काठमाडौं । मितेरी सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा मुछिएकी ज्योती गुरुङलाई ललितपुर जिल्ला अदालतले २१ दिने सूचना जारी गरेर सबुतप्रमाणसहित प्रतिउत्तर पेश गर्न भनेको छ ।
स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका २ लामडाँडा स्थायी घर घई हाल ललितपुर महानगरपालिका १४ थसिखेल बस्ने ४८ वर्षीया ज्योती कांग्रेस नेता धनराज गुरुङकी पूर्वपत्नी हुन् ।
अदालतको सूचनामा भने उनको तीनपुस्ते विवरण खुलाउँदै ‘धनराज गुरुङकी पत्नी’ नै लेखिएको छ ।
सूचनामा लेखिए अनुसार बोधविक्रम थापाले ज्योतिविरुद्ध लेनदेन मुद्दा दायर गरेका थिए । त्यस अनुसार जिल्ला अदालतबाट गुरुङका नाममा जारी भएको म्याद बदर भई २०८३ साल जेठ ५ मा भएको आदेश अनुसार मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १०५ को उपदफा २२ बमोजिम २१ दिने सूचना जारी गरिएको सूचनामा उल्लेख छ ।
‘यो म्याद सूचना पत्रिकामा प्रकाशित भएको मितिले बाटोको म्याद बाहेक २१ (एक्काइस) दिनभित्र आफैं वा कानुन बमोजिमको प्रतिनिधि मार्फत् आफ्नो भएको सबुद प्रमाणसहित प्रतिउत्तर पत्र लिई यस अदालतमा उपस्थित हुनुहोला,’ आज गोरखापत्रमा प्रकाशित सूचनामा लेखिएको छ ।
म्यादभित्र उपस्थित नभई म्याद गुजारी बसे मुद्दा कानुन बमोजिम हुने र पछि कुनै उजुर नलाग्ने पनि सूचनामा उल्लेख छ ।
कांग्रेस नेता धनराजकी पूर्वपत्नी ज्योतिलाई २१ दिनभित्र अदालत उपस्थित हुन आदेश
ट्रम्प ह्वाइट हाउसभित्रै रहेको बेला नजिकै गोलीबारी, गोली चलाउने मारिए
काठमाडौं । अमेरिकाको राजधानी वासिङ्टनस्थित ह्वाइट हाउस नजिकै शनिबार फेरि गोलीबारी भएको छ । घटनाको समयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउसभित्र थिए ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार, संदिग्ध व्यक्ति ह्वाइट हाउसको वेस्ट गेट नजिकैको चेकपोइन्टमा पुगे र अचानक गोली चलाउन थाले । उनले करिब ३० राउन्ड गोली चलाएका थिए । त्यपछि सिक्रेट सर्विसका एजेन्टहरूले जवाफी गोली चलाउँदा संदिग्ध व्यक्ति घाइते भए र उनको अस्पतालमा मृत्यु भयो ।
गोलीबारीमा एक सर्वसाधारण पनि घाइते भएका छन् । उनी आक्रमणकारीको गोली लागेर घाइते भएका हुन् वा जवाफी कारबाहीमा घाइते भएका हुन् भन्नेबारे खुलेको छैन । उनको अवस्था गम्भीर रहेको जनाईएको छ ।
राष्ट्रपति ट्रम्पले घटनाबारे अहिलेसम्म कुनै टिप्पणी गरेका छैनन् ।
केही दिन अघि मात्र राष्ट्रपति ट्रम्पकी छोरी इभान्कालाई पनि ज्यान मार्ने धम्की आएको थियो । यस घटनामा संलग्न एक इराकी नागरिकलाई पक्राउ गरिएको थियो । उनी इरानी सेनासँग जोडिएका थिए ।
संदिग्ध व्यक्तिसँग इभान्का र उनका पति जारेड कुशनरको फ्लोरिडास्थित घरको ब्लूप्रिन्ट पनि फेला परेको थियो ।
