काठमाडौं । इरानको सेनाले इजरायलमा ड्रोन र मिसाइल आक्रमण सुरु गरेको छ ।
सेनाले शनिबार राति यस आक्रमणको जानकारी दिएको हो । मिडिया रिपोर्टका अनुसार अमेरिकी सेनाले केही इरानी ड्रोन खसालेको इजरायली सेनाले जानकारी दिएको छ ।
इजरायली च्यानल १२ ले इरानले ड्रोन आक्रमण गरेको जनाएको छ । इरानले प्रहार गरेका केही ड्रोनहरू सिरिया र जोर्डनमा खसालिएको जनाईएको छ ।
यसैबीच संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनी गुट्रेसले इरानले इजरायलमाथि गरेको आक्रमणको कडा निन्दा गरेका छन ।
इजरायलमाथि इरानको ड्रोन र मिसाइल आक्रमण
आज १ बजे एमाले सचिवालय बैठक बस्दै
काठमाडौं । नेकपा (एमाले) को सचिवालय बैठक आज बस्दैछ ।
बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो एक बजे बस्ने छ ।
बैठकमा १५ वैशाखमा हुने उपनिर्वाचन, राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको तयारीलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने जानकारी दिईएको छ ।
एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आगामी वैशाख ८ र ९ गते ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा बस्ने तय छ ।
विभिन्न जिल्लाबाट आएका २ हजार १५३ जना प्रतिनिधि सहभागी हुने बैठकले केन्द्रीय कमिटी र केन्द्रीय निकायका तर्फबाट प्रस्तुत गर्ने प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने एमालेले जानकारी दिएको छ ।
यस्तै बैठकले समग्र कामको समीक्षा गरी आवश्यक निर्देशन समेत दिनेछ । वैशाख १० गते नेकपाको ७५औं स्थापना दिवसको अवसर पारेर एमालेले विशेष कार्यक्रम समेत आयोजना गर्दैछ ।
आज प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
काठमाण्डौं । प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ ।
संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ।
चालु अधिवेशनमा विभिन्न मन्त्रालयबाट उत्तर प्राप्त भएका सबै मौखिक तथा लिखित प्रश्न र उत्तरहरू सम्बन्धित मन्त्रीहरुबाट टेबुल गरिने सम्भावित कार्यसूचीमा उल्लेख छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले सुरक्षण मुद्रण विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८० पेस गर्नेछन् ।
त्यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको पाँचौँ वार्षिक प्रतिवेदन २०८० पेस गर्ने कार्यसूची रहेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले राष्ट्रियसभामा उत्पत्ति भएको ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०५० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ ।
त्यस्तै, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले संघीय निजामति सेवा विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले राष्ट्रियसभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक, २०८० लाई दफाबार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछ ।
सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २१३ को उपनियम (१) बमोजिम १० वा सो भन्दा बढी बैठकमा अनुपस्थित माननीय सदस्यहरूको अनुपस्थितिको सूचनाहरू सभाको स्वीकृतिको लागि पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ।
