बालेनको काठमाडौंस्थित घरमा चोरी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन साहको काठमाडौंको मण्डिखाटारस्थित घरमा चोरी भएको छ ।
बालेन र उनकी पत्नी सविना काफ्ले चुनावी अभियानका क्रममा बाहिर रहेको समयमा शुक्रबार साँझ घरमा चोरी भएको हो । घरमा भएका सुनका गरगहना, नगद रकम समेत चोरी भएको स्रोतले जनाएको छ ।
प्रहरीका अनुसार चोरहरूले घरमा जडान गरिएका २–३ वटा सिसीटिभी क्यामेरा, फुटेज रेकर्ड हुने डीभीआर मेसिन र बाथरुम तथा भान्साका धाराका टुटीहरू समेत चोरेर लगेको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले घटनाको पुष्टि गरेका छन् । उनका अनुसार विशेष टोली बनाएर घटनाबारे अनुसन्धान भइरहेको छ ।
यसैबीच, बालेन यतिबेला चुनावी अभियानका क्रममा सुर्खेत पुगेका छन् भने काफ्ले उपत्यका बाहिर छिन् ।

निर्वाचन ०८२ ः आयोगले सोध्यो २१ वटा स्पष्टीकरण, पाँच वटाले मात्र पठाए जवाफ

काठमाण्डौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनीय बनाउन निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन नियन्त्रणमा कडाइ गरेको छ।
आचारसंहिताको पूर्ण पालना गराउन आयोगले राजनीतिक दल, उम्मेदवार, संस्था तथा सरोकारवाला सबै पक्षलाई निरन्तर ध्यानाकर्षण गराउँदै आएको जनाएको छ ।
केन्द्रीय आचारसंहिता अनुगमन समितिमा प्राप्त उजुरी र जानकारीका आधारमा हालसम्म २१ वटा स्पष्टीकरण सोधिएको र ३०२ हानिकारक सूचना कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको आयोगले जनाएको छ ।
राजनीतिक दल, उम्मेदवार र संस्थासहित २१ जनासँग स्पष्टीकरण सोधिएकोमा तीमध्ये पाँच वटा स्पष्टीकरणको मात्र जवाफ प्राप्त भएको छ भने बाँकी स्पष्टीकरणका लागि ताकेता भइरहेको छ । समयमै जवाफ नआएमा कानुनबमोजिम थप कारबाही प्रक्रिया अघि बढाइने आयोगको भनाइ छ।
आयोगका अनुसार आचारसंहिताको उल्लङ्घन हुने गरी मिथ्या, भ्रमपूर्ण तथा घृणास्पद अभिव्यक्ति दिने व्यक्ति तथा समूहको निगरानीलाई पनि आयोगले तीव्र बनाएको छ। गैरकानुनी गतिविधिमा संलग्न व्यक्ति वा संस्थालाई नियामक निकायसँगको सहकार्यमा कानुनी दायरामा ल्याउन पहल भइरहेको आयोगले जनाएको छ ।
आयोगमा स्थापना गरिएको निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्रअन्तर्गतको सूचना सदाचार प्रवद्र्धन इकाई पूर्ण रूपमा क्रियाशील रहेको छ ।
उक्त इकाईले हालसम्म पहिचान गरेका कूल ३०२ वटा हानिकारक सूचनालाई निर्वाचन आचारसंहिता, २०८२, विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ तथा प्रेस काउन्सिल ऐन, २०४८ बमोजिम कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
आयोगले सबै राजनीतिक दल, उम्मेदवार, सञ्चारमाध्यम र आम नागरिकलाई निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गरी लोकतान्त्रिक अभ्यासलाई सफल बनाउन सहयोग गर्न आग्रह गरेको छ।

