काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ३ प्रदेश प्रमुख नियुक्त गरेका छन् । बुधबार राष्ट्रपति पौडेलले बागमती, लुम्बिनी र कर्णालीका प्रदेश प्रमुख नियुक्त गरेका हुन् ।
यसअघिका बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मा, लुम्बिनीका प्रमुख अमिक शेरचन र कर्णालीका प्रमुख तिलक परियारलाई पदमुक्त गर्दै उनले नयाँ नियुक्त गरेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।
राष्ट्रपति पौडेलले सरकारको सिफारिसमा बागमती प्रदेश प्रमुखमा दीपक प्रसाद देवकोटा, लुम्बिनी प्रदेश प्रमुखमा कृष्णबहादुर घर्तीमगर र कर्णाली प्रदेश प्रमुखमा यज्ञराज जोशीलाई नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बागमतीमा देवकोटा, लुम्बिनीमा घर्तीमगर र कर्णालीमा जोशीलाई प्रदेश प्रमुखमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।
राष्ट्रपति पौडेलद्वारा ३ प्रदेश प्रमुख नियुक्त
केन्द्रीय कमिटीलाई पूर्णता दिन अध्यक्ष नेपालको संयोजकत्वमा कार्यदल गठन
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटीलाई पूर्णता दिन अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको छ।
पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आज बसेको केन्द्रीय कमिटी बैठकले गठन गरेको कार्यदलमा सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल पनि छन्।
सबै प्रदेशले केन्द्रीय सदस्यका लागि केन्द्रमा पठाएको सिफारिसका आधारमा नेताहरूको योगदान र क्षमताको मूल्याङ्कन गरी कार्यदलले पदाधिकारी र केन्द्रीय सदस्यको नाम सिफारिस गर्ने जानकारी दिईएको छ ।
विधानअनुसार पार्टीमा दुई सय ९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारीको व्यवस्था गरिएको छ। समावेशिताको अनुपात र सङ्ख्याअन्तर्गत दलित, आदिवासी जनजाति र खुला समूह निर्धारण गरी क्लष्टर छुट्टाइएको छ। समावेशी महिला र समावेशी २५ देखि ४५ वर्षको उमेर समूह तथा खुला उमेर समूह निर्धारण गरिएको छ।
हालै सम्पन्न महाधिवेशनले अध्यक्ष, सम्मानित नेता र महासचिवसहित तीन पदाधिकारी, ९० केन्द्रीय सदस्य सर्वसम्मत चयन गरेकाले बाँकी दुई सय छ केन्द्रीय सदस्य पद रिक्त छन्।
बैठकमा मुलुकको समसामयिक राजनीतिक विषयवस्तुको समीक्षाका साथै पार्टीको भावी कार्ययोजनाबारे छलफल गरिएको जानकारी दिईएको छ।
शेयर बजारमा ६४.२५ अंकको उछाल, एकै दिन २१ अर्ब ९१ करोडको कारोबार
काठमाडौं । शेयर बजारमा तीनवर्ष अघि बनेको उच्च कारोबारको रेकर्ड आज तोडिएको छ ।
२०७८ साल साउन ३१ गते आइतबार एकै दिन २१ अर्ब ६४ करोड ७६ लाखको शेयर कारोबार भएर रेकर्ड बनेको थियो भने आज त्यो रेकर्ड तोडिएको हो । नेपाली शेयर बजारमा २०७८ भदौ २ गते नेप्से ३१९८.६० पुगेको रेकर्ड छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ६४.२५ अंकले उचालिएको छ । २.३८ प्रतिशतले बजार बढ्दा नेप्से २७६०.९० अंकमा पुगेको छ ।
बजारमा उछाल आउने क्रम निरन्तर रहँदा आज सबै समूहमा हरियाली छाएको छ । वित्त समूह सबैभन्दा बढी ८.०८ प्रतिशतले बढेको छ ।
आज ३३२ कम्पनीका ५ करोड ९ लाख ६७ हजार ८ सय ५१ कित्ता शेयर किनबेच हुँदा २१ अर्ब ९१ करोड १५ लाख ३ हजार १ सय ६१.०६ रुपियाँ बराबरको कारोबार भएको हो ।
