Page 23

नेकपा एमालेले टुंग्यायो राष्ट्रियसभा सदस्यको उमेदवार

काठमाडौं । नेकपा (एमाले) ले आफ्नो तर्फबाट राष्ट्रियसभा सदस्यको उमेदवार छानेको छ । महासचिव शंकर पोखरलले विज्ञप्ति जारी गरी उमेदवार छानिएको जानकारी गराएका छन् ।
कोसी प्रदेशमा महिलातर्फ रुक्मिणी कोइराला (सुनसरी) र अन्यतर्फ पर्शुराम अधिकारी (भोजपुर) लाई उमेदवार बनाइएको छ ।
मधेस प्रदेशमा महिलातर्फ उषादेवी थरुनी (पर्सा) र अन्यतर्फ डा. अर्जुनकुमार सिंह राजपुत (महोत्तरी) लाई एमालेले उमेदवार बनाएको छ ।
वाग्मती प्रदेशमा महिलातर्फ रोचकुमारी चौलागाईं (दोलखा), अन्यतर्फ त्रिलोचन निर्मल पौडेल (चितवन), अपांगता अल्पसंख्यकतर्फ विवेक देवकोटा (काठमाडौं) र दलिततर्फ ध्रुवराज विश्वकर्मा (धादिङ) लाई उमेदवार बनाइएको विज्ञप्तिमा उल्लेख छ ।
गण्डकी प्रदेशमा महिलातर्फ सम्झना देवकोटा (गोरखा), अन्यतर्फ चक्रबहादुर पराजुली (स्याङ्जा) र अपांगता अल्पसंख्यकतर्फ हेमचन्द्र शेरचन (मुस्ताङ) लाई उमेदवार बनाइएको छ ।
लुम्बिनी प्रदेशमा महिलातर्फ तुलसाकुमारी केसी (दाङ) र अन्यतर्फ झपेन्द्रबहादुर घर्तीक्षेत्री (पाल्पा) लाई उमेदवार बनाउने निणएय गरिएको छ ।
कर्णाली प्रदेशमा महिलातर्फ विमलाकुमारी शाही (हुम्ला), अन्यतर्फ डिल्लीप्रसाद भट्ट (मुगु) र दलिततर्फ हिक्मत विक (दैलेख) लाई उमेदवार बनाइएको छ ।
सुदूरपश्चिम प्रदेशमा महिलातर्फ सावित्रादेवी घिमिरे (कैलाली), अन्यतर्फ ईश्वरीप्रसाद खरेल (कञ्चनपुर) र अपांगता अल्पसंख्यकतर्फ रामचन्द्र जोशी (कैलाली)लाई उमेदवार चयन गरिएको पोखरेलले जानकारी दिए ।
एमालेले सत्ता गठबन्धनसँग सहकार्य गर्ने विषयमा कुरा नमिलेपछि एक्लै १९ वटै पदमा उमेदवार तय गरेको हो ।

माओवादी केन्द्रले टुंग्यायो राष्ट्रियसभा उम्मेदवारको नाम

काठमाण्डौ । नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा निर्वाचनमा आफ्नो भागमा परेका ६ वटै सिटमा उम्मेदवारको नाम टुंगो लगाएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले उम्मेदवारको टुंगो लगाएको सचिव देवेन्द्र पौडेलले जानकारी दिए ।
पौडेलका अनुसार कोशीबाट महिला कोटामा चम्मादेवी कार्की, बागमतीमा अन्यतर्फ श्रीकृष्ण अधिकारी, गण्डकीमा महिलातर्फ मनरूपा शर्मा, लुम्बिनीमा अन्यमा झक्कु सुवेदी, कर्णालीमा दलित कोटामा विष्णु विश्वकर्मा र सुदूरपश्चिममा महिला कोटामा रेणु चन्दको नाम टुंगो लागेको हो ।
राष्ट्रिय सभामा रिक्त हुने १९ पदका लागि माघ ११ गते निर्वाचन हुँदैछ। राष्ट्रियसभा निर्वाचनको भोलि उम्मेदवारी दर्ता हुँदैछ ।

