काठमाडौं । सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछाने स्वयम् मुछिएको भन्दै नेपाली कांग्रेसले संसदीय छानविन समिति गठन गर्न माग राखेर संसद्मा अवरोध गरिरहेको विषयमा सभामुख देवराज घिमिरेले पहल लिने भएका छन ।
सभामुख घिमिरेले सोमबार त्यसबारे छलफल गर्न संसद्मा रहेका प्रमुख चार दललाई छलफलका लागि बोलाएका छन । सोमबार दिउँसो दुई बजे सभामुखको कार्यकक्ष सिंहदरबारमा बस्ने बैठकमा शीर्ष नेतालाई छलफलका लागि बोलाइएको छ ।
प्रतिनिधि सभाको अर्को बैठक मंगलबारका लागि बोलाइएको छ । कांग्रेसले अघिल्लो बैठकमा अर्को बैठकमा संसदीय समिति गठन गरेरमात्रै आउन भन्दै सरकारलाई अल्टिमेटम दिएको थियो ।
सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीका अनुसार आइतबार चार जना नेतासँग टेलिफोनमा कुरा गरेर सभामुख घिमिरेले छलफलको समय निर्धारण गर्नुभएको हो ।
अधिकारीका अनुसार प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र रास्वपाका सभापति रवि लामिछानेलाई छलफलका लागि बोलाइएको छ ।
सभामुखले शीर्ष चार दलका नेतासँग छलफल गर्दै

उपनिर्वाचनका उम्मेदवारको नाम आज प्रकाशन गरिने
काठमाण्डौं । इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि मनोनयन भएका उम्मेदवारको नामावली आज सार्बजनिक गरिने भएको छ ।
निर्वाचन आयोगका अनुसार उम्मेदवार बिरूद्द उजुरीका लागि आइतबार बिहान १० बजेदेखि ३ बजेसम्मको समय निर्धारण गरिएको थियो । तर, साँझ ५ बजे आयोगले कुनै पनि उम्मेदवार बिरूद्द उजुरी नपरेको जनाएको थियो । आइतबार साँझ उम्मेदवारको मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गरिसकेको छ ।
आयोगले सार्बजनिक गरेको कार्यतालिका अनुसार अनुसार चैत २६ गते अपराह्न ५ देखि साँझ ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुने जानकारी दिईएको छ ।
साथै, चैत २७ गते उम्मेदवारको नाम फिर्ता, उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम तय गरिएको आयोगले जनाएको छ । २०८१ वैशाख १५ गते बिहान ७ देखि बेलुका ५ बजेसम्म मतदान हुनेछ ।
नेपालले जित्यो ‘एसएमएस फ्रेन्डसिप कप’को उपाधि
काठमाडौं । फाइनलमा गुजरात क्रिकेट एसोसियसनविरुद्ध १८ रनको जित निकाल्दै नेपालले ‘एसएमएस फ्रेन्डसिप कप’को उपाधि जितेको छ ।
आइतबार भारतको वापीमा सम्पन्न फाइनलमा नेपालले प्रस्तुत गरेको १७७ रनको लक्ष्य पछ्याउने क्रममा गुजरातले निर्धारित २० ओभर खेले पनि आठ विकट गुमाएर १५८ रनमात्र बनाएको थियो ।
शेयर बजारमा २२.७५ अंकको सुधार, सवा चार अर्ब बढीको कारोबार
काठमाडौं । निरन्तर घटिरहेको शेयर बजार आज भने दोहोरो अंकले उचालिएको छ । कारोबार रकम पनि सवा ४ अर्ब नाघेको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २२.७५ अंकले बढेको हो । १.१३ प्रतिशतले बजार बढ्दा नेप्से २०२६.८१ अंकमा उक्लिएको छ ।
आज ३११ कम्पनीका १ करोड १२ लाख १० हजार १ सय २ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब २५ करोड ६६ लाख ७६ हजार ३ सय २२.५६ रुपियाँ बराबरको करोबार भएको हो ।
बजार बढेको दिन विभिन्न ८ कम्पनीका लगानीकर्ताहरुले ९ प्रतिशत बढी नाफा कमाएका छन् । नेपाल फाइनान्स, पोखरा फाइनान्स, जानकारी फाइनान्स र गुराँस लघुवित्तका लगानीकर्ताहरुले १०–१० प्रतिशतले नाफा कमाएका हुन् ।
त्यस्तै मानुषी लघुवित्त, वीन नेपाल लघुवित्त, दोल्ती पावर र सबैको लघुवित्तका लगानीकर्ताहरुले क्रमशः ९.९९, ९.७४, ९.५५ र ९.०२ प्रतिशतले नाफा कमाए ।
यसैगरी आज सबैभन्दा बढी तारागाउँ रिजेन्सी होटलका लगानीकर्ताहरुले १० प्रतिशतले घाटा व्यहोरे ।
आज नेपाल रि–इन्स्योरेन्सको संस्थापक शेयर सबैभन्दा बढी किनबेच भएको हो । उक्त कम्पनीको ९५ करोड २० लाखको शेयर किनबेच भएको नेप्सेले जानकारी दिएको छ ।
आज होटल समूहबाहेक अरुमा हरियाली छाएको छ । होटल समूह ०.०८ प्रतिशतले घट्दा वित्त समूह सबैभन्दा बढी ५.९५ प्रतिशतले बढेको छ ।
