काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पदभार ग्रहण गरेका छन ।
सोमबार पद तथा गोपनीयताको शपथग्रहणसँगै प्रधानमन्त्री ओलीले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको पुगेर पदभार ग्रहण गरेका हुन।
त्यसअघि उनले लैनचौरस्थित सहिद स्मारकमा रहेका शहीदहरूको शालिकमा माल्यार्पण गरेका थिए भने पार्टी केन्द्रीय कार्यालय च्यासल पुगेर कम्युनिष्ट नेताको तस्वीरमा माल्यार्पण पनि गरेका थिए ।
नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा पदभार ग्रहण
शेयर बजारमा १७.१८ अंकको गिरावट, पौने ९ अर्बको कारोबार
काठमाडौं । आर्थिक वर्ष २०८०,८१ अन्तिम दिन आज शेयर बजार घटेर बन्द भएको छ । नेप्से तल झर्दा कारोबार रकम भने ह्वात्तै बढेको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड ९नेप्से० का अनुसार आज बजार १७.१८ अंकले घटेको छ । ०.७६ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २२४०.४१ अंकमा ओर्लिएको छ ।
समग्रमा बजार घटे पनि हाइड्रो, लगानी, उत्पादनमूलक र म्युचुअल फण्ड क्रमशः ०.७३, १.७०, ०.१२ र १.६७ प्रतिशतले बढेका छन् । बाँकी समूह भने राताम्मे भए । विकास बैंक समूह आज सबैभन्दा बढी घट्यो ।
आज ३२२ कम्पनीका २ करोड ५० लाख ७९ हजार ७९ कित्ता शेयर किनबेच हूँदा ८ अर्ब ७३ करोड १४ लाख ३६ हजार ३७.१५ रुपियाँ बराबरको कारोबार भएको हो ।
बजार घटेको दिन आज सिभिल बैंकको ऋणपत्र २०८८, माण्डु हाइड्रो, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम २ र एनआईबीएल ग्रोथ फण्डका लगानीकर्ताहरुले क्रमशः १०, ९।९९, ९।९७ र ९।९२ प्रतिशतले नाफा कमाए ।
त्यस्तै जानकी फाइनान्सका लगानीकर्ताहरुले सबैभन्दा बढी १० प्रतिशतले घाटा व्यहोरे ।
आज अपर तामाकोशी हाइड्रोको उच्च कारोबार भयो । उक्त कम्पनीको ३७ करोड ८ लाख ७२ हजार ५ सय ८९.६० रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जानकारी दिएको छ ।
साताको पहिलो दिन हिजो बजार ५२.९७ अंकले बढ्दा ७ अर्ब ६२ करोड ४ लाख ९८ हजार ५ सय २०.८७ रुपियाँ बराबरको कारोबार भएको थियो ।
संघीय संसदका दुवै सदनको बैठक आज बस्दै
काठमाडौं । संघीय संसद्अन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ ।
संसद् सचिवालयकाअनुसार प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्नेछ भने राष्ट्रिय सभाको बैठक सवा ३ बजेका लागि बोलाइएको छ । सचिवालयले दुवै सदनको बैठक बोलाएपनि सम्भावित कार्यसूची भने सार्वजनिक गरेको छैन् ।
आज ११ बजे नवनियुक्त प्रधानमन्त्री ओलीले शपथ लिँदै
काठमाण्डौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज पद तथा गोपनीयताको शपथ लिँदैछन् ।
आइतबार प्रधानमन्त्रीमा नियुक्त भएका ओलीलाई आज बिहान ११ बजे राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा शपथ गराउने कार्यक्रम तय भएको छ ।
