काठमाडौं । बालुवाटारस्थित ललितानिवास क्याम्पको व्यक्तिको नाममा गरिएको सरकारी जग्गा फिर्ता हुने भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ०७६ साल माघ २२ मा दर्ता गरेको मुद्दामा विशेष अदालतले बिहीबार सबै १३६ रोपनी जग्गा सरकारको नाममा फिर्ता हुने फैसला गरेको हो ।
विशेष अदालतले २०२१ सालमा प्रकाशित राजपत्रको सूचनालाई काट्ने अर्को सूचना जारी नभएको भन्दै त्यसमै टेकेर फैसला गरेको हो । यससँगै व्यक्तिसँग खरिद गरी जग्गाको लालपूर्जा रहेकासहित ६५ जनाको जग्गा जफत हुने फैसला भएको छ ।
अब उनीहरूले कानुनबमोजिम बिक्रीकर्तासँग क्षतिपूर्ति दाबी गर्नुपर्ने हुन्छ । जग्गाको किनबेचमा संलग्न भएका प्रतिवादीहरू शोभाकान्त ढकालसहित तीन जनालाई जनही ८० लाख ४८ हजार जरिबाना र दुई वर्ष कैद हुने फैसला भएको छ ।
जग्गा व्यक्तिको नाममा सार्नका लागि मन्त्रिपरिषद्को निर्णयलाई अनुकूलको व्याख्या गरी व्यक्तिको नाममा गरेका कलाधर देउजासहित १२ जनालाई मुख्य अभियुक्त बनाई ८० लाख ४८ हजार जरिबाना र दुई वर्ष कैदको फैसला भएको छ । ललितानिवास जग्गा प्रकरणमा प्रतिवादी बनाइएका सुवर्ण शमशेरका परिवारका सबै सदस्य दोषी ठहर भएका छन् ।
ललितानिवासको १३६ रोपनी जग्गा सरकारको नाममा फिर्ता हुने
एनएलजी इन्स्योरेन्सको १८औं वार्षिक साधारणसभा सम्पन्न
काठमाडौं । एनएलजी इन्स्योरेन्सको १८औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ ।
उक्त साधारण साबाट ५.५० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.२८०४७ प्रतिशत नगद लाभांश पारित भएको छ ।
बोनस पारितसँगै कम्पनीको चुक्ता पूँजी एक अर्ब ५३ करोड ९४ लाख रुपियाँ पुगेको छ ।
साथै नेपाल बीमा प्राधिकरणले तोकेको न्यूनतम पुँजी २ अर्ब ५० करोड पुर्याउन ६६ प्रतिशत हकप्रद जारी गर्ने विशेष प्रस्ताव पारित गरेको छ ।
गोर्खाज फाइनान्सको दुई आर्थिक वर्षको साधारणसभा चैत २ गते
काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडले चैत २ गते २८औं र २९औं वार्षिक साधारण सभा बोलाएको छ ।
हिजो बसेको सञ्चालक समितिको बैठकले अनुपम फुडल्याण्ड बत्तीसपुतली काठमाडौंमा दिउँसो १ बजे साधारण सभा गर्ने निर्णय गरेको कम्पनी सचिव मुकुन्द श्रेष्ठले जानकारी दिएका छन् ।
कम्पनीको हाल कायम चुक्ता पूँजी ८६ करोड ७९ लाख ९३ हजार ८ सय रुपियाँ छ । आव २०७९÷८० को नाफाबाट लाभांश प्रस्ताव गरिएको छैन ।
साधारण सभामासंस्थापक समूहको ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत पूँजी संरचना बनाउने विशेष प्रस्तावका रुपमा पेश हुनेछ ।
साधारण सभा प्रयोजनका लागि फागुन १८ गतेदेखि चैत २ गतेसम्म बुक क्लोज गर्ने निर्णय भएको कम्पनी सचिव श्रेष्ठले जनाए ।
माओवादी केन्द्रको विधान अधिवेशन आज पनि
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को प्रथम विधान अधिवेशन आज पनि जारी रहने भएको छ ।
पार्टी अध्यक्ष एवम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत मंगलबार उद्घाटन गरेको सो अधिवेसनमा आज ७ वटा समूहले आ आफ्नो बाँकी प्रस्तुति दिनेछन् ।
हिजोसम्म २० वटा समूह मध्ये १३ समूहले आ आफ्नो धारणा राखिसकेका छन् । महासचिव देवप्रसाद गुरुङले गठन गरिएको २० वटा समूहले प्रस्तावित विधानमा छलफल गरिसकेपछि हिजोबाट प्रस्तुतिकरण सुरू भएको जानकारी दिएका छन ।
अध्यक्ष प्रचण्डले बुधबार १ बजेसम्म छलफल गरी आफ्नो समूहको निष्कर्ष अधिवेशनमा प्रस्तुत गर्न समयसिमा तोकिदिए अनुसार हिजो १३ समूहले आफ्नो सुझाव दिएर टुंगाएका हुन् ।
