काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अमर शहीदहरूप्रति सम्मान प्रकट गरेका छन ।
आज मंगलबार शहीद दिवस, २०८० को अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष ओलीले युगलाई जहानियाँ राणा शासनको अध्यारोबाट प्रजातन्त्रको उज्यालो दिन जीवन अर्पण गर्नुभएका अमर शहीदहरू गंगालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमा र शुक्रराज शास्त्रीप्रति सम्मान प्रकट गरेका हुन ।
अध्यक्ष ओलीले आफ्नो फेसबुकमार्फत शहीद दिवसको प्रेरणा नभुलौं भन्नुहुँदै सबैलाई शुभकामना दिएका हुन । अध्यक्ष ओलीले लेखेका छन,‘युगलाई जहानियाँ राणा शासनको अँध्यारोबाट प्रजातन्त्रको उज्यालो दिन जीवन अर्पण गर्नु भएका अमर शहीद गंगालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमा, शुक्रराज शास्त्रीलाई नमन । शहीद दिवसको प्रेरणा नभुलौं, सबैलाई शुभकामना ’
शहीद दिवसको प्रेरणा नभुलौं ः अध्यक्ष ओली
सहिद प्रेरणाका स्रोत र पथप्रदर्शक रहिरहन्छन् ः प्रधानमन्त्री
काठमाण्डु । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियता, जनतन्त्र र जनजीविकाको पक्षमा संघर्ष गर्ने क्रममा बलिदान गर्ने सहिद हरू विगत, वर्तमान र भविष्यका निम्ति प्रेरणाका स्रोत र पथप्रदर्शक रहिरहने जनाएका छन् ।
सहिद दिवस २०८० का अवसरमा मंगलबार शुभकामना दिँदै उनले देश र जनताको मुक्ति एवं परिवर्तनका निम्ति सहिदले देखेका सपना र लिएको अठोटलाई शीरोधार्य गर्दै क्रान्तिका बाँकी कार्यभार पूरा गर्न संकल्प गर्नुपर्ने जानकारी दिएकिा छन् ।
प्रधानमन्त्री प्रचण्डले सहिदको योगदानलाई सम्मान गर्दै उनीहरूको योगदान र कृति चीरस्थायी तुल्याउने एवं सहिद परिवारको उचित सम्मान, संरक्षण र जीवनवृत्तिका निम्ति समर्पित हुने दिनका रूपमा सहिद दिवस रहिआएको जनाए । उनले भने, “यही यथार्थलाई आत्मसात् गर्दै सरकारले इतिहासका विभिन्न कालखण्डमा सहादत प्राप्त गर्ने सपूतलाई राष्ट्रिय सहिद घोषणा गर्दै उनीहरूको सम्मान र परिवारको संरक्षण र अभिभावकत्वको पक्षलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको छ ।”
प्रधानमन्त्री प्रचण्डले पहिचान र अधिकारका निम्ति विभिन्न वर्ग, जाति, क्षेत्र, लिंग र समुदायको नेतृत्वमा भएका न्यायपूर्ण आन्दोलनको बलमा नै वर्तमान संविधान र लोकतान्त्रिक व्यवस्था प्राप्त भएको उल्लेख गर्दै वर्तमानमा प्राप्त उपलब्धिको रक्षा र सुदृढ गर्दै थप अधिकारका निम्ति समर्पित हुनु नै सहिद हरूप्रति सच्चा श्रद्धाञ्जलि हुने जानकारी दिए ।
