काठमाण्डौ । ललितपुरको बालकुमारीमा मन्त्रीको गाडीमाथि भएको आगजनी घटनामा प्रहरीको गोली लागेर २ आन्दोलनकारीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा दैलेखका २३ वर्षीय सुजन रावत तथा डोटीका २२ वर्षीय वीरेन्द्र शाह रहेका केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए ।
प्रहरीको गोली लागेर घाइते भएका आन्दोलनकारी रावतको उपचारको क्रममा किष्ट अस्पतालमा तथा शाहको पाटन अस्पतालमा मृत्यु भएको छ ।
रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरियामा काम गर्न जान खोज्नेहरूले गरेको प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ ।
प्रदर्शनकारीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढ्ने बा २ झ ५८६१ नम्बरको गाडीमा आगो लगाएका थिए ।
प्रहरीको गोली लागेर २ आन्दोलनकारीको मृत्यु
सिपबिल्डिङमा परीक्षा दिएका सबैलाई ईपीएस परीक्षामा सहभागी गराउन अदालतको आदेश
काठमाडौं । दक्षिण कोरियास्थित पानीजहाज बनाउने (सिपबिल्डिङ) मा परीक्षामा दिएका सम्पूर्ण विद्यार्थीलाई कोरिया रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षामा सहभागी गराउन अदालतले आदेश दिएको छ ।
उच्च अदालत पाटनले आज सबैलाई परीक्षामा सहभागी गराउन आदेश जारी गरेको हो । सिपबिल्डिङमा परीक्षा दिएकाहरुले कोरिया भाषा परीक्षामा भाग लिन नपाउने भनेपछि १८ जनाले पाटन उच्च अदालतमा मुद्दा हालेका थिए ।
परीक्षा दिन नपाउने भएपछि आज परीक्षार्थीले काठमाडौंको बालकुमारीमा प्रदर्शनसमेत गरेका थिए । त्यसक्रममा प्रहरीले बल प्रयोग गर्दा दुईजना प्रदर्शनकारीको मृत्यु भएको भएको छ ।
स्वदेश फर्किए राप्रपा अध्यक्ष लिङ्देन
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन साताव्यापी हङकङ भ्रमण पूरा गरी आज बिहान स्वदेश फर्किएका छन्। पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज हङकङको निमन्त्रणामा समाजको अधिवेशनलाई सम्बोधन गर्न लिङदेन पुस ७ गते हङकङ प्रस्थान गरेका थिए ।
भ्रमणको क्रममा उनले हङकङ र मकाउमा रहेका नेपाली समुदायसँग भेटघाट, छलफल र अन्तरक्रिया गरेका थिए । साथै लिङ्देनले नेपाली महावाणिज्यदूत र महावाणिज्यदूत कार्यालयका अधिकारीसँग भेट गरी नेपालीले भोग्नुपरेको समस्या लगायत विविध विषयमा छलफल गरेको छ।
अध्यक्ष लिङ्देनको भ्रमण दलमा पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, पानस आइसिसिका अध्यक्ष प्रेमकुमार श्रेष्ठ र केन्द्रीय सदस्य हिक्मतजंग कार्की पनि रहेको राप्रपाका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले जानकारी दिएका छन ।
बाजुरामा जिप दुर्घटना– १ जनाको मृत्यु
बाजुरा । बाजुरमा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। बिहीबार राति गौमूल गाउँपालिका नजिकै मालिवनमा जिप दुर्घटना हुँदा १ जनाको घटनास्थलमै मृत्यु भएको हो।
मृत्यु हुनेमा खप्तड छेडेदह गाउँपालिका–६ घर भएका जिप धनी अन्दाजी ३८ वर्षीय देवेन्द्र नाथ रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ। घटमुनाबाट सिया ढुङ्गा जाँदै गरेको से १ ज ९८९ नम्बरको जिप मालिवन भन्ने ठाउँमा अनियन्त्रित भई दुर्घटना भएको हुन सक्ने प्रहरी निरीक्षक किशोरसिंह ऐरीले जानकारी दिए।
