काठमाण्डौ । त्रिकोणात्मक टि २० सिरिजको फाइनलमा मंगलवार नेपाल र नेदरल्यान्ड्सबीच घम्साघम्सी हुने भएको छ । अंक तालिकामा नेदरल्यान्ड्स ४ खेलमा ५ अंक जोड्दै शीर्ष स्थानमा रहदैँ फाइन प्रवेश गरेको हो ।
नामिबिया र नेदरल्यान्ड्सबीच जारी लिग चरणको अन्तिम खेल वर्षाको कारण रद्द भएपछि अंकको आधारमा नेदरल्यान्ड्स फाइनल प्रवेश गर्न सफल भयो । यससँगै फाइनलमा नेपाल र नेदरल्यान्ड्स भिड्नेछन् । नेपाल भने लगातार दुई खेल जित्दैँ फाइनल पुगेको हो ।
घरेलु मैदान र दर्शकहरुको साथमा नेपाल मंगलवार टि २० सिरिजको उपाधि जित्न चाहन्छ । त्यस्तै नेदरल्यान्ड्स पनि नेपाललाई घरेलु मैदानमै हराएर टि २० सिरिजको उपाधि जित्ने दाउमा हुनेछ ।
फाइनलमा मंगलवार नेपाल र नेदरल्यान्ड्सबीच घम्सघम्सी हुने
शेयर बजारमा ११.७८ अंकको गिरावट, कारोबार रकम २ अर्ब ८ करोड
काठमाडौं । शेयर बजार निरन्तर घटिरहेकोे छ । बजार आज पनि दोहोरो अंकले घटेको हो ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ११.७८ अंकले घटेको हो । ०.५९ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १९६०.३० अंकमा झरेको हो ।
आज ३०९ कम्पनीका ५५ लाख ७४ हजार २ सय ७ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ८ करोड २७ लाख ८६हजार ८९.०८ रुपियाँ बराबरको कारोबार भएको हो ।
समग्रमा बजार घटे पनि आज ग्लोबल आईएमई लघुवित्तका लगानीकर्ताहरुले सबैभन्दा बढी ९.७० प्रतिशतले नाफा कमाएका छन् ।
त्यस्तै चिरख्वा हाइड्रोका लगानीकर्ताहरुले सबैभन्दा बढी ७.४९ प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज सोनापुर मिनिरल्सको उच्च कारोबार भएको छ । उक्त कम्पनीको १३ करोड २० लाख ४९ हजार ५ सय ४०.४० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।
आजदेखि राष्ट्रिय सभाका २० सदस्यको पदावधि सकिँदै
काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित २० जना सदस्यहरूको पदावधि आज सकिँदैछ । राष्ट्रिय सभा सदस्यको पदावधि छ वर्षको हुने र हरेक दुई वर्षमा एक तिहाई सदस्यको निर्वाचन हुने व्यवस्था छ ।
नयाँ संविधानबमोजिम राष्ट्रिय सभा गठन भएपछि पहिलो पटक कार्यकाल निर्धारण गर्न गोला प्रथा भएकोमा त्यसबेला छ वर्षे कार्यकाल निर्धारण भएका सांसदको पदावधि आजदेखि सकिएको हो । आजबाट पदावधि सकिनेमा राष्ट्रिय सभाका अध्यक्ष र दुई राज्यमन्त्रीसहित २० जना छन् ।
एमालेबाट निर्वाचित राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रमुख सचेतक भैरवसुन्दर श्रेष्ठ, इन्दु कडरिया, कुमार दसौँदी, दीपा गुरुङ, दिलकुमारी रावल थापा (पार्वती), नरपति लुवार र रामचन्द्र राई हुनुहुन्छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनीत विमला राई पौड्यालको आजैदेखि पदावधि सकिँदैछ ।
त्यस्तै, नेपाली कांग्रेसको तर्फबाट राष्ट्रिय सभा संसदीय दलका नेता रमेशजंग रायमाझी, अनिता देवकोटा, प्रकाश पन्थ र जितेन्द्रनारायण देवको पदावधि सकिँदैछ ।
माओवादी केन्द्रबाट विना पोखरेल, महेशकुमार महरा, हरिराम चौधरी तथा एकीकृत समाजवादीका तर्फबाट नन्दा चपाईं, सिंगबहादुर विश्वकर्मा र जसपाकी प्रमिलाकुमारी यादव रहनुभएको छ । स्वतन्त्र सांसद खिमलाल देवकोटाको पनि यही समयमा पदावधि सकिँदैछ ।
आजदेखि रिक्त हुने २० मध्ये १९ पदमा निर्वाचन भइसकेको छ । निर्वाचित सांसदहरूले सोमबार शपथग्रहण गर्ने कार्यक्रम रहेको छ । बाँकी रहेको एक पदमा भने मन्त्रिपरिषद्को सिफारिसबमोजिम राष्ट्रपति रामचन्द्र पौडेलले मनोनयन गर्नेछन् ।
