Page 14

उरुग्वेलाई पराजित गर्दै कोलम्बिया कोपा अमेरिकाको फाइनलमा

काठमाडौं । कोलम्बिया कोपा अमेरिकाको फाइनलमा पुगेको छ । जारी कोपा अमेरिकाको सेमिफाइनलमा उरुग्वेलाई १ गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो ।
कोलम्बियाका लागि खेलको ३९औं मिनेटमा जेफेरसन लेर्माले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।
यस खेलमा पहिलो हाफको इन्जुरी समयमा कोलम्बियाका डानियल मुन्जोले रातो कार्ड पाएपछि कोल्मबिया दोस्रो हाफ १० खेलाडीमा खेलेको थियो ।
योसँगै कोलम्बियाले फाइनलमा अर्जेन्टिनाको सामना गर्ने छ । फाइनल खेल आइतबार बिहान नेपाली समयअनुसार ५ः४५ बजेदेखि सुरु हुनेछ ।

 

संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो कार्यसूची

काठमाडौं । संघीय संसद्अन्तर्गत दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक अपराह्न ४ बजे र राष्ट्रियसभाको बैठक दिउँसो सवा १ बजे बस्नेछ ।
प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आदिवासी जनजाति आयोगको चौथो वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची छ ।
राष्ट्रियसभाको बैठकमा अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण र मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको पत्रबारे जानकारी गराउने कार्यसूची छ ।
अर्थमन्त्री वर्षमान पुनले आर्थिक विधेयक, २०८१ दफावार छलफलका लागि प्रस्ताव प्रस्तुत गर्ने र पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाउन प्रस्ताव गर्ने कार्यसूची छ ।
अर्थमन्त्री पुनले नै राष्ट्र ऋण उठाउने विधेयक, २०८१ दफावार छलफलका लागि प्रस्ताव प्रस्तुत गर्ने र पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाउन प्रस्ताव गर्नेछन् ।
भन्सार महसुल विधेयक, २०८१ दफावार छलफल गर्न र पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाउन प्रस्ताव गर्ने कार्यसूची छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७७ मा प्रतिनिधिसभाबाट भएको संशोधनमाथि छलफल गर्न र सहमतिका लागि प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।

देउवा र ओलीबिच बुढानीलकण्ठमा दुई घण्टा छलफल

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ ।
बुधबार साँझ देउवा निवास बुढानीलकण्ठमा उनीहरूबिच भेटवार्ता भएको हो । कांग्रेस र एमालेबिच नयाँ सत्ता समीकरण गर्ने सहमति भएसँगै भावी रणनीति तय गर्न अध्यक्ष ओली र देउवाबिच करिब दुई घण्टा कुराकानी भएको जनाईएको छ ।
दुई नेताको भेटमा अध्यक्ष ओलीको नेतृत्वमा सरकार बनाउन सांसदहरूको हस्ताक्षर, मन्त्रिपरिषद्को गठन, सरकारमा सहभागी हुन चाहने अन्य राजनीतिक दललाई सहभागी गराउने लगायतका विषयमा छलफल भएको बुझिएको छ ।

प्रधानमन्त्रीलाई विश्वासको मत दिन माओवादी केन्द्रको ह्वीप

काठमाण्डौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिन ह्वीप जारी गरेको छ । बुधबार बसेको माओवादी संसदीय दलको बैठकले पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन पार्टी सांसदहरूलाई ह्वीप जारी गरेको हो ।
२८ असारमा बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री दाहालले विश्वासको मत लिने कार्यसूची तय भएको छ । सभामुख देवराज घिमिरेले त्यो प्रतिनिधि सभालाई जानकारी गराइसकेका छन् ।
प्रमुख सत्ता साझेदार नेकपा एमाले र जनता समाजवादी पार्टीले समर्थन फिर्ता लिएकाले प्रधानमन्त्री दाहालले विश्वासको मत लिन लागेका हुन् ।

ताप्लेजुङमा भूकम्पको धक्का

काठमाडौं । ताप्लेजुङमा भूकम्प गएको छ ।
बुधबार बिहान पौने २ बजे ताप्लेजुङको तापेथोक आसपास केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।
भूकम्पको धक्का आसपासका जिल्लामा पनि महसुस भएको थियो । भूकम्पबाट कुनै क्षतिको विवरण आएको छैन ।

