काठमाडौं । माछापुच्छे बैंकको धादिङ्ग जिल्ला स्थित सिम्ले शाखाले धादिङ्गवेशी नगरपालिका–६ मा रहेको कालीदेवी आधारभुत विद्यालयलाई ७ थान कम्प्युटर तथा १ थान कलर प्रिन्टर सहयोग गरेको छ ।
विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई डिजिटल माध्यमबाट पठन पाठन गराउने तथा कम्प्युटरसँग सम्बन्धित ज्ञान प्रदान गर्न टेवा पुर्याउने उद्देश्यले उक्त सामाग्री हस्तान्तरण गरेको बैंकले जानकारी दिएको छ ।
कालीदेवी आधारभुत विद्यालयलाई कम्प्युटर सहयोगपछि विद्यालयमा कम्प्युटर शिक्षा प्रदान गर्न तथा दैनिक प्रशासकिय कार्य गर्न समेत र पाठ्य सामाग्री अध्ययन गर्न ती सामाग्री उपयोगी हुने विश्वास बैंकले लिएको छ ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न स्थानहरुमा विभिन्न संघसंस्थाहरुसंग मिलेर स्वास्थ्य, शिक्षा, पूर्वाधार निर्माण, वित्तीय साक्षरता, दिगो विकास लगायतका क्षेत्रहरुमा सहयोग गर्ने कार्य गर्दै आएको छ ।
माछापुच्छे बैंकको विद्यालयलाई सहयोग
कोशी प्रदेशमा मन्त्रिपरिषद गठन, २ मन्त्रीले लिए शपथ
विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले २ जनालाई मन्त्री नियुक्त गरेका छन् ।
उनले आफ्नै दल नेकपा (एमाले) का राम रानामगर र नेकपा (माओवादी केन्द्र) का गणेश उप्रेतीलाई विनाविभागीय मन्त्री नियुक्त गरका हुन् ।
मुख्यमन्त्री कार्कीले शपथ लिएलगत्तै बिहीबार साँझ नै उनीहरूलाई मन्त्रीको शपथ गराइएको छ ।
मन्त्रालयमा कुरा नमिलेपछि २ जनालाई विनाविभागीय मन्त्री नियुक्त गरेर शपथ गराइएको जनाईएको छ ।
सरकारको नीति तथा कार्यक्रम जेठ १ गते प्रस्तुत गरिने
काठमाडौं । सरकारले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम जेठ १ गते प्रस्तुत गर्ने भएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आउँदो जेठ १ गते दिउँसो ३ बजे संघीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम पेस गरिने जानकारी दिइन् ।
सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्ने जनाईएको छ ।
हरेक वर्ष जेठ १५ गते सरकारले आउँदो आर्थिक वर्षको बजेट पेस गर्नुपर्ने संवैधानिक व्यवस्था छ । बजेटअघि सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने गरिन्छ । त्यसमाथि संसद् बैठकमा छलफल गरिन्छ । छलफलपछि संसद्बाट नीति तथा कार्यक्रम पारित गर्ने व्यवस्था छ ।
बाल मन्दिरको जग्गा हिनामिना प्रकरणमा २० जना विरुद्ध पक्राउ पुर्जी जारी
काठमाडौं । काठमाडौंको नक्सालस्थित बाल मन्दिरको जग्गा हिनामिना प्रकरणमा बाल सङ्गठनका पूर्वपदाधिकारी लगायत २० जना विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
सङगठनका पूर्वपदाधिकारीदेखि सो जग्गामा व्यापारिक गतिविधि सञ्चालन गर्ने घरानाका सदस्य समेतका नाममा जिल्ला अदालत काठमाडौँबाट पक्राउ पुर्जी जारी भएको केन्द्रीय अनुसन्धान व्यूरो (सिआईबी) का प्रवक्ता एवं प्रहरी उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए ।
उनले भने, “बाल मन्दिरको जग्गा हिनामिना प्रकरणमा अदालतबाट हामीलाई पक्राउ गर्न अनुमति प्राप्त भएको छ, पक्राउ गरेर आवश्यक अनुसन्धान सुरु गर्छौँ ।” अदालतले २० जनाविरुद्ध पक्राउ अनुमति दिएको केन्द्रीय अनुसन्धान व्यूरो (सिआईबी) ले जानकारी दिएको छ ।
सिआइबीमा बिहीबार बाल सङगठनको जग्गा विवादमा संलग्न व्यक्तिहरुविरुद्ध जाहेरी परेको प्रवक्ता बोगटीले जनाए । नेपाल बाल सङगठनलाई हानी नोक्सानी पु¥याउने उद्देश्यले बिसं २०४९ सालदेखि बिसं २०७२ सालसम्म पटक–पटक न्यून रकममा सम्झौता गरेको तथा आगामी २०८९ सालमा सकिने सम्झौता पनि बद्नियत रुपमा म्याद समाप्त नभई नवीकरण गरेको भन्ने आरोप लागेको छ ।