तीन दिनसम्म चल्ने अधिवेशनमा २० वटै समूहबाट प्राप्त सुझावका आधारमा विधानलाई अन्तिम रुप दिइने माओवादीले जानकारी दिएको छ ।
एनएलजी इन्स्योरेन्सको एजीएम आज
काठमाडौं । एनएलजी इन्स्योरेन्सको १८ औं वार्षिक साधारणसभा आज बिहीबार फागुन ३० साधारण सभा बस्ने भएको छ ।
सभामा कम्पनीले गत आर्थिक वर्षको नाफबाट ५.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२८५ नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस गर्नेछ । साथै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा छलफल गरी प्रस्ताव पारित गर्ने योजना रहेको कम्पनीले जानकारी दिएको छ ।
त्यसैगरी चालू आवका लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ । सभा प्रयोजनका लागि कम्पनीले माघ २५ गते एक दिन बुक क्लोज गरिसकेको छ । अतः माघ २४ गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।
आईसीसी क्रिकेट विश्वकप लिग–२ ः सुखद सुरुआतको लक्ष्यमा नेपाल
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ को पहिलो खेलमा आज नेपालले अफ्रिकी प्रतिद्वन्दी नामिबियाविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्दै छ ।
आजबाट घरेलु मैदानमा हुने त्रिदेशी शृंखलामा नेपाल जितसहित सुखद सुरुआतको लक्ष्यमा छ ।
“तयारीको कुरा गर्दा क्यानडासँगको शृंखला हाम्रो लागि निक्कै महत्वपूर्ण थियो । उक्त शृंखलामा सबैजना राम्रो लयमा देखिएका छन् । त्यो तयारी हाम्रो एकदमै राम्रो थियो,” शृंखलाको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा रोहितले भने, “लिग–२ को कुरा गर्दा सन् २०१९–२३ सम्म भएको बेला हामीले सुरुआत राम्रो गर्न सकेका थिएनौँ । एकदमै महत्वपूर्ण प्रतियोगिता भएकाले यसपटक हामी सुखद सुरुआत गर्ने लक्ष्यमा छौँ । पूरा टिम उत्साहित छ ।”
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने नेपाल र नामिबियाबीचको यो खेल बिहान ९ः१५ बजेदेखि सुरु हुनेछ ।
लिग–२ को पहिलो शृंखलामा नेपालसँगै नामिबिया र नेदरल्यान्ड्स सहभागी छन् । लिग–२ मा सहभागी आठ टिममध्ये अंक तालिकाको शीर्ष चारमा रहने टिम सोझै विश्वकप छनोटमा पुग्नेछन् । पुछारका चार टिमले प्लेअफ खेल्नुपर्नेछ ।
यसअघि सन् २०१९ देखि २०२३ सम्म भएको प्रतियोगिताको शीर्ष चारमा रहँदै नेपालले सोझै जिम्बाब्वेमा भएको विश्वकप छनोट खेलेको थियो ।
कपिलवस्तुमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु, ३० घाइते
लुम्बिनी । कपिलवस्तुमा यात्रुबहाक बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ। कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर १ सुरही पुल नजिकै बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको हो।
बुधबार राति १ बजे महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको सुनौलो महाकाली यातायातको बस दुर्घटनामा परेको सशस्त्र प्रहरीका नायब महानिरीक्षक (डिआइजी) अवि खत्रीले जनाए ।
सुनौलो महाकाली यातायातले सञ्चालन गरेको सु .प.प्र.०२००१ ख ००९८ नम्बरको बस बाटोबाट २ सय मिटर तल खसेको थियो। दुर्घटनामा परी ३० जना घाइते भएका छन्। घाइते मध्ये ९ जनालाई उपचारका लागि बुटवल रिफर गरिएको छ। अन्यको सञ्जीवनी र आधारभूत अस्पतालमा उपचार भइरहेको डिआइजी खत्रीले जानकारी दिएका छन ।
