एमालेको विजय सभाबाट फर्केको गाडी दुर्घटना​

विराटनगर । इलाम २ मा निर्वाचित प्रतिनिधि सभा सदस्य सुहाङ नेम्वाङको विजय जुलुसबाट फर्किएको पिकअप गाडी दुर्घटनामा परेको छ ।
इलाम बजारको सभामा सहभागी बनेकाहरूलाई लिएर फर्किरहेको को २ च ४४७ नम्बरको पिकअप गाडी मंगलवार साँझ इलाम नगरपालिका ५, बिब्ल्याँँटेमा दुर्घटना हुँदा १९ जना घाइते भएका छन् ।
घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ ।
उनीहरूलाई उपचारका लागि झापाको विर्तासीटी अस्पताल पठाइएको प्रहरी नायब उपरीक्षक प्रकाश जबेगूले जानकारी दिए ।
इलाम नगरपालिका ५ का पिकअप चालक राजन खत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

डिजेल र मट्टितेलको घट्यो मूल्य

काठमाडौं । डिजेल र मट्टितेलको मूल्य घटेको छ ।
आज बसेको नेपाल आयल निगम सञ्चालक समितिको बैठकले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँले घटाएको हो ।
यस्तै, हवाई इन्धनको मूल्य भने बढेको छ । हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर एक रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलो लिटर अमेरिकी डलर ७ ले बढेको हो । पेट्रोल र एल. पि. ग्यासको मूल्य भने यथावत छ ।
नयाँ मूल्य बुधबार बिहान १ बजेदेखि लागू हुनेछ ।

पशुपतिनाथको जलहरी प्रकरणमा मुछिएका सबैलाई सफाइ

काठमाण्डौं । विशेष अदालतले पशुपतिनाथको जलहरी प्रकरणमा मुछिएका पशुपति क्षेत्र विकास कोषका सद स्य सचिव डा. मिलनकुमार थापा सहित ३ जनालाई सफाइ दिएको छ ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले थापा सहित डा। प्रदीप ढकाल, बिसेट नाइके अरुणकुमार श्रेष्ठलाई सफाइ दिएको हो ।
पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्दा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थापासहित पूर्व सदस्यसचिव ढकाल र विशेष नाइके श्रेष्ठविरुद्ध १ करोड १७ लाख रुपैयाँको बिगो कायम गरी भ्रष्टाचारको मुद्दा दायर गरेको थियो ।

इलामको विकासको जिम्मा सुहाङले लिने ओलीकाे टिप्पणी

इलाम । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले इलामको विकासको जिम्मा अब सुहाङ नेम्वाङको भएको टिप्पणी गरेका छन ।
इलाम पुगेर एमालेको विजयी सभालाई सम्बोधन गर्दै ओलीले इलामको विकासको जिम्मा सुहाङको भएको र आफु सुहाङको पछाडी रहेको जानकारी दिएका हुन ।
सभालाई सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले अब इलामको विकासमा केन्द्रित हुने भन्दै इलामका समस्यासँग आफू परिचित रहेको स्पष्ट पारे । आफूले चुनावको क्रममा गरेका प्रतिबद्धताहरु चुनावी स्टन्ट होइनन् भन्दै तत्काल समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे ।
इलामका मतदाताले सहि उम्मेदवार छानेको बताउदै सुहाङले राम्रो काम गर्ने जानकारी दिए ।

नबिल बैंकको वीरगन्ज शाखाबाट १ करोड ३४ लाख रकम चोरी

वीरगन्ज । पर्साको वीरगन्जमा रहेको नबिल बैंकको शाखाबाट एक करोड ३४ लाख रुपैयाँभन्दा बढी नगद रकम चोरी भएको छ।
बाइपास सडकमा रहेको बैंकको शाखाबाट गत आइतबार राति १ करोड ३४ लाख ६५ हजार रुपैयाँ नगद चोरी भएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ।
पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाका अनुसार सोमबार बिहान ८.४५ बजेतिर बैंकका सुरक्षा गार्ड बैंकमा पुग्दा मूल गेटमा अर्कै नयाँ ताल्चा लगाएको देखेपछि बैंकका शाखा प्रबन्धक पवन पौडेललाई फोन गरेर खबर गरेका थिए । पौडेलले प्रहरीलाई खबर गरेपछि पुगेको प्रहरी टोलीले मूल गेटमा लगाइएको नयाँ ताल्चा फोडेर भित्र प्रवेश गर्दा बैंकबाट १ करोड ३४ लाख ६५ हजार रुपैयाँ चोरी भएको पाइएको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए ।
बैंकभित्र टिनको बाकसभित्र राखिएका १ सय र २० दरका नोट गरी १ करोड ३४ लाख ६५ हजार रुपैयाँ चोरी भएको प्रहरीको भनाइ छ। नबिल बैंकको उक्त शाखामा रातिको समयमा सुरक्षा गार्ड नबस्ने र सोही मौका छोपेर चोरहरूले बैंकमा पसेर चोरी गरेको प्रहरीले जनाएको छ।
प्रााम्भिक अनुसन्धानका क्रममा सीसीटीभी क्यामेरामा रेकर्ड भएको भिडियोमा चार पाँच जनाको संख्यामा रहेका चोरहरूले मूल गेटको ताल्चा फुटाएर बैंकभित्र प्रवेश गरी टिनको बाकसमा राखिएको रकम बोरामा हालेर लगेको देखिएको थापाले जानकारी दिनुभयो । घटनाको खबर पाएलगत्तै प्रहरीले बैंकमा भएको चोरीको घटनाको सम्बन्धमा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको लगानी

