काठमाण्डौं । गायिका एलिना चौहानले पति विष्णु सापकोटासँग सम्बन्धविच्छेद गर्न जिल्ला अदालत काठमाण्डौंमा फिरादपत्र दायर गरेकी छन् ।
कानूनी रूपमा हुने मानाचामल र अंशबण्डाको हकदाबी नगरी एलिनाले सम्बन्धविच्छेद मात्र माग गरेकी छन् ।
अदालतका सूचना अधिकारी दिपककुमार श्रेष्ठले एलिनाले सम्बन्धविच्छेद माग गर्दै फिरादपत्र दायर गरेको जानकारी दिए । ‘उहाँले वारेसमार्फत फिरादपत्र दायर गर्नुभएको छ,’ उनले भने, ‘मानाचामल र अंशबण्डा केही माग्नुभएको छैन, केवल सम्बन्धविच्छेद गर्न चाहेको उल्लेख गर्नुभएको छ ।’
झापाकी एलिना र बाग्लुङका विष्णु सापकोटाबीच केही महिनाअघि विवाह भएको थियो ।
एलिना चौहानद्वारा सम्बन्धविच्छेद गर्न अदालतमा निवेदन दर्ता
अध्यादेश मार्फत देशमा व्यवसायिक वातावरण प्रवर्द्धन गर्न खोजेको देउवाको धारणा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले व्यवसायिक वातावरण प्रवर्द्धनको लागि देशभित्र र बाहिरबाट लगानीको अनुकुल वातावरण बनाउन अध्यादेशबाट केही कानुन ल्याइएको धारणा व्यक्त गरेका छन् ।
शुक्रबारदेखि सुरु भएको संसदको हिउँदे अधिवेशनमा बोल्दै उनले, अध्यादेशबाट केही कानुन ल्याएको भन्दै त्यसले देशको आर्थिक अवस्थामा सुधार ल्याउने विश्वास व्यक्त गरे ।
उनले भने,‘देशको आर्थिक अवस्था उकास्न जरुरी छ । हालै सरकारले व्यवसायिक वातावरण प्रवद्र्धनको लागि देशभित्र र बाहिरबाट लगानीको अनुकुल वातावरण बनाउन अध्यादेशबाट केही कानुन ल्याएको छ । यसले देशको आर्थिक अवस्थामा सुधार ल्याउने मैले विश्वास लिएको छु ।’
यस्तै उनले कुनै सरकारको मुल्याङकन गर्नको लागि ६ महिनाको समय पर्याप्त नहुने भन्दै यद्यपी यस अवधिमा सरकारले गरेको राम्रा कामको भविष्यमा असल परिणाम देखिने धारणा राखे ।
लोकतन्त्रमा आवश्यक राजनीतिक अधिकारको उपभोग गरिएतापनि आर्थिक अवस्था सुदृढ हुन नसकेको कारण परिणामस्वरुप विकास वा समृद्धिको यात्रा चाहनाअनुरुप अगाडि बढ्न नसकेको उनको भनाई छ ।
उनले भने,‘कुनै सरकारको मुल्याङकन गर्नको लागि ६ महिनाको समय पर्याप्त हुँदैन् । तर सरकारले यस अवधिमा गरेको काम राम्रो छन् । त्यसैले भविष्यमा असल परिणाम देखिने मैले अनुभूति गरेको छु । मुलुकको समग्र विकासका लागि लोतकन्त्रको सुनिश्चिततासुदृढ अर्थतन्त्र आवश्यक हुन्छ । लोकतन्त्रमा आवश्यक राजनीतिक अधिकारको उपभोग त गरिरहेको छौं तर आर्थिक अवस्था सुधार हुन सकिरहेको छैन् । परिणामस्वरुप विकास वा समृद्धिका यात्रा चाहना अनुरुप अगाडि बढ्न सकेको छैनन् ।’
अर्थतन्त्र सुधारोन्मुख अवस्थामा रहेको प्रधानमन्त्रीको दाबी
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको अर्थतन्त्र अहिले सुधारोन्मुख रहेको दाबी गरेका छन् । उनले ६ महिना पहिलाको जस्तो भयावह स्थितिमा नरहेको दाबी गरे ।
शुक्रबारको प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै ओलीले भयावहको अवस्था नआउने समेत जानकारी दिए ।
