काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्वामा उच्च अदालत पाटनले झगडिया झिकाउन आदेश दिएको छ । न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले झगडिया झिकाउन आदेश दिएको हो ।
बलात्कार आरोपमा जिल्ला अदालत काठमाडौंले सन्दीप दोषी ठहर गरेपछि उहाँ जिल्लाको फैसलाविरुद्ध उच्च अदालत पुगेका थिए ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले उनलाई ८ वर्ष कैद र ३ लाख जरिवानाको फैसला सुनाएको थियो। सन्दीपले उक्त फैसला बदरको माग गरेका छन ।
सन्दीपको मुद्दामा झगडिया झिकाउन उच्च अदालतको आदेश
माछापुच्छ्रे बैंकद्वारा क्रस बोर्डर भुक्तानीलाई सहजीकरण गर्न सम्झौता
काठमाडौं । माछापुच्छ्रे बैंकले नेपाल र भारत वीच क्रस बोर्डर भुक्तानी सहजीकरण गर्नका लागि नेपाल क्लियरिङ्ग हाउस र फोन पे सँग सम्झौता गरेको छ ।
फोन पे सँगको सम्झौताले नेपाल भ्रमणमा आउने भारतीय ग्राहकले यूपीएल अनेबल एपको प्रयोगद्धारा आफुले प्रयोग गरेको सेवा तथा खरिद गरेको वस्तु तत्काल फोन पे नेटर्वक आवद्ध बैंकका मर्चन्टहरुमा सोझै भुक्तानी गर्न सक्ने सुविधा प्रदान गर्ने छ । सम्झौताले व्यापारीहरूमा नगद लेनदेन कारोबार हटाएर क्यूआर भुक्तानीमार्फत सहज रुपमा कारोबार गर्न सुविधा प्रदान गरेको छ ।
सम्झौता अनुरुप उतm सेवा लाईभ गए पश्चात नेपालमा रहेका भारतीय नागरिकहरूले नेपाल राष्ट्र बैंकद्वारा तोकिएको सीमा पालना गर्दै बैंकमा खोलिएको कुनै पनि यूपीआई ह्यान्डल–लिंक गरिएको खाताबाट भारतमा सीधै पैसा पठाउन सक्नेछन् ।
राष्ट्र बैंकले तोकेको सिमाभित्र बसेर राष्ट्र बैंकले तोकीए बमोजिम दैनिक रुपमा १५ हजार भारतिय रुपैयाँँ र मासिक १ लाखसम्म भारत पठाउन सम्झौताले सहज हुने विश्वास बैंकले लिएको जनाएको छ ।
भारतमा रहेका नेपाली नागरिकहरूले भारतीय बैंकमा खोलेको खाताबाट प्रति करोवार भारु दुई लाख सम्म र खाता नभएको खण्डमा १ वर्षमा १२ वटा भन्दा बढि कारोबार ननाघ्ने गरि आफुलाई पायक पर्ने भारतीय बैंकबाट प्रति करोवार भारु पचास हजार पठाउन सक्नेछन् ।
नयाँ वर्षमा सीजीको ‘नयाँ सोचौँ, नयाँ रोजौँ’ उपहार योजना
काठमाडौं । इलेक्ट्रोनिक्स् ब्राण्ड सीजीले नयाँ वर्ष २०८१ को उपलक्ष्यमा ‘नयाँ सोचौँ, नयाँ रोजौँ’ योजना सार्वजनिक गरेको छ । कम्पनीले ग्राहकलाई ‘नयाँ गरौँ, नयाँ सोचौँ, र नयाँ नै रोजौँ’ भन्ने मूल सन्देशसहित उपहार योजना लिएर आएको हो ।
यस उपहार योजनाअन्तर्गत सी.जी.एस.ड.ए.को नवीनतम् प्रविधि एवम् गुणस्तरयुक्त घरायसी सामाग्रीहरू खरिद गरी ग्राहकहरूले लक्कीड्रमार्फत हरेक हप्ता सी.जी.एस.डी.ए.का उत्कृष्ट उत्पादनहरू जित्न सक्नेछन् ।
यो योजना चैत्र २३ गतेदेखि नेपालभर सीमित अवधिका लागि लागु हुने कम्पनीले जानकारी दिएको छ । बम्परमा दुई भाग्यमानी जोडीले थाइल्याण्ड रमेघौली सेराई घुम्न जान पाउने अवसर प्राप्त गर्नेछन् । यो योजनामा सहभागी हुन ग्राहकले क्यूआर कोडमा स्क्यान गरी आफ्नो विवरणहरू भर्नु पर्नेछ ।
आगामी बजेटमा जनताले परिवर्तनको महसुस गर्ने प्रधानमन्त्रीको दाबी
गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘ प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा जनताले परिवर्तन एवं विकासको महसुस गर्ने दाबी गरेका छन ।
नेकपा (माओवादी केन्द्र) जिल्ला पार्टीले आज गोरखामा आयोजना गरेको कार्यकर्ता भेटघाट एवं प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आगामी आर्थिक वर्ष २०८१, ८२ मा विकास र निर्माणका क्षेत्रमा प्रभावकारी आयोजना लिएर आउने जानकारी दिए ।