ट्रम्पको दाबी, इरानसँग युद्ध अन्त्य गर्ने र होर्मुज नाका खोल्ने समझदारी पत्र तयार
काठमाण्डौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका इरानबीचको युद्ध अन्त्यको अन्तिम चरणमा रहेको जनाएका छन् ।मध्यपूर्वका नेताहरूसँगको टेलिफोन वार्तापछि ट्रम्पले समझदारी पत्र लगभग तय भइसकेको र यसलाई अन्तिम रूप दिन मात्र बाँकी रहेको जनाएका हुन्।
ट्रम्पले शनिबार सामाजिक सञ्जालमार्फत कुनै विस्तृत विवरण नदिई अमेरिका इरानसँग युद्ध अन्त्य गर्ने र होर्मुज जलडमरूमध्य पुनः खोल्ने विषयमा सम्झौताको नजिक पुगेको जनाएका छन्।
उनले लेखेका छन्, ‘सम्झौताका अन्तिम पक्ष र विवरणहरूबारे हाल छलफल भइरहेको छ, र यसलाई छिट्टै घोषणा गरिनेछ।’
इरानको तर्फबाट औपचारिक प्रतिक्रिया आएको छैन। तर सार्वजनिक रूपमा बोल्न अधिकार नभएकाले नाम नखुलाउने सर्तमा बोल्दै तीन इरानी अधिकारीहरूले तेहरानले सबै मोर्चामा लडाइँ रोक्ने र जलडमरूमध्य पुनः सञ्चालनमा ल्याउने समझदारीपत्रमा सहमति जनाएको जनाएका छन्।
टेक्सासका रिपब्लिकन सिनेटर टेड क्रुजले शनिबार राति अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने सम्भावित सम्झौतासम्बन्धी खबरप्रति आफू गम्भीर रूपमा चिन्तित रहेको जनाएका छन्। यदि यस्तो सम्झौताले इरानलाई युरेनियम समृद्ध बनाउन, आणविक हतियार विकास गर्न तथा होर्मुज जलडमरूमध्यमा प्रभावकारी नियन्त्रण कायम राख्न अनुमति दिने हो भने त्यो विनाशकारी गल्ती हुने उनले जनाएका छन्।
पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले अमेरिकी राष्ट्रपति ट्रम्पलाई शान्ति स्थापना गर्ने प्रयासका लागि बधाई दिएका छन्। उनले पाकिस्तानले छिट्टै यस विषयमा अर्को बैठकको आयोजना गर्ने विश्वाससमेत व्यक्त गरेका छन्।
प्रधानमन्त्री सरिफले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखेका छन्, ‘राष्ट्रपति डोनाल्ड ट्रम्पले शान्ति स्थापनाका लागि गरेको प्रयासप्रति म उहाँलाई बधाई दिन्छु।’
एमाले सचिवालय बैठक आज पनि, अध्यक्ष ओलीले सम्बोधन गर्ने
काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक आज (आइतबार) पनि बस्दैछ । बैठक बिहान ११ः३० बजे अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा बस्ने भएको हो ।
शुक्रबार र शनिबारको बैठकमा पाँच उपाध्यक्ष, महासचिव, तीन उपमहासचिव र पाँच सचिवले आफ्नो धारणा राखेका थिए । आजको बैठकमा बाँकी चार सचिवले धारणा राख्नेछन् । त्यसपछि अध्यक्ष ओलीले सम्बोधन गर्ने जनाईएको छ ।
शुक्रबारदेखि जारी बैठकमा नेताहरूले पार्टीको आगामी कार्यदिशा, चुनावी समीक्षा, नेताहरूको कार्यविभाजन लगायतका विषयमा धारणा राखिरहेका छन् ।
भारतमा ९ दिनमा तेस्रोपटक बढ्यो पेट्रोल र डिजेलको मूल्य