डिआइजी खत्रीका अनुसार मृतकमध्ये तीन महिला र चार पुरुष छन्। उनीहरूको सनाखत हुन सकेको छैन। घाइते सबैको उद्धार गरी अस्पताल पठाइसकिएको प्रहरीले जनाएको छ। बसमा ४० यात्रु सवार सवार रहेको र चालक पनि घाइते रहेका छन्।
तिव्र गतिका कारण बस सडकबाट तल खसेको प्रहरीको अनुमान छ।
आज भ्यालेन्टाइन–डे, प्रेस साटासाट गरी विश्वभर मनाइँदै
काठमाडौं । आज फेब्रुअरी १४ अर्थात् प्रणय दिवस । विश्वभर प्रेम साटासाट गरी मनाइँदैछ ।
विशेष गरी प्रेमीप्रेमिकाहरूले आजको दिनलाई विशेषरुपमा मनाउने गर्दछन् ।
युवा पुस्तामाझ यो दिनप्रति विशेष आकर्षण छ ।
भ्यालेन्टाइन–डेका रुपमा नयाँ प्रेमी प्रेमिकाले यो दिनलाई विशेषरुपमा मनाउने गर्दछन् ।
प्रेम प्रस्ताव गर्ने, प्रेमको औपचारिक शुभारम्भ गर्ने वा उपहार आदान प्रदान गरेर यो दिनलाई मनाउने गरेको पाइन्छ ।
प्रेमका पक्षधर सन्त भालेन्टाइनलाई मृत्युदण्ड दिएको सम्झनामा प्रत्येक वर्षको फेब्रुअरी १४ मा भालेन्टाइन–डे मनाउने गरिएको हो ।
आज विद्याकी देवी सरस्वतीको पूजा गरिँदै
काठमाण्डौ । आज श्रीपञ्चमी, विद्याकी देवी सरस्वतीको पूजा गरी मनाइँदैछ । हरेक वर्ष माघ शुक्ल पञ्चमीका दिन श्रीपञ्चमी पर्व मनाउने गरिन्छ । विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक, विद्यार्थीलगायतले आ–आफ्ना कला साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा गर्छन् । सूर्य उत्तरतिर लागि दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने भएकाले आजको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ ।
आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाहजस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने मान्यता छ । यस दिन बालबालिकालाई शिक्षारम्भ गराउने र नाक–कान छेड्न पनि शुभ मानिन्छ । देशभरकै सरस्वती मन्दिरमा बिहानैदेखि पूजा गर्न भक्तजन, विद्यार्थीको घुइँचो छ ।।
पाल्पा जीप दुर्घटनामा मृतक १० जनाको सनाखत
पाल्पा । पाल्पामा जीप दुर्घटना हुँदा मृतकको संख्या १० पुगेको छ। आठ जनाको घटनास्थलमा र दुई जनाको उपचारका क्रममा लुम्बिनी मेडिकल कलेज प्रभासमा मृत्यु भएको हो। मृतक सबैको पहिचान खुलेको छ। मंगलबार राति अबेरसम्म पनि आफन्त नआएकाले मृतकको पहिचान हुनसकेको थिएन।
तिनाउँ गाउँपालिका ६ मस्यामस्थित इको फार्महाउस नजिकै भित्री कच्ची सडकखण्डमा डुम्रेबाट चिदीसतर्फ जाँदै गरेको लु १ ज २३७१ नम्बरको जीप मंगलवार साँझ दुर्घटना भएको थियो। आफैँ अनियन्त्रित भएर जीप सडकबाट करिब तीन सय मिटर तल खसेको थियो।
दुर्घटनामा मृत्यु हुनेमा तिनाउँ गाउँपालिका ६ मस्यामका ६० वर्षीया यनकुमारी पन्त, तिनाउँ ६ का ३९ वर्षीय रामबहादुर अस्लामी, सोही स्थानका ६७ वर्षीय कृष्णबहादुर अस्लामी, २८ वर्षीय उर्मिला अस्लामी, रुपन्देही बुटवल उपमहानगरपालिका–१४ तामनगरका ७० वर्षीय चन्द्र रणपाल र सोही स्थानका ६० वर्षीय चुना रणपाल रहेका छन्।
यसैगरी तिनाउँ २ खुर्सानेकी २० वर्षीय गीता सुनार, रिब्दिकोट गाउँपालिका १ ख्याहाका ६६ वर्षीया विष्णुकला कामी, सोही ठाउँकै ६५ वर्षीया दिलकुमारी सुनार, रुपन्देही देवदह नगरपालिका ५ का २९ वर्षीया दिलमाया जिसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए।
उनका अनुसार दुर्घटनामा १६ जना घाइते भएका छन्। घाइतको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ। जीप चालक तानसेन नगरपालिका १० का ४५ वर्षीय दानबहादुर चिदीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ।