काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचन आगामी जेठ २६ गते हुने भएको छ । शुक्रबार राति काठमाडौंमा सम्पन्न महासंघको २७ औँ महाधिवेशनले आगामी जेठ २६ गते महासंघको निर्वाचन गर्ने मिति तोकेको हो ।
बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकले जेठ १९ गतेका लागि मिति प्रस्ताव गरेको थियो । तर महाधिवेशनको बन्द सत्रमा छलफलका लागि प्रतिनिधिहरूले एक साता पर सार्न माग गरेपछि महासंघले २६ जेठमा केन्द्र, प्रदेश र जिल्ला तथा प्रतिष्ठान शाखाहरुको एकसाथ निर्वाचन गर्ने निर्णय गरेको हो ।
नेपाली पत्रकारहरुको छाता संस्था महासंघमा हरेक तीन वर्षमा नेतृत्व परिवर्तन हुने गर्दछ । प्रत्यक्ष निर्वाचनको व्यवस्था भएका कारण महासंघको नेतृत्वका लागि हरेक साधारण सदस्यले मताधिकार पाउँछन् ।
निर्वाचनको मिति तोकेपनि महासंघले साधारण सदस्यको टुंगो भने लगाइसकेको छैन् । महासचिव रोशन पुरीले एक साताभित्र साधारण सदस्यको टुंगो लगाइसक्ने भन्दै मिति प्रस्ताव गरेका थिए ।
नेपाल पत्रकार महासंघको निर्वाचन आगामी जेठ २६ गते हुने
आज नेपाल र वेस्ट इन्डिज ए बीचको अन्तिम खेल हुँदै
काठमाण्डौं । आज नेपालले वेस्ट इन्डिज ‘ए’ संगको पाँच खेलको टी २० शृङ्खलाको अन्तिम खेल खेल्दैछ। खेल टियु क्रिकेट मैदानमा १२ बजेर १५ मिनेटमा सुरु हुनेछ।
जारी सिरिज वेस्ट इन्डिज ए ले एक खेल अघि नै जितेको छ । वेस्ट इन्डिज ए ले सिरिज ३, १ ले जितिसकेको छ । यस सिरिजमा पहिलो खेल नेपालले जितेको थियो भने त्यसपछिका तीन खेल लगातार वेस्ट इन्डिज ए ले जितेको थियो ।
यस सिरिजका लागि नेपालले २० सदस्यीय टिम छानेको छ । नेपाली टिममा कप्तान रोहितसहित आसिफ सेख, कुशल भुर्तेल, अनिल शाह, आरिफ सेख, सन्दीप जोरा, दिपेन्द्र सिंह ऐरी, कुशल मल्ल, गुलशन झा, ललित राजबंशी, करण केसी, सोमपाल कामी, प्रतिस जिसी, अविनाश बोहोरा, बिबेक यादव, आकास चन्द, विनोद भण्डारी, सागर ढकाल, कमलसिंह ऐरी र लोकेश बम रहेका छन् ।
सिधाकुरा डटकमसम्बन्धी मुद्दा हेर्दाहेर्दैमा
काठमाडौं । सर्वोच्च अदालतले सिधाकुरा डटकम अनलाइनले प्रकाशन तथा प्रसारण गरेको अडियोसम्बन्धी मुद्दा हेर्दाहेर्दैमा राखेको छ ।
न्यायाधीश हरिप्रसाद फुयाल र महेश शर्मा पौड्यालको संयुक्त इजलासमा आज अनलाइनका कार्यकारी सम्पादक नविन ढुगानासँग बयान लिएकामा मुद्दा हेर्दाहेर्दैमा राखी आइतबार सुनुवाइ गर्ने भएको हो ।
सर्वोच्चले अनलाइनका प्रकाशक युवराज कँडेलसँग बिहीबार बयान लिइसकेको छ भने अडियो उपलब्ध गराउने ललितपुर गोदावरीका राजकुमार तिमिल्सिनासँग आइतबार बयान लिने यसअघि नै तय गरिसकेको छ । तिमिल्सिनालाई सबुद प्रमाणसहित यही वैशाख २३ गते १० बजे बयानका लागि अदालतमा उपस्थित हुन सर्वोच्च इजलासको आदेश छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्टिङ अपरेशनसँग जोडिएको मुद्दा हारजित गराउन सर्वोच्चका न्यायाधीशसहित बैठक बसेको भन्दै सिधाकुरा डटकमले केही दिनअघि समाचार र अडियोसामग्री प्रकाशन गरेको थियो ।
अनलाइनले प्रकाशन र प्रसारण गरेको समाचार, अडियो भिडियोसामग्रीबाट अदालतको अवहेलना भएको उल्लेख गर्दै यही वैशाख १६ गते सर्वोच्च अदालतका उपरजिस्ट्रार गोविन्द घिमिरेले प्रतिवेदन पेश गर्नुभएको थियो । सोहीआधारमा यही वैशाख १७ गते न्यायाधीश नहकूल सुवेदी र टेकप्रसाद ढुङ्गानाको इजलासले सोसामग्री २४ घण्टाभित्र हटाउन र बयानका लागि अदालतमा उपस्थित हुन आदेश गरेको थियो ।
