सुर्तीजन्य पदार्थको सेवन त्याग्न मन्त्री मेहेताको आग्रह

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सुर्तीजन्य पदार्थको सेवन त्यागका लागि सङ्कल्प गर्न आग्रह गरेकी छिन् । आइतबार ‘विश्व सुर्तीजन्य पदार्थरहित दिवस’ का सन्र्दशमा आज सन्देश जारी गर्दै उनले सुर्तीजन्य पदार्थको प्रयोगकर्ताहरूलाई आजैबाट यसलाई त्याग्न सङ्कल्पका लागि आग्रहसमेत गरेकी हुन् ।
मन्त्री मेहताले आधुनिक र फरक देखिने नाममा भेप र हुक्काजस्ता कुनै पनि हानिकारक पदार्थको प्रयोग र प्रलोभनमा नपर्न पनि आग्रह गरेकी छिन् ।
उनले सुर्तीजन्य पदार्थ वा भेपको लतबाट मुक्त हुन चाहनेका लागि मन्त्रालयले सहयोग र परामर्श उपलब्ध गराउनेसमेत जनाएक छिन् ।
मन्त्री मेहताले इ—सिगरेट, भेप हुक्कामा परम्परागत सुर्तीजन्य पदार्थमा जस्तै हानिकारक निकोटिन र विशाक्त तत्व हुने भएकाले कुनै भ्रममा नपर्न पनि अनुरोध गरेकी छिन् ।
उनले भनेकी छिन्,‘सुर्तीजन्य पदार्थको प्रयोग एक गम्भीर जनस्वास्थ्य चुनौती बनिरहेको छ । पछिल्लो तथ्याङ्कअनुसार नेपालमा करिव २९ प्रतिशत मानिस सुर्तीजन्य पदार्थको सेवन गरिरहेका छन् । देशमा हरेक वर्ष भन्दा बढी मानिसको मृत्यु सुर्तीजन्य पदार्थको सेवनका कारण हुने तथ्याङ्क अत्यन्त दुःख र सबैका लागि चिन्ताको विषय हो । त्यसैले यसको लत छोड्न आग्रह छ ।’
मन्त्री मेहताले किशोर किशोरीलाई लक्षित गरी सुर्ती उद्योगले अपनाएका नयाँ रणनीतिहरू चुनौतीका रूपमा रहेका भन्दै उद्योगलाई मानव स्वास्थ्यमा गम्भीर बन्न आग्रह गरिन् ।
मन्त्री मेहताले सुर्तीजन्य पदार्थका विद्यमान चुनौतीको समाना गर्न सरकारले नियन्त्रण र नियमनसम्बन्धी कानुन व्यवस्थापनको प्रभावकारी कार्यान्वयन विशेष जोड दिएको जानकारी दिइन् ।

एमाले महासचिवको प्रश्न ः विद्युतमा भ्याट कसको हितमा ?

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले ऊर्जा क्षेत्रको विकास र त्यसको उपयोग बारेमा सरकारको उल्टो बाटोमा हिँडेको आरोप लगाएका छन् । सामाजिक सञ्जालमार्फत उनले ऊर्जा क्षेत्रको विकास र त्यसको उपयोग बारेमा सरकारको उल्टो बाटोमा हिँडेको भन्दै आपत्ति जनाएका हुन् ।
पेट्रोलियम पदार्थको मूल्यवृद्धि र अभावबाट बच्न भन्दै दुई दिन सार्वजनिक बिदा घोषणा गर्ने सरकारले अब ५० युनिट माथिको विद्युत् प्रयोग गर्ने उपभोक्तामाथि समेत भ्याट लगाउने निर्णय गरेको छ । उनले लेखेका छन्, ‘आखिर यस्तो अविवेकी निर्णय कसको हितमा ?’
नेपाल जलस्रोतमा विश्वकै धनी राष्ट्रमध्ये एक भएको उल्लेख गर्दै उनले स्वदेशी ऊर्जा उत्पादन र उपभोगलाई प्रोत्साहन गर्नुपर्ने बेला विद्युत् प्रयोगकर्तामाथि थप करको भार थोपर्नु नेपाली जनतालाई आफ्नै प्राकृतिक स्रोतको उपयोगबाट निरुत्साहित गर्ने कदम भएको उल्लेख गरेका छन् ।
पेट्रोलियम प्रोडक्टको अभाव र मूल्यवृद्धि भएको समयमा ग्रिन इनर्जीलाई प्रवर्धन गर्नुपर्नेमा विद्युतीय गाडीको प्रयोगलाई समेत दुरुत्साहन गर्ने गरी करको भार थोपर्ने काम समेत बजेट मार्फत गरिएको उनको भनाइ छ ।
‘यदि बजेटको आकार बढाउने नाममा आय श्रोत देखाउन यस्तो निर्णय हुन पुगेको हो भने सरकारले तत्काल आफ्नो गल्ती सच्याउनु पर्दछ,’ उनले भनेका छन्, ‘सरकार आफैले नाफा लिएर बिक्री गरेको विद्युत् खपत वृद्धि हुँदा भ्याट लगाएर जनताको ढाड सेक्ने होइन, आयात प्रतिस्थापन र उत्पादनशील क्षेत्रमा त्यसको अधिकतम उपयोग गर्न प्रेरित गर्नु पर्दछ ।’