काठमाण्डौं । भारतमा फेरि पेट्रोल र डिजेलको मूल्य बढेको छ । शनिबार पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर ९१ पैसासम्म बढाइएको छ । पछिल्लो १० दिनको अवधिमा यो तेस्रो पटकको मूल्यवृद्धि हो ।
दिल्लीमा पेट्रोलको मूल्य प्रतिलिटर ९८ रुपैयाँ ६४ पैसाबाट बढेर ९९ रुपैयाँ ५१ पैसा पुगेको छ भने डिजेलको मूल्य ९१ रुपैयाँ ५८ पैसाबाट बढेर ९२ रुपैयाँ ४९ पैसा पुगेको छ ।
राज्य स्वामित्वका तेल कम्पनीहरूले पश्चिम एसियामा जारी द्वन्द्वका कारण बढेको ऊर्जा मूल्यलाई क्रमिक रूपमा उपभोक्तामा सार्न मे १५ देखि मूल्य समायोजन सुरु गरेका थिए । त्यसयता यो तेस्रो वृद्धि हो ।
मे १५ मा प्रतिलिटर ३ रुपैयाँ मूल्य बढाइएको थियो भने मे १९ मा फेरि ९० पैसा वृद्धि गरिएको थियो ।
यससँगै समग्रमा इन्धनको मूल्य प्रतिलिटर करिब ५ रुपैयाँले बढेको छ ।
गहुँ भित्र्याउने तथा धान रोपाइँको सिजन अघि विभिन्न राज्यहरूमा इन्धनको माग बढिरहेका बेला नयाँ मूल्यवृद्धि गरिएको हो ।
यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्वजनिक यातायातको बढी प्रयोग गर्न तथा ‘वर्क फ्रम होम’ अपनाउन आग्रह गर्दै इन्धन खपत घटाउन नागरिकलाई आह्वान गरेका थिए । उनले यसबाट भारतको तेल आयात खर्च घट्ने र विदेशी मुद्रा सञ्चितिमाथिको दबाब कम हुने जनाएका थिए ।
सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्षका लागि दरखास्त आह्वान
काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्थाको सञ्चालक समितिको रिक्त अध्यक्ष पदका लागि दरखास्त आह्वान गरेको छ ।
मन्त्रालयले आज (शनिबार) एक सूचना जारी गर्दै अध्यक्ष पदमा प्रतिस्पर्धात्मक प्रणालीद्वारा एक जना उम्मेदवार छनोट गरी नियुक्त गरिने जनाएको छ । इच्छुक योग्य व्यक्तिले यही जेठ १८ गते (सोमबार) कार्यालय समयभित्र आवेदन पेश गर्न मन्त्रालयले आग्रह गरेको छ ।
आवेदन फाराम, आवश्यक योग्यता, अनुभव तथा पेश गर्नुपर्ने कागजातसम्बन्धी विस्तृत विवरण मन्त्रालयको वेबसाइट तथा सार्वजनिक सेवा प्रसारण संस्थाको वेबसाइटमा उपलब्ध गराइएको मन्त्रालयले जनाएको छ ।
एमालेको सचिवालय बैठक आज पनि
काठमाडौं । नेकपा (एमाले) को सचिवालय बैठक आज (शनिबार) पनि बस्दैछ ।
हिजो शुक्रबारदेखि सुरु भएको सचिवालय बैठक आज बिहान ११ः३० बजेदेखि पार्टी अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा बस्ने उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।
उनका अनुसार हिजोको बैठकमा पाँच जना उपाध्यक्षहरूले पार्टीको आगामी कार्यदिशा र चुनावी समीक्षा लगायतका विषयमा आ–आफ्ना धारणा राखेका छन् ।
सचिवालयका बाँकी १२ जना सदस्यहरूले आजको बैठकमा आफ्ना धारणा राख्ने कार्यक्रम रहेको भट्टले जनाए । साथै, आजको बैठकमा नेताहरुको कार्यविभाजनलाई अन्तिम रुप दिने तयारी छ ।