उनले अर्थतन्त्रमा नगद प्रवाह गर्न सरकार बन्नेबित्तिकै लामो समयदेखि भुक्तानी नदिने सरकारी रवैयालाई परिर्वतन गरेको समेत जनाए । निर्माण व्यवसायीको कानूनसम्मत रुपमा सिर्जना भएको तर भुक्तानी नभएको विगत आर्थिक वर्षदेखिको ३० अर्ब रुपैयाँको दायित्व फरफारक गरेको उल्लेख गरे । ३५ जिल्लाका १५ लाख भन्दा बढी दुग्ध किसानलाई सरकार बनेको एक सय दिनभित्रै भुक्तानी दिएको उल्लेख गरे । प्रधानमन्त्री ओलीले निजी क्षेत्रकै मागबमोजिम अर्थतन्त्र सुदृढीकरणका लागि आर्थिक सुझाव आयोगजस्ता महत्वपूर्ण आयोगहरूको गठन गरिएको जनाए ।
‘६ महिना अघिजस्तो अहिले अर्थतन्त्रमा भयावह स्थिति छैन । अर्थतन्त्रका परिसूचकहरु राम्रा छन् । पहिलेका ‘नराम्रा’ परिसूचकहरु सुधारोन्मुख छन् । अर्थतन्त्रलाई कसरी चलायमान बनाउन सकिन्छ र माग वढाउन सकिन्छ भनेर सरकार लागिपरेको छ ।’ उनले भने ।
मेटलाइफद्वारा चिसोको जोखिममा परेका समुदायलाई सहयोग
काठमाडौं । मेटलाइफले सुनसरीका पिछडिएका समुदायहरूलाई न्यानो कपडा वितरण गर्न ग्रामीण महिला उत्सुकता विकास मञ्च (फरवार्ड नेपाल) लाई सहयोग गरेको छ ।
पुस र माघ महिनामा अत्याधिक चिसोको सामना गर्ने दुहवी नगरपालिका, बर्जु गाउँपालिका, गढी गाउँपालिका र इनरुवा नगरपालिकाका दलित तथा मुसहर समुदायलाई अत्यावश्यक राहत प्रदान गर्ने यस पहलको उद्देश्य रहेको छ ।
यस कार्यक्रमले १,००० जेष्ठ नागरिक र ५०० विधवाहरूलाई नेपाली रुपैयाँ ५ लाख सहयोगमा न्यानो कपडा उपलब्ध गराउने लक्ष्य राखेको छ ।
मेटलाइफ नेपालका महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले भने, ‘हामी आवश्यकता परेकाहरूको जीवनमा अर्थपूर्ण परिवर्तन ल्याउन प्रतिबद्ध छौँ । फरवार्ड नेपालसँग साझेदारी गरेर, विशेष गरी यस चुनौतीपूर्ण समयमा हामीले सेवा गर्ने समुदायहरूलाई समर्थन गर्ने हाम्रो समर्पणलाई पुनः पुष्टि गर्दैछौँ ।’
शिखर इन्स्योरेन्स कम्पनीले घोषणा गर्यो १०.५२ प्रतिशत लाभांश
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले १०.५२ प्रतिशत लाभांश घोषणा गरेको छ ।
सञ्चालक समितिको गत मंगलबार बसेको बैठकले आव २०८०–८१ नाफाबाट १० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव सुरज राजबाहकले जनाएका छन् ।
कम्पनीको हाल कायम चुक्ता पूँजी २ अर्ब ६५ करोड ४९ लाख ४७ हजार ३ सय रुपियाँ छ ।
सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश बीमा प्राधिकरणबाट स्वीकृति र आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीहरुले पाउने छन् ।
मर्स्याङ्दी नदी जलविद्युत् आयोजनामा कुमारी बैंकको अगुवाईमा १५ अर्ब १८ करोड लगानी गरिंदै
काठमाडौं । गोरखा जिल्लाको पालुङटार नगरपालिका, लमजुङ जिल्लाको राईनास नगरपालिका र तनहुँ जिल्लाको भानु नगरपालिका भएर बग्ने मर्स्याङ्दी नदीमा एमए पावर प्रालिले निर्माण गर्ने ९० मेगावाटको मर्स्याङ्दी नदी अर्धजलाशययुक्त जलविद्युत् आयोजनामा कुमारी बैकको अगुवाईमा आज लगानी सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।