एमाले अध्यक्ष रहेका ओलीलाई राष्ट्रपतिले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम शनिबार प्रधानमन्त्रीमा नियुक्त गरेका थिए । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सदनमा विश्वासको मत पाउन नसकेपछि संविधानको धारा ७६ (२) अनुसार ओली प्रधानमन्त्री बनेका हुन् ।
नेपाली काँग्रेस र नेकपा एमालेबीचको गठबन्धन सरकारमा सहभागी हुने मन्त्रीहरुको नियुक्ती पनि आजै गर्ने तयारी गरिएको छ ।
प्रधानन्त्री ओलीले शपथ लिएलगत्तै आजै पदभार ग्रहण गर्ने कार्यक्रम पनि तय भएको छ । यसैगरी आज नियुक्त हुने मन्त्रीहरुले पनि शपथ लिइ पदभार ग्रहण गर्नेछन् ।
मिल्यो एमाले र कांग्रेसबीच मन्त्रालयमा भागबण्डा
काठमाडौं । नेकपा (एमाले) र नेपाली कांग्रेसबीच मन्त्रालयका भागबण्डा टुंगिएको छ ।
सहमति अनुसार कांग्रेसको भागमा ९ र एमालेको भागमा ८ मन्त्रालय परेको छ । एमालेले अर्थ, रक्षा, भौतिक पूर्वाधार, संघीय मामिला तथा सामान्य प्रशासन, शिक्षा, विज्ञान तथा प्रविधि, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय पाउने भएको छ ।
त्यस्तै नेपाली कांग्रेसले गृह मन्त्रालयसहित परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ, सहरी विकास, स्वास्थ्य तथा जनसंख्या, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, वन तथा वातावरण र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय पाउने भएको हो ।
एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्रीमा नियुक्त
काठमाण्डौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन् ।
निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्न नसकेपछि प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र नेकपा एमालेको समर्थनमा १६६ सांसदको हस्ताक्षरसहित ओलीे शुक्रबार राति नै प्रधानमन्त्रीमा दाबी पेस गरेका थिए ।
२७५ सदस्यीय प्रतिनिधि सभामा बहुमतका लागि १३८ मत आवश्यक पर्छ । प्रतिनिधि सभामा कांग्रेसका ८८ र एमालेका ७९ सांसद छन् । २ दलको मत संख्या जोड्दा सहज बहुमत (१६७) पुगेको भन्दै राष्ट्रपति पौडेलले ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका छन् ।
ओलीलाई कांग्रेसबाहेक राष्ट्रिय प्रजातन्त्र पार्टी (१४), जनता समाजवादी पार्टी (७), जनमत पार्टी (६), जनता समाजवादी पार्टी, नेपाल (५) तथा नागरिक उन्मुक्ति पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी (४) र (४) ले पनि समर्थन गरेका छन् ।
यसअघि प्रतिनिधि सभामा माओवादी केन्द्रका अध्यक्ष रहेका प्रचण्डले विश्वासको मत माग्दा विश्वासको मतको पक्षमा ६३ र विपक्षमा १९४ मत खसेको थियो । संसद्को विश्वासका लागि आवश्यक पर्ने मत प्राप्त गर्न नसकेपछि प्रचण्ड प्रधानमन्त्रीबाट पदमुक्त भएका थिए ।
शेयर बजारमा ५२.९७ अंकको उछाल, साढे ७ अर्ब नाघ्यो कारोबार
काठमाडौं । साताको पहिलो दिन शेयर बजार उच्च अंकले बढेको छ । नेप्से उचालिएसँगै कारोबार पनि साढे ७ अर्ब नाघेको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ५२.९७ अंकले बढेको हो । २.४० प्रतिशतले बजार उचालिंदा नेप्से २२५७.५९ अंकमा पुगेको छ ।
