काठमाण्डु । नेपाल टेलिकमका पूर्व कार्यकारी निर्देशक सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका पूर्व कार्यकारी निर्देशक विकल पौडेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।
दाजुभाइ समेत रहेका दुवैलाई सुरक्षण मुद्रण केन्द्रको भ्रष्टाचार प्रकरणमा छानबिनका लागि पक्राउ गरिएको छ । अख्तियारको टोलीले मण्डिखाटारस्थित विकल पौडेलको घर र शान्तिनगरस्थित सुनिल पौडेलको घरमा आकस्मिक अनुगमन गरेको छ ।
२०८० असोज १५ गते सुनिल पौडेल लगायत व्यक्तिविरुद्ध अख्तियारले २३ करोड २७ लाख ५८ हजार रुपैयाँ बिगो माग दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो भने २०८० बैशाखमा विकल पौडेल समेत विरुद्ध करीब ७० करोड रुपैयाँ बिगो माग दाबीसहित मुद्दा दायर गरेको थियो ।
सेक्युरिटी प्रेस प्रकरणमा विकल र सुनिल अख्तियारद्वारा पक्राउ
राष्ट्रपतिद्वारा संसद्को हिउँदे अधिवेशन आह्वान
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को हिउँदे अधिवेशन आह्वान गरेका छन ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले माघ २२ गते सोमबार अपराह्न ४ बजेका लागि अधिवेशन आह्वान गरेका हुन ।
राष्ट्रिय वाणिज्य बैंक ५९औँ वर्षमा प्रवेश
काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड स्थापनाको ५८ वर्ष पूरा गरी ५९औँ वर्षमा प्रवेश गरेको छ ।
नेपाल सरकारको पूर्ण स्वामित्वमा विसं २०२२ माघ १० गते स्थापना भएको बैंकले व्यावसायिक कुसलतासहित निजी क्षेत्रका बैंकसँग प्रतिस्पर्धा गरिरहेको छ ।
विसं २०८० असार मसान्तसम्ममा बैंकको अधिकृत शेयर पुँजी रू ३० अर्ब, जारी र चुक्ता शेयर पुँजी रू १५ अर्ब ६३ करोड ७३ लाख ७७ हजार ५५ रहेको छ । बैंकको विद्यमान पुँजी संरचनाअनुसार सरकारको ९९ दशमलव ९७ प्रतिशत र सर्वसाधारणको शून्य दशमलव ०३ प्रतिशत शेयर रहेको छ । बैंकको पुँजी कोष रू ५० अर्ब ७४ करोड रहेको छ ।
गत असार मसान्तसम्ममा बैंकको निष्क्रिय कर्जा अनुपात तीन दशमलव ७७ प्रतिशत छ । गत पुस मसान्तसम्ममा बैंकमा सर्वसाधारण र संस्थागत गरी ४१ लाख ४० हजारभन्दा बढी निक्षेपकर्ताको रू तीन खर्ब ३८ अर्ब ४४ करोड निक्षेप रहेको छ । कर्जातर्फ एक लाख ९४ हजारभन्दा बढी ग्राहकलाई रु दुई खर्ब ५६ अर्ब ७० करोड बराबर ऋण विस्तार भएको बैंकले जानकारी दिएको छ ।
राष्ट्रिय वाणिज्य बैंकले आर्थिक वर्ष २०६०, ६१ देखि निरन्तर मुनाफा आर्जन गरिरहेको छ । गत आर्थिक वर्ष २०७९, ८० मा बैंकले रू तीन अर्ब ५९ करोड खुद मुनाफा कमाएको थियो । गतवर्ष बढी खुद मुनाफाआर्जन गर्ने बैंकको सूचीमा राष्ट्रिय वाणिज्य बैंक दोस्रो स्थानमा छ । गतवर्षमा आर्जित मुनाफाबाट बैंकले पाँच दशमलव ५० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
नेपालको कूल सरकारी कारोबारको आधाभन्दा बढी हिस्सा यस बैंकबाट हुने गरेको दाबी बैंकको छ । सङ्घीय सरकारका कूल ८१ कोष तथा लेखा नियन्त्रक कार्यालयमध्ये ५० वटा, प्रदेश सरकारका ७७ मध्ये ५१ र एक सय २८ स्थानीय तहको सम्पूर्ण खर्च भुक्तानी तथा सरकारी कारोबार राष्ट्रिय वाणिज्य बैंकबाट भइरहेको छ ।