महालक्ष्मी विकास बैंकले विभिन्न कार्यक्रम गरी मनायो ३२ औं वार्षिकोत्सव
काठमाडौं । महालक्ष्मी विकास बैंकले जेठ ७ गते ३२ औं वर्षमा प्रवेश गरेको अवसरमा जेठ २ गतेदेखि ७ गतेसम्म वार्षिक उत्सव मनाउने क्रममा विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ ।
वार्षिक कार्यक्रमअन्तर्गत बैंकले जेठ २ गते बैंकको केन्द्रीय कार्यालय, प्रादेशिक कार्यालयहरु तथा शाखा कार्यालयका कर्मचारीहरुको सहभागितामा वित्तीय साक्षरतासहितको प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ । विभिन्न स्थानहरुमा गरिएको वित्तीय साक्षरता कार्यक्रममा बैंकिङ सेवाहरु जस्तै मोबाइल बैंकिङ, स्मार्ट क्युआर, निक्षेप, कर्जा, विप्रेषण लगायत सम्बन्धित विषयवस्तुहरु समेटिएको थियो ।
साथै, जेठ ४ गते बैंकको केन्द्रीय कार्यालयमा बृहत निशुल्क स्वास्थ्य शिविर तथा ५ गते निःशुल्क दन्त तथा आँखा शिविर समेत सञ्चालन गरिएको थियो । उक्त शिविरहरुमा करिब २०० जना व्यक्तिहरुको स्वास्थ्य, आँखा तथा दाँतको परिक्षण गरिएको थियो । यसका साथै, बैंकले वार्षिकोत्सवको अवसरमा जेठ ६ गते देशभरका विभिन्न प्रादेशिक कार्यालय र बैंकको केन्द्रीय कार्यालयमा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । उक्त रक्तदान कार्यत्रमहरुमार्फत २०० पिन्ट रगत संकलन गरिएको थियो । स्वास्थ्य क्षेत्रमा चुनौतीको रुपमा रहेको रगत व्यवस्थापनमा सहजता होस् भन्ने उद्देश्यले बैंकले ३२ औं वार्षिकोत्सवको अवसर पारेर रक्तदान कार्यक्रमहरु सञ्चालन गरेको हो । सोही दिन बैंकले संस्कृति प्रवद्र्धन तथा मन्दिर सरसफाईलाई प्राथमिकतामा राखी विभिन्न स्थानमा रहेका महालक्ष्मी मन्दिरहरुमा सरसफाई लगायतका सामाग्रीहरु हस्तान्तरण गरेको छ । साथै, ललितपुर महालक्ष्मीस्थानमा रहेको महालक्ष्मी मन्दिरमा बगैंचा प्रवर्द्धन, मर्मत सम्भार तथा डिजिटल दक्षिणा भुक्तानी प्रवर्द्धनको लागि समेत बैंकले सहयोग गरेको छ ।
बैंकले जेठ ७ गते बिहीबार केन्द्रीय कार्यालय, प्रादेशिक कार्यालय तथा शाखा कार्यालयहरुमार्फत देशको भौगोलिक र सांस्कृतिक अवस्थाको उजागर गर्न कर्मचारीहरुलाई स्थानीय भेषभूषासहितको पहिरनमा उपस्थित भई सम्बन्धित भेषभूषाको प्रदर्शन समेत गरेको थियो । सोही दिन नारायणहिटी नाराणस्थान गुठी व्यवस्थापन समिति, नारायणहिटीलाई खानेपानी व्यवस्थापनको लागि पानी ट्याङकी हस्तान्तरण गरिएको छ ।
अगस्ट १९ मा मनाइने विश्व फोटोग्राफी दिवसको अवसरमा महालक्ष्मी विकास बैंकले स्थानीय साना तथा मझौला व्यापारहरूको प्रवर्द्धन तथा प्रचारप्रसार गर्ने उद्धेश्यका साथ हरेको वर्ष आयोजना गर्दै आएको ‘महालक्ष्मी विकास बैंक बिजचित्र फोटोग्राफी प्रतियोगिता’मा संकलन गरिएका फोटोहरु समेत बैंकको केन्द्रीय कार्यालयमा प्रदर्शन गरिएको छ ।