आज पाँचवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । संघीय संसद्अन्तर्गत पाँच वटा संसदीय समितिको बैठक बस्दै छ । दिउँसो १ बजे उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्नेछ । बैठकमा उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ४१ मा व्यवस्था भएबमोजिमको उपभोक्ता अदालत गठनका सम्बन्धमा पदाधिकारीसँग छलफल हुने कार्यसूचीमा उल्लेख छ ।
कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे बस्नेछ भने महिला तथा सामाजिक मामिला समितिको बैठक मध्याह्न १२ बजे बस्नेछ । महिला समितिमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुको वर्तमान अवस्था र अनुगमन सम्बन्धमा छलफल हुने जनाईएको छ ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान ११ बजे बस्नेछ । विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका सम्बन्धमा संशोधनकर्तासँग छलफल गर्ने गर्ने कार्यसूचीमा रहेको छ । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक दिउँसो साढे १२ बजे बस्ने छ ।
उपनिर्वाचनका उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने
काठमाडौँ । निर्वाचन आयोगले सार्वजनिक गरेको उपनिर्वाचन कार्यसूची अनुसार आज उम्मेदवारको विरोधमा उजुरी दिन सकिनेछ । आयोगका अनुसार आज उम्मेदवारको विरोधमा उजुरी दिने, मनोनयनपत्र तथा उजुरी उपर जाँचबुझ गर्ने र उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यसूची रहेको छ ।
चैत २७ गते उम्मेदवारको नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा उम्मेदवारलाई निर्वाचन चिह्न वितरण गर्ने कार्यक्रम छ ।
आगामी वैशाख १५ गते शनिबारका दिन बिहान ७ देखि साँझ ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुने आयोगले जानकारी दिएको छ । आयोगले मतदानमा सहभागी भई आफ्नो मताधिकार प्रयोग गर्न आयोग सम्बन्धित सबै मतदातामा आह्वानसमेत गरेको छ ।
निर्वाचन आयोगले शनिबार इलाम र बझाङ जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता गरेको थियो । आयोगका अनुसार इलाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ को उपनिर्वाचनका लागि १२ राजनीतिक दलबाट १२ र आठ स्वतन्त्र उम्मेदवार गरी कुल २० जनाको मनोनयनपत्र दर्ता भएको छ । मनोनयनपत्र दर्ता गर्ने २० जना सबै पुरुष छन् ।
बझाङ निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा सदस्य उपनिर्वाचनका लागि १२ राजनीतिक दलबाट १२ जनाको मनोनयनपत्र दर्ता भएको आयोगले जानकारी दिएको छ । जसमध्ये एक महिला र ११ पुरुष रहनु भएको छ ।
आज लुम्बिनीका मुख्यमन्त्री महराले शपथ लिँदै
काठमाण्डौं । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन्।
आइतबार दिउँसो १ बजेर ४५ मिनेटमा शपथग्रहणको कार्यक्रम हुन लागेको जानकारी दिईएको छ । प्रदेश प्रमुखको कार्यालय बुटवलमा शपथग्रहण कार्यक्रम आयोजना गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।
एमाले,जनता समाजवादी एकीकृत समाजवादी,नागरिक उन्मुक्ति र एक स्वतन्त्र सांसद गरी ४८ जना प्रदेशसभा सदस्यको समर्थनमा माओवादी केन्द्रका महरा मुख्यमन्त्री नियुक्त भएका हुन्। उनलाई शुक्रबार मुख्यमन्त्री नियुक्त गरिएको हो।
केन्द्रको सत्तासमीकरण फेरिएसँगै लुम्बिनीमा कांग्रेसबाट मुख्यमन्त्री बनेका डिल्लीबहादुर चौधरीले गत बिहीबार पदबाट राजीनामा दिएका थिए।
त्रिशूली पुलको लठ्ठा चुँडिदा आवागमन बन्द
त्रिशूली । नुवाकोटको विदुर नगरपालिका–६ त्रिशूली नदीको पक्की पुलको लठ्ठा चुँडिएपछि आवागमन पूर्णरुपमा बन्द भएको छ ।