फ्रान्सलाई पराजित गर्दै स्पेन युरो कपको फाइनलमा

काठमाडौँ । फ्रान्सलाई पराजित गर्दै स्पेन युरो कपको फाइनलमा प्रवेश गरेको छ। म्युनिख फुटबल एरेनामा सम्पन्न खेलमा फ्रान्सलाई २–१ गोलअन्तरले पराजित गर्दै स्पेन फाइनलमा पुगेको हो ।
स्पेनलाई फाइनल पुर्‍याउन लामिन यमल र डानी ओल्मोले गोल गरे। फ्रान्सका लागि डिफेन्डर रान्डल कोलो मुआनीले गोल गरेका थिए ।
खेलको नवौं मिनेटमा कप्तान केलियन एमबाप्पेले दिएको पासमा मुआनीले हेडर गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए। तर, २१औँ मिनेटमा यमलले गोल गर्दै स्पेनलाई खेलमा फर्काए।
त्यसको चार मिनेटपछि नै ओल्मोले गोल गर्दै स्पेनलाई २–१ को अग्रता दिलाए। बाँकी समय थप गोल हुन सकेन । स्पेनले बुधबार राति हुने दोस्रो सेमिफाइनलअन्तर्गत इङ्ल्यान्ड र नेदरल्यान्ड्सबिचको विजेतासँग सोमबार बिहान उपाधिका लागि खेल्नेछ।

एमाले सचिवालय बैठक ११ बजे बस्दै

काठमाडौं । नेकपा (एमाले) को सचिवालय बैठक आज बस्दैछ । बिहान ११ बजे बोलाइएको बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ ।
हिजो दिउँसो १ बजेका लागि बोलाइएको बैठक पार्टी अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि आजका लागि सारिएको थियो ।
बैठकमा पछिल्लो विकसित राजनीतिक घटनाक्रम तथा नेताहरूको कार्यविभाजनलगायतका विषयमा छलफल हुने जनाईएको छ ।
कांग्रेस र एमालेबीच सरकारको आलोपालो नेतृत्व, संविधान संशोधनलगायतका विषयमा समझदारी भएको छ । यही असार १७ गते भएको सहमति र भावी रणनीतिका विषयमा पनि बैठकमा छलफल हुनेछ ।
यस्तै, बैठकमा पार्टीको २०८१ सालको कार्ययोजनाका विषयमा पनि छलफल गर्ने तयारी रहेको जनाईएको छ ।

काठमाडौं महानगरको बजेट सर्वसम्मत पारित

काठमाडौं । काठमाडौं महानगरपालिकाको बजेट सर्वसम्मत पारित भएको छ ।
आगामी आर्थिक वर्ष २०८१, ८२ का लागि ल्याएको बजेट नगरसभाको १५औं अधिवेशनको ५औं बैठकमा प्रमुख बालेन साहले निर्णयार्थ पेस गर्दा आज सर्वसम्मत पारित भएको हो ।
काठमाडौं महानगरले १० असारमा आगामी आवका लागि २५ अर्ब ७० करोड ६३ लाखको बजेट ल्याएको थियो ।
महानगर उपप्रमुख सुनिता डंगोलले बजेट प्रस्तत गरेको बजेटमा महानगरको सञ्चित कोषमा २४ अर्ब २० करोड ६३ लाख जम्मा हुने र जग्गा एकीकरणबाट १ अर्ब ५० करोड आम्दानी हुने लक्ष्य राखेको छ ।
महानगरले आगामी आवको स्रोतका लागि स्थानीय सञ्चित कोषमा आर्थिक विकासमा १९ करोड ९ लाख खर्च हुने गरी विनियोजन गरेको छ । यस्तै कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चमा ३ अर्ब ४९ करोड ४५ लाख विनियोजन भएको छ ।
पूर्वाधार विकासमा १४ अर्ब ८१ करोड, सामाजिक विकासतर्फ ३ अर्ब ८१ करोड, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रका लागि १ अर्ब ८९ करोड विनियोजन गरेको छ ।
महानगरले आन्तरिक स्रोतबाट १९ अर्ब १५ करोड ६६ लाख उठाउने लक्ष्य राखेको छ । यस्तै राजस्वका स्रोतहरूमा महानगरले ससर्त अनुदान संघबाट १ अर्ब ४५ करोड र प्रदेश सरकारबाट ४ करोड ४७ लाख स्रोत अनुमान गरेको छ ।
संघीय राजस्व बाँटफाँटबाट १ अर्ब ९९ करोड र प्रदेशको राजस्व बाँटफाँट ५५ करोड राजस्व अनुमान महानगरले गरेको छ । स्थानीय राजस्व बाँटफाँटबाट १० करोड अनुमान गरेको छ । समानीकरण अनुदानतर्फ संघबाट ८० र प्रदेशबाट १० करोड अनुमान गरेको छ ।
आजै महानगरपालिकाको आर्थिक विधेयक २०८१ र विनियोजन विधेयक २०८१ पारित भएको छ ।

 