आजै राति १२ बजेबाट हिउँदे अधिवेशनको अन्त्य हुँदैछ।
आज नेपाल कतारसँग भिडदै

काठमाडौं । आज नेपाल ओमानमा जारी एसीसी प्रिमियर कप २०२४ मा आफ्नो दोस्रो खेलमा कतारसँग भिडदै छ ।
खेल दिउँसो ४ः१५ मा अल अमरेत क्रिकेट मैदान १ मा सुरु हुनेछ । नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेटले हराएको थियो ।
कतार पहिलो खेलमा हङकङले दिएको २०२ रनको लक्ष्य पछ्याउनेक्रममा २६ रनले पराजित भएको थियो । नेपालले मलेसियाले दिएको १४४ रनको लक्ष्य १९.२ ओभरमा पूरा गरेको थियो ।
नेपाली ब्याटरलाई आजको खेलमा आक्रामक क्रिकेट खेल्न आवश्यक देखिन्छ । दीपेन्द्रसिंह ऐरी नेपालका प्रमुख हतियार हुन् । उनको अलराउन्ड प्रदर्शन निकै महत्वपूर्ण हुनेछ । आजको खेलमा नेपालले टोलीमा परिवर्तन गर्ने सम्भावना कम छ ।
उता कतारका कप्तान मोहम्मद तनवीर प्रमुख हतियार हुन् । उच्च लयमा रहेका तनवीरको विकेट समयमै लिन आवश्यक देखिन्छ । कतारको शीर्षक्रम ब्याटिङ मजबुत छ ।
नेपाल र कतारबीच हालसम्म एक मात्रै टी २० आई खेल भएको छ । आईसीसी टी २० विश्वकप एसिया क्षेत्र फाइनल २०१९ मा नेपालले दिएको १२३ रनको लक्ष्य कतारले १९।२ ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेको थियो । १० टोली सहभागी यस प्रतियोगिता विजेताले टी २० एसिया कप खेल्न पाउनेछ ।
आजदेखि ठमेल र दरबारमार्ग २४ सै घण्टा खुला हुने
काठमाण्डौं । संघीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेल र दरबारमार्ग क्षेत्र आजदेखि २४ सै घण्टा खुला हुने भएको छ ।
उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले आचारसंहिता निर्माण गरि उक्त क्षेत्रलाई आज नयाँ वर्ष वैशाख १ गतेदेखि २४ सै घण्टा सञ्चालन गर्न लागेको हो ।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले ठमेल र दरबारमार्ग क्षेत्रलाई सुरक्षित बनाउन भरपर्दो सुरक्षा व्यवस्था मिलाइएको जानकारी दिए । उनले आजदेखि ठमेल र दरबारमार्ग क्षेत्रलाई पूर्ण समय व्यवसाय सञ्चालन गर्नेगरी रात्रिकालीन व्यवसाय सञ्चालन गर्ने तयारी गरेकाले सोहीअनुसारको सुरक्षा व्यवस्था सुदृढ बनाइएको जनाए ।
“जिल्ला सुरक्षा समितिले रात्रिकालीन समयमा मनोरञ्जनात्मक व्यवसायको लागि विभिन्न समय तोकेर खुला राखेको अवस्था रहेपनि अब सबै किसिमका व्यवसाय सञ्चालन गर्नेगरी बजार खुला रहन्छ,”– उनले भने । ठमेल र दरबारमार्ग क्षेत्रमा पूर्ण समय व्यवसाय सञ्चालन गर्नेगरी ‘आचारसंहिता तथा मापदण्ड–२०८० स्वीकृत गरेको उनको भनाई छ ।
प्रमुख जिल्ला अधिकारी बस्नेतले आचारसंहितामा व्यवसायीले पालना गर्नुपर्ने आचारसंंहिता, उपभोक्ताले पालना गर्नुपर्ने आचारसंहिता, स्थानीय बासिन्दाको अधिकार, दायित्व र सुरक्षा संयन्त्रले सुरक्षा प्रदान गर्नका लागि अवलम्बन गर्नुपर्ने विधि, प्रक्रिया उल्लेख गरिएको छ ।
ठमेल र दरबारमार्ग क्षेत्रलाई सञ्चालन गर्नका लागि तयार गरिएको विशेष सुरक्षा योजना भित्र पर्यटक प्रहरीलाई अझै व्यवस्थित र प्रभावकारी बनाइनेछ । ठमेलभित्र व्यवसायी मात्रै नभई स्थानीय बासिन्दाको पनि बसोबासको क्षेत्र भएकाले स्थानीयलाई कुनै असर नपर्नेगरी व्यवस्था मिलाइएको छ ।
