काठमाडौं । शेयर बजार आज उचालिएको छ । बजार उचालिएसँगै नेप्से पुनः २१ सय अंक माथि चढेको छ । बजार उचालिए पनि हिजोको तुलुनामा कारोबार रकम भने घटेको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज १५.३३ अंकले बजार बढेको हो । ०.७३ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २१०१.१६ अंकमा उक्लिएको छ ।
आज ३१४ कम्पनीका १ करोड १ लाख ८ हजार १ सय २२ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ५८ करोड ६९ लाख ८४ हजार १ सय २८.४८ रुपियाँ बराबरको कारोबार भएको छ ।
बजार बढेसँगै बोटलर्स नेपाल बालाजु, समाज लघुवित्त, कुथेली बुखरी हाइड्रो, चिरख्वा हाइड्रो, बलेफी हाइड्रो, जोशी हाइड्रो, दोर्दीखोला, महुली लघुवित्त, गुराँस लघुवित्त र भिजन लुम्बिनी लघुवित्तका लगानीकर्ताहरुले क्रमशः १०, १०, ९.९९, ९.९९, ९.९८, ९.२९, ८.५४, ८.१२, ८.१० र ७.७९ प्रतिशतले नाफा कमाएका छन् ।
त्यस्तै एनआईसी एशिया ग्रोथ फण्ड २ का लगानीकर्ताहरुले सबैभन्दा बढी ८.८९ प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज पनि हिमालयन रि कै उच्च कारोबार भएको छ । उक्तक कम्पनीको २३ करोड २ लाख ३५ हजार ४ सय ४९.४० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।
साताको पहिलो दिन हिजनो आइतबार १०.५० अंकले बजार घट्दा ४ अर्ब ८ करोड ५६ लाख ७८ हजार ४ सय ७२.१६ रुपियाँ बराबरको कारोबार भएको थियो ।
शेयर बजारमा १५.३३ अंकको सुधार, कारोबार रकम भने घट्यो
दुई संसदीय समितिको बैठक बस्दै
काठमाडौं । संघीय संसदका दुई समितिको बैठक बस्दैछ ।
संघीय संसद सचिवालयका अनुसार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति तथा सार्वजनिक लेखा समितिको बैठक बस्न लागेको हो ।
सिंहदरबारस्थित संसद सचिवालय परिसरमा बिहान ११ः०० बजे उक्त बैठक बस्नेछ । शिक्षा समितिमा त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रियालगायत विषयमा छलफल हुने जानकारी दिईएको छ ।
फागुनका लागि वाणिज्य बैंकहरूले घटाए ब्याजदर
काठमाडौं । वाणिज्य बैंकले फागुन महिनाका लागि ब्याजदर सार्वजनिक गरेका छन् । १८ वाणिज्य बैंकले प्रकाशित गरेको सूचनाअनुसार व्यक्तिगत मुद्दती निक्षेपमा यी बैंकहरुको औसत ब्याजदर ०.३९ प्रतिशत विन्दुले घटेको छ ।
माघ महिनामा ८.११ प्रतिशत विन्दु रहेको व्यक्तिगत मुद्दती निक्षेपमा बैंकहरुको औसत ब्याजदर, फागुनमा घटेर ७.७१ प्रतिशत विन्दुमा सीमित भएको छ ।
त्यसैगरी, संस्थागत मुद्दती निक्षेपमा पनि बैंकहरुको औसत ब्याजदर ०.३८६५ प्रतिशत विन्दुले घटेको छ ।
फागुन महिनाका लागि सर्वाधिक ब्याजदर कृषि विकास बैंकले घटाएको छ । माघ महिनामा व्यक्तिगत मुद्दतीमा ७.२६ प्रतिशत ब्याज दिएको बैंकले फागुनमा भने अधिकतम ६.४४३ प्रतिशत ब्याज दिने भएको छ । साथै, व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ०.८१ प्रतिशत विन्दुले घटाएको पनि बैंकले जनाएको छ ।
