Page 14

संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसद्अन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधि सभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक १ः१५ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने गरी बोलाइएको छ ।
प्रतिनिधि सभाको बैठकमा राष्ट्रपतिको कार्यालय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार सम्बन्धी पत्र सभामुखले पढेर सुनाउने कार्यसूची रहेको छ ।
त्यस्तै, आजको बैठकमा विनियोजन विधेयक, २०८१ को विभिन्न शीर्षकहरूमाथि मन्त्रालयगत छलफल गर्ने लगायतका विभिन्न ६ वटा विषय छलफलका लागि सम्भावित कार्यसूचीमा राखिएको संसद् सचिवालयले जानकारी दिएको छ ।
बैठकमा वन तथा वातावरण मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको विभिन्न शीर्षकमाथि छलफल गर्नेछन् ।
बैठकमा प्रेम सुवालले “विनियोजन विधेयक, २०८१ अन्तर्गत वन तथा वातावरण मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय शीर्षकको खर्च रकममा उल्लिखित रकम घटाइयोस्” भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
त्यस्तै, सांसद अमरेशकुमार सिंहले “विनियोजन विधेयक, २०८१ अन्तर्गत वन तथा वातावरण मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाइ एक रुपैयाँ गरियोस्” भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नेछन ।
सांसद पुष्पबहादुर शाहले “विनियोजन विधेयक, २०८१ अन्तर्गत युवा तथा खेलकुद मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्” भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नेछन ।
यस्तै, सांसद बद्रीप्रसाद पाण्डेले “विनियोजन विधेयक, २०८१ अन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्” भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
सांसद रमा कोइराला पौड्यालले “विनियोजन विधेयक, २०८१ अन्र्तगत श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्” भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।
यस्तै, राष्ट्रिय सभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय मानव अधिकार आयोगको २३औं वार्षिक प्रतिवेदन र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको पाँचौं वार्षिक प्रतिवेदन पेश गर्नेछन ।
यसैगरी, अर्थ मन्त्री वर्षमान पुनले पनि बैठकमा “विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहित सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० माथि छलफल गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
छलफलपछि पुनले नै “सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० पारित गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन ।
आज सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले पनि ‘सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७ माथि प्रतिनिधि सभाबाट भएको संशोधनमाथि छलफल गरियोस्’ भन्ने प्रस्ताव बैठकमा प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

 

राष्ट्रपति पौडेल आज जेनेभा जाँदै, को को छन् भ्रमण टोलीमा ?

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औँ उच्चस्तरीय सत्रमा आयोजना हुने ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’ (ग्लोबल कोलिसन फर सोशल जस्टिस्को) उद्घाटन मञ्चमा सहभागी हुन आज साँझ स्वीट्जरल्याण्डको जेनेभा प्रस्थान गर्ने भएका छन् ।
उनले जेठ ३१ गते सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्घाटन मञ्चलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । राष्ट्रपति पौडेलले जेठ ३० गते स्वीस महासङ्घका राष्ट्रपति विओला आमर्डसँग द्विपक्षीय वार्ता गर्नेछन् ।
भ्रमणपछि राष्ट्रपति पौडेल आगामी असार १ गते जेनेभाबाट जर्मनीको बर्लिन प्रस्थान गर्नेछन्। राष्ट्रपति पौडेलले सङ्घीय गणतन्त्र जर्मनीका राष्ट्रपति फ्रैंक–वाल्टर स्टीनमेयरको निमन्त्रणामा जर्मनीको औपचारिक भ्रमण गर्न लागेका हुन् । उनले असार ३ गते जर्मनीका राष्ट्रपतिसँग औपचारिक वार्ता गर्ने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।
राष्ट्रपति पौडेलका साथ उनकी धर्मपत्नी सविता पौडेल रहनेछिन् । प्रतिनिधिमण्डलका अन्य सदस्यहरुमा राष्ट्रपतिका परराष्ट्र मामिला विज्ञ डा सुरेशचन्द्र चालिसे, राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका सचिवहरु, स्वीट्जरल्याण्ड र जर्मनीका लागि नेपाली राजदूतहरु तथा राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरु रहने जनाईएको छ । राष्ट्रपति पौडेल भ्रमण सम्पन्न गरी असार ५ गते स्वदेश फर्कने जानकारी दिईएको छ ।

राजदूतलाई फिर्ता बोलाउँदा ध्यान नपुगेको प्रधानमन्त्रीको स्वीकार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डुले भारत भ्रमणअघि राजदूत शंकर शर्मालाई फिर्ता बोलाउँदा आवश्यक ध्यान पुर्‍याउन नसकेको स्वीकार गरेका छन् ।
सोमबार भारत भ्रमण सकेर स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग उनले भारत भ्रमणमा जानुपर्ने विषयलाई ध्यान दिएर केही दिन ढिला गर्न सकिने भए पनि ध्यान नपुगेको स्वीकार गरे ।
तर, पनि शर्माले भारत भ्रमणका क्रममा सक्रिय भूमिका खेलेको उनको भनाइ छ ।
ूउहाँ मेरो स्वागतमा आउनु पनि भएको थियो । र, सबै कार्यक्रममा राजदूतको हैसियतले उहाँले सक्रिय भूमिका पनि खेल्नुभयो । मैले धन्यवाद पनि भनेर आएको छु । यो त्यही बेला पर्नु संयोग हो । त्यो कुरालाई त्यति ध्यान गएर क्याबिनेटमा यो विषय प्रश्तुत त भयो, दुई दिन रोक्न पनि सकिन्थ्यो, ध्यान नगएकै हो,ू उनले भने ।

१० महिनामा चालु खाता १९३ अर्ब २५ करोडले बचतमा

काठमाडौं । चालु आर्थिक बर्षको १० महिनामा चालु खाता १९३ अर्ब २५ करोडले बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको १० महिनाको आर्थिक तथा वित्तीय स्थितिमा चालु खातामा एक खर्ब ९३ अर्ब २५ करोड रहेको उल्लेख छ ।
अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ६३ अर्ब ७४ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४९ करोड ३६ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब ४५ करोडले बचतमा रहेको छ ।
समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर १७.२ प्रतिशतले कमी आई ५ अर्ब २६ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ६ अर्ब ९८ करोडले धनात्मक रहेको रिपोर्टमा उल्लेख छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर अर्ब ३६ करोड कायम भएको थियो भने खुद प्रत्यक्ष वैदेशिक लगानी ४ अर्ब ३६ करोडले धनात्मक रहेको थियो ।
समीक्षा अवधिमा शोधनान्तर स्थिति ३९२ अर्ब ६४ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २०९ अर्ब ४९ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा
१ अर्ब ५९ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब ९५ करोडले बचतमा रहेको छ ।

गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संसदबाट विश्वासको मत पाएका छन ।
५९ जना सांसद उपस्थित रहेकामा मुख्यमन्त्री पाण्डेको विश्वासको मतको पक्षमा ३१ र विपक्षमा २८ जना सांसदले मतदान गरे ।
माओवादी केन्द्रको चुनाव चिह्नबाट गोरखा क्षेत्र नम्बर २ को प्रदेश सभा क्षेत्र १ बाट सांसदमा निर्वाचित नेपाल समाजवादी पार्टीका सांसद फणिन्द्र देवकोटाले फ्लोर क्रस गरेर मुख्यमन्त्री पाण्डेलाई मत दिए ।
यस्तै, राप्रपाका दुई र स्वतन्त्र सांसद राजिब गुरूङले पनि मुख्यमन्त्रीका पक्षमा विश्वास मत दिएका थिए ।

नेशनल लाईफद्वारा ३५ जना अभिकर्ताहरुलाई ‘नेशनल रत्न अवार्ड’ प्रदान

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीको सभापतिन्वमा सम्मान कार्यक्रमको आयोजना गरी नेशनल अवार्ड अन्तर्गत नेशनल रत्न छनौट हुन सफल बागमती प्रदेशका करिब ३५ जना अभिकर्ताहरुलाई सम्मान गरेका छन् ।
प्रमुख कार्यकारी अधिकृत खत्रीले शुभारम्भ गरेको सो समारोहमा सहभागि अभिकर्ताहरुलाई कम्पनीको उप प्रमुख कार्यकारी अधिकृत स्मृतीराज कँडेलले उत्प्रेरण तालिम प्रदान गर्दै कम्पनीले अभिकर्ताहरुको वृत्ति विकासका लागि ल्याउने हरेक योजनाहरुको छुट्टाछुट्टै महत्व हुने भएकोले यस्ता योजनाहरुमा छनौट हुनका लागि व्यवसायिक कार्यनीति बनाउनु पर्ने जानकारी दिए ।
समारोहमा नेशनल रत्न विजेता अभिकर्ताहरुलाई नेशनल लाईफ लोगो अंकित चाँदीको मेडल, सर्टिपिकेट र खादाबाट सम्मान गर्दै प्रमुख कार्यकारी अधिकृत खत्रीले कम्पनीका सबै संरचनाहरु उत्कृष्ट रहेको र कम्पनीमा बीमा गर्ने बीमितहरुलाई उच्च प्रतिफल दिन सफल हुनुमा अभिकर्ता संजालको महत्वपूर्ण भूमिका रहने भएकोले अभिकर्ता सञ्जाललाई प्रविधि मैत्री एवं व्यवसायिक बनाउन थप लगानी गर्दै गईरहेको जनाए ।
उनले नेशनल रत्नमा छनौट हुने अभिकर्ताहरुलाई प्रदेश स्तरिय रुपमा सम्मान कार्यक्रम सम्पन्न गर्दै लाने कम्पनीको योजना अनुसार काठमाण्डौमा बागमति प्रदेशका अभिकर्ताहरुबाट सम्मान गरिएको जनाए , साथै यसअघि इटहरीमा कोशी र मधेश प्रदेशका अभिकर्ताहरुलाई सम्मान गरिसकेको र अन्य प्रदेशका बाँकी अभिकर्ताहरुलाई पनि छिट्टै नै सम्मान गरिने व्यहोरा जानकारी गराए ।
कार्यक्रममा, प्रमुख कार्यकारी अधिकृतसहित उप प्रमुख कार्यकारी अधिकृत कँडेल, प्रवन्धक विवेक शर्मा, सहायक प्रवन्धक सुष्मिता राणा, एजेन्सी विभाग प्रमुख सुशीलप्रताप राणा, बागमती प्रदेश प्रमुखद्धय जयराम धिताल, घनश्याम रिमाल लगायत विभिन्न शाखा कार्यालयहरुबाट शाखा प्रमुखहरुको समेत सहभागिता रहेको थियो ।

आज गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज विश्वासको मत लिने भएका छन् । दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा पाण्डेले विश्वासको मत लिनेछन् ।
विश्वासको मत दिन उनले गण्डकी प्रदेशसभामा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) सँग आग्रह गरेका छन् । उनले आइतबार पत्र लेखेर उक्त आग्रह गरेका हुन् ।
राजनीतिक दलबीचको सहकार्यबाट स्थिर सरकार निर्माण गरी प्रदेशलाई दिगो विकासको दिशामा अगाडि बढाउन आफूले गरेको विश्वासको मतको प्रस्तावका पक्षमा एमालेका प्रदेशसभा सदस्यले मतदान गरी सहयोग गरिदिन मुख्यमन्त्री पाण्डेले पत्रमार्फत अनुरोध गरेका छन् ।

रुकुम पश्चिममा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु

सुर्खेत । रुकुम पश्चिममा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्। मुसिकोट नगरपालिका १ खलङ्गाबाट बाँफिकोट गाउँपालिका ४ स्थित छिनखेत जाँदै गरेको कर्णाली प्रदेश २००१ च ०४१३ नम्बरको बोलेरो आइतबार बेलुकी नेपानेमा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ।
जीप सडकबाट खस्दा बर्दियाको ठाकुरबाबा नगरपालिका ५ कालीगौडीका २७ वर्षीय सौगात बिक, गाडी चालक सुर्खेतको गुर्भाकोट नगरपालिका ८ मेहलकुनाका ३० वर्षीय धर्मेन्द्र श्रेष्ठ र सुर्खेत बराहताल गाउँपालिका ५ बड्डीचौरका १९ वर्षीय जितबहादुर कार्कीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
घटनास्थलबाट उद्धार गरेर जिल्ला अस्पताल सल्ले ल्याइएका तीन जनाको उपचारका क्रममा मृत्यु भएको हो।
दुर्घटनामा रुकुम पश्चिम बाँफिकोट गाउँपालिका ४ छिनखेतका १७ वर्षीय सुजल विक, बर्दिया ठाकुरबाबा नगरपालिका ५ बनकट्टीका २६ वर्षीय दिलीप थापा र सोही नगरपालिका कालीगौडीका २७ वर्षीय टीकाराम खनाल घाइते भएका छन्।
विक र खनालको अवस्था गम्भीर छ। उनीहरूको जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको छ। अर्का घाइते थापाको जिल्ला अस्पतालमै उपचार भइरहेको छ।

प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीबीच भेटवार्ता

काठमाडौँ । भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनका समकक्षी नरेन्द्र मोदीबिच भेटवार्ता भएको छ ।
आइतबार बेलुका भएको भेटमा प्रधानमन्त्री प्रचण्डले लगातार तेस्रो कार्यकालका लागि भारतको प्रधानमन्त्रीको पदभार ग्रहण गरेकोमा समकक्षी मोदीलाई बधाई दिएका थिए । साथै उनको तेस्रो कार्यकालमा नेपाल र भारतबिचको सम्बन्ध थप उचाइमा पुग्ने विश्वास पनि व्यक्त गरेका थिए ।
भेटमा उनीहरूबिच नेपाल–भारतबिच रहिआएको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको थियो ।
सो अवसरमा उनीहरूबिच विगतमा भएका समझदारी एवं सम्झौताहरूको विषयमा विचार विमर्श भएको थियो ।
प्रधानमन्त्री प्रचण्ड आइतबार साँझ भएको शपथ ग्रहण समारोहमा सहभागी भएका थिए । उनी आइतबार नै भारतको नयाँ दिल्ली पुगेका हुन् ।
प्रधानमन्त्री प्रचण्डका साथमा उनकी सुपुत्री गङ्गा दाहाल, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी अधिकारी पनि छन् । प्रधानमन्त्री प्रचण्ड आज साँझ स्वदेश फर्कने कार्यक्रम रहेको जनाईएको छ ।

सन्दीप वेस्ट इन्डिजमा हुने विश्वकपका खेल खेल्ने

काठमाडौं । नेपाली स्टार क्रिकेटर सन्दीप लामिछाने आईसीसी टी २० विश्वकप खेल्न आयोजक देश वेस्ट इन्डिज पुगेका छन् ।
सन्दीप आफैले सामाजिक सञ्जालमा लेख्दै आफू वेस्ट इन्डिज पुगेको जानकारी दिएका हुन् । अमेरिकाले भिसा नदिएपछि रोकिएका सन्दीपले वेस्ट इन्डिजमा हुने नेपालका दुई खेलमा सहभागि हुनेछन ।
‘मलाई अमेरिकाको भिसा प्राप्त गर्न सहयोग गरेकोमा सर्वप्रथम म नेपाल सरकार, परराष्ट्र मन्त्रालय, खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् र नेपाल क्रिकेट संघ (क्यान) लाई धन्यवाद दिन चाहन्छु तर दुर्भाग्यवश त्यसले काम गरेन ।’ उनले भनेका छन्, ‘तर अब ती सबैलाई पन्छाएर, म अब वेस्ट इन्डिजमा अन्तिम दुई खेलका लागि राष्ट्रिय टोलीमा आवद्ध छु र मेरो सपना र सबै क्रिकेट प्रेमीहरूको सपना पूरा गर्न तत्पर छु ।’
उनले आफ्नो यात्रालाई सम्भव बनाउनका लागि सहयोग गर्ने क्यान अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का, आफ्ना वकिल सरोज घिमिरेलगायतकाहरुलाई धन्यवाद दिएका छन् ।
यसअघि आजै क्यानले सन्दीप विश्वकप खेल्न वेस्ट इन्डिज प्रस्थान गरेको जानकारी दिएको थियो ।
क्यानका अनुसार सन्दीपले दक्षिण अफ्रिका र बंगलादेशविरुद्धका खेल खेल्ने छन् । क्यानले यसअघि नै सन्दीपलाई नेपालको १५ खेलाडीको सूचीमा समावेश गरको थियो ।
नेपालले बुधबार श्रीलंकासँग अमेरिकामा खेल्दै छ भने त्यसपछि जुन १५ मा दक्षिण अफ्रिकाविरुद्ध र जुन १७ मा बंगलादेशविरुद्ध वेस्ट इन्डिजमा खेल्दै छ ।
यसअघि नेपालले खेलेको पहिलो खेलमा नेदरल्याण्डससँग हार बेहोरेको थियो ।

 

लेटेष्ट समाचार

‘जेनजी’ आन्दोलनको भावनाअनुसार अघि बढ्न सरकारलाई खबरदारी

काठमाडौँ । ‘जेनजी’ युवाहरुले आन्दोलनको भावनाअनुसार अघि बढ्न सरकारलाई खबरदारी गरेका छन् । ‘जेनजी युनाइटेड–फर परिवर्तन’ संस्थाले आज माइतीघर मण्डलामा आयोजना गरेको खबरदारी सभामा सम्बोधन...

रुकुमपश्चिममा जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु, १० घाइते

रुकुम  । रुकुम पश्चिमको मुसिकोट खलंगाबाट आठविसकोट नगरपालिकाको स्यालाखदीतर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने १० घाइते भएका छन्...

मोरङको लेटाङमा १८ दिनदेखि बेपत्ता बालिका मृत फेला, बलात्कारपछि हत्या भएको...

विराटनगर । मोरङको लेटाङमा दुई सातादेखि हराईरहेकी बालिकाको बलात्कारपछि हत्या भएको आशंका गरिएको छ ।  असोज २१ गतेदेखि हराइरहेकी लेटाङ नगरपालिका–२ स्कुलचोककी १३ वर्षीया...