आज संघीय संसद्का ६ वटा समितिका बैठक बस्दै
काठमाडौं । आज एकै दिन संघीय संसद्का ६ वटा समितिका बैठक बस्दैछन्। बैठकहरु संघीय संसद् सचिवालय सिंहदरबारमा बिहान ११ बजे बस्नेछन्।
संसद् सचिवालयका अनुसार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्नेछन्।
विधायन व्यवस्थापन समितिको बैठक दिउँसो ४ बजे बस्ने संसद् सचिवालयले जानकारी दिएको छ।
नामिबिया र नेदरल्यान्ड्सबीच ११ बजे प्रतिस्पर्धा हुँदै
काठमाडौं । त्रिदेशीय ट्वान्टी–२० शृंखलाअन्तर्गत आज नामिबिया र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुँदैछ । आज बिहान साढे ११ बजेबाट कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ ।
नेदरल्यान्ड्स तीन खेलमा एकमा हार र दुईमा जितसहित चार अंकका साथ पहिलो स्थानमा छ भने नामिबिया समान तीन खेलमा एकमा जित र दुईमा हारसहित दुई अंकका साथ समूहमा तेस्रो तथा अन्तिम स्थानमा छ ।
नेपाल चार खेलमा दुई जित र दुईमा हारसहित चार अंकका साथ दोस्रो स्थानमा छ ।
प्रधानमन्त्री प्रचण्ड र झलनाथ खनालबिच भेटवार्ता
काठमाडौँ । सत्ता गठबन्धनका विषयमा अनेक आशङ्का उब्जिरहेको अवस्थामा शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ ।
बालुवाटारमा भएको भेटमा समसामयिक राजनीतिक विषय र आपसी हितका विषयमा कुराकानी भएको बालुवाटार स्रोतले जानकारी दियो ।
पछिल्लो समय राष्ट्रियसभाको अध्यक्षमा गठबन्धनका दुई ठुला दल माओवादी केन्द्र र नेपाली कांग्रेसले दाबी गरेपछि यही विषयले गठबन्धन फुट्न लागेकोसम्मका चर्चा भइरहेका छन् । यो विषयमा पनि खनालले प्रधानमन्त्री प्रचण्डसँग जिज्ञासा राखेको जनाईएको छ ।
यसअघि एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पनि प्रचण्डलाई भेटेर सहमतिमै राष्ट्रियसभाको अध्यक्षका उम्मेदवार तय गर्न सुझाव दिएका थिए ।
टी २० आई सिरिजमा नेदरल्याण्ड्ससँग भिडदै नेपाल
काठमाण्डौ । त्रिकोणात्मक टि २० आई सिरिजमा आज नेपाल नेदरल्याण्ड्ससँग भिडदै छ।
त्रिवि मैदान कीर्तिपुरमा खेल बिहान साढे ११ बजेदेखि सुरू हुनेछ।
अघिल्ला तीन खेलमध्ये १ खेलमात्रै जितेको नेपाललाई आजको खेल महत्त्वपूर्ण छ। सिरिजको फाइनलमा पुग्नका लागि नेपालले आजको खेल जित्नैपर्ने दबाब छ।
नेपाल नामिबियासँगको पहिलो खेलमा २० रनले पराजित भएको थियो। नेदरल्याण्ड्ससँगको पहिलो खेलमा २ रनले पराजित भएको थियो।
हिजो नामिबियासँग भएको दोस्रो खेलमा भने नेपालले ३ रनको रोमाञ्चक जित हात पारेको थियो। शनिबार नेदरल्याण्ड्सविरूद्ध जित निकाल्न सके नेपाल सिरिजको फाइनल पुग्ने सम्भावना कायम रहन्छ।
सिरिजमा दुई खेल मात्रै खेलेको नेदरल्याण्ड्स दुवै खेलमा जित निकाल्दै अंक तालिकाको शीर्ष स्थानमा छ। नेपाल र नामिबियाको समान २, २ अंक छ। नेट रन रेटका आधारमा नेपाल दोस्रो र नामिबिया पुछारमा छ।
आजको खेल जित्न सक्दा नेपालको दुई अंक जोडिन्छ। नामिबियाले भोलि नेदरल्याण्ड्ससँग खेल्दैछ। नेपालले आज जित्दा र भोलि नामिबियाले हार्दा पनि नेदरल्याण्ड्स र नेपालले सिरिजको फाइनल खेल्ने छन ।
शुक्रबार नामिबियाविरूद्ध अनिल साह र आशिफ शेखले ओपनिङ गरेका थिए। कुशल भूर्तेललाई बेञ्चमा राखिएको थियो।
नेपालले नामिबियालाई १८१ रनको लक्ष्य दिएकोमा अन्तिम ओभरमा करण केसीले उत्कृष्ठ बलिङ गर्दा नेपाल ३ रनले विजयी भएको थियो।
हिजोको खेलमा कुशल मल्लले अर्धशतक प्रहार गरेका थिए। आजको खेलमा पनि नेपाल उत्कृष्ट प्रदर्शन र जितको खोजीमा रहनेछ।