टिकटकर तुलसा अधिकारी पक्राउ

काठमाडौं । टिकटकर तुलसा अधिकारी भन्ने तुलसी अधिकारी पक्राउ परेकी छन् ।
शनिबार राति उनलाई थाइल्यान्डबाट पक्राउ गरेर काठमाडौं ल्याइएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रले जानकारी दिए । तुलसाको नाममा रेड कर्नर नोटिस जारी भएको थियो ।
अहिले उनलाई जिल्ला प्रहरी परिसर ललितपुरको हिरासतमा राखिएको एसपी मिश्रले जानकारी दिए । मिश्रका अनुसार पछिल्लो समय तुलसा चीनमा बस्दै आएकी थिइन् । तर त्यहाँबाट उनी थाइल्यान्ड पुगेपछि इन्टरपोलले पक्राउ गरेको हो ।
तुलसालाई सोमबार जिल्ला अदालत ललितपुरमा पेस गर्ने तयारी छ ।
तुलसाविरूद्ध जिल्ला अदालत ललितपुरमा ठगीसम्बन्धी मुद्दा दायर भएको थियो ।

एसियन गेम्स छनोट ः नेपालले दियो चीनलाई ३१४ रनको विशाल लक्ष्य, भुर्तेलको आक्रामक शतक

काठमाडौं । सिंगापुरमा आजदेखि सुरु भएको एसियन गेम्स पुरुष ट्वान्टी–ट्वान्टी छनोटमा नेपालले चीनलाई ३१४ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा मात्र २ विकेट गुमाउँदै ३१३ रनको विशाल स्कोर बनाएको हो ।
नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक १२९ रनको पारी खेले । मात्र ४३ बल खेलेका उनले १६ छक्का र ५ चौका प्रहार गरे । भुर्तेलको ट्वान्टी–ट्वान्टी करिअरमा यो सर्वाधिक स्कोरसमेत हो ।
आजको खेलमा भुर्तेलले ६ छक्कासमेत प्रहार गरेका छन् । उनी नेपालका लागि एकै ओभरमा ६ छक्का हान्ने दोस्रो खेलाडी बनेका छन् । यसअघि दीपेन्द्रसिंह ऐरीले मंगोलिया र कतारविरुद्ध ६ छक्का प्रहार गरेका थिए ।
यस्तै कुशल मल्ल र कप्तान रोहितकुमार पौडेलले पनि अर्धशतक प्रहार गरे । मल्लले अविजित ४७ बलमा ८५ रन बनाए । उनले त्यसक्रममा ८ चौका र ५ छक्का हिर्काए ।
कप्तान पौडेलले पनि आक्रामक पारी खेल्दै १७ अर्धशतक बनाए । अविजित रहेका पौडेलले मात्र २१ बलमा ७ छक्का र ५ चौकाको सहयोगमा ६९ रन बनाए । ओपनर आशिफ शेख भने १० बलमा १ छक्का र १ चौकाको सहयोगमा ११ रन बनाउँदै आउट भएका थिए ।
नेपालले यसअघि मंगोलियाविरुद्ध सन् २०२३ मा ३१४ रन बनाएको थियो । ट्वान्टी–ट्वान्टी आई मा सर्वाधिक स्कोरको रेकर्डमा नेपाल दोस्रो नम्बरमा छ । तेस्रो सर्वाधिक रन स्कोर पनि आज नेपालकै नाममा दर्ता भएको छ । पहिलोमा जिम्बाब्बेको रहेको छ । उसले जाम्बियाविरुद्ध ३४४ रन बनाएको थियो ।
चीनका लागि मा क्विनच्याङ र देङ जिङ्क्वीले १, १ विकेट लिए । अन्य सबै बलरहरुले अत्यधिक रन खर्चिए पनि विकेट भने निकाल्न सकेनन् ।

भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार

काठमाडौं । भारतको उत्तर प्रदेशको कुशीनगरबाट ५०० नेपालीको उद्धार गरिएको छ । उनीहरूलाई नेपाल ल्याइँदै गरेको प्रहरीले जनाएको छ ।
गएराति भारतीय प्रहरीको सहयोगमा कुशीनगरमा लुम्बिनी प्रदेश प्रहरी र रुपन्देही प्रहरीको टोली भारत गएर उनीहरूको उद्धार गरेको हो ।
सुनौली नाकामार्फत उनीहरूलाई अहिले नेपाल ल्याइँदै छ ।
रुपन्देही प्रहरीकाअनुसार विभिन्न प्रलोभन देखाएर उनीहरूलाई नेपालबाट भारत पुर्‍याएर बन्दक बनाइएको थियो ।

अछाममा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु

अछाम । अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
दार्चुलाबाट जुम्लातर्फ जाँदै गरेको सल्लोक आश्रम जनकपुरको बाप्र ०१–०२७ च २२७७ नम्बरको जिप मध्यपहाडी लोकमार्गअन्तर्गत पञ्चदेवल विनायक नगरपालिका–४ मा दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । तीनजना घाइते भएका छन् ।
मृत्यु हुनेमा मकवानपुरको हेटौंडा उपमहानगरपालिकाका ४१ वर्षीय नवीन तुलाधर र बर्दियाको बाँसगढी नगरपालिका–५ का ४५ वर्षीय रामप्रकाश थारु रहेका छन् । उनीहरूको उपचारका क्रममा मृत्यु भएको हो ।
घाइते चालक बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–५ निवासी २८ वर्षीय चालक राज राजेन्द्र भिमराज चट्टान गुप्ता र सिराहको कल्याणपुर नगरपालिका–१० का २७ वर्षीय सन्तकुमार शाहको अवस्था पनि गम्भीर रहेको छ भने स्याङ्जाको फेदीखोला नगरपालिका–४ का अर्जुन कुमार पौडेलको अवस्था मध्यम रहेको प्रहरीले जानकारी दिएको छ ।

आईपीएल ः फाइनलमा पुग्यो गुजरात, बैंगलुरुसँग उपाधिका लागि खेल्ने

काठमाण्डौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनलमा गुजरात टाइटन्स प्रवेश गरेको छ ।
शुक्रबार राति भएको दोस्रो क्वालिफायरमा कप्तान शुभमन गिलको विष्फोटक शतकीय इनिङमा राजस्थानलाई ७ विकेटले हराउँदै गुजरात फाइनलमा पुगेको हो ।
राजस्थानले दिएको २ सय १५ रनको लक्ष्य गुजरातले १८ ओभर ३ बलमा ३ विकेट गुमाएर पूरा गर्‍यो । गुजरातका शुभमनले सर्वाधिक १ सय ४ रनको शतकीय इनिङ खेले ।
यस्तै, साई सुदर्शनले ५८ र राहुल तोवाटियाले १७ र वासिङ्टन सुन्दरले १६ रन बनाए । राजस्थानका नान्द्रे बर्गर, ब्रिजेश शर्मा र जोफ्रा आर्चरले १–१ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २ सय १४ रन बनाएको थियो ।
राजस्थानका वैभव सूर्यवंशीले ९६ रनको अर्धशतकीय पारी खेले । यस्तै, रविन्द्र जडेजाले ४५, डोनोभान फरेराले ३८ तथा रियान परागले ११ रनको योगदान दिए । गुजरातका जेसन होल्डर र कागिसो रबाडाले २–२ विकेट लिए ।
यो जितसँगै गुजरातले अब आइतबार फाइनलमा साविक विजेता रोयल च्यालेन्जर्स बैंगलुरुसँग प्रतिस्पर्धा गर्नेछ ।
यसअघि खेलिएको क्वालिफायर–१ मुकावलामा गुजरात टाइटन्सलाई पराजित गर्दै बेंगलुरुले सिधै फाइनलको यात्रा तय गरेको हो ।
क्वालिफायर–१ मा व्यहोरेको पराजयपछि गुजरात टाइटन्सले क्वालिफायर–२ मा राजस्थान रोयल्सलाई ७ विकेटले स्तब्ध पार्दै फाइनलमा बेंगलुरुसँगको भेट पक्का गरेको हो ।
दुवै टोली आफ्नो इतिहासको दोस्रो आईपीएल उपाधि जित्ने दाउमा मैदान उत्रिनेछन्। लिग चरणमा १० टोलीमध्ये शीर्ष स्थानमा रहेको बेंगलुरु समग्रमा पाँचौँ पटक फाइनलमा पुगेको हो। यसअघि टोलीले सन् २००९, २०११, २०१६ र २०२५ मा फाइनल खेलिसकेको छ।
गुजरात टोली हार्दिक पाण्ड्याको कप्तानीमा २०२२ र २०२३ मा फाइनलमा पुगेको थियो। ५ वर्षको इतिहासमा गुजरातको यो तेस्रो फाइनल यात्रा हो।