सर्लाहीको ५ दिने दौडाहापछि काठमाडौं फर्किए गगन थापा

मलंगवा । नेपाली कांग्रेसका सभापति गगन थापा सर्लाहीको पाँचदिने दौडाहापछि काठमाडौं फर्किएका छन् । आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ मा रहँदै उनले नेता, कार्यकर्ता र स्थानीय मतदातासँग प्रत्यक्ष संवाद र भेटघाट गरेका थिए ।
१२ माघमा सर्लाही पुगेका सभापति थापा घरदैलो कार्यक्रम, छलफल र अन्तरक्रियामा सक्रिय रहे । यस क्रममा पार्टी संगठन सुदृढीकरणसँगै स्थानीय जनताका समस्या, गुनासा र अपेक्षालाई नजिकबाट बुझ्न आफू केन्द्रित रहेको उनले जनाएका छन् ।
सर्लाही आगमनका बेला पार्टीका नेता तथा कार्यकर्ताले उनलाई भव्य स्वागत गरेका थिए । भावी प्रधानमन्त्रीका रूपमा समेत चर्चामा रहेका थापाले सर्लाही–४ को विकास र समृद्धिका लागि आफ्नो भूमिका प्रभावकारी हुने प्रतिबद्धता जनाए ।
सर्लाही छोड्नुअघि सञ्चारकर्मीसँग बोल्दै सभापति थापाले भने, ‘यहाँ आइपुग्दा द्विविधा थियो, तर फर्किँदा भरोसा बोकेर जाँदैछु । जनताको माया र विश्वासले थप जिम्मेवारीको अनुभूति गराएको छ ।’
उनले सर्लाहीमा तटबन्ध निर्माण, उखु किसानको बाँकी भुक्तानी, कृषिजन्य उत्पादनको बजारीकरण, शिक्षा, स्वास्थ्य र कृषि क्षेत्र प्रमुख चुनौतीका रूपमा रहेको जनाए । उनका अनुसार कृषिसम्बन्धी टोली फर्किसकेको छ भने सिँचाइसम्बन्धी टोली जिल्लामै रहेर अध्ययन गरिरहेको छ । सूचना प्रविधिसम्बन्धी टोली पनि छिट्टै सर्लाही पुगेर समस्याको अध्ययन गर्ने उनले जानकारी दिए ।
सभापति थापा जनकपुर विमानस्थल हुँदै काठमाडौं फर्किएका हुन् । काठमाडौं प्रस्थानअघि उनले जनकपुरस्थित नेपाली कांग्रेसको प्रदेश कार्यालयमा पार्टी नेता तथा कार्यकर्तासँग भेटघाट गरे ।

नेशनल लाईफ इन्स्योरेन्सले अभिकर्ताहरुलाई दियो तालिम

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले जारी गरेको मासिक योजना मन्थन २०८२ मा तोकिएको ब्यबसाय गरी छनौट भएका बागमती र मधेश प्रदेशका विभिन्न शाखा कार्यालयमा आबद्ध रही कार्य गर्ने अभिकर्ताहरुलाई १ दिने तालिम प्रदान गरेको छ ।
कम्पनीका उपप्रमुख कार्यकारी अधिकृत स्मृतीराज कडेलको सभपतित्वमा सम्पन्न भएको सो कार्यक्रम अन्तर्गत छनौट भएका २८० जना अभिकर्ताहरुलाइ धुलिखेल स्थित होटल सारथीमा चर्चित प्रशिक्षक काजिम रजाले प्रशिक्षण प्रदान गरेका थिए । उनले विभिन्न उदाहरण प्रस्तुत गर्दै एमडिआरटीको लक्ष्य हासिल गर्ने उपायको बारेमा प्रशिक्षण दिएका थिए ।
कम्पनीका उप प्रमुख कार्यकरी अधिकृत स्मृती राज कडेलज्युले कम्पनीमा आबद्ध अभिकर्ताहरुलाई आफुले आत्मसात गरेको अभिकर्ता पेशालाइ व्यावसायिक बनाउने उदेश्यले कम्पनीले विभिन्न अभिकर्ता मैत्री मासिक तथा बार्शिक योजना जारी गर्दै आइरहेको र यसै सन्दर्भमा अभिकर्ताहरुलाइ उत्कृष्ट प्रशिक्षण दिने गरि प्रेरणा, प्रगती र पेशागत उत्कृष्टता को नाराका साथ मासिक योजना मन्थन जारी गरिएको जनाए ।
यो योजनामा देशैभरबाट ७०० भन्दा बढी अभिकर्ताहरु छनौट हुनुले यो योजना अत्यन्तै सफल भएको जनाए साथै वनले शाखा स्तरिय प्रथम द्वितीय र तृतिय हुन सफल अभिकर्ताहरुलाई मायाको चिनो प्रदान गरेका थिए । कार्यक्रममा एजेन्सी बिभाग प्रमुख सुशिल प्रताप राणाले यश प्रकारको तालिमबाट अभिकर्ताहरूले आफ्नो पेशामा उत्कृष्टता हासिल गरि प्रतिस्पर्धात्मक बजारमा आफुलाइ अब्बल साबित गर्न सक्ने जनाए ।
कार्यक्रममा साहभागी अभिकर्ताहरुले यस्ता उत्कृष्ट तालिमबाट आगामी दिनमा बिमा ब्यबसायमा अझ प्रगती गर्ने प्रेरणा मिलेको जनाएका थिए भने सम्मानित हुने अभिकर्ताहरुले सम्मान प्राप्त गर्दा आफ्नो मिहिनेतको फल प्राप्त भएको र आगामी दिनमा अझ मिहेनतका साथ आफ्नो पेशालाई अगाडि बढाउने जनाएका थिए ।

