Page 23

नेकपा एमालेले टुंग्यायो राष्ट्रियसभा सदस्यको उमेदवार

काठमाडौं । नेकपा (एमाले) ले आफ्नो तर्फबाट राष्ट्रियसभा सदस्यको उमेदवार छानेको छ । महासचिव शंकर पोखरलले विज्ञप्ति जारी गरी उमेदवार छानिएको जानकारी गराएका छन् ।
कोसी प्रदेशमा महिलातर्फ रुक्मिणी कोइराला (सुनसरी) र अन्यतर्फ पर्शुराम अधिकारी (भोजपुर) लाई उमेदवार बनाइएको छ ।
मधेस प्रदेशमा महिलातर्फ उषादेवी थरुनी (पर्सा) र अन्यतर्फ डा. अर्जुनकुमार सिंह राजपुत (महोत्तरी) लाई एमालेले उमेदवार बनाएको छ ।
वाग्मती प्रदेशमा महिलातर्फ रोचकुमारी चौलागाईं (दोलखा), अन्यतर्फ त्रिलोचन निर्मल पौडेल (चितवन), अपांगता अल्पसंख्यकतर्फ विवेक देवकोटा (काठमाडौं) र दलिततर्फ ध्रुवराज विश्वकर्मा (धादिङ) लाई उमेदवार बनाइएको विज्ञप्तिमा उल्लेख छ ।
गण्डकी प्रदेशमा महिलातर्फ सम्झना देवकोटा (गोरखा), अन्यतर्फ चक्रबहादुर पराजुली (स्याङ्जा) र अपांगता अल्पसंख्यकतर्फ हेमचन्द्र शेरचन (मुस्ताङ) लाई उमेदवार बनाइएको छ ।
लुम्बिनी प्रदेशमा महिलातर्फ तुलसाकुमारी केसी (दाङ) र अन्यतर्फ झपेन्द्रबहादुर घर्तीक्षेत्री (पाल्पा) लाई उमेदवार बनाउने निणएय गरिएको छ ।
कर्णाली प्रदेशमा महिलातर्फ विमलाकुमारी शाही (हुम्ला), अन्यतर्फ डिल्लीप्रसाद भट्ट (मुगु) र दलिततर्फ हिक्मत विक (दैलेख) लाई उमेदवार बनाइएको छ ।
सुदूरपश्चिम प्रदेशमा महिलातर्फ सावित्रादेवी घिमिरे (कैलाली), अन्यतर्फ ईश्वरीप्रसाद खरेल (कञ्चनपुर) र अपांगता अल्पसंख्यकतर्फ रामचन्द्र जोशी (कैलाली)लाई उमेदवार चयन गरिएको पोखरेलले जानकारी दिए ।
एमालेले सत्ता गठबन्धनसँग सहकार्य गर्ने विषयमा कुरा नमिलेपछि एक्लै १९ वटै पदमा उमेदवार तय गरेको हो ।

माओवादी केन्द्रले टुंग्यायो राष्ट्रियसभा उम्मेदवारको नाम

काठमाण्डौ । नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा निर्वाचनमा आफ्नो भागमा परेका ६ वटै सिटमा उम्मेदवारको नाम टुंगो लगाएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले उम्मेदवारको टुंगो लगाएको सचिव देवेन्द्र पौडेलले जानकारी दिए ।
पौडेलका अनुसार कोशीबाट महिला कोटामा चम्मादेवी कार्की, बागमतीमा अन्यतर्फ श्रीकृष्ण अधिकारी, गण्डकीमा महिलातर्फ मनरूपा शर्मा, लुम्बिनीमा अन्यमा झक्कु सुवेदी, कर्णालीमा दलित कोटामा विष्णु विश्वकर्मा र सुदूरपश्चिममा महिला कोटामा रेणु चन्दको नाम टुंगो लागेको हो ।
राष्ट्रिय सभामा रिक्त हुने १९ पदका लागि माघ ११ गते निर्वाचन हुँदैछ। राष्ट्रियसभा निर्वाचनको भोलि उम्मेदवारी दर्ता हुँदैछ ।

सत्ता गठबन्धनबीच सहमतिको प्रारम्भिक खाका तयार

काठमाडौं । राष्ट्रियसभा निर्वाचनका लागि सत्ता गठबन्धनमा आबद्ध दलहरूबीच सहमतिको प्रारम्भिक खाका तयार भएको छ ।
हिजो राति अबेरसम्म बसेर प्रारम्भिक खाका तयार पारिएको एक नेताले जानकारी दिएका छन । जसअनुसार कांग्रेसले १०, माओवादीले ६, एकीकृत समाजवादीले दुई र जसपाले एक सिट पाउने गरी सहमतिको प्रस्ताव गरिएको छ ।
एकीकृत समाजवादीले भने सिट चित्त नबुझेको भन्दै हिजो बैठक छोडेर हिँडेका थिए । यता, सत्ता गठबन्धनमा साना दलहरूले सिट मागे पनि उनीहरूले नपाउने निश्चित जस्तै भएको छ ।
सोमबार मनोनयन दर्ता गराउनुपर्ने भएकाले बेलुकासम्म सहमति गरिने माओवादी महासचिव देव गुरुङले जनाएका छन ।
“हिजै टुंग्याउने प्रयास गरेका थियौँ । आज बैठक बस्छौँ । बेलुकीसम्म टुंगिएला,” उनले भने ।
राष्ट्रियसभा निर्वाचन आगामी माघ ११ गते हुँदै छ । राष्ट्रियसभामा रिक्त १९ पदका लागि निर्वाचन हुँदै छ ।

त्रिविको उपकुलपति नियुक्तिसम्बन्धी विज्ञापन रद्द

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान गर्दै गरेको विज्ञापन रद्द गरेको छ ।
विज्ञापनमा राखिएको त्रिवि पदाधिकारीको अनुभव सम्बन्धी व्यवस्थामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नै असहमति राखेपछि शिक्षा मन्त्रालयले गत शुक्रबार प्रकाशित विज्ञापन रद्द गरेको हो । उपकुलपति छनोट तथा सिफारिस समितिले यसअघि प्रकाशन भएको सूचना रद्द गर्दै त्यसबारे आवश्यक व्यवस्था गरी पछि अर्को सूचना प्रकाशन गर्ने जानकारी दिर्इृएको छ ।
समितिले प्रकाशन गरेको सूचनामा उपकुलपतिमा आवेदन दिनका लागि विगतमा कुनै एक पदाधिकारी भइसकेको हुनुपर्ने प्रावधान थियो । त्यस्तो व्यवस्थाबारे सामाजिक सञ्जालमा चर्को आलोचना समेत भएको थियो ।
प्रधानमन्त्री दाहालले सो समितिका संयोजक एवम् शिक्षामन्त्री अशोककुमार राईलाई बोलाएर सूचनामा राखिएको अनुभव सम्बन्धी व्यवस्था हटाउन निर्देशन दिएका थिए ।
समितिले शनिबार हाललाई सो सूचना नै रद्द गर्ने निर्णय गरेको हो । अब प्रावधान सच्याएर अर्को विज्ञापन प्रकाशन गर्ने समितिले जानकारी दिएको छ ।

सत्ता गठबन्धनले राष्ट्रियसभा निर्वाचनमा एमालेलाई नसमेट्ने

काठमाण्डौ । सत्ता गठबन्धनको आज बसेको बैठकले राष्ट्रियसभाको निर्वाचनमा एमालेलाई नसमेट्ने निर्णय गरेको छ ।
आज बालुवाटारमा बसेको बैठकले एमालेलाई सत्ता गठबन्धनले राष्ट्रिय सभाको निर्वाचनमा नसमेट्ने निर्णय गरेको हो । गठबन्धनबीच भागबण्डा टुंग्याउनको लागि साँझ फेरि बैठक बस्ने जनाईएको छ । यता नेकपा एमालेले पनि १९ वटै सिटमा उम्मेदवारी दिने निर्णय गरेको छ ।