रात्रिकालिन मनोरञ्जनात्मक व्यवसायका क्रममा हुने ध्वनि प्रदुषणलाई नियन्त्रण गर्नेलगायत आचारसंहिता तयार गरिएकोछ । उनले भगवान्वहाल क्षेत्रमा स्थानीयको बसोबास भएकाले सो स्थानमा यस्ता कार्यक्रम गर्न रोक लगाइएको जानकारी दिए ।
ठमेल र दरबारमार्ग क्षेत्रमा २४ सै घण्टा व्यवसाय सञ्चालन स्थानका शौचालयलाई निश्चित संकेत दिएर प्रयोग गर्न पाउने व्यवस्था मिलाइएको छ । यातायातका साधनको अभाव हुन नदिन नगरबस, ट्याक्सी, अनलाईन सवारी साधानको व्यवस्थापनमा लागिएको प्रजिअ बस्नेतले जनाए । यसैगरी, पार्किङ व्यवस्थापन, आन्तरिक सुरक्षालगायतको व्यवस्था मिलाइएको छ ।
ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले ठमेल र दरबारमार्गको अर्थतन्त्रलाई चलायमान बनाउनका लागि उक्त बजारलाई २४ सै घण्टा खुला गर्न लागिएको जानकारी दिए । उनले व्यवसायको पाटोबाट गर्नुपर्ने आन्तरिक तयारी पुरा भएको उल्लेख गरे ।
दरबारमार्ग विकास बोर्डका संयोजक सञ्जय अधिकारीले २४ सै घण्टा बजार खुल्ने कुराले अन्तर्राष्ट्रिय स्तरमा सकारात्मक सन्देश जाने विश्वास व्यक्त गरे । उपप्रधानमन्त्री एवं गृहमन्त्री लामिछानेको प्रमुख आतिथ्यतामा विभिन्न सुरक्षा निकायका प्रमुख तथा विशिष्ट व्यक्तिको उपस्थितिमा आज अपराह्न एक कार्यक्रम आयोजना गरी उक्त क्षेत्र चौबिसै घण्टा खुला राख्ने घोषणा हुनेछ ।
१५ वर्षीया बालिकालाई करणी गरेको अभियोगमा ६२ वर्षीय पुरुष पक्राउ
दाङ । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।
तुलसीपुर उपमहानगरपालिका–१३ साजखुटी बसन्तखेत बस्ने ६२ वर्षीय मानबहादुर सुनारलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
सुनारले ती किशोरीलाई बिहीबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय फुलबारी र तुलसीपुरबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।
अधिकांश बैंकले घटाए ब्याजदर, पाँचको स्थिर दुईको बढ्यो
काठमाडौं । वाणिज्य बैंकहरुले वैशाख महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । जसअनुसार चैतको तुलनामा वैशाखमा औसत ब्याजदर सामान्य घटेको देखिएको छ ।
व्यक्तिगत मुद्दती निक्षेपमा चैतमा औसतमा अधिकतम ७.२५ प्रतिशत ब्याज दिएका वाणिज्य बैंकहरुले वैशाखमा भने औसतमा अधिकतम ७.०७ प्रतिशत ब्याज दिने भएका छन् ।
२० वाणिज्य बैंकमध्ये १३ बैंकले निक्षेपमा अधिकतम ब्याजदर घटाएका छन् । ५ बैंकले चैतकै ब्याजदरलाई निरन्तरता दिएका छन् भने दुई बैंकले ब्याजदर बढाएका छन् ।
कृषि विकास बैंकले वैशाखका लागि व्यक्तिगत मुद्दतीमा चैत महिनाकै ब्याजदर ५.६६६१ लाई निरन्तरता दिएको छ । त्यस्तै, एसबीआईले व्यक्तिगत मुद्दतीमा ६.५३ प्रतिशत र संस्थागततर्फ ५.५३ प्रतिशत ब्याज दिने भएको छ । यसअघि चैतमा व्यक्तिगततर्फ ७.०१ र संस्थागततर्फ ६.०१ प्रतिशत ब्याज दिएको थियो ।
यता राष्ट्रिय वाणिज्य बैंकले वैशाखका लागि व्यक्तिगत मुद्दतीमा ६.५५ प्रतिशत र संस्थागततर्फ ५.३५ प्रतिशत ब्याज दिने जनाएको छ । चैतमा भने व्यक्तिगततर्फ ७ प्रतिशत र संस्थागततर्फ ५.३५ दिएको थियो ।