यात्रुवाहक बस दुर्घटना हुँदा ३८ जना घाइते

चितवन । मुग्लिङ–नारायणगढ सडक खण्डको भरतपुर महानगरपालिका–२९, घुमाउनेमा यात्रुवाहक बस दुर्घटना हुँदा ३८ जना घाइते भएका छन् ।
दाङबाट काठमाडौंतर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०२–००१ ख ०४६० नम्बरको बस शुक्रबार बिहान अनियन्त्रित भई दुर्घटना भएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ । बस अनियन्त्रित भई सडकमा पल्टिएको थियो ।
प्रहरीका अनुसार दुर्घटनामा चालक र सहचालक समेत सामान्य घाइते भएका छन् । घाइतेमध्ये १० जनाको अवस्था मध्यम छ । २८ जना सामान्य घाइते भएका प्रहरीले जनाएको छ ।
घाइतेमध्ये भरतपुरस्थित मौलाकालिका अस्पतालमा १५ जनाको उपचार भइरहेको छ । पुरानो मेडिकल कलेजमा १३, मुग्लिङस्थित जनता केयर अस्पतालमा ६ र नयाँ मेडिकल कलेजमा चार जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

शहीदलाई सम्झदै बालेनले भने–व्यवस्था पटक–पटक फेरियो, सत्ताको चरित्र फेरिएन

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले शहीदहरूको बलिदानलाई बेवास्ता गर्ने छुट कसैलाई नभएको जनाएका छन् ।
शहीद दिवसको अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना दिदै शाहले राणा शासनको अन्त्यको माग गर्दै सङ्घर्ष गर्ने गङ्गालाल श्रेष्ठ, दशरथ चन्द , धर्मभक्त माथेमा र शुक्रराज शास्त्रीको तत्कालीन राज्यले क्रूरतापूर्वक हत्या गरेको ८५ वर्ष भएको स्मरण गरे ।
‘त्यसको दश वर्षपछि राणा शासनको अन्त्य भयो तर राज्य जनताको बन्न सकेन । यसपछि पनि नेपाली जनताले निरन्तर सङ्घर्ष गरिरहनु पर्‍यो । ८५ वर्षमा पटक–पटक व्यवस्था फेरियो, सत्ताको चरित्र फेरिएन’, उनले सन्देशमा भनेका छन् ।
‘८५ वर्ष पहिलेजस्तै, यसपालि पनि भदौको जेनजी आन्दोलनमा सुशासन र भ्रष्टाचार अन्त्यको माग राखेर शान्तिपूर्ण आन्दोलनमा उत्रिएका युवा र विद्यार्थीले आफ्नो अमूल्य जीवन बलिदान दिनुपर्‍यो । अहिले हामी ती शहीदका सपना पुरा गर्ने बाटोमा अघि बढिरहेका छौँ । लामो सयमसम्म जरा गाडेको भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्दै नेपाललाई आर्थिक रूपमा उन्नत मुलुक बनाउनुपर्ने दायित्व हाम्रो काँधमा छ । राज्यका निकायहरूमा भएको चरम दलीयकरणको अन्त्य गर्दै राज्यलाई जवाफदेही र पारदर्शी बनाउनुपर्ने दायित्व हामीसँग छ । अब समय आएको छ–शहीदका रगतलाई सम्मान गर्दै वहाँहरूको सपना पुरा गर्ने । सुशासनयुक्त, भ्रष्टाचारमुक्त देश बनाउने’,शाहले उल्लेख गरेका छन् ।
फेरी कसैले शहीद बन्नु नपरोस् भन्दै शाहले सम्पूर्ण शहीदहरू प्रति भावपूर्ण श्रद्धाञ्जली पनि अर्पण गरेका छन् ।