सरकारको राजस्व सङ्कलन प्रयोजनका लागि बैंकले विभिन्न ठाउँमा शाखा तथा काउन्टरसमेत विस्तार गरेको छ । सरकारका निजामती, सेना, प्रहरी, शिक्षकलगायतका सेवाबाट निवृत एक लाख ६० हजार भन्दा बढी व्यक्तिको निवृत्तिभरण भुक्तानी पनि राष्ट्रिय वाणिज्य बैंकबाट भइरहेको छ ।
त्यस्तै, सरकारबाट वितरण गरिने सामाजिक सुरक्षा भत्ताको अधिकांश कारोबार यसै बैंकबाट हुने गरेको छ । बैंकले गत आर्थिक वर्ष सरकारलाई रू दुई अर्ब १८ करोड आयकर तिरेको थियो । बैंकको शाखा सञ्जाल ७७ वटै जिल्ला सदरमुकामसहित दुई सय ८६ शाखा कार्यालय, ६४ एक्सटेन्सन काउन्टर तथा ९५ वटा शाखारहित बैंकिङ एकाईमार्फत् सेवा दिइरहेको छ । व्यावसायिक सम्भाव्यताका आधारमा शाखा विस्तार गर्ने नीतिअनुरुप चालु आवभित्रमा शाखा सङ्ख्या तीन सय २० पुर्याउने लक्ष्य बैंकले लिएको छ ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमका लागि सहयोग गर्दै आएको छ । दैवी तथा प्राकृतिक प्रकोप पीडितलाई आर्थिक सहायता, वित्तीय साक्षरता कार्यक्रम, शैक्षिकस्तर वृद्धिका लागि शैक्षिक सामग्री वितरण, विभिन्न धार्मिक तथा सांस्कृतिक सम्वर्द्धन क्षेत्रमा पनि बैंकले सहयोग गरिहेको छ ।
शेयुर बजारमा १०.२५ अंकको गिरावट, कारोबार रकम पनि घटयो
काठमाडौं । शेयर बजार लगातार घटिरहेको छ । छ दिनदेखि बजार लगातार ओरालो झरेको हो । छ दिनमा नेप्से ८७.१ अंकले तल झरेको हो ।
यसैक्रममा आज बजार दोहोरो अंकले तल झरेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १०.२५ अंकले घटेको हो । ०.४८ प्रतिशतले बजार घट्दा नेप्से २०८८.०४ अंकमा ओर्लिएको हो ।
गत साताको सोमबार बजार उचालिंदा नेप्से २१७५.१७ अंकमा पुगेको थियो ।
आज ३११ कम्पनीका १ करोड १० लाख ४९ हजार ९ सय ४९ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ८९ करोड ७० लाख २२ हजार ५ सय ९८.९८ रुपियाँ बराबरको कारोबार भएको हो ।
माघ २९ गते आइतबार एकै दिन ९ अर्ब ७६ करोड ८९ लाख ६९ हजार ८ सय ६८.६१ रुपियाँको कारोबार भएको थियो ।
समग्रमा बजार घटे पनि चन्द्रगिरि हिल्स र मिड सोलु हाइड्रोमा पोजेटिभ सर्किट लागेको छ । दुबै कम्पनीका लगानीकर्ताहरुले १०–१० प्रतिशत नाफा कमाएका हुन् ।
त्यस्तै आज तेह्रथुम पावरका नेगेटिभ सर्किट लागेको छ । उक्त कम्पनीका लगानीकर्ताहरुले १० प्रतिशतले घाटा व्यहोरेका हुन् ।
आज पनि हिमालयन रि को उच्च कारोबार भएको छ । उक्त कम्पनीको २५ करोड १५ लाख ६८ हजार ६७.७० रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जानकारी दिएको छ ।
साताको पहिलो दिन आइतबार बजार २५.६३ अंकले घट्दा ७ अर्ब ६७ करोड ७७ लाख ४० हजार ५८.०४ रुपियाँ, सोमबार बजार ३१.४९ अंकले घट्दा ६ अर्ब ३६ करोड ६० लाख ७० हजार ३।३५ रुपियाँ र हिजो मंगलबार ०.४० अंकले बजार घट्दा ४ अर्ब २९ करोड ४५ लाख ६६ हजार ७ सय ५१.६६ रुपियाँ बराबरको कारोबार भएको थियो ।
गत साताको बुधबार माघ ३ गते १२.१० अंक र माघ ४ गते बिहीबार बजार ७.२३ अंकले घटेको थियो ।
२४ प्रहरीलाई ७ दिनभित्र सम्पर्कमा आउन निर्देशन
काठमाडौं । प्रहरी प्रधान कार्यालयले २४ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ ।
प्रहरी महानिरीक्षकको सचिवालयले आज सूचना जारी गर्दै ३ जना प्रहरी सहायक निरीक्षक (असई) हवलदार, ३ जना प्रहरी सहायक हवलदार र १८ जना प्रहरी जवान एक महिनाभन्दा बढी समयदेखि आफूखुसी गैरहाजिर रहेको हुँदा ७ दिन भित्र सम्पर्कमा आउन भनेको हो ।
उनीहरूको खोजतलास गर्दा पनि सम्पर्कमा नआएकाले प्रहरी प्रधान कार्यालयले सात दिन भित्र स्पष्टिकरणसहित सम्पर्कमा आउन निर्देशन दिएको छ । प्रहरी प्रधान कार्यालयले उनीहरूलाई सात दिनभित्र पनि सम्पर्कमा नआए प्रहरी नियमावलीका अनुसार सेवाबाट हटाइने चेतावनी समेत दिएको छ ।
नापी सर्वेक्षकसहित ३ जना अढाई लाख घुससहित पक्राउ
ललितपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय ललितपुरका सर्वेक्षक रामवीर यादवसहित तीन जनालाई अढाई लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको छ ।
आयोगले मंगलबार गरेको स्टिङ अपरेसनमा नापी सर्भेक्षक रामविर यादव, लेखापढी व्यवसायी दिनेश बन्जरा र विनोद अधिकारीलाई २ लाख ५० हजार घुससहित नापी कार्यालय परिसरबाट पक्राउ गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
उनीहरुले घुस मागिरहेको सूचनाका आधारमा अख्तियारले स्टिङ अपरेसन गरेको थियो । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रवक्ता घिमिरेले जनाए ।
यू–१९ विश्वकप क्रिकेट ः आज पाकिस्तानसँग नेपाल भिडदै
काठमाडौं । आईसीसी यू–१९ विश्वकप क्रिकेटमा नेपालले आज दोस्रो खेल खेल्दैछ। दोस्रो खेलमा नेपाल पाकिस्तानसँग भिडदै छ।
नेपाल र पाकिस्तानबीचको खेल नेपाली समयानुसार बुधबार दिउँसो १ः४५ बजे सुरु हुनेछ।
यू–१९ विश्वकपको पहिलो खेलमा नेपाल न्यूजिल्याण्डसँग ६४ रनले पराजित भएको थियो। पाकिस्तानले भने अफगानिस्तानविरुद्ध १८१ रनको जित निकालेको थियो।
पाकिस्तान नेपालविरुद्ध पनि जित निकालेर समूहको शीर्ष स्थानमा पुग्ने लक्ष्यमा छ। नेपाल बलियो टोली पाकिस्तानलाई हराएर विश्वकपमा पहिलो जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रिनेछ।
नेपालले पाकिस्तानपछि लिगको अन्तिम खेल अफगानिस्तानसँग शुक्रबार खेल्नेछ।
यू–१९ विश्वकपमा यसपटक टोलीलाई ग्रुप ‘ए’, ‘बी’, ‘सी’ र ‘डी’ गरी ४ समूहमा विभाजन गरिएको छ। हरेक समूहमा ४–४ टोली रहेकोमा समूहको शीर्ष ३ टोली सुपर ६ मा पुग्नेछन्। त्यसपछि समूह ‘ए’ का टोलीले समूह ‘डी’ तथा समूह ‘बी’ र समूह ‘सी’ को टोलीले एक अर्कासँग खेल्नेछन्।
सुपर सिक्सको २ समूहको शीर्ष टोलीले भने सेमिफाइनलमा खेल्नेछन्। समूहमा पुछारका टोलीले पनि स्थान निर्धारणका लागि खेल्नेछन्।
प्रविधिमैत्री सेवा प्रवाह गर्न सशस्त्र प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सशस्त्र प्रहरीलाई प्रविधिअनुसार आफूलाई परिचालित गर्न निर्देशन दिएका छन् । प्रविधिको बहुआयामिक प्रभावसँग साक्षात्कार भई त्यसलाई राष्ट्रियहित अनुकूल परिचालन र प्रयोगमा ल्याउन दक्ष हुनपर्ने प्रधानमन्त्रीको भनाइ छ ।