यूनाइटेड अजोड इन्स्योरेन्स, गुराँस फाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स, रिलायन्स फाइनान्स, दिब्यश्वरी हाइड्रो, मकर जितुमाया हाइड्रो, नेपाल रिपब्लिक मिडिया र कुथेली बुखरी हाइड्रोका लगानीकर्ताहरुले १०–१० प्रतिशतले नाफा कमाएका छन् भने अरु १३ कम्पनीका लगानीकर्ताहरुले ९ प्रतिशत बढी नाफा कमाएका छन् ।
सिभिल बैंकको डिबेञ्चर २०८८ का लगानीकर्ताहरुले सबैभन्दा बढी ७.९२ प्रतिशतले घाटा व्यहोरेका छन् । आज ६८ कम्पनीको शेयर मूल्य घट्दा बाँकी अरुको बढेको छ ।
आज हिमालयन रि–इन्स्योरेन्स कम्पनीको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ८४ करोड, ४९ लाख ९४ हजार ३ सय १७.९० रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जानकारी दिएको छ ।
साताको पहिलो दिन आइतबार ११३.४२ अंकले बजार उचालिंदा १५ अर्ब ८१ करोड ५ लाख ९६ हजार २ सय ३५.४५ रुपियाँ, सोमबार २०.४६ अंकले बजार तल झर्दा १९ अर्ब ६० करोड ९१ लख ७७ हजार १ सय ६.२९ रुपियाँ र हिजो मंगलबार ३५.५५ अंकले बजार उचालिंदा १७ अर्ब २६ करोड ६३ लाख ९१ हजार ५ सय ४२.९७ रुपियाँ बराबरको कारोबार भएको थियो ।
काठमाडौँको बल्खु खोला पुलमुनि पुरुषको शव फेला
काठमाडौँ । काठमाडौँको बल्खु खोलामा एक जनाको शव फेला परेको छ । खोलामा आएको बाढीले बगाएर उनको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ ।
बाँके घर भएका सुकुम्वासी बस्तीमा बस्ने ४५ वर्षीय राम सरूप महतोको शव अड्किएको अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ ।
काठमाडौँ प्रहरीका अनुसार बुधबार बिहान बल्खु पुल मुनि अड्किएको अवस्थामा महतोको शव फेला परेको हो ।
बाँके घर भई सुकुम्वासी बस्तीमा बस्ने ४५ वर्षीय राम सरूप महतोको शव भएको प्रहरीले पुष्टि गरे पनि अनुसन्धान जारी रहेको जानकारी दिएको छ ।
आज पेरिस ओलम्पिकमा प्रिन्स दाहालले अन्तिम खेल खेल्दै
काठमाडौं । नेपाली ब्याडमिन्टन स्टार प्रिन्स दाहालले फ्रान्समा जारी पेरिस ओलम्पिकमा आज समूह चरणको अन्तिम खेल खेल्दैछन् ।
मेन्स सिंगल्सअन्तर्गत समूह पी मा रहेको प्रिन्सले इजरायलका मिसा जिल्बरम्यानसँग आज खेल्नेछन् । यसअघि समूहको दुवै खेलमा पराजित भएका प्रिन्सका लागि आजको खेलको प्रतिष्ठाको खेल समेत हुने जनाईएको छ ।
पहिलो पटक ओलम्पिक खेलिरहेका उनी पहिलो जितसहित ओलम्पिक यात्रा सकाउने लक्ष्यमा छन् । प्रिन्स विश्व वरियताको १७२औं स्थानमा छ भने मिसा ५८औं स्थानमा छ । यसअघि प्रिन्स विश्वकप नम्बर दुई भिक्टोर एक्सेल्सन रएनहात गुएनसँग २.० ले पराजित भएका थिए ।
नेपालले पहिलो पटक ओलम्पिकमा ब्याडमिन्टनमा सहभागिता जनाएको हो ।
पेरिस २०२४ मा नेपालबाट ७ खेलाडी सहभागी भएकोमा ५ खेलाडीको खेल सकिसकेको छ । पौडीका एलेक्जेन्डर शाहले आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान सुधार गर्नु बाहेक पाँचै खेलाडी पहिलो चरणबाटै बाहिरिए ।
अब प्रिन्स बाहेक एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठको स्पर्धा बाँकी छ । सन्तोक्षीले अन्तिम दिन अगष्ट ११ मा महिला म्यारथनमा प्रतिस्पर्धा गर्ने जनाईएको छ ।