बीपीको जस्तो नैतिक धरातल अहिलेको कांग्रेसमा नभएको डा. यादवको टिप्पणी

काठमाडौं । नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले बीपी कोइरालाको पालाको राजनीतिक परिवेशलाई जोडेर अहिले देशमा केही भएन भनेर मूल्यांकन गर्नु उचित नभएको जानकारी दिएका छन् ।
देशमा दुईवटा संविधान सभाबाट जारी भएको नेपालको संविधानपछि पनि जनताको अवस्थामा देखिने गरी सुधार नहुनु चिन्ताको विषय भएको उनको भनाइ थियो । बीपीले लिएको गाउँ जोड्ने नीतिलाई मनन् गर्नुपर्ने धारणा राख्दै यादवले पछाडि फर्किने भन्दा बीपी, समाज, राजनीति र अहिलेको व्यवस्थाको अध्ययन गरी गम्भीर भएर अगाडी बढ्नुपर्ने सुझाए ।
बीपी विचार राष्ट्रिय समाजले प्रकाशनमा ल्याएको ‘बीपीवाद’ पुस्तकको शनिबार काठमाडौमा लोकार्पण गर्दै यादवले बीपीको विचार अजर र अमर रहेको उल्लेख गर्दै बीपीको पालामा जस्तो नेपाली कांग्रेसको दर्शन, विचार र नैतिक धरातल अहिलेको कांग्रेसजनमा नभएको टिप्पणी गरे ।
‘गौरव गर्छु कि म त्यो(कांग्रेस) संस्थामा छैन् । त्यो संस्थाबाट म देशको राष्ट्रपतिसम्म भएँ । त्यो संस्थाको दर्शन बीपीले दिनुभएको थियो र बीपीका जो सहयात्रीहरु थिए–गणेशमानजी, कृष्णप्रसादजी, गिरिजाप्रसाद कोइरालालगायतको नैतिक धरातल अहिलेको कांग्रेसीमा खोज्यौं भने हामी आफैं बुझिहाल्छौं,’ डा. यादवले भने ।
बीपीको फिजिसिएन बनेर काम गरेको स्मरण गर्दै डा. यादवले अब नेपालीहरुमा पछाडि फर्किएर हेर्ने समय नभएको उल्लेख गरे । ‘हामीले बीपीको, लोकतन्त्रको अध्ययन गरेका छौं । क्षेत्रीय र संसारको राजनीतिको अध्ययन गरौं । समाज परिवर्तनको इतिहास पढौं र जहाँसम्म आइसकेका छौं त्यो भन्दा अगाडि बढ्नको लागि हामीले बाटो खोजौं । पछाडि फर्केर हेर्ने हाम्रो समय छैन् ।’
तीन करोड नेपालीको र राष्ट्रको अस्तित्व जोगाउन साथै देशको अर्थतन्त्र मजबुद बनाउन गम्भीर भएर लाग्नुपर्ने उनको विचार थियो । उनले देशमा रोजगारी नपाएर विदेशिनुपर्ने बाध्यताको अन्त्य हुनुपर्नेमा जोड दिए । ‘आज लाखौं युवाहरु बाहिर गइरहेका छन् । बीपीले ‘यो गाउँको देश हो र गाउँलाई बनाउँनुपर्छ’ भनेर विस्तृत खाका दिनुभएको थियो । त्यसलाई विकाससँग जोडेको भए सायद आज यस्तो स्थिती आउने थिएन । यतातिर विद्धान र सरकारको ध्यान जाओस’, डा. यादवको अनुरोध थियो ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक १ बजे बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज शनिबार बस्दैछ ।
बैठक दिउँसो १ बजे ललितपुर सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ ।
बैठकमा राष्ट्रिय सभा निर्वाचन लगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

काठमाडौं लगायत देशभर चिसो बढ्यो

काठमाडौं । पछिल्ला दिनमा तापक्रम निरन्तर घट्दा देशभर चिसो बढिरहेको छ । संघीय राजधानी काठमाडौंलगायत देशभर चिसो ह्वात्तै बढेकाले यसबाट बच्न आवश्यक उपाय तथा सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार आज काठमाडौंको न्यूनतम तापक्रम चार दशमलव पाँच डिग्रीसेल्सियस तथा अधिकतम तापक्रम १७ डिग्रीसेल्सियस रहेको छ । शुक्रबार काठमाडौंको न्यूनतम तापक्रम तीन डिग्रीसेल्सियस थियो । काठमाडौंमा बिहानीपख हुस्सु लागे पनि दिउँसो पारिलो घाम लाग्ने गरेको छ । “तापक्रम हल्का घटिरहेको छ । यही तरिकाले तापक्रम ओरालो लाग्ने हो भने माइनसमा जानसक्छ”, मौसमविद् अधिकारीले भने ।
आइतबार बिहान न्यूनतम तापक्रम दुईदेखि चार डिग्रीसेल्सियस हुने पूर्वानुमान गरिएको छ । आज बिहान काठमाडौंको भिजिबिलिटी चार किलोमिटर रहेको छ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात भए पनि आगामी तीन दिनसम्म उल्लेखनीय मौसम प्रणाली नरहने मौसमविद् अधिकारीले जानकारी दिए ।
जुम्लामा सबैभन्दा धेरै तापक्रम घरेर माइनस पाँच दशमलव सात डिग्रीसेल्सियस रहेको छ । शुक्रबार जुम्लाको न्यूनतम तापक्रम माइनस ६ डिग्रीसेल्सियस थियो । महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । कोशी, मधेस प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । तराईका थोरै स्थानमा हुस्सुरकुहिरो लागेको छ ।
दिउँसो कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