सहिदहरूका बलिदानको मूल्यलाई हामी कहिल्यै भुल्ने छैनौँ ः केपी ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अमर सहिदहरूको बलिदानको मूल्यलाई आफूले कहिल्यै नबिर्सने र राष्ट्रिय स्वाधीनता तथा लोकतन्त्रको रक्षाका लागि सधैं प्रतिबद्ध रहेको जनाएका छन् ।
सहिद दिवसको अवसरमा सामाजिक सञ्जालमा लेख्दै अध्यक्ष ओलीले आज माघ १६ गते मनाइँदै आएको सहिद दिवस केवल क्यालेन्डरको एउटा मिति मात्र नभई नेपाली जनताले प्राप्त गरेको स्वतन्त्रता र लोकतान्त्रिक अधिकारको इतिहाससँग गहिरो रूपमा जोडिएको दिन भएको उल्लेख गरेका छन् ।
आजको अवस्थाबाट हेर्दा यो दिन केवल क्यालेन्डरको एउटा मितिजस्तो लाग्नसक्ने भए पनि विगतमा फर्केर हेर्दा अहिले उपभोग गरिरहेको स्वतन्त्रता ठूलो संघर्ष र बलिदानबाट प्राप्त भएको स्पष्ट हुने अध्यक्ष ओलीले जनाए ।
वि.सं. १९९७ सालमा प्रजातन्त्रको पक्षमा आवाज उठाउने शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठलाई निरङ्कुश राणा शासनले मृत्युदण्ड दिएको स्मरण गर्दै अध्यक्ष ओलीले त्यही बलिदानबाट लोकतान्त्रिक आन्दोलनको बीऊ रोपिएको जनाए । निरङ्कुश र जहानियाँ शासनको अन्त्य गर्दै आजका लोकतान्त्रिक अधिकार स्थापित गर्न कम्युनिष्ट र कांग्रेसको संयुक्त आन्दोलनले महत्वपूर्ण भूमिका खेलेको ओलीले स्मरण गरे ।
‘निरङ्कुश र जहानियाँ शासनको ठाउँमा आजको लोकतान्त्रिक अधिकार स्थापित गर्ने आन्दोलनको बीऊ त्यसरी रोपिएको थियो । कम्युनिस्ट र कांग्रेसको संयुक्त आन्दोलनको उपज हो आज समाजले पाएको लोकतान्त्रिक अधिकार ।’ अध्यक्ष ओलीले फेसबुकमा लेखेका छन्, ‘यस ऐतिहासिक विरासतलाई स्मरण गर्दै अमर शहीदहरू दशरथ चन्द, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठलाई हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । अमर सहिदहरूका बलिदानको मूल्यलाई हामी कहिल्यै भुल्ने छैनौँ, हाम्रो राष्ट्रिय स्वाधीनता र लोकतन्त्रको रक्षा गर्ने छौँ ।’

राष्ट्रपति पौडेल आइतबार जापान जाने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आगामी माघ १८ (आइतबार) गते जापान भ्रमणमा जाने भएका छन् ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेल सहभागी रहने प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गर्ने निर्णय गरेको गृहमन्त्री समेत रहेका सरकारका प्रवक्ता ओमप्रकाश अर्यालले जानकारी दिए ।
अर्यालका अनुसार, राष्ट्रपति पौडेलको प्रतिनिधिमण्डलको टोली माघ १८ गते जापान भ्रमणमा जाँदैछन् ।
नेपाल र जापान बीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औं वर्षगाँठको उपलक्ष्यमा आयोजित कार्यक्रममा सहभागी हुन राष्ट्रपति पौडले त्यसतर्फ जान लागेका हुन्।
‘नेपाल र जापान बीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औं वर्षगाँठको उपलक्ष्यमा २०८२ साल माघ १८ देखि २१ गतेसम्म जापानमा आयोजना हुने कार्यक्रममा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेल नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति दिने निर्णय भएको छ,’ गृहमन्त्री एवं प्रवक्ता अर्यालले भने ।