नेकपा एसको केन्द्रीय कमिटी बैठक आज ११ बजे बस्दै
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक आज बस्दै छ । बैठक पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बिहान ११ बजे बस्ने भएको छ ।
एकीकृत समाजवादीको हालै सम्पन्न महाधिवेशनले पदाधिकारी र केन्द्रीय छनौट गर्ने जिम्मा केन्द्रीय समितिलाई दिएपनि अहिलेसम्म छनौट गर्न सकेको छैन । महाधिवेशनले अध्यक्ष, सम्मानित नेता र महासचिवसहित तीन पदाधिकारी, ९० केन्द्रीय सदस्य सर्वसम्मत चयन गरेकाले बाँकी पदाधिकारी र सदस्य चयन गर्न सकेको छैन । पदाधिकारी र केन्द्रीय सदस्यको छनौट गर्न सहमति बनाउने प्रयास गरिएकाले बैठक सारिएको जनाईएको छ ।
यसअघि सोमबार बस्ने भनिएको बैठक तयारी नपुगेपछि आजका लागि सारिएको हो । पार्टी विधानअनुसार २९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारीको व्यवस्था गरिएकामा अब ३२९ सदस्यीय कार्यसमिति विस्तार हुने जानकारी दिईएको छ ।
सबै प्रदेशले केन्द्रमा पठाएको सिफारिसका आधारमा नेताहरूको योगदान र क्षमताको मूल्याङ्कन गरी भूगोल, क्षेत्र तथा सन्तुलन मिलाएर मनोनयन गर्ने, कमिटीलाई पूर्णता दिएपछि पदाधिकारी चयन गर्नेलगायत विषयमा छलफल हुने बैठकका एजेण्डा रहेका छन् ।
बागमती प्रदेशका मुख्यमन्त्रीले पाए विश्वासको मत
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले विश्वासको मत पाएका छन्। मुख्यमन्त्रीले मंगलबार प्रदेश सभामा विश्वासको मतसम्बन्धी राखेको प्रस्तावका पक्षमा बहुमत सांसदहरूले मत दिएका हुन्।
मुख्यमन्त्रीको प्रस्तावका पक्षमा ६४ मत, विपक्षमा ३५ र तटस्थमा ३ मत परेको सभामुख भुवनकुमार पाठकले जानकारी दिए।
‘मुख्यमन्त्रीले आफूमाथि प्रदेश सभाको विश्वास छ भनी राख्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावमा ६४ मत परेको र उक्त संख्या प्रदेश सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको बहुमत भएकोले मुख्यमन्त्रीको प्रस्ताव बहुमतले पारित भएको घोषणा गर्दछु,’ सभामुख पाठकले मंगलबारको प्रदेश सभा बैठकमा भने।
प्रदेश सभाको अर्को बैठक साउन १६ गते बस्नेछ।
बागमतीमा नेपाली कांग्रेस र एमाले मिलेर सरकार बनाएका हुन्। कांग्रेस संसदीय दल नेता तामाङ एमालेको समर्थनमा मुख्यमन्त्री बनेका हुन्।
आगामी निर्वाचन एक्लै लडने माआवादी केन्द्रको निर्णय
काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले आगामी निर्वाचनमा एक्लै चुनाव लड्नुपर्ने निश्कर्ष निकालेको छ ।
माओवादी केन्द्रको पदाधिकारी बैठकले गठबन्धन गरेर निर्वाचन लड्दा विचार, राजनीतिक कार्यदिशा र दृष्टिकोणहरु ओझेलमा परेको निश्कर्ष निकालेको हो। आज पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पदाधिकारीहरुको पश्नको जवाफ दिएका थिए ।
बैठकपछि प्रवक्ता अग्निप्रसाद सापकोटाले भने, ‘आगामी निर्वाचनमा एक्लै चुनाव लड्नेगरी तयारी गर्ने, जसले गर्दा हाम्रा विचार, राजनीतिक कार्यदिशा र दृष्टिकोणहरु जनतामा सोझै पुग्न सकोस् । पहिलाका अनुभवले हामीलाई के भयो भने गठबन्धन गर्दाखेरी कहीँ न कहीँ अरु पार्टीको पनि सन्तुलन मिलाउन पर्ने भएकाले हाम्रो विचार, सिद्धान्त, राजनीतिक कार्यदिशा, हाम्रो दृष्टिकोण लाने हामीलाई मौका मिलेको थिएन । हामीले के निश्कर्ष निकालेका छौं त भन्दाखेरी यो जनतामा जाने सुर्वण अवसर पनि हो,’ ।
