काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज प्रतिनिधिसभाबाट चौथो पटक विश्वासको मत लिने भएका छन्।
प्रधानमन्त्रीले आज बस्ने प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको छ । बैठक बिहान ११ बजे बस्ने कार्यसूची रहेको छ ।
सरकारमा सहभागी जनता समाजवादी पार्टी नेपालले गत वैशाख ३१ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले पुनः विश्वासको मत लिनुपर्ने भएको हो ।
प्रधानमन्त्रीले संविधानको धारा १०० को उपधारा २ अनुसार विश्वासको मत लिन लागेका हुन् । प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभा समक्ष प्रस्ताव राख्नुपर्ने संवैधानिक व्यवस्था छ ।
प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेको यो चौथो पटक हो । यस अघि २०७९ पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले पुस २६ गते विश्वासका मत लिएका थिए । त्यतिबेला सदनमा उपस्थित २७० सांसदमध्ये २६८ जनाले उनलाई समर्थन गरेका थिए।
त्यसपछि २०७९ फागुन १५ गते एमाले सरकारबाट बाहिरिएर गठबन्धन फेरिएपछि चैत ६ गते प्रधानमन्त्री प्रचण्डले पुनः विश्वासको मत लिएका थिए । त्यतिबेला सदनमा २६२ सांसद उपस्थित भएका थिए। विश्वासको मतको प्रस्तावको पक्षमा १७२ र विपक्षमा ८९ मत परेको थियो ।
प्रधानमन्त्री प्रचण्डले तेस्रो पटक गत फागुन ३० गते फेरी गठबन्धन बदलेपछि विश्वासको मत लिएका थिए ।
प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिँदै
प्रतिनिधि सभा बैठक स्थगित, सोमबार ११ बजे बस्ने
काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बोलेलगत्तै प्रतिनिधि सभाको बैठक सोमबारसम्मका लागि स्थगित भएको छ । सभामुख देवराज घिमिरेले आइतबारको सबै कार्यसूची हटाएको जानकारी दिए ।
प्रतिनिधिसभा बैठक सोमबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको सभामुख घिमिरेले जानकारी दिए । प्रतिनिधिसभाको आइतबारको बैठकमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिएर बैठक स्थगित भएको हो ।
यसअघि रविलाई संससमा बोल्नबाट प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गर्दै आएको थियो । कांग्रेसले रविलाई आफ्ना कुरा राख्ने दिने निर्णय गरेसँगै आइतबारको बैठक चलेको थियो ।
सोमबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने कार्यसूची रहेको छ ।
आफुले कुनै पनि सहकारीबाट ऋण नलिएको गृहमन्त्रीको दाबी
काठमाडौं। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफुले कुनै पनि सहकारीबाट ऋण नलिएको दाबी गरेका छन ।
प्रतिनिधि सभाको बैठकमा स्पष्टीकरण दिदै आफु गोर्खा मिडियाले सहकारीबाट ऋण लिने प्रक्रियामा आफू सहभागी नभएको दाबी गरेका हुन ।
लामिछानेले आफुले अहिले गोरखा मिडिया छोडिसकेको र कम्पनि छोडीसकेपछि कम्पनीको कुनै दायित्व बेहोर्नुपर्ने भए आफु सो दायित्व बेहोर्न तयार रहेको स्पष्ट पारे । उनले जीबी राईले गरेका सबै फोहोर आफुले सफा गर्नुपर्छ भन्ने नरहेको जिकिर गरे ।
पोखराको सुर्यदर्शन सहकारीबाट आफुले ऋण लिएको कुनै कागज नभएको भन्दै सुनियोजित रुपमा आफ्नो नाम प्रयोग गरिएको दावी गरे ।
उनले फौजदारी कसूर लाग्ने सहकारी ठगी प्रकरणमा संसदीय समिति छानबिन गर्न नमिल्ने जिकिर गर्दै आफू यो विष पिउन तयार रहेको स्पष्ट पारे ।
असी जना अभिकर्ताहरु नेशनल रत्न अवार्डद्वारा सम्मानित
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले इटहरी स्थित होटल सोल्टी वेस्टेण्डमा नेशनल रत्न छनौट हुन सफल कोशी र मधेस प्रदेशका करिब ८० जना अभिकर्ताहरुलाई सम्मान गरेको छ ।
प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीको सभापतित्वमा उक्त सम्मान कार्यक्रम सम्पन्न भएको हो । सो समारोहमा सहभागी अभिकर्ताहरुलाई बजार विभाग प्रमुख विवेक शर्माले व्यवसायिक अभिकर्ता उत्पादन गर्न कम्पनीले ल्याउने यस प्रकारको योजनाहरु प्रभावकारी हुने जानकारी दिए ।
नेशनल अवार्ड विजेता अभिकर्ताहरुलाई नेशनल लाईफ लोगो अंकित चाँदीको मेडल, सर्टिफिकेट र खादाबाट सम्मान गर्दैै सीईओ खत्रीले अभिकर्ता सञ्जाललाई प्रविधिमैत्री र व्यवसायिक बनाउन थप लगानी गरिएको र कम्पनीको व्यवसाय वृद्धिमा महत्वपूर्ण भुमिका खेल्ने अभिकर्ता समूहको वृत्ति विकासलाई प्राथमिकतामा राखी समय सापेक्ष प्रोत्साहन योजना ल्याइएको कारण नै नेपालभर बाट नेशनल रत्नमा उत्साहजनक रुपमा अभिकर्ताहरु छनौट हुन सफल भएको जनाए ।
उनले नेशनल रत्नमा छनौट हुने अभिकर्ताहरुलाई प्रदेशस्तरीय रुपमा सम्मान कार्यक्रम सम्पन्न गर्दै लाने कम्पनीको योजना अनुसार कोशी र मधेश प्रदेशका अभिकर्ताहरुबाट सम्मान कार्यक्रम शुरु गरिएको र अन्य प्रदेशका बाँकी अभिकर्ताहरुलाई पनि छिट्टै नै सम्मान गरिने व्यहोरा जानकारी गराए ।
कार्यक्रममा सीईओसहित केन्द्रीय कार्यालयका प्रवन्धक विवेक शर्मा, सहायक प्रवन्धक सुष्मिता शर्मा, कोशी प्रदेश प्रमुख नरेन्द्रकुमार बाच्छाना राई लगायत विभिन्न शाखा कार्यालयहरुबाट शाखा प्रमुखहरुको समेत सहभागिता थियो ।
सम्मानित बिजनेश लिडरहरुले प्रमुख कार्यकारी अधिकृतबाट आफ्नै क्षेत्रमा सम्मान ग्रहण गर्न पाउँदा आफूले गरेको मेहनतको कदर भएको र अत्यन्तै गर्व लागेको जनाएका थिए ।
शेयर बजारमा ४५.६९ अंकको उछाल, सवा ५ अर्बको कारोबार
काठमाडौं । साताको पहिलो दिन आज शेयर बजारमा उछाल आएको छ । नेप्से उचालिएसँगै कारोबार रकम पनि ५ अर्ब नाघेको छ ।
नेपाल राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीतिको तेस्रो त्रैमासको समीक्षामा लचिलो नीति लिएपछि त्यसको प्रभाव शेयर बजारमा पनि देखिएको छ ।
नेपाल स्टक इक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ४५.६९ अंकले बढेको हो । २.२६ प्रतिशत बजार बढेसँगै नेप्से परिसूचक २०६४.४५ अंकमा उक्लिएको छ ।
आज ३२३ कम्पनीका १ करोड २२ लाख ४० हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब २५ करोड १० लाख रुपियाँ बराबरको कारोबार भएको हो ।
आत्मनिर्भर लघुवित्त, सबैको लघुवित्त, सामुदायिक लघुवित्त र नेरुडे मिर्मिरे लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।
त्यस्तै माण्डु हाइड्रोपावरको शेयर भने यस दिन नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।
आज सिईडीबी हाइड्रोपावरको उच्च कारोबार भएको छ । उक्त कम्पनीको १४ करोड ८० लाख रुपिायँ बराबरको शेयर किनबेच भएको नेप्सेले जानकारी दिएको छ ।
प्रहरी जवानको हत्या आशंकामा पाँचजना पक्राउ
काठमाडौं । प्रहरी जवान युवराज घिमिरेको हत्या आशंकामा प्रहरीले पाँचजनालाई पक्राउ गरेको छ । काठमाडौं प्रहरीको विशेष टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी जवान घिमिरेको शव शुक्रबार शंकास्पद अवस्थामा भेटिएको थियो । ‘डिउटी’ सकेर घर फर्किंदै गर्दा मनमैजुमा घिमिरेको हत्या भएको थियो ।
पक्राउ परेकाहरूमाथि थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।
संसदीय छानबिन समितिको कार्यादेश बनाउन कार्यदल गठन
काठमाडौं । प्रमुख चार दलबीच सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश (टिओआर) बनाउन कार्यदल गठन गरिएको छ ।
संसदीय समितिको कार्यादेश बनाउन कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीको संयोजकत्वमा कार्यदल गठन गरिएको हो । कार्यदलमा एमालेबाट महेश बर्तौला, कांग्रेसबाट जीवन परियार र रास्वपाबाट शिशिर खनाल रहेका छन ।
छानबिन समिति गठन गर्ने सहमति भएसँगै समितिको कार्यादेश निर्धारणका लागि तयारी थालिएको र आजको संसद् बैठक सहजरूपमा अघि बढ्ने विश्वास गरिएको छ ।
छानबिन समिति गठन गर्ने विषयमा शनिबार छलफल भएको थियो । शनिबार प्रधानमन्त्री पुष्पकमल दाहालले सभामुख देवराज घिमिरे, एमाले अध्यक्ष केपी शर्मा ओली, उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने, कानुनमन्त्री पदम गिरीलगायतसँग छलफल गरेका थिए ।
त्यसपछि प्रधानमन्त्रीले सत्तारुढ दलका नेतासहित प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा, प्रमुख सचेतक रमेश लेखकलगायतसँग छलफल गरेका थिए ।
संघीय संसदका दुवै सदनको बैठक बस्दै
काठमाण्डौं । आज संघीय संसदको दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक अपराहन्न १ः१५ बजेदेखि बस्नेछ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी प्रकरणमा नामै किटेर गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको भन्दै समिति बनाउनुपर्ने माग राख्दै आएको थियो। सो माग पूरा नगरेको भन्दै संसद्को कार्यसूची प्रभावित पार्दै आएको कांग्रेस प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डसँगको छलफलपछि सहमति नजिक पुगेको हो।
यद्यपि संसदीय छानबिन समितिको टिओआर आज बनाउने भनिएको छ। टिओआरमा बैठकअघिसम्म सहमति भएमा आजका संसद बैठक बिना अवरोध चल्ने देखिएको छ।
पौडी खेल्ने क्रममा डुबेर २ युवकको मृत्यु
तनहुँ । तनहुँको बन्दीपुर–२ बट्टारस्थित सुलेरहमा पौडी खेल्ने क्रममा आज डुबेर दुई युवकको ज्यान गएको छ ।
बन्दीपुर–६ बस्ने २० वर्षीय विनोद गुरुङ र सोही स्थानका अन्दाजी २० वर्षीय हीरा गुरुङको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
६ जना साथी मिलेर पौडी खेल्न गएकामध्ये उनीहरूको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । अन्य चार जना सकुशल रहेको र घटनाको अनुसन्धान थालिएको प्रहरीले जानकारी दिएको छ ।
सहकारीको रकम अपचलन छानबिन गर्न संसदीय समिति बनाउने सहमति
काठमाडौं । सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबीच सहकारी ठगीका विषयमा छानबिन गर्न संसदीय समिति गठन गर्ने सहमति भएको छ । यद्यपि उक्त समितिको कार्यादेश के हुने भन्ने विषयमा दलहरु टुंगोमा पुगेका छैनन् ।
शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धन र कांग्रेसका नेताहरुबीचको छलफलमा संसदीय समिति गठनका विषयमा समाधान धारणा बनेको कांग्रेस नेता रमेश लेखकले जानकारी दिए ।
‘संसदीय छानबिन समिति बनाएर जाने विषयमा समान धारणा छ, समितिको कार्यादेश के हुने भन्ने विषयमा भोलि विहानदेखि काम हुन्छ’, उनले भने ।
समितिको कार्यादेश बनाउन नेपाली कांग्रेस, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि रहेको एक समिति बनाइएको छ । जसलाई कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले संयोजक गर्नेछन् ।
उक्त समितिमा कांग्रेस सहमहामन्त्री जीवन परियार, एमाले प्रमुख सचेतक महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल रहेका कानुनमन्त्री गिरीले जनाए ।
यो समितिको बैठक आइतबार बिहान ८ बजे बस्नेछ । ‘भोलि नै सक्ने गरी काम हुन्छ, उहाँहरुसँग बस्ने सहमति खोज्ने, थप नेताहरुसँग छलफल गर्नुपर्यो भने गरेर यसलाई टुंग्याउँछौं’, गिरीले भने ।
सहकारीको वचत रकम अपचलनमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने संलग्न भएको घटना सार्वजनिक भएको भन्दै कांग्रेसले यस विषयमा छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै आएको थियो । तर सरकार र सत्ता गठबन्धनले भने यसलाई अस्वीकार गर्दै आएका थिए ।
२८ वैशाखमा संघीय संसदको हिउँदे अधिवेशन सुरु भएदेखि नै नेपाली कांग्रेसले प्रतिनिधिसभा र राष्ट्रियसभा दुबै सदन लगातार अवरोध गर्दै आएको छ । उसले संसदीय छानबिन समिति गठन नभएसम्म सदन चल्न नदिने भनेपछि दलहरुबीच संसदको अवरोध खोल्ने बारेमा छलफल सुरु भएको थियो ।