शेयर बजारमा ६४.२५ अंकको उछाल, एकै दिन २१ अर्ब ९१ करोडको कारोबार

काठमाडौं । शेयर बजारमा तीनवर्ष अघि बनेको उच्च कारोबारको रेकर्ड आज तोडिएको छ ।
२०७८ साल साउन ३१ गते आइतबार एकै दिन २१ अर्ब ६४ करोड ७६ लाखको शेयर कारोबार भएर रेकर्ड बनेको थियो भने आज त्यो रेकर्ड तोडिएको हो । नेपाली शेयर बजारमा २०७८ भदौ २ गते नेप्से ३१९८.६० पुगेको रेकर्ड छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ६४.२५ अंकले उचालिएको छ । २.३८ प्रतिशतले बजार बढ्दा नेप्से २७६०.९० अंकमा पुगेको छ ।
बजारमा उछाल आउने क्रम निरन्तर रहँदा आज सबै समूहमा हरियाली छाएको छ । वित्त समूह सबैभन्दा बढी ८.०८ प्रतिशतले बढेको छ ।
आज ३३२ कम्पनीका ५ करोड ९ लाख ६७ हजार ८ सय ५१ कित्ता शेयर किनबेच हुँदा २१ अर्ब ९१ करोड १५ लाख ३ हजार १ सय ६१.०६ रुपियाँ बराबरको कारोबार भएको हो ।
यूनाइटेड अजोड इन्स्योरेन्स, गुराँस फाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स, रिलायन्स फाइनान्स, दिब्यश्वरी हाइड्रो, मकर जितुमाया हाइड्रो, नेपाल रिपब्लिक मिडिया र कुथेली बुखरी हाइड्रोका लगानीकर्ताहरुले १०–१० प्रतिशतले नाफा कमाएका छन् भने अरु १३ कम्पनीका लगानीकर्ताहरुले ९ प्रतिशत बढी नाफा कमाएका छन् ।
सिभिल बैंकको डिबेञ्चर २०८८ का लगानीकर्ताहरुले सबैभन्दा बढी ७.९२ प्रतिशतले घाटा व्यहोरेका छन् । आज ६८ कम्पनीको शेयर मूल्य घट्दा बाँकी अरुको बढेको छ ।
आज हिमालयन रि–इन्स्योरेन्स कम्पनीको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ८४ करोड, ४९ लाख ९४ हजार ३ सय १७.९० रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जानकारी दिएको छ ।
साताको पहिलो दिन आइतबार ११३.४२ अंकले बजार उचालिंदा १५ अर्ब ८१ करोड ५ लाख ९६ हजार २ सय ३५.४५ रुपियाँ, सोमबार २०.४६ अंकले बजार तल झर्दा १९ अर्ब ६० करोड ९१ लख ७७ हजार १ सय ६.२९ रुपियाँ र हिजो मंगलबार ३५.५५ अंकले बजार उचालिंदा १७ अर्ब २६ करोड ६३ लाख ९१ हजार ५ सय ४२.९७ रुपियाँ बराबरको कारोबार भएको थियो ।

LEAVE A REPLY