त्यस्तै, नयाँ ब्याजदरअनुसार नेपाल बैंकले व्यक्तितर्फ ६.७५ र संस्थागततर्फ ४.७५, एभरेस्टले व्यक्तिगततर्फ ७ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत, स्ट्यान्डर्ड बैंकले व्यक्तिगततर्फ ७ प्रतिशत र संस्थागततर्फ ५.२५ प्रतिशत ब्याजदर दिने भएका छन् ।
यसका साथै व्यक्तिगत र संस्थागत मुद्दतीतर्फ नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ७ र ६ प्रतिशत, प्रभु बैंकले ७ र ६.५, लक्ष्मी सनराइजले ७ र ६, ग्लोबल आईएमईले ७ र ६, प्राइम कमर्सियल बैंकले ७.१ र ६.१ प्रतिशत ब्याजदर दिने घोषणा गरेका छन् ।
वैशाखमा सानिमा बैंकले व्यक्तितर्फ ७.१ र ६.१ प्रतिशत, नबिल बैंकले ७.२५ र ६.२५ प्रतिशत, सिद्धार्थ बैंकले ७.२५ र ६ प्रतिशत, माछापुच्छ्र्रे बैंकले ७.२५ र ५.२५ प्रतिशत तथा कुमारी बैंकले ७.२६ र ६.२६ प्रतिशत ब्याज दिने भएका छन् ।
यता, हिमालयन बैंकले व्यक्तिगत मुद्दतीतर्फ ७.५ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत, सिटिजन्स बैंकले ७.५ र ६.१५ प्रतिशत, एनआईसी एशियाले ७.७५ र ६.७ प्रतिशत तथा एनएमबि बैंकले ७.९७ र ६.९७ प्रतिशत ब्याज दिने भएका छन् ।
यसरी हेर्दा संस्थागत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर ०.१३ प्रतिशत विन्दुले घटेको छ। चैतमा ६.०० प्रतिशतविन्दु रहेको यस्तो निक्षेपमा बैंकहरुको औसत ब्याजदर बैशाखका लागि घटेर ५.८१ प्रतिशत विन्दुमा झरेको छ ।
सरकारले २ गतेदेखि संसद् अधिवेशन अन्त्य गर्ने
काठमाडौं । सरकारले संसदको चालू अधिवेशन वैशाख २ गते मध्यराति देखि अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले संक्रमणकालीन न्यायसँग सम्बन्धी आयोगको अध्यक्ष नियुक्त गर्न सिफारिस समिति गठन गर्ने निर्णय गरेको छ ।
त्यसैगरी राष्ट्रियसभाको रिक्त सदस्य पदमा डा. अञ्जान शाक्यलाई नियुक्त गर्न सिफारिस गरिएको छ भने सुन्तलालाई राष्ट्रिय फलको रुपमा मान्यता दिने निर्णय भएको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
लुम्बिनीका मुख्यमन्त्रीलाई प्रदेश सभामा विश्वासको मत प्राप्त
काठमाण्डौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले विश्वासको मत प्राप्त गरेका छन् ।
आज बसेको लुम्बिनी प्रदेशसभा बैठकमा मुख्यमन्त्री महराले ४८ सांसदको मत पाएका छन् ।
मुख्यमन्त्री महरालाई एमालेका २९, माओवादीका १०, नागरिक उन्मुक्ति पार्टीका ४, जसपाका ३, एकीकृत समाजवादीका १ र स्वतन्त्र सांसद १ गरी ४८ जना प्रदेशसभा सदस्यले विश्वासको मत दिएका छन् ।
मुख्यमन्त्री महराको विपक्षमा कांग्रेसका २७ र जनमोर्चाका १ सांसद उभिएका थिए । राप्रपा ४ र लोसपाका ३ सांसद बैठकमा अनुपस्थित रहेका छन् ।
८७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४४ प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्छ । माओवादी केन्द्र संसदीय दलका नेता महरा ४८ जनाको समर्थनमा चैत २३ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।
आज बाजुरामा भूकम्पको धक्का
काठमाडौं । बाजुरामा आज भूकम्प भएको छ । आज बिहान बाजुराको बाह्रबिसे केन्द्र बनाएर ३.७ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।
भूकम्प बिहान ३ बजेर ५३ मिनेटमा गएको हो ।