एमए पावरका अध्यक्ष अनुप आचार्य र कुमारी बैकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालको उपस्थितिमा कुमारी बैक लिमिटेड, प्रभु बैक लिमिटेड, सिद्धार्थ बैक लिमिटेड, कृषि बिकास बैक लिमिटेड लगायतका बिभिन्न बैंक तथा वित्तीय संस्थाहरुको रु। १५ अर्ब १८ करोड ७५ लाखको संयुक्त लगानीमा आयोजना निमार्ण हुने गरी ऋण सम्झौता सम्पन्न भएको छ ।
स्वपुँजी लगानी अनुप आचार्य, हरिबाबु न्यौपाने र दिपक बरालको हुनेछ । साथै डोल्मा इम्पाक्ट फण्डले पनि कम्पनीमा ४९ प्रतिशत सम्म स्वपुँजी लगानी गर्न पुर्व आवश्यक प्रक्रिया अगाडि बढाएको कम्पनीका अध्यक्ष आचार्यले जनाए । यही समूहबाट हाल सेतीखोला हाईड्रोपावर लिमिटेड मार्फत सेतीखोला जलबिद्युत आयोजना २२ मे।वा। निर्माण कार्य अन्तिम चरणमा रहेको छ ।
आयोजनाको नेपाल बिद्युत प्राधिकरणसँग २०८० साल कात्तिक ०१ गते बिद्युत खरिद बिक्री सम्झौता सम्पन्न भई व्यपारिक उत्पादन शुरु गर्नु पर्ने मिति २०८६ साल बैशाख २२ रहेको छ ।
आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन स्वीकृतीका लागी सम्बन्धित निकायमा पेश भएको कम्पनीका अध्यक्ष आचार्यले जनाए ।
आयोजनाबाट उत्पादित विद्युत् विद्युत्गृहदेखि २२० केभी सिंगल सर्किट प्रसारण लाइनमार्फत ११.६ किलोमिटर दूरीमा नेपाल बिद्युत प्राधिकरणको मार्किचोक सब–स्टेशनमा २२०–१३२ केभीमा जोडिने छ ।
कांग्रेस संसदीय दलको बैठक आज बस्दै
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै छ । बैठक आज बिहान साढे आठ बजे संसद् भवनस्थित ल्होत्से हलमा बस्न लागेको हो ।
आजबाट सुरु हुने संसदको हिउँदे अधिवेशनमा पार्टीका सांसदहरुको प्रस्तुति लगायतका विषयमा बैठकमा छलफल हुने नेताहरुले जनाएका छन् ।
यसअघि बसेको दलको बैठकमा बोल्न बाँकी सांसदहरुले आज धारणा राखिसकेपछि मन्त्रीहरुले जवाफ दिनेछन् । मन्त्रीहरुले आफूले गरेका कामबारे सांसदहरुलाई जानकारी पनि गराउने छन् ।
संसदीय दलको बैठकमा यसअघि २० सांसदले बोलिसकेका छन् । साथै, अध्यादेशको अन्तरवस्तुबारे महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखकले सांसदहरुलाई जानकारी गराइसकेका छन् । कानुन सुधार सुझाव कार्यदलका तीन सदस्यले कानुनमा रहेका व्यवस्था र सुधार गर्नुपरेका कारणहरू पनि सुनाएका थिए ।
संसद्को हिउँदे अधिवेशन आजदेखि, यस्तो छ कार्यसूची
काठमाण्डौं । संघीय संसद्को हिउँदे अधिवेशन शुक्रबारदेखि सुरु हुँदैछ । अपराह्न १ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा बैठक बस्दैछ । यस अधिवेशनलाई विधेयक अधिवेशनका रूपमा पनि लिइन्छ ।
संघीय संसद् सचिवालयले दुवै सदनका सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार प्रतिनिधिसभा बैठकमा सभामुखले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान, प्रधानमन्त्रीको कार्यभार तोकिएको र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची छ ।
यस्तै सभामुखले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सदस्यको मनोनयन गर्नेछन् । अधिवेशन सुरु भएको दिन यसअघि जस्तै दलीय आधारमा सदस्यले आ–आफ्नो मन्तव्य राख्ने कार्यसूची रहेको छ ।े