उनले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरणसहित थप अधिकारका निम्ति कर्तव्यनिष्ठ भएर अगाडि बढ्न सहिद दिवसबाट प्रेरणा मिल्ने विश्वास व्यक्त गरे । प्रधानमन्त्री प्रचण्डले मुलुकका निम्ति जीवन अर्पण गर्ने सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै सम्पूर्ण बेपत्ता योद्धाको उच्च सम्मान र घाइते योद्धाको शीघ्र स्वास्थ्यलाभसहित दीर्घजीवनको कामना गरेका छन् ।
आज शहीद दिवस मनाइँदै
काठमाडौं । देश र जनताको हित र अधिकारका लागि जीवन त्याग गर्नुभएका शहीदप्रति सम्मान गर्दै आज देशभर शहीद दिवस मनाइँदै छ । प्रत्येक वर्ष माघ १६ गते मनाइने शहीद दिवस प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी मनाउने गरिएको छ ।
नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाउन इतिहासका विभिन्न काल खण्डमा निरङ्कुश र तानाशाही शासन व्यवस्थाविरुद्ध भएका क्रान्ति तथा लोकतान्त्रिक जनआन्दोलनमा आफ्नो जीवन बलिदान गर्ने वीर वीरङ्गानाहरूप्रति सम्झना गर्दै यो दिवस मनाइँदै आइएको छ ।
वीर शहीद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठको सङ्घर्षमय जीवन र बलिदानको गाथा र प्रजातान्त्रिक आन्दोलनका अरू योद्धाहरूको योगदानमा शहीद दिवस मनाइएको हो ।
निरङ्कुश जहानियाँ राणा शासनविरुद्ध आफ्नो ज्यानको बलिदान गरेका वीर शहीदको स्मरणमा विभिन्न गैरसरकारी सङ्घसंस्थाको पहलमा हरेक वर्ष माघ १० देखि १६ गतेसम्म ‘शहीद सप्ताह’ पनि मनाइँदै आएको छ ।
विभिन्न समयमा भएका आन्दोलनमा होमिएर राष्ट्रका लागि वीरगति प्राप्त गरेका शहीदको साहस र त्यागको पनि लेखाजोखा र उच्च मूल्याङ्कन गर्दै माघ १६ लाई शहीद दिवसका रुपमा मनाइएको हो ।
स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा शहीद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौंको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिइएको थियो ।
दरबार हत्याकाण्डको छानबिन हुने प्रधानमन्त्रीको दाबी
सिमरा । प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डुले २०५८ सालमा भएको दरबार हत्याकाण्डको छानबिन हुने दाबी गरेका छन् । सोमबार बाराको सिमरा विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा प्रधानमन्त्रीले सो कुरा जनाएका हुन् ।
प्रधानमन्त्रीले संघीय लोकतान्त्रिक गणतन्त्रले सबैलाई स्वतन्त्रतापूर्वक अधिकार दिए पनि व्यवस्थाका विरूद्ध उभिने र षड्यन्त्रपूर्ण गतिविधि गर्ने अधिकार कसैलाई नभएको स्पष्ट पारे ।
कर्णालीले औषधि उत्पादनमा विशेष पहल लिनुपर्ने प्रधानमन्त्रीको धारणा
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्राकृतिक स्रोत र सम्पदाहरूको बहुआयामिक उपयोग गरेर कर्णालीले औषधि उत्पादनमा विशेष पहल लिनुपर्ने धारणा व्यक्त गरेका छन ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभालाई सम्बोधन गर्दै उउनले भने, “कर्णाली प्रदेश अथाह प्राकृतिक स्रोत र मुख्यत जडीबुटी स्रोतमा महत्त्वपूर्ण छ । तसर्थ, प्राकृतिक स्रोत र सम्पदाहरूको बहुआयामिक उपयोगका साथै औषधि उत्पादनका क्षेत्रमा समेत पहल लिनुपर्दछ ।” उनले औषधि उत्पादनका लागि आवश्यक गृहकार्य गर्नसमेत प्रतिष्ठानलाई निर्देशन दिए ।
साधनस्रोतको अभावका बीचमा रहेर प्रतिष्ठानले राम्रो काम गर्दै आएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले आगामी दिनमा कर्णालीको अथाह सम्भावनालाई सदुपयोग गर्ने योजनामा सरकारले सघाउने उल्लेख गरे । उनले भने, “बाटोघाटोको असुविधा, दक्ष चिकित्सकहरू र प्राविधिकहरूको अभाव, अन्य साधनस्रोतको अभावजस्ता समस्याहरू छन्, जसले सेवा प्रवाह र दक्ष जनशक्ति उत्पादनमा चुनौती देखिएको छ । आगामी दिनमा यसको सम्बोधनका निम्ति सरकारको तर्फबाट उचित पहल हुनेछ ।”
चिकित्सक, प्राविधिकहरू र कर्मचारीहरूको वृत्तिविकास र सेवा सुविधाबारे राखिएका चासो र मागबारे आफू जानकार रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भने, “तपाईंहरूका मागहरू क्रमशस् सम्बोधन गर्दै जाने विश्वाससमेत दिलाउँछु ।”
माछापुच्छ्रे बैंक र सेन्ट जेभिर्यस कलेजबीच संझौता
काठमाडौं । माछापुच्छ्रे बैंकले सेन्ट जेभिर्यस कलेजसँग डिजिटल बैंकिङ्ग प्रवद्र्धन अन्तर्गत विद्यार्थीको क्षमता वृद्धिको लागि साझेदारी गरेको छ ।
उक्त साझेदारी अन्तर्गत बैंकले कलेजको आन्तरिक कार्यक्रम एसएक्ससी स्यान्डबक्सलाई प्रायोजन गरेको हो । एसएक्ससी स्यान्डबक्स एक आइटी सम्बन्धी रमाइलो ४८ घण्टा अवधिको ह्याकाथन कार्यक्रम आयोजना गरेको थियो जहाँ सहभागीहरूलाई सुचना तथा प्रविधि सम्बन्धी कार्य र रचनात्मक समस्या समाधानमा संलग्न हुन प्रेरित गर्दछ ।
डिजिटल बैंकिङ्गमा आक्रमक बन्दै देशका हरेक स्थानमा सरल र सहज सेवा विस्तार गर्ने क्रममा माछापुच्छ्रे बैंकले उक्त कलेजसँग आन्तरिक कार्यक्रम एसएक्ससी स्यान्डबक्सलाई प्रयोजन गरी यसबाट विजेता टिमलाई ६ महिनाको लागि बैंकले आफ्नै निगरानीमा राखी विभित्र आन्तरिक तथा ग्राहकमुखी इनोभेसनसम्बन्धी काम गर्नको लागि आवश्यक अवसर प्रदान गर्ने छ।
जसले गर्दा बैंकले आइटी विषय लिई अध्यनरत विद्यार्र्र्थीहरुलाई व्यावहारिक ज्ञान लिन प्रभावकारी भुमिका खेल्न मद्दत गर्दछ । यस प्रकारको सम्झौताले माछापुच्छ्रे बैंक र सेन्ट जेभिर्यस कलेजको सम्बन्धमा नयाँ आयाम थपेको छ ।
रिलायबल नेपाल लाइफले दियो १४ लाख रुपियाँ मृत्यु दाबी भुक्तानी
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको एक व्यक्तिलाई १४ लाख रुपियाँ मृत्यु दाबी भुक्तानी प्रदान गरेको छ ।
कम्पनीको सुर्खेत शाखामा बीमा गरेका सल्यान जिल्ला कालिमाटी गाउँपालिका वडा नंं ५ निवासी रामबहादुर घर्तीको मलेसियामा मंसिर २२ गते मृत्यु भएको थियो ।
सोही बीमितको बीमा रकम कम्पनीका सुर्खेत शाखा प्रमुख र कर्णाली प्रदेश प्रमुख रामचन्द्र भण्डारी, जनप्रतिनिधि निमवहादुर बुढामगरको रोहवरमा श्रीमती काशीमाया घर्तीलाई आज १४ लाख रुपियाँ उनकै घरमा गई दावी भुक्तानी गरिएको विज्ञप्ति मार्फत जनाएको छ ।
शेयर बजारमा १०.२६ अंकको सुधार, साढे ४ अर्ब बढीको कारोबार
काठमाडौं । शेयर बजार आज पनि दोहोरो अंकले बढेको छ । बजार दोहोरो अंकले उचालिएसँगै कारोबार रकम पनि साढे ४ अर्ब नाघेको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १०.२६ अंकले बढेको हो । ०.४८ प्रतिशतले बजार बढ्दा नेप्से २१०४.७२ अंकमा उक्लिएको छ ।
आज ३११ कम्पनीका १ करोड २३ लाख २२ हजार ७ सय ५ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५६ करोड ६५ लाख २२ हजार २ सय ३०.८२ रुपियाँ बराबरको कारोबार भएको हो ।
आज तीन कम्पनीमा पोजेटिभ सर्किट लागेको छ । यूनियन हाइड्रो, अरुण भ्याली हाइड्रो र मिड सोलु हाइड्रोको शेयर मूल्य क्रमशः १०, ९.९९ र ९.९९ प्रतिशतले बढेको हो । आज हाइड्रो समूहमा उल्लेख्य बृद्धि भएको छ ।
त्यस्तै गरिमा विकास बैंकको ऋणपत्रका लगानीकर्ताहरुले सबैभन्दा बढी १० प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज पनि हिमालयन रि इन्स्योरेन्सको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ६० करोड १६ लाख ७१ हजार ८ सय ९.२० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।
साताको पहिलो दिन हिजो आइतबार बजार १०.३७ अंकले बढ्दा ३ अर्ब ८३ करोड ३७ लाख ७६ हजार ५ सय ८०.७६ रुपियाँ बराबरको कारोबार भएको थियो ।
इजिप्टलाई ‘सडन डेथ’मा हराउँदै कंगो क्वार्टरफाइनलमा

काठमाडौं । साविक उपविजेता इजिप्टविरुद्ध ‘सडन डेथ’मा ८–७ को जित निकाल्दै कंगो अफ्रिका कप अफ नेसन्सको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । आइतबार राति आइभोरी कोस्टको स्टाड डे सान पेड्रोमा भएको खेलको निर्धारित र अतिरिक्त समय १–१ को बराबरीमा सकिएपछि कंगो पेनाल्टीमा विजयी भएको हो ।
पेनाल्टी सुटआउटमा सुरुआती पाँच पेनाल्टी ४–४ को बराबरीमा सकिएको थियो । सडन डेथमा इजिप्टबाट प्रहारका निम्ति आएका आठौँ खेलाडी गोल गर्न चुके ।
त्यसअघि, खेलको ३७औँ मिनेटमा मेसाक एलियाले गरेको गोलबाट कंगोले अग्रता बनाएको थियो । तर, पहिलो हाफको इन्ज्युरी समयमा मोस्तफा मोहमेदले गोल गर्दै इजिप्टलाई खेलमा फर्काएका थिए ।
९७औँ मिनेटमा मोहमेद हम्दीले दोहोरो पहेँलो कार्डपछि रातो कार्डको दर्शन गर्दा इजिप्ट १० खेलाडीमा समेटिएको थियो ।