सत्ता गठबन्धनबीच सहमतिको प्रारम्भिक खाका तयार

काठमाडौं । राष्ट्रियसभा निर्वाचनका लागि सत्ता गठबन्धनमा आबद्ध दलहरूबीच सहमतिको प्रारम्भिक खाका तयार भएको छ ।
हिजो राति अबेरसम्म बसेर प्रारम्भिक खाका तयार पारिएको एक नेताले जानकारी दिएका छन । जसअनुसार कांग्रेसले १०, माओवादीले ६, एकीकृत समाजवादीले दुई र जसपाले एक सिट पाउने गरी सहमतिको प्रस्ताव गरिएको छ ।
एकीकृत समाजवादीले भने सिट चित्त नबुझेको भन्दै हिजो बैठक छोडेर हिँडेका थिए । यता, सत्ता गठबन्धनमा साना दलहरूले सिट मागे पनि उनीहरूले नपाउने निश्चित जस्तै भएको छ ।
सोमबार मनोनयन दर्ता गराउनुपर्ने भएकाले बेलुकासम्म सहमति गरिने माओवादी महासचिव देव गुरुङले जनाएका छन ।
“हिजै टुंग्याउने प्रयास गरेका थियौँ । आज बैठक बस्छौँ । बेलुकीसम्म टुंगिएला,” उनले भने ।
राष्ट्रियसभा निर्वाचन आगामी माघ ११ गते हुँदै छ । राष्ट्रियसभामा रिक्त १९ पदका लागि निर्वाचन हुँदै छ ।

त्रिविको उपकुलपति नियुक्तिसम्बन्धी विज्ञापन रद्द

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान गर्दै गरेको विज्ञापन रद्द गरेको छ ।
विज्ञापनमा राखिएको त्रिवि पदाधिकारीको अनुभव सम्बन्धी व्यवस्थामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नै असहमति राखेपछि शिक्षा मन्त्रालयले गत शुक्रबार प्रकाशित विज्ञापन रद्द गरेको हो । उपकुलपति छनोट तथा सिफारिस समितिले यसअघि प्रकाशन भएको सूचना रद्द गर्दै त्यसबारे आवश्यक व्यवस्था गरी पछि अर्को सूचना प्रकाशन गर्ने जानकारी दिर्इृएको छ ।
समितिले प्रकाशन गरेको सूचनामा उपकुलपतिमा आवेदन दिनका लागि विगतमा कुनै एक पदाधिकारी भइसकेको हुनुपर्ने प्रावधान थियो । त्यस्तो व्यवस्थाबारे सामाजिक सञ्जालमा चर्को आलोचना समेत भएको थियो ।
प्रधानमन्त्री दाहालले सो समितिका संयोजक एवम् शिक्षामन्त्री अशोककुमार राईलाई बोलाएर सूचनामा राखिएको अनुभव सम्बन्धी व्यवस्था हटाउन निर्देशन दिएका थिए ।
समितिले शनिबार हाललाई सो सूचना नै रद्द गर्ने निर्णय गरेको हो । अब प्रावधान सच्याएर अर्को विज्ञापन प्रकाशन गर्ने समितिले जानकारी दिएको छ ।

सत्ता गठबन्धनले राष्ट्रियसभा निर्वाचनमा एमालेलाई नसमेट्ने

काठमाण्डौ । सत्ता गठबन्धनको आज बसेको बैठकले राष्ट्रियसभाको निर्वाचनमा एमालेलाई नसमेट्ने निर्णय गरेको छ ।
आज बालुवाटारमा बसेको बैठकले एमालेलाई सत्ता गठबन्धनले राष्ट्रिय सभाको निर्वाचनमा नसमेट्ने निर्णय गरेको हो । गठबन्धनबीच भागबण्डा टुंग्याउनको लागि साँझ फेरि बैठक बस्ने जनाईएको छ । यता नेकपा एमालेले पनि १९ वटै सिटमा उम्मेदवारी दिने निर्णय गरेको छ ।