रास्वपाद्वारा महामन्त्री मुकुल ढकाललाई निष्कासन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महामन्त्री डा. मुकुल ढकाललाई पार्टीको सबै पदीय जिम्मेवारीबाट हटाएको छ ।
मंगलबार बिहान पार्टी कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले ढकाललाई महामन्त्री, पार्टी प्रवक्ता र केन्द्रीय सदस्यबाट निष्कासन गरेको हो ।
असार १९ गतेको रास्वपा केन्द्रीय समिति बैठकले पार्टी अनुशासनको सन्दर्भमा महामन्त्री तथा प्रवक्ता ढकाललाई गरिएको निलम्बन र त्यसका आधारमा केन्द्रीय अनुशासन आयोगलाई विस्तृत छानबिन प्रतिवेदन तयार गरी केन्द्रीय समितिमा बुझाउन दिएको निर्देशन दिएको थियो । सोही बमोजिम केन्द्रीय अनुशासन आयोगबाट असार २३ गते प्राप्त प्रतिवेदनमाथि केन्द्रीय समितिमा गहन छलफल भएको रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।
‘केन्द्रीय समितिको छलफलका आधारमा ढकालबाट पार्टीको आचारसंहिताको दफा ४ को (१) को क, ख, च, प र फ एवम् दफा चार २ को (४) दफा (५) को क र ख, दफा ६ को क र ख, दफा ९ को क, ख ग र घ समेतको उल्लङ्घन भएको ठहर तथा सोबाट पार्टीलाई पुगेको क्षति समेतलाई विश्लेषण गर्दै केन्द्रीय अनुशासन आयोगको हदैसम्मको कारबाही गर्नुपर्ने भन्ने सिफारिसलाई ध्यानमा राखी निजलाई पार्टीको विधानको धारा ५६को (३) बमोजिमको साधारण सदस्य कायम राखी पार्टी महामन्त्री, प्रवक्ता तथा केन्द्रीय सदस्यबाट पदमुक्त गर्ने सर्वसम्मत निर्णय गरियो,’ उनले भने ।

 

शेयर बजारमा १५.७९ अंकको सुधार, साढे ५ अर्बको कारोबार

काठमाडौं । शेयर बजारमा आज फेरि सुधार आएको छ । बजार दोहोरो अंकले बढ्दा कारोबार रकम साढे ५ अर्ब नाघेको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड ९नेप्से० का अनुसार आज बजार १५.७९ अंकले बढेको हो । ०.७३ प्रतिशतले बजार बढ्दा नेप्से २१५२.१४ अंकमा उक्लिएको छ ।
समग्रमा बजार बढे पनि वित्त, होटल, उत्पादनमूलक र ट्रेडिङ क्रमशः ०.१५, ०.२८, ०.५४ र ०.३१ प्रतिशतले घटेका छन् । बाँकी समूहमा हरियाली छाएको छ । लघुवित्त समूह सबैभन्दा बढी ३.०६ अंकले बढेको छ ।
आज ३१६ कम्पनीका १ करोड १६ लाख ६१ ह्जार २ सय ८ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ५३ करोड ५९ लाख ५८ हजार ८ सय ८५.३१ रुपियाँ बराबरको कारोबार भएको हो ।
विभिन्न ५ कम्पनीका लगानीकर्ताहरुले ९ प्रतिशत बढी नाफा कमाएका छन् । गणपति लघुवित्त, आत्मनिर्भर लघुवित्त, बुद्ध भूमि नेपाल हाइड्रो, यूनिक नेपाल लघुवित्त र सबैको लघुवित्त क्रमशः १०, १०, ९.९१, ९.७९ र ९.१५ प्रतिशतले नाफा कमाएका छन् ।
त्यस्तै सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीमका लगानीकर्ताहरुले सबैभन्दा बढी ५.४७ प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज पनि एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको उच्च कारोबार भएको छ । उक्त कम्पनीको १९ करोड ७७ लाख ७५ हजार ९ सय ३१.१० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।
साताको पहिलो दिन आइतबार बजार २१.२७ अंकले उचालिंदा ६ अर्ब २९ लाख ३१ ह्जार ८ सय ५४.७१ रुपियाँ र हिजो सोमबार ४.६२ अंकले घट्दा ४ अर्ब ५६ करोड ९८ लाख ३६ हजार १ सय ६ रुपियाँ बराबरको शेयर किनबेच भएको थियो ।

लेटेष्ट समाचार

‘जेनजी’ आन्दोलनको भावनाअनुसार अघि बढ्न सरकारलाई खबरदारी

काठमाडौँ । ‘जेनजी’ युवाहरुले आन्दोलनको भावनाअनुसार अघि बढ्न सरकारलाई खबरदारी गरेका छन् । ‘जेनजी युनाइटेड–फर परिवर्तन’ संस्थाले आज माइतीघर मण्डलामा आयोजना गरेको खबरदारी सभामा सम्बोधन...

रुकुमपश्चिममा जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु, १० घाइते

रुकुम  । रुकुम पश्चिमको मुसिकोट खलंगाबाट आठविसकोट नगरपालिकाको स्यालाखदीतर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने १० घाइते भएका छन्...

मोरङको लेटाङमा १८ दिनदेखि बेपत्ता बालिका मृत फेला, बलात्कारपछि हत्या भएको...

विराटनगर । मोरङको लेटाङमा दुई सातादेखि हराईरहेकी बालिकाको बलात्कारपछि हत्या भएको आशंका गरिएको छ ।  असोज २१ गतेदेखि हराइरहेकी लेटाङ नगरपालिका–२ स्कुलचोककी १३ वर्षीया...