पदाधिकारी बैठकले माओवादी केन्द्रको स्थायी समितिको बैठक साउनको २५ गतेका लागि बोलाएको छ ।
साथै बैठकले प्रतिपक्षीको भूमिकालाई सशक्त रुपले निर्वाह गर्ने र सदनलाई प्रभावकारी बनाउने तथा गुणात्मक ढंगले देश र जनताका जल्दाबल्दा समस्याहरु र अघिल्लो सरकारले सुरु गरेको सामाजिक न्यायसहितको सुशान, समृद्धिका सवाललाई अझ खोज अनुसन्धानसहित गम्भीरतापूर्वक उठाउने निष्कर्ष निकालेको प्रवक्ता सापकोटाले जनाए ।
ग्लोबल आइएमई बैंकका ग्राहकलाई किक फन वर्ल्डमा बोनस
काठमाडौं। ग्लोबल आइएमई बैंकको डेबिट तथा क्रेडिट कार्डबाहक र मोबाईल बैंकिङ प्रयोगकर्तालाई किक फन वर्ल्ड प्रा.लि. बाट सञ्चालित वण्डरल्याण्ड नेपाल, बुङ्गमतीमा सेवा मुल्यको १० प्रतिशत रकम बोनस स्वरुप प्रदान गर्ने समझदारी भएको छ।
उक्त समझदारीमा ग्लोबल आइएमई बैंकका बागमती प्रदेश कार्यालय मेनेजर निकिता भण्डारी थापा र किक फन वल्र्डका मार्केटिङ प्रमुख शिखर बस्नेतले हस्ताक्षर गरेका छन्।
समझदारी अनुसार बैंकको ग्राहकहरुले वण्डरल्याण्ड नेपाल, बुङ्गमतीमा उपलब्ध मनोरञ्जनात्मक तथा अन्य सेवाको लागि वण्डरल्याण्डबाट जारी हुने कार्डवापतको भुक्तानीको लागी बैंकको डेबिट तथा क्रेडिट कार्ड र मोबाईल बैंकिङ प्रयोग गर्दा उक्त कार्डमा १० प्रतिशत बोनस थप गरी वण्डरल्याण्डले कार्ड उपलब्ध गराउनेछ।
ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न संघ–संस्थाहरुसँग समन्वय गरी यस्ता किसिमका योजनाहरु ल्याएर ग्राहकहरुलाई प्रत्यक्षरुपमा लाभान्वित गर्दै आएको छ।
ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। बैंकले ३५४ शाखा कार्यालय, ३८४ एटिएम, २७७ शाखा रहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट सेवा प्रदान गर्दै आएको छ ।
बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ।
प्रभु बैंकका ग्राहकलाई र्याडिसन होटलमा छुट
काठमाडौं । प्रभु बैंक र र्याडिसन होटल काठमाडौंबीच सम्झौता भएको छ । बैंकका कर्मचारी तथा ग्राहकहरुलाई लाजिम्पाट, काठमाण्डौंस्थित र्याडिसन होटल, काठमाण्डौंसँग होटलका विभिन्न सेवाहरुमा विशेष छुट दिने सम्झौता भएका हो ।
र्याडिसन होटल, काठमाण्डौं एक अन्तराष्ट्रिय होटल चेन अन्तर्गत बिगत दुई दशक भन्दा बढि समय देखि नेपालको पर्यटकिय तथा अतिथि सत्कार सेवालाई निरन्तर रुपमा टेवा दिईरहेको एक अग्रणी पाँच तारे होटल हो ।
एक समारोहका बिच सम्पन्न सम्झौतामा प्रभु बैँकका तर्फबाट चिफ मार्केटिङ्ग अफिसर रबिन्द्र ढकाल र मार्केटिङ म्यानेजर सबिन राणा तथा र्याडिसन होटल, काठमाण्डौंका तर्फबाट निर्देशक केदार पाण्डे र लेखा नियन्त्रक लोकराज ढुङ्गानाद्वारा हस्ताक्षर गरिएको छ ।
सम्झौता अनुसार प्रभु बैँक लि.का कर्मचारी तथा ग्राहकवर्गहरुले बैँकसँगको आबद्धता प्रमाणका आधारमा होटलमा उपलब्ध विभिन्न सेवा तथा सुविधाहरु मध्ये खाना, पेस्ट्री सप, ट्रान्कुलिटी स्पाका साथै र्याडिसन होटल काठमाण्डौले संचालन गरेको विभिन्न रेस्टुरेन्टहरु बाट १० प्रतिशतदेखि २० प्रतिशतसम्म भुक्तानी छुट पाउनेछन् ।