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ पेस गर्ने छन् । । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१, निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१ र आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ पेस गर्ने छन् । त्यस्तै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ र भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ पेस गर्ने कार्यसूची छ । बैठकमा सभामुखले विभिन्न शोक प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।
यसैगरी राष्ट्रियसभाको बैठकमा उल्लेखित कार्यसूची बाहेक मिडिया काउन्सिल विधेयक, २०८० र नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन पेस गर्ने कार्यसूची छ ।
दुवै सदनमा विभिन्न विधेयक विचाराधीन हुनुका साथै थप नयाँ विधेयकसमेत दर्ता गरिएका छन् । संसद्मा संघीयता कार्यान्वयनसँग जोडिएका संघीय निजामती, विद्यालय शिक्षा, प्रहरी समायोजनजस्ता महत्त्वपूर्ण विधेयक लामो समयदेखि विचाराधीन छन् । ती विधेयकमाथि सम्बन्धित संसदीय समितिहरूमा छलफल भइरहेको संसद् सचिवालयले जानकारी दिएको छ ।
विद्यालय शिक्षा ऐन नआए राजीनामा दिने शिक्षामन्त्री भट्टराईको घोषणा
काठमाडौं । शिक्षामन्त्री विद्या भट्टराईले विद्यालय शिक्षा ऐन ल्याउन नसके राजीनामा दिने घोषणा गरेकी छिन् ।
आज नेकपा ९एमाले० को भ्रातृ संगठन नेपाल राष्ट्रिय शिक्षक संगठनको प्रथम प्रदेश परिषद बैठकमा बोल्दै मन्त्री भट्टराईले ऐन आउँदैन, विधेयक बन्दैर भने पदमा नबस्ने घोषणा गरेकी हुन् ।
उनले भनिन्, ‘विद्यालय शिक्षा ऐन आउँदैन, विधेयक बन्दैन भने म पद छोड्छु। विधेयक ल्याउने भनेर बसेको हो,’ उनले भनिन्, ‘सक्दिनँ भन्ने लाग्यो भने बस्दिनँ।’ राजनीतिमा आउँदा आफूले स्थायी प्राध्यापक र जीवन साथी गुमाएको भन्दै उनले अहिले प्राप्त पद गुमाउन पनि आफू तयार रहेको जनाईन।’
नेपाल नेदरल्याण्ड्ससँग २० रनले पराजित
काठमाडौं । महिला टी–२० आई त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँग २० रनले पराजित भएको छ । नेदरल्याण्ड्सले दिएको १ सय ५८ रनको चुनौती पछ्याएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ३७ रन मात्र बनाउन सक्यो ।
नेपालका लागि सिता राना मगरले २८, कविता जोशीले २७, पूजा महतोले २४, रुविना क्षेत्रीले ११ रन बनाउँदा अरूले दोहोरो अंकको रन बनाउन सकेनन् । सम्झना खड्काले ९, कप्तान इन्दु बर्माले ७, कविता कुँवरले ८ रन बनाउँदा एलिसा यादव ४ र विन्दु रावल ३ रनमा अविजित रहे ।
यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङमा आएको नेदरल्याण्ड्सले पूरा २० ओभर खेल्दै ४ विकेट गुमाएर १ सय ५७ रन बनाएको थियो। उसका लागि रोबिनी रिज्केले अविजित ५९ रनको योगदान गरिन् । आइरिस ज्वीलिङ पनि ३१ रनमा नटआउट रहिन् । स्टेयर कालिसले २९ र हिथर साइगर्सले २३ रन जोडिन् । नेपालकी सिता रानामागर, ईश्वरी विष्ट, पूजा महतो र कविता कुँवरले एक एक विकेट लिए । नेपालले अर्को खेल पर्सि १९ गते थाइल्याण्डसँग खेल्ने छ ।