काठमाडौँ । विभिन्न माग राख्दै अनसनरत डा निकोलस भुसालको स्वास्थ्यमा समस्या भएपछि उपचारका लागि वीर अस्पताल लगिएको छ ।
काठमाडौंको माइतीघर मण्डलामा ९ दिनदेखि अनसनरत भुसालको स्वास्थ्यमा समस्या भएपछि नेपाल चिकित्सक संघको पहलमा भुसाललाई उपचारका लागि वीर अस्पताल लगिएको हो ।
भुसालको स्वास्थ्यमा समस्या भएपछि चिकित्सकको टोलीले माइतिघरमा स्वास्थ्य अवस्थाको जाँच गरेको थियो । जाँचका क्रममा थप उपचार आवश्यक देखिएपछि भुसाललाई अस्पताल लगिएको संघले जनाएको छ ।
जेन–जी आन्दोलनका क्रममा भएका हत्याका दोषीलाई कारबाही गर्नुपर्ने, जेन–जी आन्दोलनमा पक्राउ परेकालाई रिहा गर्नुपर्ने, भ्रष्टाचारको छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने, विदेशमा रहेका नेपालीलाई मतदान अधिकार दिनुपर्ने लगाएतका माग राख्दै डा भुसाल अनसनमा बसेका हुन् ।
निकोलस भुसाललाई अस्पताल लगियो
पूर्वमन्त्री गुप्तालाई थुनामा पठाउने अदालतको आदेश
काठमाडौं । पूर्वमन्त्री राजकुमार गुप्तालाई थुनामा पठाउन विशेष अदालतले आदेश गरेको छ । पोखराको लिचिबारी प्रकरणमा विशेष अदालतले गुप्तालाई थुनामा पठाउने आदेश गरेको हो ।
विशेष अदालतका न्यायाधीश सुदर्शनदेव भट्ट, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले यस्तो आदेश गरेको हो ।
रास्वपाले समानुपातिक बन्द सूची सच्याउने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले २१ फागुनको प्रतिनिधिसभा चुनावका लागि निर्वाचन आयोगमा पेस गरेको समानुपातिक बन्द सूची सच्याउने भएको छ ।
रास्वपाको पार्टी सचिवालयले बुधबार एक सूचना जारी गर्दै समानुपातिक बन्द सूचीप्रति विभिन्न सरोकारवालाहरूबाट प्राप्त सुझावलाई मध्य नजर राख्दै सूचीमा देखिएको त्रुटि सच्याउने जनाएको हो ।
निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर असन्तुष्टि बढेपछि बन्द सूची सच्याउने तयारी रास्वपाले गरेको हो ।
‘बन्दसूचीमा रहेका त्रुटिहरू सच्याउन निर्वाचन आयोगद्वारा दिइएको समयसीमाभित्र पार्टीले कुनै त्रुटि देखिएमा सुधार गरी समयमै पेस गर्ने जानकारी गराइन्छ । अतः बन्दसूचीमा सच्याउनुपर्ने विषयमा १७ पौष बिहान १० बजेभित्र यथोचित सुझाव प्रदेश सभापति मार्फत् वा सिधै पार्टी केन्द्रीय कार्यालयमा बुझाउन सकिने छ,’ सूचनामा भनिएको छ ।
समय अभावलाई मध्यनजर गर्दै अन्तिम समयमा गर्नुपर्ने राजनीतिक संवाद र सहमतिका कारणले यस प्रक्रियामा कुनै कमीकमजोरीहरू देखिएमा सच्याउन पाइने समयको सदुपयोग गरिने रास्वपाको भनाइ छ ।
सालपा विकास बैंकको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला
काठमाडौं । सालपा विकास बैंक लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) खुला गरेको छ । बैंकले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १४ लाख ३९ हजार १७९ कित्ता शेयर निष्कासन गरेको हो ।
कुल निष्कासित सेयरमध्ये ५ प्रतिशत अर्थात् ८६ हजार १९४ कित्ता सामूहिक लगानी कोषका लागि र ०.५० प्रतिशत अर्थात् २६ हजार ११९ कित्ता कर्मचारीहरूका लागि छुट्याइएको छ । बाँकी सेयर सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । आवेदन नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट दिन सकिनेछ । साथै, ‘मेरो शेयर’ प्रणालीमार्फत पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।
