‘जेनजी विद्रोह’पछि एमाले र माओवादीद्वारा मंसिरमा महाधिवेशन घोषणा, माैन कांग्रेस

काठमाडौं । भदौ २३ र २४ गतेको ‘जेनजी विद्रोह’पछि देशको राजनीतिक परिदृश्य उथलपुथल बनेको छ । यसबीच, दुई ठूला कम्युनिस्ट दल—नेकपा एमाले र नेकपा माओवादी केन्द्रले मंसिरको अन्त्यतिर आफ्ना महाधिवेशन गर्ने निर्णय गरेका छन् ।

आइतबार सम्पन्न एमाले सचिवालय बैठकले पार्टीको ११औँ महाधिवेशन मंसिरको अन्तिम साता गर्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । स्थान र मिति केन्द्रीय समिति बैठकले टुंग्याउनेछ ।

सचिवालय बैठकले तयार पारेको एजेन्डाबारे निर्णय गर्नका लागि असोज २९ गते केन्द्रीय समिति बैठक बोलाइएको छ । जेनजी विद्रोहका कारण अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढलेपछि पार्टीभित्र नेतृत्व हस्तान्तरणको माग तीव्र बनेको थियो । त्यसपछि ओलीले बैठक बोलाएर उक्त विषय महाधिवेशनबाटै टुंग्याउने बताएका थिए ।

ज्ञवालीका अनुसार केही नेताले नेतृत्वको विकल्पबारे कुरा उठाए पनि बाहिर फैलिएको कित्ताकाटको हल्ला गलत भएको बताए । “पार्टीभित्र मतभेद हुँदा मिडियाले म्यानुपुलेट गर्ने गर्छ,” उनले भने, “तर योपटक खुलेर आफ्ना विचार राख्ने वातावरण बनेको छ ।”

भदौ २०–२३ मा सम्पन्न विधान महाधिवेशनले ७० वर्षको उमेर सीमा र दुई कार्यकालको व्यवस्था खारेज गर्दै ओलीलाई अध्यक्ष बनाउने बाटो खुलेको थियो । पार्टीभित्र बढ्दो असन्तुष्टि बीच महाधिवेशन घोषणा भएपछि ओलीले केही हदसम्म राहत महसुस गरेको बताइन्छ ।

एमालेजस्तै नेकपा माओवादी केन्द्रमा पनि नेतृत्व हस्तान्तरण र पार्टी पुनर्गठनको विषयमा मतभेद बढेका छन् । पार्टीले मौजुदा केन्द्रीय समिति विघटन गरी मंसिरको अन्त्यतिर विशेष महाधिवेशन गर्ने निर्णय गरिसकेको छ ।

जेनजी विद्रोहअघि नै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नेतृत्व छोड्न दबाब बढिरहेको थियो । असोज ९ र १० गते बसेको केन्द्रीय समिति बैठकमा नारायणकाजी श्रेष्ठ, जनार्दन शर्मा लगायत नेताहरूले कार्यवाहक नेतृत्व दिएर महाधिवेशनमा जान सुझाव दिएका थिए । तर बहुमत सदस्यहरूले प्रचण्डकै संयोजकत्वमा महाधिवेशन समितिले बनाएका छन् ।

नेता हरिबोल गजुरेलका अनुसार, विशेष वा एकता महाधिवेशन गर्ने भन्नेबारे अझै बहस जारी छ । “समाजवादी मोर्चा र अन्य वामपन्थी घटकहरूसँग एकताको पहल भइरहेको छ,” उनले भने ।

प्रचण्डले एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी (नेसपा) र नेकपा विप्लव समूहसँग पनि एकता सम्भावनाबारे सकारात्मक संकेत दिएका छन् ।

माैन रुपमा कांग्रेस

एमाले र माओवादीले महाधिवेशनको मिति तय गरिसक्दा नेपाली कांग्रेस भने अझै निर्णयविहीन अवस्थामा छ ।
जेनजी विद्रोहका बेला आफ्नै निवास बुढानीलकण्ठमा आक्रमणमा परेका सभापति शेरबहादुर देउवा असोज २३ गतेदेखि बसिरहेका नियमित बैठकहरूमा उपस्थित छैनन् । उनी अनुपस्थित रहेपछि बैठकको नेतृत्व उपसभापति पूर्णबहादुर खड्काले गरिरहेका छन् ।

मंगलबारदेखि सुरु हुने केन्द्रीय कार्यसमिति बैठकको मुख्य एजेन्डा महाधिवेशन हो । प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार, बैठकको सभापतित्व देउवाले नै गर्नेछन् । कार्यवाहक सभापतिको विषयमा कुनै औपचारिक प्रस्ताव नआएको उनले स्पष्ट पारे ।

पूर्वउपसभापति विमलेन्द्र निधि र पूर्वमहामन्त्री डा. शशांक कोइरालाले कार्यवाहक सभापतिको जिम्मेवारी दिनुपर्ने सुझाब दिएका छन् भने महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नेतृत्व हस्तान्तरण र पार्टी रुपान्तरणका लागि विशेष महाधिवेशनमा जानुपर्ने प्रस्ताव गरेका छन् ।

कांग्रेस विधानअनुसार नियमित महाधिवेशन मंसिरमा गर्नुपर्ने व्यवस्था छ, तर विशेष परिस्थितिमा एक वर्ष कार्यकाल बढाउन सकिने वैधानिक प्रावधान छ । विशेष वा नियमित महाधिवेशन कुन गर्ने भन्ने विषय केन्द्रीय समिति बैठकले नै टुंग्याउने कांग्रेस नेताहरूले बताएका छन् ।

२०७८ साल मंसिरमा कांग्रेस र एमालेका महाधिवेशन भएका थिए भने माओवादीले सोही वर्ष पुसमा आफ्नो महाधिवेशन सम्पन्न गरेको थियो । यदि जेनजी विद्रोह नभएको भए, यी तीनै दलले २०८३ सालमा महाधिवेशन गर्ने तयारी गरेका थिए ।

LEAVE A REPLY