उनका अनुसार जिपमा सवार जय मालिका यातायात प्रालिका ‘काउन्टर प्रमुख’ मदन रोकाया घाइते भएका छन् । जिप सडकबाट करिब २०० मिटर तल खोलामा खसेको प्रहरीले जनाएको छ। घटनाको थप अनुसन्धानका लागि प्रहरी टोली घटनास्थल पुगेको छ।
हात्तीको आक्रमणबाट झापामा १ जनाको मृत्यु
झापा । हात्तीको आक्रमणबाट झापामा १ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको शिवसताक्षी नगरपालिका–११ दुधेका ४५ वर्षीय मेघराज राई रहेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
कार्यालयका प्रवक्ता खगेन्द्र रिजालका अनुसार हात्तीले मध्यरातमा घर भत्काउन थालेपछि धपाउने क्रममा राईलाई आक्रमण गरेको र उनीको घटनास्थलमा नै मृत्यु भएका थियो।
हात्तीको तोडफोडबाट १ लाख ५० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ। योसँगै झापामा चालु आर्थिक वर्षमा हात्तीको आक्रमणबाट चारजनाको मृत्यु भइसकेको छ।
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
काठमाण्डौ । नेपाली कांग्रेसको भएको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्नेछ । बिहीबारदेखि शुरू भएको बैठक आज पनि जारी रहने भएको हो । बैठक बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालयमा नै बस्नेछ ।
बिहीबारको बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो । हिजो महामन्त्री विश्वप्रकाश शर्माले प्रस्तावहरू प्रस्तुत गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
‘समुदायमा कांग्रेस अभियान’को कार्ययोजनाका सम्बन्धमा महामन्त्री गगन थापाले र जाजरकोट भूकम्पका सम्बन्धमा सहमहामन्त्री जीवन परियारले बैठकलाई जानकारी गराएका थिए ।
बैठकमा केन्द्रीय सदस्यहरू दिलेन्द्रप्रसाद बडू, कृष्णचन्द्र नेपाली पोखरेल, दीपक गिरी, मीनबहादुर विश्वकर्मा, मोहनबहादुर बस्नेत, देवेन्द्रराज कँडेल, डा. डिला सङ्ग्रौला, कर्णबहादुर बुढा, राजीव कोइराला, नैनसिंह महर, मुक्ताकुमारी यादव, रङ्गमती शाही, मदनकृष्ण श्रेष्ठ, भरतकुमार शाह, सीतादेवी देवकोटाले आ–आफ्नो धारणा व्यक्त गरेका थिए । आज थप केन्द्रीय सदस्यहरूले धारणा राख्ने जनाईएको छ ।
सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज पनि सुनुवाइ हुँदै
काठमाडौं । जिल्ला अदालत काठमाडौंमा क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारसम्बन्धी मुद्दामा अन्तिम सुनुवाइ प्रारम्भ भए पनि बहस नसकिएपछि ‘हेर्दाहेर्दै’मा आजका लागि राखिएको छ ।
न्यायाधीश शिशिरराज ढकालको इजलासमा यही पुस ८ गतेदेखि निरन्तर सुनुवाइ सुरु गरिए पनि बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा आज सुनुवाइ हुने भएको हो ।
यसअघि, नाबालिक बलात्कार मुद्दाको थुनछेक बहसमा काठमाडौं जिल्ला अदालतले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो भने उच्च अदालत पाटनले रु २० लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।
