ओली–लेखकविरुद्धको जाहेरी प्रहरीबाटै सीधै जाँचबुझ आयोगमा

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरी प्रहरीमार्फत दर्ता नभई सीधै जाँचबुझ आयोगमा पुगेको छ।

जेनजी आन्दोलनका क्रममा अन्धाधुन्ध गोली चलाएर बालबालिकाको हत्या गरेको आरोपमा मृतकका परिवार तथा जेनजी समूहले जाहेरी दिएका थिए। तर, काठमाडौं प्रहरी परिसरले उक्त जाहेरी दर्ता नगरी आयोगमा पठाएको हो।

प्रहरी परिसरका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार यो प्रकृतिको मुद्दा जाँचबुझ आयोगको कार्यक्षेत्रमा पर्ने भएकाले जाहेरी आयोगमा पठाइएको हो। उनका शब्दमा, “चार जनाको तर्फबाट जाहेरी आएको थियो, हामीले आयोगको कार्यक्षेत्रमा पर्ने भएकाले त्यहाँ पठायौं।”

सरकारले जेनजी आन्दोलनका क्रममा भएको दमनबारे अनुसन्धान गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ। आयोगलाई तीन महिनाभित्र प्रतिवेदन बुझाउने म्यान्डेट दिइएको छ।

मृतक परिवार र आन्दोलनकारीहरूले ओली र लेखकलाई तत्काल पक्राउ गर्न माग गर्दै जाहेरी दर्ताको प्रयास गरेका थिए। जाहेरी नदर्ता भएपछि सोमबार राति र मंगलबार दिनभर जिल्ला प्रहरी परिसरमा तनावपूर्ण स्थिति बनेको थियो।

LEAVE A REPLY