काठमाडौं । स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटले ग्लोबल आइएमई बैंकलाई १० मिलियन अमेरिकी डलर अर्थात् करिब एक अर्ब ३२ करोड रुपैयाँ लगानी गर्ने भएको छ ।
यस सम्बन्धि सम्झौतामा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटका अध्यक्ष जोर्ग फ्रिडेनले हस्ताक्षर गरे ।
लगानीलाई बैंकले कृषि, लघु, साना तथा मझौला व्यवसायमा वित्तीय पहुँच बढाउन परिचालन गर्नेछ । यस लगानीको उद्देश्य कृषि, लघु, साना तथा मझौला उद्यमलाई वित्तीय पहुँच प्रदान गर्दै बजारमा प्रतिष्पर्धी बनाउन सहयोग गर्ने, वित्तीय समावेशीकरणमा सुधार गर्ने र रोजगारी सृजना गर्ने रहेको छ ।
स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटसँगको यस लगानी सम्झौताबाट नेपालको कृषी, लघु, साना तथा मझौला उद्यमको विकासमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।
नेपाल स्थित स्विट्जरल्याण्डको दुतावासले आफ्नो आधिकारीक सामाजिक सञ्जालमार्फत यो लगानीले नेपालमा कृषि, लघु, साना तथा मझौला व्यवसाय विस्तारका लागि नेपालको ठुलो बैंकसँग सहकार्य गर्न पाएकोमा खुसी ब्यक्त गरेको छ ।
ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २७७ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्र रहेका छन ।
ग्लोबल आइएमई बैंक, सबैका लागि बैंकिङ्ग सेवा प्रदान गर्ने बैंक हो जसले विभिन्न सेवा तथा सुविधा सहितका योजना मार्फत आफ्ना ४६ लाख भन्दा बढी ग्राहकलाई, उत्कृष्ट सेवा प्रदान गरी लावान्भित गरिरहेको छ ।
बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको छ ।

शेयर बजारमा २५.९३ अंकको उछाल, कारोबार रकम पौन ५ अर्ब

काठमाडौं । नेपालमा सञ्चालन भएको लगानी सम्मेलन पछि शेयर बजारमा उत्साह छाएको छ । नेप्से बढेर पुनः २ हजार अंक पार भएको छ भने कारोबार रकम पनि पौन ५ अर्ब नाघेको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २५.९३ अंकले बढेको हो । १.३० प्रतिशतले बजार बढ्दा नेप्से २००६.२८ अंकमा उक्लिएको छ ।
समग्रमा बजार उचालिंदा वित्त समूह भने १.१८ प्रतिशतले घटेको छ । बाँकी समूहमा हरियाली छाएको छ । सबैभन्दा बढी विकास बैंक समूह ४.९० प्रतिशतले बढेको छ ।
आज ३२० कम्पनीका १ करोढ १८ लाख ३८ हजार १ सय ५० कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ८० करोड ४४ हजार ६ सय १.६६ रुपियाँ बराबरको कारोबार भएको हो ।
दुई कम्पनीमा पोजेटिभ सर्किट लागेको छ । कर्पोरेट डेभलपमेन्ट बैंक र इन्फिनिटी लघुवित्तका लगानीकर्ताहरुले क्रमशः १० र ९.९९ प्रतिशतले नाफा कमाएका छन् ।
त्यस्तै पोखरा फाइनान्सका लगानीकर्ताहरुले सबैभन्दा बढी ७.१८ प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको उच्च कारोबार भएको छ । उक्त बैंकको १८ करोड २४ लाख २८ हजार १ सय ९२.३० रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जानकारी दिएको छ ।
साताको पहिलो दिन आइतबार बजार १४.३३ अंकले उचालिंदा २ अर्ब ६८ करोड २५ लाख ८६ हजार ९ सय ५५.८२ रुपियाँ र सोमबार बजार ०.०७ अंकले बढेको थियो ।