नामिबियामाथि नेपालको रोमाञ्चक जित
काठमाडौं । त्रिदेशीय टी–२० सिरिजको तेस्रो खेलमा नामिबियाविरुद्ध नेपालले रोमाञ्चक जित निकालेको छ ।
१८१ रनको लक्ष्य पछ्याएको नामिबियाले पूरै ओभर खेल्दा ७ विकेट क्षतिमा १७७ रन बनायो ।
आफ्नो तेस्रो खेलमा नेपालले नामिबियालाई तीन रनले हराएको हो । जितसँगै नेपालले फाइनल प्रवेशको सम्भावना पनि जिवितै राखेको छ ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपाली टोलीले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ८० रन बनाएको थियो ।
जवाफी ब्याटिङमा ओर्लिएको नामिबियाले भने निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय ७७ रनमात्र बनाउन सक्यो । नामिबियालाई अन्तिम ओभरमा जितका लागि १२ रन चाहिएको थियो । तर करण केसीले कसिलो बलिङ गर्दै ८ रन मात्र दिए ।
यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले कुशल मल्लको अर्धशतक मद्दतमा २० ओभरमा ८ विकेट गुमाउँदै १८० रन बनाएको थियो ।
नेपालका लागि कुशल मल्लले अर्धशतकीय पारी खेले । उनी ५५ रनमा नट आउट रहे ।
भरतपुरमा पर्यटन विकासको प्रचुर सम्भावना भएको ओलीको टिप्पणी
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भरतपुर पर्यटन विकासको प्रचुर सम्भावना भएको टिप्पणी गरेका छन ।
नारायणी नदी किनारमा शुक्रबार आयोजित भरतपुर भ्रमण वर्ष २०२४ उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले भरतपुर पूर्वपश्चिम राजमार्ग र हुलाकी राजमार्गसमेत छोएको ठाउँ भएकाले पर्यटनको प्रचुर सम्भावना रहेको जानकारी दिएका हुन ।
उनले भने,‘उत्तरदक्षिण बाटो, पूर्वपश्चिम राजमार्ग, हुलाकी राजमार्गसहितले छोएको यस्तो ठाउँ यहाँ पर्यटनको प्रचुर सम्भावना छ । मैले आफ्नो समयमा नदीको बाटोबाट गंगानदी जोड्ने र हाम्रो कोशी, नारायणी, कर्णाली जस्ता नदीहरुलाई प्रयोग गरेर नदीको बाटोबाट कोलकाता बंगालसम्म जोडिने कुरालाई अगाडि बढाएको थिएँ ।’
अध्यक्ष ओलीले भरतपुर देशका विभिन्न क्षेत्रबाट बसाइसराई गरेर आएका र यहाँका आदिवासीको सुन्दर सम्मिश्रणको सहर भएको धारणा व्यक्त गरे ।
भरतपुरमा पूर्वाधार विकाससँगै कृषि, शिक्षा, स्वास्थ्य क्षेत्रको केन्द्र बनाउन सकिने भन्दै यहाँको विश्वविद्यालयले कृषि क्षेत्रमा मार्गदर्शनको काम गर्न सक्नुपर्ने उनको भनाइ थियो ।
उपचुनावका लागि चैत २४ गते मनोनयन दर्ता
काठमाण्डौ आउँदो १५ वैशाखमा हुने उपनिर्वाचनको लागि निर्वाचन आयोगबाट निर्वाचन कार्यक्रम स्वीकृत भएको छ ।
शुक्रबार आयोग प्रवक्ता शालिग्राम शर्मा पौडेलले विज्ञप्ति जारी गरेर दिएको जानकारीअनुसार आगामी २४ चैत्र बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुनेछ भने सोही दिन बेलुका ५ बजेदेखि ६ बजेसम्ममा उम्मेदवारको सूची प्रकाशन हुनेछ।
उल्लिखित सूचीमा रहेका उम्मेदवारको विरोधमा उजुरी दिने अवधि २५ चैत बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ । सोही दिनको दिउँसो ३ बजे उपरान्त २६ चैत बेलुका ५ बजेसम्ममा मनोनयनपत्र र उजुरी उपर जाँचबुझ एवम् निर्णय गरी २६ चैतकै बेलुका ५ बजेदेखि ६ बजेसम्ममा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको नामावली प्रकाशन गरिने प्रवक्ता पौडेलले जानकारी दिए ।
आगामी १५ वैशाखमा प्रतिनिधिसभा सदस्यका लागि इलाम २ र प्रदेशसभा सदस्यका लागि बझाङ १ को १ मा उपनिर्वाचन हुन लागेको हो ।