नेकपा एमालेका अध्यक्ष केपी ओली आजै साँझ प्रधानमन्त्रीमा नियुक्त हुन लागेका छन् । उनको मन्त्रीमण्डलमा अर्थमन्त्रीका रुपमा विष्णु पौडले आउने चर्चासँगै केही दिन यता शेयर बजारमा उत्साह छाएको छ । त्यसैक्रममा आज सबै समूहमा हरियाली छाएको छ । बैंकिङ समूह सबैभन्दा बढी ३.७४ प्रतिशतले बढेको हो ।
आज ३०९ कम्पनीका २ करोड २० लाख ४७ हजार ३ सय २७ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ६२ करोड ४ लाख ९८ हजार ५ सय २०.८७ रुपियाँ बराबरको कारोबार भएको छ ।
बजार उचालिएको दिन विभिन्न ५ कम्पनीका लगानीकर्ताहरुले ९ प्रतिशत बढी नाफा कमाएका छन् । रिडी पावर, मान्डु हाइड्रो जानकी फाइनान्स, हिमाल दोलखा हाइड्रो र अरुण भ्याली हाइड्रोका लगानीकर्ताहरुले क्रमशः १०, १०, ९.९५, ९.९३ र ९.३७ प्रतिशत नाफा कमाएका छन् ।
त्यस्तै प्राइम बैंकको ऋणपत्रका लगानीकर्ताहरुले सबैभन्दा बढी ४.१२ प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज जानकी फाइनान्स कम्पनीको उच्च कारोबार भएको छ । उक्त कम्पनीको २४ करोड २७ लाख ५८ हजार ५ सय ७२.५० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।
अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प सहभागी र्यालीमा चल्यो गोली
काठमाण्डौं । अमेरिकका पूर्वराष्ट्रपति डोनल्ड ट्रम्प सहभागी एउटा चुनावी र्यालीमा गोली चलेको छ । पेन्सेल्भेनिया राज्यको बट्लरमा आयोजित एक चुनावी सभालाई सम्बोधन गरिरहेको बेला गोली चलेको हो ।
अधिकारीहरूले गोली रिपब्लिकन पार्टीका राष्ट्रपतिका उम्मेदवाार ट्रम्पलाई नै लक्षित गरेको चलाइएको हो । यद्यपी उनी सुरक्षित छन् भने उनको कान र अनुहारमा रगत लतपत भएको दृश्य अमेरिकी टेलिभिजन च्यानलहरूले प्रसारण गरिरहेका छन् ।
सिक्रेट सर्भिसका अनुसार उनी सामान्य घाइते भएका छन् र उपचारका लागि स्थानीय अस्पतालमा लगिएको छ । ट्रम्पका प्रवक्ताले उनी सकुशल रहेको जनाएका छन् ।
गोली कसले प्रहार गरेको थाहा भएको छैन र अहिलेसम्म पनि कसैलाई पक्राउ गरिएको छैन ।
गोली प्रहारको बारेमा विभिन्न अड्कलबाजीहरू सुरू भएका छन् । ट्रम्प समर्थित रिपब्लिकनहरूले यो घटनाका लागि डेमोक्रेटिक पार्टी जिम्मेवार रहेको आरोप लगाएका छन् । तर, ट्रम्प विरोधीहरूले भने यो चुनावी हत्कण्डा भएको जनाएका छन् ।
अमेरिकी राष्ट्रपति जो बाइडनलाई घटनाका बारेमा जानकारी दिइएको छ । तर अमेरिकी राष्ट्रपति निवास ह्वाइट हाउसले अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन ।
यसैबीच ट्रम्पमाथि गोली प्रहार गर्ने व्यक्ति मारिएको अधिकारीहरूले जनाएका छन् । सिक्रेट सर्भिसका अधिकारीहरूले मारिने व्यक्तिको परिचय सार्वजनिक गरेका छैन ।
अमेरिकी सञ्चार माध्यमहरूले सुरक्षा अधिकारीहरूलाई उदृत गर्दै गोली प्रहार गर्ने व्यक्ति चुनावी सभामा सहभागी नभएको र नजिकैको घरको छानामा भएको जनाएका छन् ।
तर, घटनामा दुईजना मारिएको सिक्रेट सर्भिसले पुष्टी गरेको छ । घटनाको बारेमा थप अनुसन्धान भैरेहको सिक्रेट सर्भिसले जनाएको छ ।