नक्सालमा रहेको करिब २८ रोपनी पाँच आना एक पैसा जग्गा वार्षिक रु एक करोड नौ लाख तिर्ने गरी (पछिल्लो सम्झौताअनुसार) लिजमा दिइएको जनाईएको छ । आन्तरिक र पुराना प्रतिवेदनमा बालमन्दिरको जग्गा हिनामिना भएको देखिएपछि अनुसन्धानका लागि भन्दै बिहीबार नेपाल बाल सङगठनले केन्द्रीय अनुसन्धान व्यूरो (सिआईबी) जाहेरी दिएको जनाईएको छ ।
एकैपटक ५१९ जना इन्सपेक्टरहरूको सरुवा
काठमाडौं । नेपाल प्रहरीले एकैपटक धेरै संख्यामा प्रहरी निरीक्षक (इन्सपेक्टर) हरूको सरुवा गरेको छ ।
नेपाल प्रहरी प्रधान कार्यालय मानव स्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखाका अनुसार ५१९ जना इन्सपेक्टरहरूलाई प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले बुधबार सरुवा गर्ने निर्णय गरेका हुन ।
सरुवा भएका इन्सपेक्टरहरूमध्ये केही काजमा रहेका छन् भने जेठ महिनाबाट सबैले तलब र सेवा सुविधा पाउने उल्लेख छ ।
गण्डकी प्रदेश सरकारविरुद्ध परेको रिटको पेसी आज
काठमाडौँ । गण्डकी प्रदेश सरकारविरुद्ध कांग्रेस गण्डकी प्रदेशसभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले दायर गरेको रिटमा आजलाई पेसी तोकिएको छ । प्रदेश सरकारले पाएको विश्वासको मतको विषयलाई लिएर कांग्रेसले गएको मंगलबार सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए ।
दायर रिटमा गण्डकीका मुख्यमन्त्री खगराज अधिकारी र मन्त्रिपरिषद्को कार्यालय पोखरा समेतलाई विपक्षी बनाइएको छ ।
गएको आइतबार प्रदेशसभामा मुख्यमन्त्री खगराज अधिकारीले राखेको विश्वासको मतबारेको प्रस्तावमा सभामुख कृष्ण धितालले ६० सदस्यमा ३० सांसदको समर्थनलाई विश्वासको मत प्राप्त भनी गरेको घोषणा गरेपछि कांग्रेसले अदालतको ढोका ढकढक्याएको हो ।
आज दिउँसो २ बजे कांग्रेस संसदीय दलको बैठक बस्दै
काठमाण्डौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्ने भएको छ। बैठक दिउँसो २ बजे संसद भवन नयाँबानेश्वरको ल्होत्से हलमा बस्ने भएको हो।
शुक्रबारदेखि सुरु हुने बजेट अधिवेशनमा पार्टीले खेल्ने भूमिकाका विषयमा छलफल गर्न कांग्रेसले संसदीय दलको बैठक बोलाएको जानकारी दिईएको छ ।
कांग्रेसले सहकारी प्रकरणमा मुछिएको भन्दै गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न यस अघिको संसद अधिवेशन अवरुद्ध गरेको र शुक्रबारदेखि शुरु हुने बजेट अधिवेशन अवरुद्ध गर्ने जनाउँदै आएको छ ।
चलचित्र ‘खजुरे ब्रो’को काठमाडौंमा प्रिमियर
काठमाडौं । सुरज सुनुवार निर्देशित फिल्म ‘खजुरे ब्रो’को काठमाडौंमा प्रिमियर गरिएको छ । मंगलबार साँझ क्यूएफएक्सको सिभिल मलमा आयोजित समारोहमा चलचित्रको ‘कास्ट एण्ड क्रू’ सहभागी रहे ।
चलचित्रले मित्रता र पैसाले श्रीमान–श्रीमतीको सम्बन्धमा ल्याउने उतारचढावको कथा भन्छ । धरानका वास्तविक पात्र खजुरे ब्रोको जीवनबाट प्रभावित रहेर बनेको यो चलचित्रलाई बुधबार धरानमा समेत प्रिमियर गर्ने तयारी छ ।
चलचित्रले सहकारी संकटको कथावस्तु पनि उठाउन खोजेको छ । चलचित्रमा महेश त्रिपाठी, रेअर राई, नवीन मानन्धर, नीति शाह, पुष्कर कार्की, विनिता थापा लगायतको अभिनय छ । ‘षडङ्ग’पछि निर्देशक सुनुवारको यो दोस्रो निर्देशकीय चलचित्र हो । काठमाडौंसँगै दार्जिलिङ, धरान र इटहरीमा चलचित्रको छायांकन गरिएको छ ।
दिव्यदृश्य इन्टरटेनमेन्टले मान्द्रो प्रोडक्सन र मल्टी प्रपोज प्रालिसँगको सहकार्यमा चलचित्र निर्माण गरेको हो । नवीन मानन्धर र सुरज सुनुवार निर्माता हुन् । यो चलचित्र वैशाख २८ देखि प्रदर्शन तयारीमा छ ।
