नुवाकोट । साथीको हत्या अभियोगमा नुवाकोटको विदुर नगरपालिका–७ का ६५ वर्षीय लालबहादुर तामाङलाई आज प्रहरीले पक्राउ गरेको छ ।
म्यागङ गाउँपालिका–३ गोगनेका ६५ वर्षीय चमार तामाङको शनिबार ढुङ्गा प्रहार गरेर हत्या गरेको अभियोगमा लालबहादुरलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए ।
उनकाअनुसार छिमेकीको घेवा (किरिया) बाट फर्कने क्रममा भएको सामान्य विवादमा लालबहादुरले प्रहार गरेको ढुङ्गा लागेर चमार तामाङको घटनास्थलमा मृत्यु भएको थियो ।
घटनाको सम्बन्धमा स्थलगत मुचुल्का, अभियुक्तबाट घटनामा संलग्न रहेको स्वीकारसहितको प्रमाणका आधारमा लालबहादुरलाई पक्राउ गरी कारबाहीका लागि अनुसन्धान सुरु गरेको प्रहरीले जानकारी दिएको छ ।
नुवाकोटमा साथीको हत्या अभियोगमा वृद्ध पक्राउ
पेट्रोलियम पदार्थको मूल्य घट्यो
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । शनिबार मध्यरातबाट लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र मट्टीतेल र डिजलमा प्रतिलिटर एक रुपैयाँ घटाइएको निगमले जानकारी दिएको छ ।
आन्तरिक हवाई इन्धनतर्फ प्रतिलिटर ५ रुपैयाँ तथा अन्तर्राष्ट्रिय हवाई इन्धनतर्फ प्रति किलोमिटर ३७ डलर मूल्य घटाइएको छ ।
खाना पकाउने एलपी ग्याँसको मूल्य भने यथावत् छ ।
नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य अब काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा लिटरको १६३ रुपैयाँ पर्छ । सुर्खेत र दाङ क्षेत्रमा १६२ र अरु क्षेत्रमा १६० रुपैयाँ ५० पैसा पर्नेछ ।
यस्तै पेट्रोल र मट्टीतेलको मूल्य काठमाडौं र दिपायल क्षेत्रमा लिटरको १५४ रुपैयाँ पर्नेछ । सुर्खेत र दाङ क्षेत्रमा १५३ रुपैयाँ र अरु क्षेत्रमा १५१ रुपैयाँ ५० पैसा पर्नेछ ।
कांग्रेस महासमिति बैठकका प्रस्ताव सर्वसम्मत पारित गर्ने सहमति
काठमाण्डौं । नेपाली कांग्रेसका पदाधिकारी र पूर्व पदाधिकारीको बैठकमा महासमितिमा प्रस्तुत प्रस्ताव सर्वसम्मत पारित गर्ने सहमति भएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा शनिबार बसेको बैठकमा महासमितिमा प्रस्तुत भएका सबै प्रस्तावलाई आईतबार बस्ने केन्द्रीय समिति बैठकमा प्रस्तुत गरी सर्वसम्मत रूपमा पारित गर्ने सहमति भएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
कांग्रेस केन्द्रीय समितिको बैठक आईतबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय बीपीनगर सानेपामा बस्ने पनि उनले जानकारी दिए । बैठकले सबै प्रस्ताव सर्वसम्मत रूपमा पारित गर्ने जनाइएको छ । प्रस्तावमा मस्यौदा गर्ने काम भने जारी रहेको छ ।
केन्द्रीय समितिमा प्रस्तुत गरिने मस्यौदालाई अन्तिम रूप दिन आईतबार दिउँसो १ बजे फेरि पदाधिकारी तथा पूर्व पदाधिकारी बैठक बस्ने जनाइएको छ ।
गत माघमा ललितपुरमा सम्पन्न महासमिति बैठकमा प्रस्तुत भएका प्रस्तावलाई परिमार्जनसहित पारित गर्ने जिम्मेवारी पार्टी केन्द्रीय समितिलाई दिइएको थियो ।