फागुन महिनामा हिमालयन बैंक, एभरेष्ट बैंक, लक्ष्मी सनराइज बैंक र माछापुच्छ्रे बैंकले भने माघ महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।
एनएलजी इन्स्योरेन्सको खुद नाफा ५४ प्रतिशतले बढ्यो
काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा एनएलजी इन्स्योरेन्सको खुद नाफा बढेको छ । समीक्षा अवधिमा कम्पनीले ८ करोड ७५ लाख रुपियाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा यस्तो नाफा ५ करोड ६८ लाख रुपियाँ नाफा कमाएको थियो । यो गत आवको सोही अवधिको तुलनामा ५३.९६ प्रतिशतले बढी हो ।
त्यसैगरी, कम्पनीको खुद बीमाशुल्क आम्दानी ६.०४ प्रतिशतले बढेर ३१ करोड ३५ लाख रुपियाँ पुगेको छ । त्यस्तै, लगानी तथा कर्जा आम्दानी ६.८३ प्रतिशतले बढेको छ भने बीमा कोषको आकार ३६.६१ प्रतिशतले बढेर २ अर्ब ८९ करोड रुपियाँ पुगेको छ ।
चुक्ता पुँजी १ अर्ब ४५ करोड ९२ लाख रुपियाँ रहेको रिटेन्ड अर्निङमा १२ करोड ८० लाख रुपियाँ रहेको छ ।
कम्पनीको खुद नाफा बढेसँगै प्रतिशेयर आम्दानी पनि बढेको छ । चालू आवको पुस मसान्तसम्ममा प्रतिशेयर आम्दानी ७.७९ रुपियाँबाट बढेर १२ रुपियाँ पुगेको छ भने प्रतिशेयर नेटवर्थ २१४.५६ रुपियाँ छ ।
नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्दै
काठमाडौँ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । आइतबारबाट काठमाडौँमा सुरु भएको बैठकमा पहिलो दिन प्रदेश इन्चार्ज र अध्यक्षले चार महिने माओवादी विशेष रूपान्तरण अभियानको समीक्षात्मक रिपोर्ट पेस गरेका थिए ।
आज पनि समसामयिक राजनीति र यसअघि सञ्चालन गरेको चार महिने ‘जनतासँग माओवादी विशेष अभियान’मा विशेष समीक्षा गर्ने कार्यसूची छ । समसामयिक राजनीतिक विषयका अलावा पार्टीको काम कारबाही र आगामी फागुन १ गतेदेखि तय गरिएको विधान सम्मेलनबारे पनि छलफल हुनेछ ।
माओवादी केन्द्रले चार महिने अभियानमा पार्टीको सङ्गठन निर्माण, पुनर्निर्माणका अलावा शहीद परिवार, बेपत्ता योद्धाका परिवार, घाइते अपाङ्गता भएका कार्यकर्तासँग भेटघाट गरेको थियो । सरकारमा रहेर गरिएको सुशासन र समृद्धिको अभियानबारे जनतालाई जानकारी गराएको थियो । गत भदौ १६ गतेदेखि सुरु भएको सो अभियान गत पुस १७ गतेसम्म चलेको थियो ।
नेपाल र क्यानडाबीचको सिरिजको अन्तिम खेल आज हुँदै
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले आज क्यानाडाविरुद्धको एकदिवसीय सिरिजको तेस्रो तथा अन्तिम खेल खेल्दै छ । यो खेल त्रिभुवन विश्वविद्यालय खेल मैदान, कीर्तिपुरमा बिहान ९ः१५ बजेदेखि सुरु हुदैँछ ।
यसअघि नेपालले लगातार २ खेल जितेर सिरिज जितिसकेको छ । नेपालले पहिलो खेलमा क्यानडालाई ७ रनले र दोस्रो खेल ४ विकेटले पराजित गर्दै सिरिज जितेको हो ।