नेपाल लाइफको २३ औँ वार्षिकोत्सव भव्यताका साथ सम्पन्न
नेपाल लाइफको २३ औँ वार्षिकोत्सव भव्यताका साथ सम्पन्न
काठमाडौँ । जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो २३ औँ वार्षिकोत्सव देशव्यापी रुपमा विभिन्न कार्यक्रम गरि भव्यताका साथ मनाएको छ ।
यस अवसरमा देशको १२ स्थानबाट रक्तदान कार्यक्रम, १८५ वटै शाखामा वृक्षारोपण कार्यक्रम, निःशुल्क स्वास्थ्य शिविर तथा विभिन्न सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रमहरू भव्यतापूर्वक सन्चालन गरेको हो ।
यस अवसरमा कम्पनीले रक्तदान कार्यक्रम मार्फत कोशी प्रदेशको दमकमा ३९, मधेश प्रदेशको बिरगंजमा ३२ र जनकपुरमा ३४, बागमती प्रदेशको नारायणघाटमा ४३, हेटौँडामा ३२, ललितपुरमा ३८ र काठमाडौँमा ७०, गण्डकी प्रदेशको पोखरामा ४१, लुम्बिनी प्रदेशको बुटवलमा २५ र कोहलपुरमा ३८, सुदरूपश्चिमकोे महेन्द्रनगरमा ३२ र धनगढीमा ३३ गरी कुल ४५७ पिन्ट रगत संकलन गरेको छ ।
यसका साथै कम्पनीले केन्द्रीय कार्यालयमा निःशुल्क स्वास्थ्य शिविर सन्चालन, कर्णाली प्रदेशको सुर्खेतमा रहेको बादी सरोकार मञ्च नेपाललाई हजार लिटरको पानी ट्याङ्की प्रदान, धनगढी उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको हरियाली प्रवर्धन कार्यक्रमलाई १०० वटा वृक्ष रोप्नका निम्ति रु ५ लाख को आर्थिक सहयोग तथा कम्पनीले आफ्ना १८५ वटै शाखामा वृक्षारोपण कार्यक्रम पनि सम्पन्न गरेको छ ।
कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले सम्पूर्ण ग्राहकहरुले गरेको विश्वास, कम्पनीको मेरुदण्डका रूपमा रहेका अभिकर्ताहरु, मार्गनिर्देशन प्रदान गर्ने संचालक समितिका पदाधिकारीहरु, आरोह अवरोहमा सदैव साथ दिने कर्मचारीहरु, माया, स्नेह प्रदान गर्ने शेयरधनी, नेपाल बीमा प्राधिकरण, अन्य नियामक निकायहरुका साथसाथै नेपाल लाइफलार्ई नेपालकै सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनीको रूपमा स्थापित गर्न अतुलनीय भूमिका खेल्ने सबै सरोकारवालाहरुमा धन्यवाद ज्ञापन गरे ।
उनले आगामी दिनहरुमा कम्पनीलाई थप सशक्त बनाउनका निम्ति नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै ग्राहकहरुको सेवाको गुणस्तरियतालाई थप प्रभावकारी बनाउन कम्पनीले समय सुहाउँदो योजना ल्याउने बताए । यसका साथै सम्पूर्ण सरोकारवालाहरुको अपेक्षालाई पूरा गर्न कम्पनी दत्त चित्त भएर लागि पर्ने उनले जनाए ।
ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ (प्लास्टिक विरुद्ध पृथ्वी) अभियानमा ऐक्यबद्धता जनाउँदै बैंकभित्र प्लाष्टिकको खपत घटाउँदै वातावरणमैत्री दिगो अभ्यासहरूको अनुशरण गर्ने भएको छ ।
यसै सन्दर्भमा बैंकले आगामी ३ वर्षमा प्लास्टिकको खपत न्यूनीकरण गर्ने प्रतिवद्धता समेत जनाएको छ । यो वातावरणमैत्री पहल बैंकको कर्पोरेट कार्यालयबाट प्रारम्भ भर्ई सबै प्रादेशिक कार्यालयहरूमार्फत मुलुकभरका सम्पूर्ण शाखा कार्यलयहरुमा विस्तार हुनेछ । बैंकले आफ्नो स्थापनाकाल देखि नै प्लास्टिक खपत न्यूनीकरण गर्ने र प्लास्टिक प्रदूषण विरुद्ध सचेतना फैलाउने विभिन्न क्रियाकलापहरु गर्दै आएको छ ।
ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।
भारतका प्रधानन्यायाधीश चन्द्रचुड नेपालमा