मोरङमा दुई बालिका मृत फेला
विराटनगर । मोरङमा दुई नाबालिका मृत फेला परेका छन् । सुन्दरहरैँचा नगरपालिका–७ मा रहेको केरा बगानभित्र १ वर्षीय र तीन वर्षीय नाबालिका मृत भेटिएका हुन् ।
प्रहरीका अनुसार स्थानीय नारायण न्यौपानेको केरा बगानभित्र मृत भेटिएका १ वर्षीया अर्पणा कार्की र ३ वर्षीया आयिका कार्की धनकुटाका ३१ वर्षीय अर्जुन कार्कीका छोरीहरु हुन् । उनीहरुको आज करिब साढे चार बजे फेला परेको हो । प्रहरीका अनुसार अर्जुनकी श्रीमती २९ वर्षीया अस्मिता न्यौपाने भने सम्पर्कविहीन छिन ।
धनकुटाको पाख्रिबास नगरपालिका–४ डिकुरे घर भएका अर्जुन पत्नी र २ छोरीसहित मोरङको सुन्दरहरैँचा–७ मालती टोलमा सीता रेग्मीको घरमा बस्दै आएका थिए । उनी बसेको स्थान नजिकै घर पनि बनाउँदैछन् ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार शुक्रबार साँझ अर्जुनसँग पत्नी अस्मिताको विवाद भएको थियो । विवादपछि उनी छोरीहरुलाई लिएर राति नै हिँडेकी थिइन् । आज दुई छोरीको शव फेला परेको हो । आमा भने सम्पर्कविहीन छन् ।
बालिकाको शव फेला परेको स्थान नजिकै कीटनाशक औषधिको बट्टा पनि फेला परेको छ । मृतक दुवै बालिकाको शवमा कुनै चोट पटक छैन । बालिकाका बुवा अर्जुन भने प्रहरीको सम्पर्कमै रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
कांग्रेस शीर्ष नेताहरूको बैठक बूढानीलकण्ठमा बस्दै
काठमाडौँ । नेपाली कांग्रेसका शीर्ष नेताहरूको बैठक बस्दै छ । बैठकमा वर्तमान पदाधिकारीसँगै पूर्व पदाधिकारीहरूलाई पनि बोलाइएको छ ।
सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बस्ने बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रतिवेदनमाथि छलफल हुने जनाईएको छ ।
महामन्त्रीद्वयको प्रतिवेदन परिमार्जनसहित पास गर्नुपर्ने आवाज पार्टीमा उठे पनि सहमति जुट्न सकेको छैन । देउवाले पटक पटक छलफल गर्दा पनि सहमति नजुटेपछि शीर्ष नेताहरूको बैठक बोलाएका हुन् ।
मनाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
काठमाडौं । मनाङको थोचे आसपासमा भूकम्पको धक्का महसुस भएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरकाअनुसार आज बिहान ३ बजेर ४७ मिनेट जाँदा मनाङको थोचे आसपास केन्द्रविन्दू भएर चार दशमलव दुई रेक्टरस्केलको भूकम्प गएको हो ।
यसअघि भदौ १३ गते बझाङको मासदेव आसपास केन्द्रविन्दू भएर चार दशमलव तीन रेक्टरस्केलको भूकम्प गएको थियो ।
पारालिम्पिकमा नेपाललाई ऐतिहासिक पदक
काठमाण्डौं । नेपालकी पलेशा गोवर्धनले फ्रान्समा जारी पेरिस पारालिम्पिकमा पारा तेक्वान्दोबाट कास्य पदक जितेकी छिन ।
गए राती भएको पारा तेक्वान्दोको के–४४ क्याटागोरीअन्तर्गत महिला ५७ केजी तौलसमूहमा पलेशाले कास्य पदक प्राप्त गरिन् ।
रिपाचेजमार्फत कास्य पदकका लागि भएको प्रतिस्पर्धामा पलेशाले सर्बियाकी मारिजा मिसेभमाथि १५–८ स्कोरको जित निकाल्दै नेपाललाई ऐतिहासिक सफलता दिलाएकी हुन् । यो पदक नेपालको खेलकुद इतिहासमा नै सबैभन्दा ठूलो हो ।