देशका विरुद्ध हुने कुनै पनि समर्पण अस्विकार्य ः अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशका विरुद्ध हुने कुनै पनि समर्पण अस्विकार्य हुने जनाएका छन् ।
आगामी निर्वाचनमा घोषणा पत्र तयारीका लागि पार्टी केन्द्रीय कार्यालय च्यासलमा विज्ञहरुसँग सुझाव लिने क्रममा अध्यक्ष ओलीले सो कुरा जनाएका हुन् । उनले राष्ट्रियता,सार्वभौमिकता, राष्ट्रिय सुरक्षा र स्वाभिमानको रक्षा समपर्णबाट हुन नसक्ने भन्दै त्यसको प्रतिरोध, प्रतिवाद र प्रतिरक्षा हुने जनाए ।
अध्यक्ष ओलीले सरकारले हालसम्म पनि निर्वाचनको वातावरण बनाउन नसकेको उल्लेख गरे । ‘पार्टीले हाल राज्यले गरेका गतिविधि नजिकबाट नियाली रहेको छ ’ अध्यक्ष ओलीलाई उधृत गर्दै प्रचार तथा प्रकाशन संयोजक मीनबहादुर शाहीले जारी गरेको विज्ञप्तीमा भनिएको छ ‘सरकारले आजका दिनसम्म पनि निर्वाचन निष्पक्ष,स्वतन्त्र र धाँधली रहित ढंगले गर्ने वातावरण बनाउन सकेको छैन । ’
अध्यक्ष ओलीले २०७२ को भूकम्पपछि एमालेले पुननिर्माणको नेतृत्व गरेको स्मरण गराउँदै सुदृढ र तल्लो निकायसम्म संगठन भएकोले भदौको विध्वंसपछिको निर्माण पनि एमालेले गर्ने जनाए ।
‘नेकपा एमाले सुदृढ संगठन,व्यापक जनमत र सर्वाधिक लोकप्रिय पार्टीका रुपमा स्थापित रहेको छ । भूकम्पले पुर्याएको क्षतिको पुननिर्माण उदाहरणीय रुपमा सफल पारेको एमालले’ शाहीले जारी गरेको विज्ञप्तीमा भनिएको छ ‘गत भदौको विध्वसंले राष्ट्रियता,लोकतन्त्र र संविधानमा पुर्याएको क्षतिको पुननिर्माण ’क्षतिको पुननिर्माण,राष्ट्रिय सुरक्षा र सुदृढ राष्ट्रिय एकता कायम गर्न उच्च मनोबलका साथ प्रदान गर्नेछ । ’

रवि लामिछानेको मुद्दा फिर्ता गर्न रुपन्देही जिल्ला अदालतको इन्कार

रूपन्देही । रुपन्देही जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित जोडिएको संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दा तत्काल फिर्ता लिन इन्कार गरेको छ ।
महान्यायाधिवक्ता कार्यालयको निर्णय कार्यान्वयनका लागि जिल्ला सरकारी वकिल कार्यालयमार्फत पेश गरिएको निवेदन अदालतले रोकिदिएको हो।
अदालतले यस विषयमा सर्वोच्च अदालतमा दायर रिट विचाराधीन रहेकाले अन्तिम टुंगो नलागेसम्म निर्णय कार्यान्वयन नगर्न आदेश दिएको जनाएको छ।
इजलासले सर्वोच्च अदालतबाट स्पष्ट आदेश आएपछि मात्र अगाडि बढ्ने संकेत गरेको छ। यसअघि सहकारी ठगी मुद्दा यथावत् राख्दै अन्य दुई अभियोग फिर्ता लिने तयारी गरिएको थियो।

लेटेष्ट समाचार

साफ महिला च्याम्पियनसिपमा आज दुई खेल हुँदै

काठमाण्डौं । पोखरा अन्तर्राष्ट्रिय फुटबल रंगशालामा सञ्चालन भइरहेको १९ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता अन्तर्गत सोमबार लिग चरणका दुई खेल हुँदैछन्। पहिलो खेल बांग्लादेश...

राष्ट्रपति पौडेल जापानमा, नेपाल –जापान सम्बन्धको ७०औँ वार्षिकोत्सव मनाइँदै

काठमाण्डौं । नेपाल र जापानबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सव सोमबार मनाइँदैछ । यस अवसरमा आयोजित विशेष समारोहमा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेल...

प्रतिनिधिसभा निर्वाचन ः प्रत्यक्षतर्फ २५ जिल्लाका ३० लाख मतपत्र छापियो

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ हालसम्म ३० लाख मतपत्र छपाइ भएको छ । निर्वाचन आयोगका अनुसार कूल २५...