पूर्वराष्ट्रपति ट्रम्पको स्वास्थ्य अवस्थाको बारेमा विभिन्न देशका नेताहरूले चासो र चिन्ता व्यक्त गरेका छन् ।
ओली आज प्रधानमन्त्री नियुक्त हुँदै, शपथ भोलि
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज प्रधानमन्त्री नियुक्त हुने भएका छन् ।
सरकार गठनका लागि तोकिएको समयसीमा सकिएलगत्तै राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई प्रधानमन्त्री नियुक्ति र शपथको प्रक्रिया अघि बढाउने राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।
राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि आज साँझ ५ बजेभित्र आफ्नो दाबी पेस गर्न शुक्रबार आह्वान गरेका थिए ।
सो आह्वानअनुसार ओलीले नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्रीका लागि शुक्रबार नै दाबी पेस गरिसकेका छन् ।
नयाँ प्रधानमन्त्रीको शपथ भने सोमबार बिहान ११ बजे हुने जानकारी दिईएको छ ।
नारायणीमा भेटिएको शव बेपत्ता बसका यात्रु भएको पुष्टि
चितवन । जिल्लाको भरतपुर महानगरपालिका २८ स्थित नारायण नदी किनारमा फेला परेको शव सिमलतालमा पहिरोले बगाएको बसको यात्रुको भएको पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक भेषराज रिजालले शव बेपत्ता गणपति डिलक्सका यात्रुको रहेको पुष्टि भएको जानकारी दिए ।
‘नदी किनारमा घोप्टो परेको अवस्थामा आज बिहान शव भेटिएको थियो । शवको साथमा केही कागजात पनि भेटिएकाले प्राप्त कागजातको आधारमा शव भारतीय नागरिक ऋषिपल साहको रहेको पुष्टि भएको छ ।’ प्रहरी नायब उपरीक्षक रिजालले भने ।
उनकाअनुसार अहिले शव परीक्षणका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ ।
साह नेपालमा बसेर काम गर्दै आएका ऋषिका दाई सत्यपाल साहले जानकारी दिए । सत्यपालले आज बिहान फेला परेको शव भाई ऋषिपलको रहेको पुष्टि गरे ।
भारतको मोतिहारी राजमुनुवा घर भएका २८ वर्षीय साह काठमाडौंको जोरपाटीबाट गौर जानका लागि गणपति डिलक्स चढेका हुन ।
काठमाडौंबाट रौतहटको गौरतर्फ आउँदै गरेको गणपति डिलक्सको बस पहिरोमा परेर त्रिशूली नदीमा खस्दा बेपत्ता भएको थियो । बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको बस त्रिशूलीमा खस्दा नन्दन दास, सुरजप्रसाद गुप्ता र जगेश्वर यादव बसबाट हाम फालेर ज्यान जोगाउन सफल भएका छन् ।
भरतपुर महानगरपालिका २९ स्थित सिमलतालमा पहिरो खस्दा दुई वटा यात्रुवाहक बस त्रिशूलीमा खसेको थियो ।
नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालबाट बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र गणपति डिलक्स नदीमा खसेका हुन् । शुक्रबारदेखि बेपत्ता बस र यात्रीको खोजी कार्य तीव्र पारिएको प्रहरीले जानकारी दिएको छ ।
एन्जल वीरगञ्जबाट काठमाडौंतर्फ र गणपति काठमाडौंबाट रौतहटको गौरतर्फ जाँदै गरेको अवस्थामा पहिरोमा परेका थिए । दुवै बसमा गरी करिब ६५ यात्री थिए ।
बेपत्ता बस तथा यात्रीको आज बिहानैदेखि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको गोताखोरसहितको टोलीले खोजी गरिरहेको छ ।
