त्रिविको विज्ञापन सच्याउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयले उपकुलपतिको नियुक्ति प्रक्रियाका लागि आह्वान गरेको विज्ञापनका प्रावधान सच्चाउन निर्देशन दिएका छन् ।
त्रिभुवन विश्वविद्यालयका कुलपति समेत रहेका प्रचण्डले शुक्रबार दिउँसो निर्देशन दिएका हुन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं विश्वविद्यालयका सहकुलपति अशोककुमार राईलाई प्रधानमन्त्रीको कार्यकक्षमा बोलाएर उक्त विज्ञापन सच्चाउन निर्देशन दिएका हुन् ।
शुक्रबार प्रकाशित गरिएको सूचनाले योग्य मान्छेहरू छनोटमा ढोका बन्द हुनसक्ने भन्दै त्यस्तो त्रुटिपूर्ण प्रावधान सच्चाएर अर्को सूचना निकाल्न भनिएको छ ।
शुक्रबार छनोट तथा सिफारिस समितिको तर्फबाट प्रकाशित सूचनामा ‘विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा तीन वर्ष काम गरेको (वर्ष, महिना र दिन समेत) व्यहोरा खुलेको विवरण प्रमाणित प्रतिलिपि’ पेस गरेकोे सूचनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै प्रधानमन्त्रीले पदाधिकारीमा तीन वर्षे अनुभवको प्रावधान हटाउन निर्देशन दिएको प्रधानमन्त्रीका सचिवालयले जनाएको छ ।
त्यस्तो प्रावधानले पूर्वपदाधिकारीहरू मात्रै प्रतिस्पर्धाका निम्ति योग्य हुने र त्यसले मेरिटोक्रेसीमा सिन्डिकेट लगाउनेमा हाम्रो चासो रहेको जनाउँदै प्रधानमन्त्रीले सक्षम र योग्य मान्छे आउने बाटो सम्पूर्ण रूपले खुला गरी अर्को विज्ञापन खोल्दै मन्त्रालयमार्फत समितिलाई निर्देशन दिएका हुन् ।

प्रधानमन्त्रीलाई अदालतको अवहेलना मुद्दामा सफाइ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अदालतको अवहेलना मुद्वामा सफाइ पाएका छन् ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासले प्रचण्डलाई सफाइ दिएको हो। प्रधानमन्त्री प्रचण्डविरूद्व सात वर्षअघि सर्वोच्च अदालतमा मुद्वा दायर भएको थियो । प्रचण्डले २०७३ जेठमा द्वन्द्वकालीनमा मुद्वामा विवादास्पद अभिव्यक्ति दिएका थिए ।
उनले अदालतमा आफूविरुद्ध षडयन्त्र भएको, माओवादी विरुद्ध अदालतलाई प्रयोग गरिएको र दिँउसै रात पार्ने प्रपञ्च भएको अभिव्यक्ति दिएका थिए ।
उनको अभिव्यक्तिले अदालतको अवहेलना भएको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लगायतले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
त्रिपाठीले दायर गरेको मुद्दामा सर्वोच्चले दाबी नपुग्ने ठहर गरेको हो।

लेटेष्ट समाचार

समानुपातिक बन्दसूचीका ७६ जना उम्मेदवार अयोग्य ठहर

काठमाण्डौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले समानुपातिक प्रणालीअन्तर्गत दलहरूले पेस गरेका बन्दसूचीबाट ७६ जना उम्मेदवारलाई अयोग्य...

नेपालले आज युएईविरुद्ध टी–२० क्रिकेट विश्वकपको वार्मअप खेल खेल्दै

काठमाडौँ । आईसीसी टी २० विश्वकपअन्तर्गत समूह चरणको खेल खेल्नुअघि पहिलो वार्म अप खेलमा नेपालले आज यूएईसँग खेल्दै छ। नेपाल र यूएईबीचको वार्म अप खेल...

झापा–५ मा बालेनको चुनावी अभियान तीव्र

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह यतिखेर झापामा छन्। निर्वाचन नजिकिँदै जाँदा उनले झापा–५ मा चुनावी प्रचारप्रसार तीव्र बनाएका...