वार्षिक उत्सवको महत्वपूर्ण कार्यक्रमको रुपमा रहेको र विगत ४ वर्षदेखि सफलतापूर्वक सञ्चालन गरिएको महालक्ष्मी कर्पोरेट क्रिक्रेटको पाँचौ श्रृङखला समेत यही जेठ महिनामा बैंकले सञ्चालन गर्ने जनाईएको छ ।
सरकारले रोक्यो नयाँ सार्वजनिक सवारी दर्ता
काठमाण्डौं । देशभर सार्वजनिक सवारी साधनको नयाँ दर्ता रोक्का भएको छ ।
यातायात व्यवस्था विभागले ट्राफिक लगायत सार्वजनिक यातायात व्यवस्थापनमा देखिएको समस्याका कारण अर्को सूचना जारी नभएसम्म दर्ता रोक्ने निर्णय गरेको हो ।
विभागका निर्देशक मणिराम भुसालद्वारा जारी परिपत्रअनुसार नयाँ दर्ता रोक्का इन्धनबाट चल्ने तथा विद्युतीय दुवै प्रकारका सार्वजनिक सवारीमा लागू भएको छ ।
सार्वजनिक यातायातको वैज्ञानिक व्यवस्थापन हुन नसक्दा अत्यधिक वायु प्रदूषण बढेको, सडकमा सवारीको चाप र ट्राफिक जामले आवतजावतमा चरम कठिनाइ थपेकोले यस्तो निर्णय लिइएको विभागको भनाइ छ । इन्धनको बढ्दो मूल्यका कारण सार्वजनिक सवारी र समग्र यातायात क्षेत्रमा परेको असहज परिस्थितिलाई सम्बोधन गर्न पनि नयाँ दर्ता रोकेर मौजुदा प्रणालीलाई नै व्यवस्थित गर्नुपर्ने पत्रमा उल्लेख छ ।
विभागले सातै प्रदेशका सम्बन्धित मन्त्रालय र स्थानीय तहलाई परिपत्र पठाएको छ । सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा २४ उपदफा (३) अनुसार सार्वजनिक हितका लागि नयाँ दर्ता रोक्न सकिने कानुनी व्यवस्था प्रयोग गर्दै विभागले यस्तो निर्णय गरेको हो ।
महिला टी–२० मा मलेसियामाथि नेपालको क्लिन स्वीप
काठमाण्डौं । नेपाली महिला क्रिकेट टोलीले मलेसियालाई ७ विकेटले पराजित गरेको छ ।
शुक्रबार भएको अन्तर्राष्ट्रिय टी–२०को दोस्रो खेलमा नेपालले मलेसियालाई ७ विकेटको फराकिलो जित हात पारेको हो।
जितसँगै नेपालले मलेसियासँगको सिरिज २–० को क्लिन स्वीप गरेको छ। पहिलो खेलमा नेपाल २ विकेटले विजयी भएको थियो
मलेसियाले दिएको ८३ रनको सामान्य लक्ष्य नेपालले १६ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो ।
नेपालका लागि सम्झना खड्का ३७ बलमा ३९ रन बनाउँदै अविजित रहिन्। कविता कुवँर २० बलमा १९ रनमा अविजित रहेको इनिङ्समा सोनी पाख्रिन १२ रनमा आउट भइन्।
मलेसियाका लागि नुर धानीया र एइसा एलिसाले समान १ विकेट हात पारिन्। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ९ विकेट गुमाएर ८२ रनको योगफल तयार गरेको थियो।
नेपालका लागि कविता कुवँर, रुबिना क्षेत्री र रिया शर्माले समान २ तथा पूजा महतो र सिता राना मगरले समान १ विकेट लिइन्।
अर्को साताबाट सुरु हुने एसियन गेम्स छनोट तथा अर्को महिनाबाट हुने एसिसी प्रिमियर कप खेल्नका लागि नेपाली टोली हाल मलेसियामा रहेको छ।
