देवीघाट जलविद्युत् केन्द्रको निर्माणको समयमा करिब ४० वर्षअघि निर्माण भएको पुलका मुख्य चारमध्ये एउटा लठ्ठा चुडिँएकाले पुलबाट आवागमन बन्द गरिएको विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले जानकारी दिए । उनका अनुसार गत पुस पहिलो साता पुलको लठ्ठामा समस्या देखिएपछि दुईपाङ्ग्रे सवारीसाधनलाई मात्र पुलबाट आउजाउको अनुमति दिइएको थियो । उनले जतिसक्दो चाँडो मर्मतसम्भार गरेर पुल पुनः सञ्चालन हुने प्रतिबद्धता व्यक्त गरे ।
विदुर नगरपालिका–४ बजारबाट सिधै विदुर–६ मान्द्रेढुङ्गा हुँदै तारकेश्वर गाउँपालिका र धादिङबेँसी पुग्ने छोटो बाटोको उक्त पुल बन्द भएपछि सिमचउर र देवीघाटस्थित धुनिबेँसीको पुल प्रयोग गर्न नगरपालिकाले अनुरोध गरेको छ ।
बट्टार बजारबाट मान्द्रेढुङ्गा हुँदै चैनपुर, दाङसिंह जाने मुख्य सडकखण्ड विदुर नगरपालिकाको प्रस्तावमा ‘प्रादेशिक सडक गुरुयोजना’मा समावेश गरिएको पूर्वाधार विकास कार्यालय नुवाकोटले जनाएको छ । सडकलाई गुरुयोजनामा समावेश गरिएको भए पनि पुलको मर्मतसम्भार एवं पुनःनिर्माण सम्बन्धमा निर्णय भएको छैन ।
इलाममा एमालेका उम्मेदवारलाई सघाउने माओवादीकाे निर्णय
काठमाडौं । माओवादी केन्द्रले इलाम–२ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङलाई सघाउने निर्णय गरेको छ। माओवादी केन्द्र र एमाले दुवै पार्टीका इलाम जिल्ला संयोजकले विज्ञप्ति जारी गर्दै उक्त निर्णय गरेको जनाएका छन्।
एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच चुनावी तालमेल गर्ने उच्चस्तरीय समझदारी भएबमोजिम इलाम २ को उपनिर्वाचनमा एमालेका उम्मेदवार नेम्वाङलाई सघाउने निर्णय भएको विज्ञप्तिमा जनाइएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘आगामी २०८१ वैशाख १५ गते हुन लागिरहेको इलाम(२ प्रतिनिधि सभा उपनिर्वाचनमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच नेकपा एमाले केन्द्रीय अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्र अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच चुनावी तालमेल गर्ने उच्चस्तरीय समझदारी भएकोले इलाम २ मा नेकपा एमालेको उम्मेदवार सुहाङ नेम्बाङ्गलाई साझा उम्मेदवारको रूपमा अत्यधिक बहुमतका साथ विजयी गराउन आम मतदाता, शुभेच्छुक, समर्थक आमाबुबा, दाजुभाइ दिदीबहिनीहरूमा हार्दिक अपिल गर्दछौँ।ु
विज्ञप्तिमा माओवादी केन्द्रका जिल्ला संयोजक विजय खम्बु र नेकपा एमाले जिल्ला अध्यक्ष महेश बस्नेतको हस्ताक्षर छ।
आज उपनिर्वाचनका उम्मेदवारको मनोनयन दर्ता
काठमाडौं । आगामी वैशाख १५ मा हुने उपनिर्वाचनका लागि आज उम्मेदवारको नाम मनोनय दर्ता हुने कार्यक्रम छ । इलाम क्षेत्र नं.२ र बझाङ प्रदेश १ (१) मा रिक्त स्थानमा उपनिर्वाचन हुने भएको छ ।
आज शनिबार ती दुवै स्थानमा उम्मेदवारले मनोनयन दर्ता गर्नेछन् । उम्मेदवारी दर्ताका लागि निर्वाचन आयोगले बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दिने समय निर्धारण गरेको छ ।
आज साँझ ६ बजे उम्मेदवारको मनोनयन पत्र दर्ता भएको सूची आयोगले प्रकाशन गर्ने गर्नेछ ।
त्यसैगरी उम्मेदवारको विरोधमा उजुरी दिनका लागि आयोगले आइतबार बिहान १० बजेदेखि ३ बजेसम्मको समय तय गरेको छ । अपराह्न ५ बजेपछि भने आयोगले उम्मेदवारको मनोनयन पत्र र उजुरीबारे जाँच गरी निर्णय सार्वजनिक गर्नेछ ।
इलाम क्षेत्र नं. २ मा तत्कालीन प्रतिनिधिसभा सदस्य नेकपा (एमाले) का उपाध्यक्ष तथा प्रतिनिधि सभाका सदस्य सुवासचन्द्र नेम्वाङको गत २६ भदौमा निधन भएपछि यो क्षेत्र खाली भएको हो ।
त्यसैगरी, बझाङको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ मा पनि त्यस क्षेत्रबाट निर्वाचित प्रदेश सभा सदस्य कांग्रेसका पृथ्वीबहादुर सिंहको गत २५ असारमा सवारी दुर्घटनामा निधन भएपछि त्यो क्षेत्र पनि रिक्त भएको हो ।
पर्सि चैत २६ गते अपराह्न ५ देखि साँझ ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुनेछ । चैत २७ गते भने आयोगले उम्मेदवारको नाम फिर्ता, उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम छ ।