आगामी आर्थिक वर्षको बजेट विगत आर्थिक वर्षको जस्तो नहुने जनाउँदै प्रधानमन्त्री प्रचण्डले अध्यादेशमार्फत ऐन संशोधन गरेर जनताको सुझावलाई समेटेर नीति तथा कार्यक्रम निर्माण भइरहेको स्पष्टसमेत पारे । आगामी आर्थिक वर्षको बजेट निर्माणबारे जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले परिणाम दिने आयोजनालाई मात्र बजेटको व्यवस्था गरिने उनको भनाइ छ ।
“गोरखा जिल्लाको जनप्रतिनिधिको हैसियतले गोरखाको सडक पूर्वाधारमा मेरो ध्यान जानेछ”, प्रधानमन्त्री प्रचण्डले भने, “जलविद्युत, जडीबुटी र एवं अन्य पूर्वाधार क्षेत्रमा विशेष ध्यान दिनेछु यो पटक जनताले बुझ्नेगरी बजेट बिनियोजन हुनेछ ।” “आगामी आर्थिक वर्षमा देशभर सुशासन एवं सामाजिक न्यायका पक्षमा महत्त्वपूर्ण काम भएका छन्,” प्रधानमन्त्री प्रचण्डले भने, “शरणार्थी काण्डदेखि वाइडबडी प्रकरणसम्म आइपुग्दा भ्रष्ट्राचार गर्ने कोही पनि छुट्ने छैनन्, सुशासनको सरकारको काम अगाडि बढ्छ ।”
माओवादीले मात्र सामाजिक न्यायको क्षेत्रमा लाखौं मिटर ब्याजबाट पीडितलाई न्याय दिएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले यही सरकारले मात्र विदेशमा रहेका श्रमिक एवं देशभित्रका न्यून आयभएका श्रमिकलाई सामाजिक सुरक्षामा सामावेश गराएकोसमेत दाबी गरे ।
गोरखा जिल्ला जनयुद्धको समयमा पनि अग्रणी भूमिका रहेको उल्लेख गर्दै उनले विकास निर्माण र सामाजिक न्यायको विषयमा जनताले गरेको अपेक्षालाई सम्बोधन गर्ने विश्वास ब्यक्त गरे ।
गत वर्ष बजेट तथा नीति तथा कार्यक्रममा जनताको चाहनाअनुसार गर्न नसकिएको उल्लेख गर्दै प्रधानन्त्री प्रचण्डले गत आवमा परम्परागत बजेट निर्माण भयो र त्यसले अपेक्षित उपलब्धी हासिल गर्न नसकिएको उनको भनाइ छ ।
लुम्बिनीको मुख्यमन्त्रीमा माओवादीका महरा नियुक्त
काठमाण्डौं । लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महरा नियुक्त भएका छन् ।
प्रदेश प्रमुख अमिक शेरचननले आज महरालाई मुख्यमन्त्रीमा नियुक्त गरेका छन् ।
मुख्यमन्त्री महरालाई एमालेका २९, माओवादीका १०, नागरिक उन्मुक्ति पार्टी (नाउपा) का ४, जसपाका ३, नेकपा एकीकृत समाजवादीका १ र स्वतन्त्र १ सांसद गरी ४८ सांसदको समर्थन छ ।
सिटिजन्स बैंकद्वारा बाल विकास समाजका विद्यार्थीलाई छात्रवृत्ति प्रदान
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले बालबिकास समाजलाई १ लाख ५० हजार रुपैयाँ हस्तान्तरण गरेको छ ।
एक कार्यक्रममा बैंकले १ लाख ५० हजार रुपैयाँको चेक संस्थाका अध्यक्ष सुवास गौतमलाई हस्तान्तरण गरेका छन् ।
बालविकास समाजमा रहेका ८० जना बालबालिका मध्ये १५ जना बालबालिकाको शिक्षा तथा स्वास्थ्य उपचारमा उक्त रकम खर्च गर्ने गौतमले जानकारी दिए ।
हरेक वर्ष बैंकले बार्षिक उत्सवको उपलक्ष्यमा सामाजिक रूपान्तरणका लागि कार्य गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराँउदै आएको छ । बैंकले आफ्नो बार्षिक कार्यतालिका अनुसार उक्त सहयोग रकम हस्तान्तरण गरेको हो ।
आगामी दिनमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने योजना रहेको कुरा जानकारी गराएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५३ वटा ए.टि.एम. र ९८ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १७ लाख ३८ हजार ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । बैंकले १७ औं बार्षिकका बैशाख ७ गते मनाउँदै छ ।
ट्याक्टर दुर्घटना हुँदा बैतडीमा दुई जनाको मृत्यु
