनीसँग भेट्ने इच्छा व्यक्त गरेका छन् । मोजतबा युद्ध अन्त्यका लागि जारी कूटनीतिक प्रयासमा...

एसियाली छनोट क्रिकेटमा नेपाल र मलेसिया खेल्दै

काठमाण्डौं । एसियाली खेलकुद छनोट अन्तर्गत नेपालले बिहीबार मलेसियासँग प्रतिस्पर्धा गर्दैछ । सिंगापुरमा हुने खेलमा नेपाल समूह विजेता बन्ने लक्ष्यका साथ मैदानमा हुनेछ । नेपाल...

कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक आज (बिहीबार) बस्ने भएको छ । बैठक दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय, बी।पी।स्मृति भवन ललितपुरमा बस्ने...