बझाङमा एमालेका दमनबहादुर भण्डारी विजयी

बझाङ । बझाङ–१ प्रदेशसभा (क) मा भएको प्रदेशसभा सदस्य निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी एमालेका उम्मेदवार दमनबहादुर भण्डारी विजयी भएका छन । मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले भण्डारी ११ हजार छ सय १२ मत प्राप्त गरी विजयी भएको जानकारी दिए ।
लामिछानेका अनुसार भण्डारीका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले ११ हजार तीन सय ४६ मत प्राप्त गरे । साथै नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका उम्मेदवार जनकबहादुर बुढाले तीन हजार नौ सय ६७ र नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका दिलबहादुर सिंहले दुई हजार पाँच सय १३ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत लामिछानेले जानकारी दिए ।

इलाम २ मा रास्वपा उम्मेदवारसहित १६ जनाको धरौटी जफत

इलाम । इलाम २ मा भएको प्रतिनिधि सभा सदस्य उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मिलन लिम्बूसहित १६ जनाको धरौटी जफत भएको छ ।
यहाँको निर्वाचनमा रास्वपाका लिम्बूलाई मुख्य प्रतिस्पर्धीका रूपमा हेरिएको थियो ।
निर्वाचनमा खसेको मतमध्ये कुल सदर मतको १० प्रतिशत मत नकटाउने उम्मेदवारको धरौटी जफत हुने कानुनी व्यवस्था रहेको छ । इलाम २ मा ६९ हजार ३ सय ७४ मत खसेकोमा ६८ हजार ४ सय ७२ मत सदर भएको थियो । त्यसअनुसार धरौटी जोगाउन कम्तीमा ६ हजार ८ सय ४७ मत ल्याउनुपर्थ्यो । तर रास्वपाका लिम्बूले यहाँ ५ हजार ५० मत मात्र प्राप्त गर्न सके ।
यहाँ लिम्बूसहित नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार जितबहादुर राई, राप्रपा उम्मेदवार लक्ष्मी गुरुङ र मंगोल नेसनल अर्गनाइजेसनका उम्मेदवार मनिबहादुर लिम्बूलगायत १६ जना उम्मेदवारको धरौटी जफत भएको छ ।
इलाम २ मा नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङ विजयी भएका छन । उनले नेपाली कांग्रेसका डम्बरबहादुर खड्कालाई ५ हजार ८ सय ३० मतको अन्तरले पराजित गरेका हुन ।
विजयी भएका सुहाङले २७ हजार ७ सय ७२ मत प्राप्त गर्दा खड्काले २१ हजार ९४२ मत प्राप्त गरे ।
यसैगरी, तेस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बूले ११ हजार ४५७ मत प्राप्त गरे ।

इलाम २ मा एमालेका सुहाङ नेम्वाङ विजयी

काठमाण्डौं । इलाम २ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ फराकिलो मतान्तरसहित विजयी भएका छन् ।
सुहाङले २७७७२ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका डम्बर खड्का २१९४२ मत प्राप्त गरेका छन् ।
त्यसैगरी पहिचान पक्षका स्वतन्त्र उम्मेदवार डेकेन्द्र थेगिमले ११४५७ मत प्राप्त गरेका छन् भने रास्वपा मिलन लिम्बुले ५०५० मत प्राप्त गरेका छन् ।
कुल १ लाख १५ हजार ८८९ मतदाता रहेको इलाम २ मा जम्मा ६९ हजार २ सय ८७ मत खसेको थियो, जसमा ६८ हजार ४७२ मत सदर भएको आयोगले जानकारी दिएको छ ।

लेटेष्ट समाचार

इरानका सर्वोच्च नेता मोजतबा खामेनीसँग भेट्ने ट्रम्पको इच्छा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता मोजतबा खामेनीसँग भेट्ने इच्छा व्यक्त गरेका छन् । मोजतबा युद्ध अन्त्यका लागि जारी कूटनीतिक प्रयासमा...

एसियाली छनोट क्रिकेटमा नेपाल र मलेसिया खेल्दै

काठमाण्डौं । एसियाली खेलकुद छनोट अन्तर्गत नेपालले बिहीबार मलेसियासँग प्रतिस्पर्धा गर्दैछ । सिंगापुरमा हुने खेलमा नेपाल समूह विजेता बन्ने लक्ष्यका साथ मैदानमा हुनेछ । नेपाल...

कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक आज (बिहीबार) बस्ने भएको छ । बैठक दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय, बी।पी।स्मृति भवन ललितपुरमा बस्ने...