आगलागीमा घरविहीन भएकालाई नेपाल लाइफको सहयोग
काठमाण्डौं । जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले महोत्तरीको मटिहानी नगरपालिका ६ मा आगलागीका कारण घरविहीन भएका पीडित परिवारहरूलाई राहत सामग्री सहयोग गरेको छ।
मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डल, वडा अध्यक्ष कलिम राईन, यस कम्पनीका कर्मचारीहरू तथा स्थानीय नागरिक अगुवाहरूको उपस्थितिमा पीडितहरुलाई प्रत्येक घर एक थान साडी वितरण गरिएको हो।
हस्तान्तरण कार्यक्रममा बोल्दै मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलले कम्पनीले गरेको सहयोगका निम्ति धन्यवाद दिए। यस प्रकारको सहयोगले भीषण आगलागीबाट प्रभावित घर परिवारलाई सहज हुने विश्वास समेत व्यक्त गरे।
वडा अध्यक्ष कलिम राईनले आगलागीबाट लत्ता कपडा नष्ट भएका कारण प्रभावित परिवारले अत्यन्तै कष्टकर जीवन बाँच्नुपरेको अवस्थामा कम्पनीले प्रदान गरेको सहयोगले जीवनयापन सहज हुने जानकारी दिए।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत यस कम्पनीले विभिन्न सामाजिक आर्थिक रूपान्तरणका क्रियाकलापहरु गर्दै आएको कुरा जनाए।
प्रभावित परिवारलाई हरसम्भव सहयोग गर्न कम्पनी सदैव तत्पर रहेको र आगामी दिनमा पनि कुनै किसिमको सहयोग चाहिएको खण्डमा कम्पनी अग्रपंक्तिमा रहेर सहयोग गर्न तयार रहेको कुरा समेत जनाए।
कम्पनीले शिक्षा, स्वास्थ्य, दैवी प्रकोप, बीमा सचेतना, पूर्वाधार निर्माण तथा गरिब निमुखा, सीमान्तकृत वर्गको जीवन उत्थानका निम्ति संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको उनको भनाइ थियो।
यस भीषण आगलागीबाट प्रभावित भएका १५० घरपरिवारलाई कम्पनीले राहत सामग्री उपलब्ध गराएको हो। मटिहानी नगरपालिका वडा नम्बर ६ मा लागेको आगोले सयभन्दा बढी घर पूर्ण रुपमा नष्ट भएका छन् भने करिव पचास वटा जति घरमा क्षति भएको छ ।
०८४ मा तीनै तहमा बहुमत आउने गरी लाग्न कार्यकर्तालाई ओलीको निर्देशन
बुटवल । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०८४ को चुनावमा तीनै तहमा बहुमत ल्याउने गरी लाग्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।
एमाले कपिलवस्तुको १० औं अधिवेशन उद्घाटन गर्दै उनले बहुमत बिनाको सरकारले जनताले अपेक्षा गरे अनुसार काम गर्न नसक्ने भन्दै बहुमत चाहिनेमा जोड दिए ।
उनले मिसन ०८४ सामान्य नभएको जनाउँदै एमालेको बहुमत नभएकाले धेरै विकासका काम हुन नसकेको तर्क गर्दै अब पूर्ण बहुमतका साथ तीनै तहमा सरकार बनाउने गरी लाग्न अनुरोध गरे ।
‘एमालेको काँधमा विकास र समृद्धिको जिम्मेवारी छ, यसका लागि एकल सरकार नभई सम्भव छैन, यो कुरा बुझेर अघि बढ्न मेरो आग्रह छ,’ओलीले भने, ‘राष्ट्रियताको रक्षाका लागि पनि एमालेलाई बलियो बनाउनुपर्दछ। तीनै तहमा बहुमत बनाउन नसके विकास असम्भव छ । ’
माधव नेपालप्रति लक्षित गर्दै ओलीले गलत मनसायले पार्टी फुटाएर, कम्युनिष्ट पार्टीको सरकार ढलाएर दक्षिणपन्थीलाई बुझाएको आरोप लगाए ।
अध्यक्ष ओलीले पार्टीभित्र गुट बनाउने छुट कसैलाई नभएको उल्लेख गर्दै सकेसम्म निर्वाचनभन्दा सहमतिमै नेतृत्व छान्न आग्रह गरे । अध्यक्ष ओलीले नेतृत्वको लागि माथिबाट कसैलाई केही आश र भरोसा नदिइएको दावी गरे ।
अध्यक्ष ओलीले कपिलवस्तुमा पार्टीले गरेको प्रगतिको सम्मान गर्दै उचित जिम्मेवारी पनि दिएको जानकारी दिए । दुई दिनसम्म चल्ने अधिवेशनमा ५५९ जना प्रतिनिधि रहेका छन् ।