काठमाडौं । भारतका प्रधानन्यायाधीस डा. धनञ्जय यशवन्त (डी वाई) चन्द्रचुड नेपाल आएका छन । उनी आज दिउँसो नेपाल आइपुगेका हुन ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको निमन्त्रणमा उनी नेपाल आइपुगेका हुन । उनी भोलि काठमाडौंमा हुने किशोर न्यायसम्बन्धी राष्ट्रिय गोष्ठीमा सहभागी हुने कार्यक्रम छ।
उनलाई स्वागत गर्न सर्वोच्च अदालतका न्यायाधीश डा आनन्दमोहन भट्टराई, मुख्य रजिस्ट्रार देवेन्द्र ढकाल, नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवलगायत विमानस्थल पुगेका थिए ।
सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने सरकारको निर्णय
काठमाडौं । सरकारले सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने निर्णय गरेको छ ।
पुरानो नक्सा परिवर्तन गरेर नोटमा चुच्चे नक्सा राख्न राष्ट्र बैंकलाई अनुमति दिने निर्णय भएको सरकारकी प्रवक्ता एवं सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले वैशाख १३ र २० गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै जानकारी दिईन ।
‘अर्थ मन्त्रालयको प्रस्तावमा नेपालमा हाल चलनचल्तीमा रहेको रुपैयाँ एक सय दरको बैंक नोटको अग्रभागको पृष्ठभूमिमा रहेको नेपालको नक्साको सट्टा नेपालको नयाँ नक्सा राखि रुपैयाँ सय दरको बैंक नोटको डिजाइन परिवर्तन गर्न स्वीकृति दिने निर्णय भएको छ,’ उनले भनिन ।
भारत र नेपालको फोन पेले सार्वजनिक गर्यो अन्तरदेशीय भुक्तानी सेवा
काठमाडौं । भारतको भुक्तानी सेवाप्रदायक फोनपेले नेपालमा सञ्चालित आफ्नो सेवाहरू सार्वजनिक गरेको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा फोनपेले युनिफाइड पेमेन्ट इन्टरफेस (यूपीआई) मार्फत नेपालमा दिइरहेको सेवाबारे जानकारी दिएको हो ।
यूपीआई भारतको सरकारी रियल टाइम अर्थात् तत्काल लेनदेन सुविधा उपलब्ध गराउने प्रणाली हो । नेपालको भुक्तानी प्रणाली सञ्चालक फोन पेको सहकार्यमा कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा नेपालको फोन पे नेटवर्कका प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटाले नेपालको डिजिटल अर्थतन्त्रमा यूपीआईको भूमिकाको समेत सम्भावना रहेको जनाएका छन् ।
कार्यक्रममा नेपालको अर्थतन्त्र र वित्तीय क्षेत्रमा क्रस बोर्डर (सीमापार वा अन्तरदेशीय) भुक्तानीको प्रभावबारे पनि ‘प्यानल डिस्कसन’ भएको थियो । जसमा कुमारी बैंकका प्रमुख डिजिटल बैंकिङ अधिकृत अनिश ताम्राकार, नेपाल पर्यटन बोर्डका प्रबन्धक श्रद्धा श्रेष्ठ, ईसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्का र एसियाली विकास बैंक (एडीबी) का आईसीटी÷एमआईएस कन्सल्टेन्ट विवेक राणा प्यानलिस्ट थिए ।
सोक्रममा क्रस बोर्डर भुक्तानी र यसले नेपालको अर्थतन्त्र तथा वित्तीय क्षेत्रमा पार्ने प्रभावबारे छलफल भएको थियो । अन्तर्राष्ट्रिय लेनदेनमा नियामकीय अवरोधको सहजीकरण, अनुपालन, नेपालको पर्यटनमा यूपीआईको सदुपयोगदेखि अन्तरदेशीय भुक्तानी सेवाप्रदायकको राजस्व प्रवाहबारे छलफल भएको थियो ।
भारतको फोनपेका कार्यकारी अधिकृत रितेश पाईले कार्यक्रममा नेपालमा उपलब्ध सेवाबारे जानकारी दिए । भारतको यूपीआईबाट सञ्चालित फोनपेले नेपालको पर्यटन र नेपाली व्यापारी दुवैलाई फाइदा हुने उनको भनाइ छ । भारतीय पर्यटनका लािग लोकप्रिय गन्तव्य भएको बताउँदै भारतीय बजारको सफलता फोनपेले नेपालमा पनि दोहो¥याउन सक्ने पाईको विश्वास छ ।