बैतडी । बैतडीमा शुक्रबार बिहान ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। बैतडीको सुर्नयाबाट खोडपे जाँदै गरेको से २ त ३६७८ नम्बरको ट्याक्टर जयपृथ्वी राजमार्गको पाटन नगरपालिका ८ झौलेक मोडमा दुर्घटना भएको हो।
दुर्घटनामा २ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
मृत्यु हुनेमा ट्याक्टर चालक ठेगाना खुल्न बाँकी रहेका राजेश चौधरी रहेका छन्। अर्का एक पुरूषको पनि मृत्यु भएको र उनको परिचय खुल्न बाँकी रहेको छ।
दुर्घटनाग्रस्त ट्याक्टर सडकबाट २ सय मिटर तल खसेको छ। दुर्घटनाको कारण खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ।
एक बोरा धान लुट्न ७० वर्षीया वृद्धाको हत्या
काठमाडौं । सर्लाहीमा एक बोरा धान लुट्नको लागि ७० वर्षीया वृद्धाको हत्या भएको छ ।
बागमती नगरपालिका–४, जिरायतकी ७० वर्षीया पार्वतीदेवीको हत्या गरेको आरोपमा प्रहरीले ३९ वर्षीय प्रमोद झा भनिने प्रमोद चौधरीलाई प्रक्राउ गरी सार्वजनिक गरेको हो ।
रौतहटको वृन्दावन नगरपालिका–५ नरकटिया घर भई हाल सर्लाहीको बागमतीमा मजुरी गरेर बस्दै आएका चौधरीले एक बोरा धान लुट्नको लागि पार्वतीदेवीको हत्या गरेको प्रहरीले जानकारी दिएको छ ।
स्थानीय बौधु महतोकी पत्नी पार्वतीको मंगलबार साँझ आफ्नै घरमा विभत्स अवस्थामा शव फेला परेको थियो ।
घरमा अरु कोही नभएको बेला चौधरीले धान लुट्न खोजेपछि वृद्धाले प्रतिकार गर्दा चिर्पट प्रहार गरेर वृद्धको हत्या गरेर उनले एक बोरा धान बोकेर हिँडेको पाइएको प्रहरीले जनाएको छ । चौधरीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
आज पाँचवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । संघीय संसद्अन्तर्गतका पाँचवटा संसदीय समितिको बैठक बस्दै छ । आज बिहान ११ बजे कानुन, न्याय तथा संसदीय मामिला समितिको बैठक बस्दै छ । बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा वन तथा वातावरण मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालय, खानेपानी मन्त्रालय र गृह मन्त्रालयसँग सम्बन्धित विषयमा छलफल हुने जानकारी दिईएको छ ।
बिहान ११ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० मा विज्ञसँग छलफल हुने जनाईएको छ ।
दिउँसो १ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका सम्बन्धमा संशोधनकर्ता सदस्यहरूसँग छलफल हुनेछ ।
बिहान १० बजे बस्ने महिला तथा समाजिक मामिला समितिको बैठकमा बाल सुधार गृहहरूको व्यवस्थापन र सुधारसँग सम्बन्धित विषयमा मन्त्रालयले गरिरहेको काम कारबाहीका बारेमा छलफल हुने जनाईएको छ ।
बिहान ८ बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा अभिलेख संरक्षण ऐन, २०४६ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल हुने जानकारी दिईएको छ ।
आज २ ः ४५ बजे नेपालले बरोडासँग खेल्दै
काठमाण्डौं । भारतमा जारी फ्रेन्डसिप कप अन्तर्गत नेपालले आज बरोडा क्रिकेट एसोसियसनको टिमसँग खेल्दैछ ।
खेल दिउँसो २ ः ४५ बजे गुजरातको वापीस्थित साई मेघपन स्पोर्ट्स लाइफ मैदानमा सुरु हुनेछ ।
यस फ्रेन्डसिप कपमा नेपालले यसअघि शुरुका तिनै खेल जितेर फाइनलमा पुगिसकेको छ भने गुजरात क्रिकेट एसोसियसनको टिमले बरोडालाई दुवै खेलमा पराजित गर्दै फाइनलमा पुगेको छ । बरोडाले आफ्ना यसअघिका तिनै खेलमा हार बेहोरेर बाहिरिएको छ । त्यसैले यस खेलको नतिजाले कुनै फरक नपार्ने भएको छ ।
नेपाल र गुजरात क्रिकेट एसोसियसन टिमबीचको फाइनल खेल आइतबार हुने जानकारी दिईएको छ ।