नेपालले अब अन्तिम खेलमा जित हासिल गरेर सिरिज क्लीन स्वीप गर्ने प्रयास गर्ने छ भने क्यानडाले सिरिजमा सान्त्वना जित हासिल गर्ने प्रयास गर्ने छ ।
नेपालले यो सिरिजपछि आइसीसी क्रिकेट विश्वकप लिग २ को त्रिकोणीय सिरिज खेल्ने हुनाले क्यानडाविरुद्धको सिरिजलाई तयारीको रुपमा हेरेको छ । सोही कारणले नेपालले युवा खेलाडीलाई अवसर दिने रणनीति बनाउँदै टिममा रहेका सबै खेलाडीलाई खेल्ने अवसर दिएको छ । यस खेलमा पनि नेपालले आफ्नो प्लेइङ ११ मा परिवर्तन गर्ने सम्भावना रहेको छ ।
क्यानडाविरुद्धको सिरिजका लागि रोहित पौडेलको कप्तानीमा क्यानले १५ सदस्यीय टिम खेलिरहेको छ । क्यानडाविरुद्ध खेल्ने टिममा रोहित पौडेल (कप्तान), आसिफ सेख, कुशल भुर्तेल, देव खनाल, कुशल मल्ल, भिम सार्की, आरिफ सेख, पवन सराफ, सोमपाल कामी, हेमन्त धामी, रिजन ढकाल, सुर्य तामाङ, ललित राजबंशी, आकाश चन्द र अनिल शाह रहेका छन् ।
सन् २०१९ मा एकदिवसीय मान्यता गुमाएको क्यानडाले २०२३ क्रिकेट विश्वकप क्वालिफायर प्लेअफमा पपुवा न्यूगिनीलाई पराजित गर्दै ४ वर्षका लागि एकदिवसीय मान्यता पुनः प्राप्त गरेको हो ।
त्यस्तै क्यानडाले आईसीसी टी २० विश्वकप अमेरिका क्षेत्र छनोटको विजेताको रूपमा पहिलो पटक टी २० विश्वकपमा समेत आफ्नो स्थान सुरक्षित गरेको छ ।
रामग्राम क्षेत्रलाई भाडामा लगाउने सम्झौता खारेज गर्न लेखा समितिको निर्देशन
काठमाण्डौ । लुम्बिनीस्थित रामग्राम क्षेत्रको जग्गा अधिग्रहण गरेर निजी कम्पनीलाई ९९ वर्षका लागि भाडामा लगाउने गरी भएको सम्झौता खारेज गर्न सार्वजनिक लेखा समितिले सरकारलाई निर्देशन दिएको छ ।
रामग्राम क्षेत्रलाई संरक्षण तथा विकाससम्बन्धी अनुसन्धान तथा परियोजनाको आर्थिक स्रोतको खोजी गरी लुम्बिनी विकास कोष र प्रमिष्ट ल्याण्डबीच भएको सम्झौता खारेज गर्न समितिको आजको बैठकले निर्देशन दिएको हो ।
“लुम्बिनी विकास कोषले रामग्राम क्षेत्रमा गरेको सम्झौता आजैका मितिदेखि खारेज गर्न सरकारलाई निर्देशन दिने निर्णय बैठकले गरेको छ”, लेखा समिति सभापति ऋषिकेश पोखरेलले भने, “यस विषयमा थप अनुुसन्धान अघि बढाउन र यस्तो काम अरु कुनै ठाउँमा नहोस् भन्ने सुनिश्चितता गर्न पनि सरकारलाई निर्देशन दिने निर्णय भएको छ ।
रामग्राम क्षेत्रको जग्गा अधिग्रहण गरेर ९९ वर्षका लागि भाडामा लगाउने गरी लुम्बिनी विकास कोष र प्रमिष्ट ल्याण्डबीच भएको सम्झौताबारे आज समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती, मन्त्रालयका सचिव दिपक काफ्ले, अर्थ सचिव कृष्णहरि पुष्कर, राजस्व सचिव रामप्रसाद घिमिरे, लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारक्याल लामालगायतसँग छलफल गरेको थियो ।