नेपालका पर्यटकीयस्थल, खुद्रा स्टोर, धार्मिकस्थल र अन्य ठाउँमा यूपीआई प्रयोग भएका एपबाट भारतीय पर्यटकले नेपालके फोनपेका क्यूआरमा सजिलै भुक्तानी गर्नसक्ने उनले बताए । फोनपे र भारतको नेसनल पेमेन्ट कर्पोरेसन अफ इन्डिया (एनपीसीआई) इन्टरनेसन पेमेन्ट्स लिमिटेडबीचको सहकार्यले यो सेवा नेपालमा सुरू भएको हो ।
विभिन्न बैंक र वालेटलाई फोनपेले यसरी भुक्तानी प्राप्त गर्नसक्ने सुविधा उपलब्ध गराइसकेको जनाएको छ । चाँडै नै नेपालबाट भारत जाने पर्यटकले त्यहाँ पनि यसरी नै क्यूआरमार्फत भुक्तानी गर्नसक्ने फोनपेको भनाइ छ ।
कार्यक्रममा एनपीसीआईका प्रमुख कार्यकारी अधिकृत रितेश शुक्लाले नेपालमा फोनपेसँग सहकार्य गरी यो सेवा सञ्चालन गर्न पाएको खुसी व्यक्त गरे ।
फोनपेका प्रमुख कार्यकारी अधिकृत सापकोटाले नेपालमा क्रस बोर्डर भुक्तानी ल्याउने चार वर्षको यात्रा सफल भएको भन्दै खुसी व्यक्त गरे ।
आज सुदूरपश्चिमका मुख्यमन्त्रीले विश्वासको मत लिँदै
सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज बस्ने प्रदेश सभाको बैठकमा विश्वासको मत लिने भएका छन ।
मुख्यमन्त्रीले विश्वासको मत लिन आज अपराह्न ५ बजे प्रदेश सभाको बैठक बोलाइएको छ ।
गत ६ वैशाखमा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टीका सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका सोडारी नेकपा (एकीकृत समाजवादी) बाट मुख्यमन्त्री बनेका हुन ।
उनलाई सत्तारुढ दल र स्वतन्त्र सांसद तारा जोशीसमेत गरी ३० सांसदको समर्थन छ ।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा नेपाली कांग्रेसका १८ ,माओवादी केन्द्रका सभामुखसहित ११, एमालेका ११, नाउपाका ७, एकीकृत समाजवादीका ४, राप्रपाका एक र एक स्वतन्त्र सदस्य रहेका छन् ।
नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आज
काठमाडौं । नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदै छ । महाधिवेशन आज र भोलि गरी २ दिनसम्म चल्नेछ ।
बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभागृहमा महाधिवेशन उदघाटन गर्ने तय भएको छ । त्यसअघि पत्रकारहरुले शान्तिवाटिकाबाट राष्ट्रिय सभागृहसम्म प्रभातफेरी निकाल्ने छन् ।
केन्द्रीय महाधिवेशनमा सहभागी हुन देशभरबाट पत्रकारहरु काठमाडौंमा आइसकेका छन् । केन्द्रीय महाधिवेशनमा राष्ट्रिय परिषद सदस्यहरु सहभागी हुन्छन् ।
केन्द्रीय महाधिवेशनमा महासचिव रोशन पुरीको सांगठनिक र कोषाध्यक्ष कलेन्द्र सेजुवालको आर्थिक प्रस्ताव पेस गरी छलफलपछि पारित गर्ने कार्यसूची छ ।
यसअघि गत चैत ७ गते बसेको नेपाल पत्रकार महासंघको केन्द्रीय समितिको बैठकले वैशाख २१ गते लुम्बिनीमा केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको थियो, तर पछि काठमाडौंमा सारिएको थियो ।
केन्द्रीय महाधिवेशनको एक महिनापछि महासंघले नयाँ नेतृत्व चयन गर्ने विधानमा व्यवस्था छ । त्यसका लागि महासंघको निर्वाचन आगामी जेठ १९ गते गर्ने निर्णय केन्द्रीय समिति बैठकले गरिसकेको छ ।
यसपटक महासंघले प्रत्यक्ष निर्वाचनको अभ्यास गर्दैछ । केन्द्र, प्रदेश र जिल्ला समितिको मतपेटिका प्रत्येक शाखामा राखेर प्रत्यक्ष निर्वाचन हुने छ ।
निर्वाचन अघि महासंघको सदस्यता वैशाख मसान्तभित्र शुद्धीकरण समिति र संगठन समितिले टुंगो लगाउने छन् ।