बदलिएको परिस्थितिअनुसार प्रविधिमैत्री सेवा प्रवाह, सुरक्षा व्यवस्थापन, अपराध नियन्त्रणका लागि दक्ष र चनाखो हुन जरुरी रहेको प्रधानमन्त्री प्रचण्डले जनाए ।
उनले सीमा सुरक्षा र व्यवस्थापनको क्षेत्रमा सशस्त्र प्रहरीले अघिसारेका कार्यक्रमले विद्यमान समस्या र चुनौतीहरू सम्बोधन गर्ने विश्वास व्यक्त गरे ।
२३औं सशस्त्र प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रचण्डले अवकाशप्राप्त सशस्त्र प्रहरी नायव महानिरीक्षक दिलीपकुमार श्रेष्ठलाई ‘एपीएफ लाइफ टाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरेका थिए । उनले यसवर्ष उत्कृष्ट बाहिनी हुन सफल सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक दीपेन्द्र शाहलाई ‘उत्कृष्ट बाहिनी अवार्ड’ प्रदान गरे ।
संसद अधिवेशन माघ २२ लाई बोलाउन सिफारिस
काठमाडौं । सरकारले संघीय संसद्को हिउँदे अधिवेशन माघ २२ लाई बोलाउन सिफारिस गरेको छ ।
मंगलबार बसेको बसेको मन्त्रिपरिषद् बैठकले माघ २२ गते दुवै संसद्को बैठक बोलाउन सिफारिस गरेको सरकारकी प्रवक्ता सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिईन ।
राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक दिनको ४ बजे बस्ने गरी अधिवेशन बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरिएको शर्माले जानकारी दिईन ।
त्यस्तै, सरकारले कोटेश्वर चौराहा सुधार आयोजना कार्यान्वयनका लागि प्रस्तावित ३४ अर्ब ४९ करोड जापानी येन (करिब एकतिस अर्ब दुई करोड नेपाली रुपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण सहायतासम्बन्धी मस्यौदा सम्झौतालाई अन्तिम रुप दिन जापान सरकारसँग वार्ता गर्न वार्ता टोली गठन गर्ने निर्णय समेत गरेको छ ।
त्यसैगरी, राष्ट्रिय खेलकुद विकास नियमावली, २०७९ को नियमन १६ को उपनियम (१) को खण्ड (क) बमोजिम डा. असिम भण्डारीलाई राष्ट्रिय एन्टीडोपिङ एजेन्सीको संयोजक पदमा मनोनयन गन निर्णय समेत भएको छ ।
मधेस प्रदेश सरकारबाट जनमत पार्टी बाहिरियो
काठमाडौँ । सीके राउत नेतृत्वको जनमत पार्टी मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । जनमत पार्टीले सरकारबाट बाहिरिने निर्णय गर्दै मुख्यमन्त्री सरोज कुमार यादवलाई दिँदै आएको समर्थन समेत फिर्ता लिएको जनाएको छ ।
जनमत पार्टीका नेता चन्दन सिंहले सरकारलाई दिएको समर्थन फिर्तासँगै मन्त्रीहरुले पदबाट राजीनामा दिइसकेको जानकारी दिए ।
सत्ताको नेतृत्व गरेको दल जसपासँग विवाद उत्पन्न भएपछि जनमत सरकारबाट बाहिरिएको जनाइएको छ । सप्तरीमा जनमतलाई बाइपास गरेर जसपाका अध्यक्ष उपेन्द्र यादवले कृषि विश्वविद्यालय शिलान्यास गरेपछि राउत असन्तुष्ट बनेका थिए ।
यस्तै मधेस सरकारका अन्य कतिपय कामकारबाहीमा समेत जनमतले असन्तुष्टि पोख्दै आएको थियो । मधेसमा जनमतबाट २ मन्त्री र एक राज्यमन्त्री सरकारमा थिए । जनमतका मधेस प्रदेशमा १३ सांसद रहेका छन् भने समर्थन फिर्ता लिँदा पनि सरकारलाई भने तत्काल कुनै असर पर्ने देखिँदैन ।