आईपीओ निष्कासन छिटोमा पुस २० गते र ढिलोमा पुस ३० गतेसम्म खुला रहनेछ । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी मुक्तिनाथ क्यापिटल लिमिटेडले सम्हालेको छ । यसअघि बैंकले पहिलो चरणअन्तर्गत वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि मंसिर २५ गतेदेखि मंसिर २९ गतेसम्म आईपीओ निष्कासन गरेको थियो ।
बैंकले नेपाल धितोपत्र बोर्डबाट मंसिर ८ गते कुल १७ करोड २३ लाख ८८ हजार रुपैयाँ बराबरको १७ लाख २३ हजार ८८० कित्ता आईपीओ निष्कासनको अनुमति पाएको थियो । कुल स्वीकृत सेयरमध्ये १० प्रतिशत अर्थात् १ लाख ७२ हजार ३८८ कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि जारी भइसकेको छ ।
महालक्ष्मी विकास बैंकले अंग्रेजी नयाँ वर्षको अवसरमा परिमार्जित सुनचाँदी धितो कर्जा दिने
काठमाडौं । अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा महालक्ष्मी विकास बैंकले नयाँ वर्ष २०२६ को शुभकामनासहित आकर्षक सुविधा रहनेगरी परिमार्जित सुनचाँदी धितो कर्जा प्रदान गर्ने भएको छ ।
नयाँ वर्ष २०२६ लाई लक्षित गर्दै तथा नेपाली बजारमा सुन तथा चाँदीप्रतिको आकर्षण उल्लेखनीय रुपमा बढ्दै गरेको तथा सुनचाँदी गर्जो टार्ने मात्र नभई लगानीको रुपमा पनि प्रयोग गर्न सकिने विकल्पको रुपमा समेत हेरिएको वर्तमान अवस्थालाई मध्यनजर गर्दै बैंकले विशेष सुविधासहित सुनचाँदी धितो कर्जा प्रदान गर्ने भएको हो । कम ब्याजदर, छरितो प्रक्रिया तथा सुरक्षित वित्तीय व्यवस्थापनको प्रतिवद्धतासहित यो सुविधा बैंकले प्रदान गर्ने भएको हो ।
बैंकका अनुसार यसअन्तर्गत ग्राहकहरुले प्रतिस्पर्धी ब्याजदरमा नै सुनचाँदीको धितोमा कर्जा उपभोग गर्न सक्नेछन् । कुनै पनि आधिकारिक बिक्रेताहरुबाट सुनचाँदी खरिद गर्नको लागि समेत बैकले कर्जा प्रदान गर्नेछ । यो योजनाअन्तर्गत कर्जाको अधिकतम सिमा ५० लाख रुपैयाँ हुनेछ ।
बैंकले आफ्ना ग्राहकहरूलाई अझै सहज, छिटो छरितो र भरपर्दो सेवा प्रदान गर्ने उद्देश्य अनुरुप हाल यो सेवा न्यूरोड (काठमाडौं), न्यूरोड (पोखरा), महाराजगंज, हेटौडा, भैरहवा शाखाहरुमार्फत प्रदान गरिनेछ । यद्यपी सुनचाँदी कर्जाको निवेदन जुनसुकै शाखा कार्यालयमार्फत पेश गर्न सकिनेछ । ग्राहकहरूको वित्तीय व्यवस्थापनलाई थप सहज बनाउने विश्वास व्यक्त गर्दै बैंकले भविष्यमा समेत ग्राहकहितमा केन्द्रीत रही विभिन्न अवसर तथा चाडपर्वहरुमा नविनतम् सेवाहरू उपलब्ध गराउँदै जाने बैंकले जनाएको छ ।
“सबल बैंक, सफल सहकार्य”को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत ३१ वर्षदेखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको बैंकको देशभर करिब ८ लाखभन्दा बढी ग्राहकहरु रहेका छन् ।
जन्मदिनको अवसर रिलायबल नेपाल लाइफको बीमा पोलिसी खरिद
काठमाडौं । सुदूरपश्चिम प्रदेशको कञ्चनपुर पुनर्बास नगरपालिका–०८ बस्ने दल बहादुर धामीले आफ्नो जन्मदिनको अवसर पारेर बीमा पोलिसी खरिद गरेका छन । उनले रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शाखा कार्यालय आइबिआरडिबाट १५ लाख रुपैयाँ बीमाङ्कको शुलभ जीवन बीमा पोलिसि खरिद गरेका हुन् ।
दल बहादुर धामी बिगत ७ बर्ष देखि बीमा अभिकर्ताको रुपमा सक्रिय रुपमा कार्यरत रहेका छन् । उनले आफ्नो घर परिवार लगायत ५०० जनालाई बीमा गराउन सफल एजेन्सी म्यानेजर रुपमा आफुलाइ स्थापित गराउन भएका छन् ।
साथै, आफ्नो बीमा आफ्नै जन्मदिनको उत्सव पारेर आफ्नो सुरुक्षित भविष्य सँग–सँगै सुरुक्षित बचतका लागि भन्दै धामीले सो बीमा पोलिसी लिएका हुन ।
उक्त बिमालेख कम्पनीको आइबिआरडि शाखा प्रमुख शंकर जैशी र प्रदेश प्रमुख चन्द्र बिष्टले संयुक्त रुपमा धामीलाई मनले चिताएको कार्यलाई साकार पार्नु भएकोमा बधाई दिदै बीमालेख हस्तान्तरण गरेका थिए ।
प्रतिकित्ता ४०० रुपैयाँमा नेपाल लाइफको शेयर बिक्रीमा, सबैले किन्न पाउने
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख कित्ता संस्थापक शेयर लिलाम बढाबढ प्रक्रिया मार्फत् सबैले किन्न पाउने गरी बिक्रीमा राखेको छ।
कम्पनीले प्रतिकित्ता न्यूनतम ४०० रुपैयाँका दरले शेयर बिक्रीमा राखेको हो। शेयर खरीदका लागि बोलपत्र पेश गर्दा सम्पूर्ण (२ लाख कित्ता) शेयरका लागि आवेदन दिनु पर्नेछ।
बोलपत्र आज पुस १६ गतेदेखि पुस २३ गतेभित्र काठमाडौंको नक्सालस्थित बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडको कार्यालयमा पेश गर्नु पर्नेछ। यो बोलपत्र पुस २४ गते बिहान ११ बजे क्यापिटलको कार्यालयमा खोलिने कम्पनीले जनाएको छ।
शितलहरका कारण पूर्वपश्चिम राजमार्गको दाउन्ने खण्डमा समस्या
काठमाडौँ । शितलहरका कारण निर्माणाधीन नारायणघाट, बुटवल सडक खण्डको दाउन्ने क्षेत्रमा सडक सतह चिप्लो हुँदा यातायात आवागमनमा कठिनाइ भएको छ।
सडक विभागको आयोजना निर्देशनालयले यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ।
विगत केही दिनदेखि आकस्मिक रूपमा भएको शितलहरको कारणले निर्माणाधीन सडकमा समस्या देखिएको हो। सो सडकको केही स्थानमा कल्भर्ट तथा सडक ढलानको काम भई एकतर्फी सडक सञ्चालन भइरहेकोले सवारी साधन सञ्चालनमा थप कठिनाई हुने सम्भावना रहेको आयोजनाले जनाएको छ।
मौसममा सुधार नहुञ्जेलसम्म यस सडक खण्डमा यात्रा गर्नुअघि सडकको अवस्थाबारे सही तथा अद्यावधिक जानकारी प्राप्त गरी मात्रै यात्रा गर्न आयोजनाले अनुरोध छ। सो सडक खण्डमा यातायात सञ्चालनमा कुनै अवरोध उत्पन्न भएको अवस्थामा निम्न उल्लेखित वैकल्पिक सडकको प्रयोग गर्न सकिने आयोजनले स्पष्ट पारेको छ।
पूर्वपश्चिम राजमार्ग हुँदै आउने र जाने सवारी साधन नारायणघाट मुग्लिङपोखरा स्याङ्जा(पाल्पा हुँदै बुटवल जान सक्नेछन्। यस्तै, कालीगण्डकी चोक (गैँडाकोट) रामपुर पिपल डाँडा हुँदै जान सक्नेछन्।
यस्तै काठमाडौँबाट बर्दघाट पश्चिम जानेर बुटवल काठमाडौँ जाने सवारी साधनहरू काठमाडौँ मुग्लिङ पोखरा हुँदै यात्रा गर्न सक्नेछन्।
आज राप्रपा र राप्रपा नेपाल एकीकरण हुँदै
काठमाण्डौं । राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा) बीच बुधबार पार्टी एकता हुँदैछ ।
अध्यक्षमा पराजित भएपछि असन्तुष्ट बनेर राप्रपा परित्याग गरेका थापा राप्रपामै फर्कँदैछन् । दुई पार्टीबीच बुधबार दिउँसो १ बजे राष्ट्रिय सभा गृहमा एकता घोषणा समारोह गरेर पार्टी एकीकरण हुनेछ ।
केहीदिन अघि लिङ्देन र थापाले दुई बुँदे एकता सहमति गरेका थिए भने राप्रपा नेपालले एकीकरण अनुमोदन गरेको थियो ।
झण्डै ४ वर्षपछि दुई राष्ट्रवादी शक्ति एकता गरेर अघि बढ्ने तयारी गरेका छन् ।
एकता पछि राप्रपा नेपालका नेताहरुलाई सम्मानजनक भूमिका दिएर पार्टी अघि बढाइनेछ । राप्रपासँग एकता गर्ने सैद्धान्तिक सहमतिपछि राप्रपा नेपालबाट प्रतिनिधि सभामा समानुपातिकको बन्द सूची पनि पठाइएको छैन भने राप्रपाले पेश गरेको बन्द सूचीमा पनि कमल थापा पक्षधरहरु समेटिएका छैनन् ।
यस्तै, राप्रपाले महाधिवेशन ६ महिना पर सारेको छ र निर्वाचनको माहोल भएकाले अहिले सम्मानजक हैसियतकमा पार्टी निर्माणमा सक्रिय हुने तयारी मात्रै गरेको छ ।
६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तोकको प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि विभिन्न राजनीतिक दलहरुले समानुपातिकतर्फको बन्दसूची आयोगमा पेस गरिसकेका छन् ।
निर्वाचन आयोगका अनुसारका अनुसार बन्दसूची पेस गर्ने ६४ वटा राजनीतिक दलमध्ये ५४ वटा दलले आफ्नो निर्वाचन चिन्हमा र १० वटा राजनीतिक दलले चार वटा एकल चुनाव चिन्हमा निर्वाचनमा भाग लिने गरी बन्दसूची पेस गरेका छन् ।
नेपालको संविधानअनुसार पहिलो हुने निर्वाचन हुने निर्वाचन प्रणालीबाट १६५ जना र समानुपातिकतर्फ ११० जना निर्वाचन हुने व्यवस्था छ ।
त्यसैगरी, निर्वाचन आयोगले आगामी माघ ११ गतेका लागि तोकिएको राष्ट्रियसभा सदस्यको निर्वाचनका उम्मेदवारले पेस गर्नुपर्ने कागजपत्रको सूची उपलब्ध गराएको छ ।
आयोगका अनुसार उम्मेदवारले नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी, मतदाता नामावली ऐन, २०७३ बमोजिम कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा पेस गर्नुपर्नेछ । साथै, १० हजार रुपैयाँ धरौटी जम्मा गरेको रसिद वा भौचर, महिला, दलित वा अल्सङ्ख्यक समुदाय वा आर्थिक रुपले विपन्न उम्मेदवारको हकमा सो धरौटी रकममा ५० प्रतिशत छुट हुनेछ । आर्थिक रुपमा विपन्नका हकमा भने स्थानीय तहको सिफारिस पत्र हुनुपर्नेछ । साथै, मतदाता नम्बर, उम्मेदवारको सम्पत्ति विवरण, घर सङ्ख्या, घर रहेको स्थान, जग्गाको विवरण, सङ्घीय कानुन बमोजिम अयोग्य नभएको भनी गरेको स्वघोषणापत्र पनि उम्मेदवारले पेस गर्नुपर्नेछ ।
कुनै लाभको पदमा नभएको भनी गरेको स्वघोषणा, कुनै जिम्मेवारी वा निर्वाचित पदमा रहेको भए राजीनामा दिएको दर्ताको निस्सा, कुनै अयोग्यता नभएको घोषणापत्र, उम्मेदवार आफै वा निजको प्रतिनिधि, प्रस्तावक वा समर्थकबाट सहीछाप गरिएको उम्मेदवारको मनोनयनपत्र पनि पेस गर्नुपर्नेछ ।
यस्तै, २०७९ सालको प्रदेशसभा सदस्यतर्फ समानुपातिक निर्वाचन प्रणालीतर्फको उम्मेदवारको बन्द सूचीमा रहेको भए फिर्ता लिएको कागजात पनि पेस गर्नुपर्नेछ ।
प्रस्तावक र समर्थकको नाम सम्बन्धित प्रदेशसभा सदस्य वा सम्बन्धित प्रदेशभित्रको गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्ष, नगरपालिकाको प्रमुख वा उपप्रमुख समावेश भएको निर्वाचक मण्डलको मतदाता नामावलीमा नाम भएको व्यहोरा खुल्ने कागजात पेस गर्नुपर्ने आयोगले जनाएको छ । आयोगले निर्वाचनको तयारी स्वरुप सात वटै प्रदेशमा निर्वाचन अधिकृत तोकिसकेको छ भने निर्वाचन कार्यालय पनि खोलिसकेको छ । राजनीतिक दलहरुले पनि उम्मेदवार छनोटका लागि प्रारम्भिक तयारी गरिरहेका छन् ।

