कंगोले अब सेमिफाइनल प्रवेशका लागि फेब्रुअरी ३ मा गिनीविरुद्ध खेल्नेछ । गिनीले आइतबार राति नै भएको खेलमा इक्वेटोरियल गिनीविरुद्ध १–० को जित निकाल्दै क्वार्टरफाइनलमा स्थान निश्चित गरेको हो ।
गिनीको जितमा मोहमेद बायोले निर्णायक गोल गरे । बायोले खेलको इन्ज्युरी समयमा गोल गर्दै गिनीको जित निश्चित गरेका थिए ।
सरकारले एकसाथ २२ ठेकेदार कम्पनीलाई राख्यो कालो सूचीमा
काठमाडौं । सरकारले एकसाथ २२ वटा कम्पनीलाई कालो सूचीमा राखेको छ। न्यूनतम १ वर्षदेखि अधिकतम् ३ वर्षसम्मका लागि कम्पनीहरुलाई कालो सूचीमा राखिएको हो।
कालो सूचीमा पर्नेमध्ये अधिकांश निर्माण कम्पनीहरु छन्। उनीहरुले सडक निर्माण तथा विभिन्न सरकारी ठेक्काहरु अलपत्र पारेको पाइएपछि कालो सूचीमा राखिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले जानकारी दिएको छ।
कालो सूचीमा पर्नेमा भरतपुर–७ चितवनको लहोनी एन्ड ब्रदर्स प्रालि, कोहलपुर–११ बाँकेको जेके विल्डर्स, सान्नी त्रिवणी–४ कालिकोटको सर्मिला निर्माण सेवा र कीर्तिपुर–४ काठमाडौंको ओम गौरीशंकर इन्फंरास्ट्रक्चर प्रालि छन्। यी कम्पनीलाई ३ वर्षका लागि कालो सूचीमा राखिएको छ। ललितपुर महानगरपालिका–१५ सातदोबाटोको देवी रमण कन्स्ट्रक्सन कम्पनी प्रालिलाई २ वर्ष ६ महिनाका लागि कालो सूचीमा राखिएको छ।
बन्दपुर–४ तनहुँको खड्गदेवी कन्स्ट्रक्सन, इलामको गजुरमुखी निर्माण कम्पनी प्रालि, जनकपुर–७ धनुषाको नव निर्माण बिल्डर्स प्रालि र काठमाडौं महानगरपालिका–३२ को एसबीएम इन्जिनियरिङ एसोसियट्स २ वर्षका लागि कालो सूचीमा परेका छन्।
बन्दिपुर–४ तनहुँको खड्गदेवी कन्स्ट्रक्सनलाई अर्को ठेक्का पनि अलपत्र पारेको भन्दै थप १ वर्ष ६ महिनाका लागि कालो सूचीमा राखिएको छ। यस्तै, हेटौँडा–६ मकवानपुरको शिवालय बिल्डर्स, काठमाडौं महानगरपालिका–३२ को न्यू नेहा इन्टरप्राइजेज, धनगढी–८ कैलालीको बेहडाबाबा निर्माण सेवा र नयाँ बानेश्वर काठमाडौंको पाँचखाल कन्स्ट्रक्सन प्रालिलाई पनि १ वर्ष ६ महिनाका लागि कालो सूचीमा राखिएको छ।
बन्दिपुर–४ तनहुँको खड्गदेवी कन्स्ट्रक्सनलाई अर्को ठेक्का पनि अलपत्र पारेको भन्दै थप १ वर्षका लागि कालो सूचीमा राखिएको छ। यस्तै, वीरेन्द्रनगर सुर्खेतको न्यू भेरी इन्जिनियरिङ वर्कशप, भिमाद–१ तनहुँको आयुष एन्ड अनुष कन्स्ट्रक्सन एन्ड सप्लायर्स, गोरखा नगरपालिका–३ को अनुपमा निर्माण सेवा, पालुङ्टार–५ गोरखाको अन्नपूर्ण निर्माण सेवा, गोरखाकै लक्ष्मी कन्स्ट्रक्सन, वीरगन्ज–१६ पर्साको शारदा कन्स्ट्रक्सन कम्पनी र पुम्दिभुम्दि–४ कास्कीको त्रिवेणी निर्माण सेवालाई १ वर्षका लागि कालो सूचीमा राखिएको छ।
कालो सूचीमा परेका कम्पनीहरुले कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नसक्ने सार्वजनिक खरिद अनुगमन कार्यालयले जानकारी दिएको छ।