सर्वोच्च अदालतले लामिछानेलाई विदेशका प्रतियोगितामा भाग लिन जान पाउने आदेशसमेत गरेको थियो ।
काठमाडौं जिल्ला अदालतमा पटक पटक पेसी तोकिए पनि अहिलेसम्म फैसला हुन सकेको छैन् ।
सन्दीप लामिछाने विरूद्वको मुद्वाको सुनुवाइ आज पनि सकिएन
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्वाको सुनुवाइ आज पनि हेर्दाहेर्दैमा रहेको छ ।
काठमाडौं जिल्ला अदालतमा जारी सुनुवाइमा सन्दीप पक्षका वकिलको बहस नसकिएपछि आज पनि मुद्वा हेर्दाहेर्दैमा रहेको हो ।
पीडित भनिएकी किशोरीको तर्फबाट हिजो नै बहस सकिएको छ । अब सन्दीप पक्षका वकिलको बहस सकिएपछि फैसला आउनेछ ।
सम्भवत ः भोलि बहस सकिएर फैसला आउने सम्भावना रहेको जनाईएको छ ।
प्रधानमन्त्री कार्यालयको ६८ दरबन्दी कटौती गर्ने निर्णय
काठमाडौं । सरकारले प्रधानमन्त्री कार्यालयका ६८ वटा दरबन्दी कटौती गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले त्यस्तो निर्णय भएको जानकारी दिइन् ।
“प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रस्तावमा कार्यालयको पुनर्संरचनासहितको संगठन तथा सर्वेक्षण स्वीकृत गर्ने भन्ने निर्णय भएको छ । यस अनुसार प्रधानमन्त्री कार्यालयको हालको दरबन्दीमा ६८ वटा दरबन्दी कम हुने भन्ने छ,” उनले भनिन् ।
शर्माले प्रधानमन्त्री कार्यालयको ६८ दरबन्दी कटौती भएको जानकारी दिईन । प्रधानमन्त्रीले एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री कार्यालयको पुनर्संरचनाबाट सुरु गर्ने भनेको र सोही अनुसार भएको उनले जनाईन ।
नबिल बैंकको ११ प्रतिशत लाभांश पारित
काठमाडौं । नबिल बैंक लिमिटेडले आफ्नो ३९ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । बैंक सञ्चालक समितिका अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालको अध्यक्षतामा बिहीबार वार्षिक साधारण सभा सम्पन्न गरिएको हो ।
सभाले बैंकको सञ्चालक समितिले सिफारिस गरे बमोजिम तथा नेपाल राष्ट्र बैंकको स्वीकृति अनुसार आव २०७९, ०८० को मुनाफाबाट शेयरधनीहरूलाई ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बैंक आव २०७९, ८० मा रु. ६ अर्ब ४० करोड मुनाफा गर्न सफल भएको थियो ।
नबिलले वित्तीय क्षेत्रमा करिब चार दशक समय अघिदेखि गुणस्तर बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । पछिल्लो समय यस बैंकले दिगो बैंकिङको अवधारणालाई आत्मसाथ गर्दै डिजिटल बैंकिङको लागि एनबैंक सञ्चालनमा ल्याएको छ ।
बैंकका अध्यक्ष पौड्यालले देशको अर्थतन्त्रको परिदृश्यलाई मध्यनजर गरेर बैंकले आफ्ना गतिविधि सञ्चालन गरेको जानकारी दिए । ‘देशको अर्थतन्त्रको पछिल्लो परिदृष्यहरूलाई मध्यनजर गर्दै नबिल बैंकले नेपालको बैंकिङ क्षेत्रलाई आधुनिकीकरण गर्न, देशको व्यावसायिक एवं औद्योगिक गतिविधिहरूलाई गतिशीलता प्रदान गर्न, देशमा रोजगारीका अवसरहरू सिर्जना गर्न सहयोगी भूमिका निर्वाह गरेको छ’, उनले भने ।
नबिलले देशभर २६६ शाखा सञ्जालसहित २२ वटा एक्सटेन्सन काउन्टर र ३१३ एटिएम मेसिनबाट सेवा प्रदान गर्दै आएको जनाएको छ ।