सरकारले निःशुल्क शिक्षा नदिने, ल्यायो अभिभावकीय सहयोग स्वीकार्ने नीति

काठमाण्डौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विद्यालय शिक्षामा अभिभावकीय सहयोग स्वीकार्ने नीति लिएको जनाएका छन् ।
संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३, ०८४ को अनुमानित आय–व्ययको विवरण प्रस्तुत गर्दै उनले विद्यालयको शैक्षिक गुणस्तर र पूर्वाधार निर्माणमा अभिभावकीय सहयोग स्वीकार्ने जनाए ।
उनले राष्ट्रिय विद्यालय नक्सांकन, शिक्षक क्षमता वृद्धि, सीप केन्द्रित शिक्षामा लगानी बढाउने जानकारी दिए । नेपालको संविधानमा आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निस्शुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निः शुल्क हुने व्यवस्था रहेको छ ।
अभिभावकीय सहयोग स्वीकार्ने नाममा अभिभावकले विद्यालय शिक्षामा शुल्क तिर्नुपर्ने हालको अभ्यासलाई निरन्तरता दिइएको छ ।

 

सामाजिक सुरक्षा भत्तालाई सक्नेले स्वेच्छिक त्याग्न सरकारको आह्वान

काठमाण्डौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सामाजिक सुरक्षा भत्ता (वुद्धभत्ता समेत) स्वेच्छिक छाड्न आह्वान गरेका छन् ।
संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३, ०८४ को अनुमानित आय–व्ययको विवरण प्रस्तुत गर्दै उनले ‘सक्नेले छोडौं, नसक्नेलाई जोडौं’ नारा दिएका छन् ।
आर्थिक अवस्था मजबुत भएकाहरूले पनि उमेर वा आरक्षित समुदायकै आधारमा मात्रै सामाजिक सुरक्षा भत्ता लिने गरेकोमा आर्थिक अवस्था मजबुत भएकालाई स्वेच्छिक रूपमा त्यस्तो सुविधा त्याग्न आह्वान गरिएको छ ।

राजनीतिक दलहरुलार्ई राज्यकोषबाट रकम दिने सरकारको तयारी

काठमाण्डौं । सरकारले राजनीतिक दलहरूलाई राज्यकोषबाट अनुदान दिने तयारी गरेको छ ।
संघीय संसदका दुवै सदनको बैठकमा आगामी आर्थिक वर्ष २०८३÷०८४ को अनुमानित आय तथा व्यवयको विवरण प्रस्तुत गर्दै अथर्मन्त्री डा. स्वर्णिम वाग्लेले उक्त घोषणा गरे ।
राष्ट्रिय मान्यता प्राप्त दलहरुलाई राज्यकोषबाट अनुदन दिने विषयमा बारे बहस गरिने उनले जनाए ।
राजनीतिक दलहरूले पछिल्लो निर्वाचनका क्रममा प्राप्त गरेको मतका आधारमा राज्यकोषबाट अनुदान दिने अवधारणा उनले सुनाए ।
अनुदान रकमको महालेखा परीक्षक कार्यालयबाट लेखापरीक्षण गरिने जानकारी उनले दिए ।

लेटेष्ट समाचार

आज हिमाली र पहाडी भू–भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम...

कक्षा १२ को नतिजा सार्वजनिक, ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण

काठमाण्डौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल प्रकाशित गरेको छ । शुक्रबार बिहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले नतिजा सार्वजनिक गरेको हो...

फिफा विश्वकप २०२६– दक्षिण कोरियालाई हराउँदै मेक्सिको नकआउट चरणमा प्रवेश

काठमाण्डौं । जारी फिफा विश्वकप २०२६मा सहआयोजक मेक्सिकोले सानदार जित निकालेको छ । ग्वाडालजारा स्टेडियममा भएको खेलमा मेक्सिकोले दक्षिण कोरियालाई १–० गोल अन्तरले पराजित गरेको...