बीपीको जस्तो नैतिक धरातल अहिलेको कांग्रेसमा नभएको डा. यादवको टिप्पणी

काठमाडौं । नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले बीपी कोइरालाको पालाको राजनीतिक परिवेशलाई जोडेर अहिले देशमा केही भएन भनेर मूल्यांकन गर्नु उचित नभएको जानकारी दिएका छन् ।
देशमा दुईवटा संविधान सभाबाट जारी भएको नेपालको संविधानपछि पनि जनताको अवस्थामा देखिने गरी सुधार नहुनु चिन्ताको विषय भएको उनको भनाइ थियो । बीपीले लिएको गाउँ जोड्ने नीतिलाई मनन् गर्नुपर्ने धारणा राख्दै यादवले पछाडि फर्किने भन्दा बीपी, समाज, राजनीति र अहिलेको व्यवस्थाको अध्ययन गरी गम्भीर भएर अगाडी बढ्नुपर्ने सुझाए ।
बीपी विचार राष्ट्रिय समाजले प्रकाशनमा ल्याएको ‘बीपीवाद’ पुस्तकको शनिबार काठमाडौमा लोकार्पण गर्दै यादवले बीपीको विचार अजर र अमर रहेको उल्लेख गर्दै बीपीको पालामा जस्तो नेपाली कांग्रेसको दर्शन, विचार र नैतिक धरातल अहिलेको कांग्रेसजनमा नभएको टिप्पणी गरे ।
‘गौरव गर्छु कि म त्यो(कांग्रेस) संस्थामा छैन् । त्यो संस्थाबाट म देशको राष्ट्रपतिसम्म भएँ । त्यो संस्थाको दर्शन बीपीले दिनुभएको थियो र बीपीका जो सहयात्रीहरु थिए–गणेशमानजी, कृष्णप्रसादजी, गिरिजाप्रसाद कोइरालालगायतको नैतिक धरातल अहिलेको कांग्रेसीमा खोज्यौं भने हामी आफैं बुझिहाल्छौं,’ डा. यादवले भने ।
बीपीको फिजिसिएन बनेर काम गरेको स्मरण गर्दै डा. यादवले अब नेपालीहरुमा पछाडि फर्किएर हेर्ने समय नभएको उल्लेख गरे । ‘हामीले बीपीको, लोकतन्त्रको अध्ययन गरेका छौं । क्षेत्रीय र संसारको राजनीतिको अध्ययन गरौं । समाज परिवर्तनको इतिहास पढौं र जहाँसम्म आइसकेका छौं त्यो भन्दा अगाडि बढ्नको लागि हामीले बाटो खोजौं । पछाडि फर्केर हेर्ने हाम्रो समय छैन् ।’
तीन करोड नेपालीको र राष्ट्रको अस्तित्व जोगाउन साथै देशको अर्थतन्त्र मजबुद बनाउन गम्भीर भएर लाग्नुपर्ने उनको विचार थियो । उनले देशमा रोजगारी नपाएर विदेशिनुपर्ने बाध्यताको अन्त्य हुनुपर्नेमा जोड दिए । ‘आज लाखौं युवाहरु बाहिर गइरहेका छन् । बीपीले ‘यो गाउँको देश हो र गाउँलाई बनाउँनुपर्छ’ भनेर विस्तृत खाका दिनुभएको थियो । त्यसलाई विकाससँग जोडेको भए सायद आज यस्तो स्थिती आउने थिएन । यतातिर विद्धान र सरकारको ध्यान जाओस’, डा. यादवको अनुरोध थियो ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक १ बजे बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज शनिबार बस्दैछ ।
बैठक दिउँसो १ बजे ललितपुर सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ ।
बैठकमा राष्ट्रिय सभा निर्वाचन लगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

काठमाडौं लगायत देशभर चिसो बढ्यो

काठमाडौं । पछिल्ला दिनमा तापक्रम निरन्तर घट्दा देशभर चिसो बढिरहेको छ । संघीय राजधानी काठमाडौंलगायत देशभर चिसो ह्वात्तै बढेकाले यसबाट बच्न आवश्यक उपाय तथा सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार आज काठमाडौंको न्यूनतम तापक्रम चार दशमलव पाँच डिग्रीसेल्सियस तथा अधिकतम तापक्रम १७ डिग्रीसेल्सियस रहेको छ । शुक्रबार काठमाडौंको न्यूनतम तापक्रम तीन डिग्रीसेल्सियस थियो । काठमाडौंमा बिहानीपख हुस्सु लागे पनि दिउँसो पारिलो घाम लाग्ने गरेको छ । “तापक्रम हल्का घटिरहेको छ । यही तरिकाले तापक्रम ओरालो लाग्ने हो भने माइनसमा जानसक्छ”, मौसमविद् अधिकारीले भने ।
आइतबार बिहान न्यूनतम तापक्रम दुईदेखि चार डिग्रीसेल्सियस हुने पूर्वानुमान गरिएको छ । आज बिहान काठमाडौंको भिजिबिलिटी चार किलोमिटर रहेको छ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात भए पनि आगामी तीन दिनसम्म उल्लेखनीय मौसम प्रणाली नरहने मौसमविद् अधिकारीले जानकारी दिए ।
जुम्लामा सबैभन्दा धेरै तापक्रम घरेर माइनस पाँच दशमलव सात डिग्रीसेल्सियस रहेको छ । शुक्रबार जुम्लाको न्यूनतम तापक्रम माइनस ६ डिग्रीसेल्सियस थियो । महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । कोशी, मधेस प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । तराईका थोरै स्थानमा हुस्सुरकुहिरो लागेको छ ।
दिउँसो कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

त्रिविको विज्ञापन सच्याउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयले उपकुलपतिको नियुक्ति प्रक्रियाका लागि आह्वान गरेको विज्ञापनका प्रावधान सच्चाउन निर्देशन दिएका छन् ।
त्रिभुवन विश्वविद्यालयका कुलपति समेत रहेका प्रचण्डले शुक्रबार दिउँसो निर्देशन दिएका हुन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं विश्वविद्यालयका सहकुलपति अशोककुमार राईलाई प्रधानमन्त्रीको कार्यकक्षमा बोलाएर उक्त विज्ञापन सच्चाउन निर्देशन दिएका हुन् ।
शुक्रबार प्रकाशित गरिएको सूचनाले योग्य मान्छेहरू छनोटमा ढोका बन्द हुनसक्ने भन्दै त्यस्तो त्रुटिपूर्ण प्रावधान सच्चाएर अर्को सूचना निकाल्न भनिएको छ ।
शुक्रबार छनोट तथा सिफारिस समितिको तर्फबाट प्रकाशित सूचनामा ‘विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा तीन वर्ष काम गरेको (वर्ष, महिना र दिन समेत) व्यहोरा खुलेको विवरण प्रमाणित प्रतिलिपि’ पेस गरेकोे सूचनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै प्रधानमन्त्रीले पदाधिकारीमा तीन वर्षे अनुभवको प्रावधान हटाउन निर्देशन दिएको प्रधानमन्त्रीका सचिवालयले जनाएको छ ।
त्यस्तो प्रावधानले पूर्वपदाधिकारीहरू मात्रै प्रतिस्पर्धाका निम्ति योग्य हुने र त्यसले मेरिटोक्रेसीमा सिन्डिकेट लगाउनेमा हाम्रो चासो रहेको जनाउँदै प्रधानमन्त्रीले सक्षम र योग्य मान्छे आउने बाटो सम्पूर्ण रूपले खुला गरी अर्को विज्ञापन खोल्दै मन्त्रालयमार्फत समितिलाई निर्देशन दिएका हुन् ।

प्रधानमन्त्रीलाई अदालतको अवहेलना मुद्दामा सफाइ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अदालतको अवहेलना मुद्वामा सफाइ पाएका छन् ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासले प्रचण्डलाई सफाइ दिएको हो। प्रधानमन्त्री प्रचण्डविरूद्व सात वर्षअघि सर्वोच्च अदालतमा मुद्वा दायर भएको थियो । प्रचण्डले २०७३ जेठमा द्वन्द्वकालीनमा मुद्वामा विवादास्पद अभिव्यक्ति दिएका थिए ।
उनले अदालतमा आफूविरुद्ध षडयन्त्र भएको, माओवादी विरुद्ध अदालतलाई प्रयोग गरिएको र दिँउसै रात पार्ने प्रपञ्च भएको अभिव्यक्ति दिएका थिए ।
उनको अभिव्यक्तिले अदालतको अवहेलना भएको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लगायतले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
त्रिपाठीले दायर गरेको मुद्दामा सर्वोच्चले दाबी नपुग्ने ठहर गरेको हो।

लेटेष्ट समाचार

‘जेनजी’ आन्दोलनको भावनाअनुसार अघि बढ्न सरकारलाई खबरदारी

काठमाडौँ । ‘जेनजी’ युवाहरुले आन्दोलनको भावनाअनुसार अघि बढ्न सरकारलाई खबरदारी गरेका छन् । ‘जेनजी युनाइटेड–फर परिवर्तन’ संस्थाले आज माइतीघर मण्डलामा आयोजना गरेको खबरदारी सभामा सम्बोधन...

रुकुमपश्चिममा जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु, १० घाइते

रुकुम  । रुकुम पश्चिमको मुसिकोट खलंगाबाट आठविसकोट नगरपालिकाको स्यालाखदीतर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने १० घाइते भएका छन्...

मोरङको लेटाङमा १८ दिनदेखि बेपत्ता बालिका मृत फेला, बलात्कारपछि हत्या भएको...

विराटनगर । मोरङको लेटाङमा दुई सातादेखि हराईरहेकी बालिकाको बलात्कारपछि हत्या भएको आशंका गरिएको छ ।  असोज २१ गतेदेखि हराइरहेकी लेटाङ नगरपालिका–२ स्कुलचोककी १३ वर्षीया...