उक्त छलफलका क्रममा समितिका सदस्यले प्रतिस्पर्धाविनै भाडा सम्झौता भएको, खरिद कानुनको पालना नभएको, धार्मिक क्षेत्रको अस्तित्व मेटिने गरी व्यवसायिक संरचना बनाउन लागिएको, सम्झौता भएको निजी क्षेत्रको पृष्ठभूमि विवादास्पद रहेको लगायतका कारणले यो सम्झौता रद्द गरिनुपर्ने धारणा राखेका थिए ।
युनेस्को र पुरातत्व विभागले तोकेको मापदण्डभन्दा विपरीत हुने गरी लुम्बिनी क्षेत्रमा कुनै पनि संरचना नबनाउन तथा विद्यमान कानुनी प्रक्रियाभन्दा बाहिर गएर कुनै पनि काम नगर्न पनि समितिले निर्देशन दिएको हो ।
कांग्रेसको केन्द्रीय समिति बैठक फागुन ३ गते
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ।
फागुन ३ गते पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको हो ।
बैठकमा आगामी फागुन ७—१० गते ललितपुरको गोदावरीमा हुने महासमितिको बैठकका सम्बन्धमा छलफल हुने जानकारी दिईएको छ ।
शेयर बजारमा १०.५० अंकको गिरावट, चार अर्ब आठ करोडको कारोबार
काठमाडौं । शेयर बजार ओरालो झरेको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १०.५० अंकले तल झरेको हो । ०.५० प्रतिशतले बजार घट्दा नेप्से २०८५.८२ अंकमा झरेको छ ।
आज ३०५ कम्पनीका १ करोड ५ लाख ७१ ह्जार १ सय ९९ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ८ करोड ५६ लाख ७८ हजार ४ सय ७२.१६ रुपियाँ बराबरको कारोबार भएको छ ।
समग्रमा बजार घटे पनि समाज लघुवित्त र कुथेली बुखरी हाइड्रोका लगानीकर्ताले क्रमशः १० र ९.९९ प्रतिशतले नाफा कमाएका छन् ।
त्यस्तै एनआईसी एशिया ग्रोथ फण्ड २ का लगानीकर्ताले सबै भन्दा बढी १० प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज पनि हिमालयन रि कै उच्च कारोबार भएको छ । उक्त कम्पनीको ६२ करोड ४७ लाख ८५ हजार ३ सय ६८.६० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।
बीमाशुल्क आर्जन १३७ प्रतिशतले बढेपछि सानिमा रिलायन्स लाइफको खुद नाफा २२ करोड
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको खुद नाफा ९६.४८ प्रतिशतले बढेको छ । चालू आवको दोस्रो त्रैमाससम्म कम्पनीको खुद नाफा ९६.४८ प्रतिशतले बढेर २१ करोड ९७ लाख ३० हजार रुपियाँ पुगेको छ । गत आवको सोही अवधिमा कम्पनीले ११ करोड १८ लाख ३५ हजार रुपियाँ खुद नाफा कमाएको थियो ।
त्यसैगरी, समीक्षा अवधिमा कम्पनीकोे खुद बीमाशुल्क आर्जन १३७.०५ प्रतिशतले बढेर २ अर्ब ६२ करोड ६ लाख १३ हजार रुपियाँ पुगेको छ । गत आवको सोही अवधिमा १ अर्ब १० करोड ५४ लाख ९७ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो ।
त्यस्तै, लगानी तथा कर्जाबाट हुने आम्दानी १६६.४१ प्रतिशतले बढेर ७४ करोड ४५ लाख ५६ हजार रुपियाँ पुगेको छ ।
दोस्रो त्रैमासमा ४ अर्ब १८ करोड ४० लाख रुपियाँ चुक्ता पुँजी रहेको कम्पनीको प्रतिशेयर आम्दानी १०.५० रुपियाँ र प्रतिशेयर नेटवर्थ १२५.४४ रुपियाँ छ । कुल आम्दानी ३ अर्ब ४० करोड छ भने कुल खर्च ३ अर्ब १८ करोड छ ।