नेपालले अहिलेसम्म ओलम्पिक र पारालिम्पिकमा पदक जित्न सकेको थिएन । जितपछि पलेशाका प्रशिक्षक कविराज नेगी लामाले यो सफलता सम्पूर्ण देशवासीको रहेको प्रतिक्रिया दिए ।
पलेशाले रिपाचेजको पहिलो खेलको फ्रान्सकी सोफी काभरजानलाई २–१ ले हराएकी थिइन् ।
उनले राउन्ड अफ १६ मा भेनेजुएलाकी मोरालेस भालेरियालाई ३१–० ले हराउँदै राम्रो सुरुवात गरेकी थिइन् । तर, क्वार्टरफाइनलमा विश्व नम्बर ब्राजिलकी कार्डोसो फर्नान्डेस सिल्भानासँग १०–८ को साँघुरो अन्तरले पराजित हुन पुगिन् ।
यद्यपि, उनले रिपाचेजमार्फत कास्य पदकको लागि भएको प्रतिस्पर्धामा सफलता प्राप्त गरिन्। पलेशाले दोस्रोपटकको प्रयासमा पारालिम्पिकमा पदक जितेकी हुन् ।
सेफ्टी ट्यांकीभित्र बेहोस भई ३ जनाको मृत्यु
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयी–त्रिवेणी गाउँपालिका–७ रानीनगरमा निर्माणाधीन सेफ्टी ट्यांकीभित्र काम गर्ने क्रममा ३ जनाको मृत्यु भएको छ ।
स्थानीय भोला सिंह क्षेत्रीको निर्माणाधीन अवस्थामा रहेको घरको ट्वाइलेटको सेफ्टी ट्यांकीभित्र काम गर्ने क्रममा बेहोस भएका ३ जनाको उपचारको क्रममा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रहरी नायव उपरीक्षक (डीएसपी) वेदबहादुर पौडेलका अनुसारका विनयी–त्रिवेणी गाउँपालिका–७ का स्थानीय ३८ वर्षीय प्रकाशसिंह क्षेत्री, १९ वर्षीय गणेश बोगटी र २८ वर्षीय मोहम्मद राजा बेहोस अवस्थामा उद्धार गरी गरिएको थियो ।
सेफ्टी ट्यांकीभित्र ३ जना बेहोस भई लडिरहेको अवस्थामा उपचारको लागि भैरहवा मेडिकल कलेज रुपन्देही पठाएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् । मृतकमध्ये २ जनाको शव भीम अस्पताल भैरहवा रुपन्देही र १ जनाको शव पृथ्वीचन्द्र जिल्ला अस्पताल नवलपरासी (पश्चिम) रहेको प्रहरी नायव उपरीक्षक पौडेलले जनाए ।
घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।
नेपाल प्रहरीको ३० वर्षे सेवा अवधि विवादमा अन्तरिम आदेश खारेज
काठमाडौं । नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधि नै कायम हुने भएको छ। ३० वर्षे सेवा अवधि विवादमा सर्वोच्च अदालतले यसअघि जारी गरेको अन्तरिम आदेश खारेज गरेसँगै ३० वर्षे सेवा अवधि कायम भएको हो।
न्यायाधीशद्वय शारंगा सुवेदी र विनोद शर्माको संयुक्त इजलासले सरकारको भ्याटेकमा मागबमोजिम हुने आदेश दिएको हो। नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एएसपी) सहितका केही प्रहरी अधिकृत जीवनकुमार श्रेष्ठसहित २१ जनाले आफूलाई ३० वर्ष सेवा अवधिमा अवकाश दिन लागेको भनी सर्वोच्चमा रिट दायर गरेका थिए । उक्त रिटमा पहिलो सुनुवाइ गर्दै न्यायाधीश हरिप्रसाद फुँयालको एकल इजलासले अन्तरिम आदेश जारी गरेको थियो।
सर्वोच्चले अन्तरिम आदेश जारी गरेपछि सरकारले यो आदेश कार्यान्वयन गर्न नसकिने भन्दै गृह मन्त्रालयमार्फत भ्याकेटको निवेदन दर्ता गरेको थियो। प्रहरी अधिकृतले भदौ ५ गते रिट दर्ता गराएका थिए भने सरकारले भदौ १२ गते भ्याकेटको निवेदन दर्ता गराएको थियो।
आगामी एसइईमा ७० प्रतिशत विद्यार्थी उत्तिर्ण हुने प्रधानमन्त्रीको घोषणा
धुलिखेल । प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १० को आउँदो एसइई परीक्षामा ७० प्रतिशतसम्म विद्यार्थी उत्तिर्ण हुने गरी देशभर अनलाइनबाट शिक्षा सञ्चालनको घोषणा गरेका छन ।
धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयको २९ औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले अङ्ग्रेजी, गणित, विज्ञानलगायत मुख्य विषयमा केन्द्र सरकारका तर्फबाट अनलाइनका माध्यमबाट विशेष कक्षा चलाउन सम्बन्धित निकायलाई भनिसकेको जानकारी दिए ।
“पचास प्रतिशतको हाराहारीमा मात्रै एसइईमा उत्तिर्ण हुनु विद्यार्थीमाथिको चरम अन्याय हो । यस्तो अवस्थालाई अन्त्य गर्न मैले शिक्षा मन्त्रालय, नेपाल टेलिकमलगायत निकायलाई आवश्यक प्रबन्धका लागि भनिसकेको छुु । बढी नम्बर दिएर नभई विद्यार्थीले आफै राम्रो लेखेर धेरै उत्तिर्ण गराउने गरी हामीले काम थालिसकेका छौँ । अहिलेको सरकार किन बनेको रहेछ भन्ने कुरा परिणाममा देखाउने गरी हामी काम गर्नेछौँ ।’’ उनले सरकार देशको समृद्धि र समग्र शिक्षाको सुदृढीकरणका लागि आगामी दिनमा थप स्पष्ट र दृढताकासाथ अघि बढ्ने पनि स्पष्ट पारे ।
उनले आफूले झापाबाट गत वर्ष अनलाइन कक्षा दिएका कारण विद्यार्थीकोहरुको नतिजामा सुधार आएको उल्लेख गर्दै यस अभ्यासलाई देशभर विस्तार गर्ने जानकारी दिए ।
प्रधानमन्त्री ओलीले विश्वविद्यालयमा विभिन्न सङ्कायमा दीक्षित वद्यार्थीलाई आफूले प्राप्त गरेको ज्ञान–सीपलाई सही सदुपयोग गर्न तथा समाजका लागि सुयोग्य नागरिक बन्न आग्रह गरे । उनले भने, “अब तपाईँहरु संसारका जुनसुकै कुनामा गएर पनि आफ्नोृ क्षमता प्रदर्शन गर्न सक्नुहुन्छ । तपाईँहरुका लागि संसार खुल्ला छ । तपाईंहरुलाई अभिभावकको लगानी र स्नेहको प्रतिफलका रुपमा यो सफलता प्राप्त गर्नुभएको छ, त्यसलाई सही सदुपयोग गर्नुस्, सेवाभावको सुयोग्य नागरिक बन्नुस् ।”
समारोहमा प्रधानमन्त्री ओलीले स्नातकोत्तर तहमा स्कुल अफ आर्टसमा ४ सिजिपिए ल्याउने मिजला चित्रकारलाई चान्सलर स्वर्णपदक, स्कुल अफ साईन्स्बाट स्नातक तहमा ४ सिजिपिए ल्याउने मुकेश तिवारीलाई भाइस चान्सलर स्वर्णपदक प्रदान गरे भने स्नातक तहमा मनिपाल कलेज अफ मेडिकल साइन्स पोखराका स्वीकार दाहाललाई भाइस–चान्सलर स्वर्णपदक, विराट मेडिकल कलेज विराटनगरको, रस्मिता पौडेललाई न्हुछेरत्न तुलाधर स्वर्णपदक, स्कुल अफ मेकिडल साइन्सेजमा अर्जुन दासलाई रमेशप्रसाद सिंह स्वर्णपदक र स्कुल अफ एजुकेशनको रनिषा पौडेललाई महेशनाथ पराजुली स्वर्णपदक प्रदान गरे । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं सहकुलपति विद्या भट्टराईलगायत उपस्थित कार्यक्रममा समारोहमा विदेशी विद्यार्थीसहित दुई हजार तीन सय १४ विद्यार्थी दीक्षित भएका थिए ।