काठमाडौं । शेयर बजार दोहोरो अंकले उचालिंदा कारोबार ६ अर्ब नाघेको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार साताको पहिलो दिन आज आइतबार बजार २१.२७ अंकले बढेको हो । १ प्रतिशतले बजार बढ्दा नेप्से २१४०.९७ अंकमा पुगेको छ ।
समग्रमा बजार बढे पनि विकास बैंक, वित्त र ट्रेडिङ समूह क्रमशः ०.२४, २.०७ र २.२३ प्रतिशतले घटेका छन् । बाँकी अरु सबैमा हरियाली छाएको छ । सबैभन्दा बढी होटल समूह २.९६ प्रतिशतले बढेको छ ।
आज ३२५ कम्पनीका १ करोड ४० लाख १४ हजार ६ सय २२ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब २९ लाख ३१ ह्जार ८ सय ५४.७१ रुपियाँ बराबरको कारोबार भएको छ ।
सीईडीबी हाइड्रोका लगानीकर्ताहरुले सबैभन्दा बढी ५.२५ प्रतिशतले नाफा कमाए भने मैलुङ खोला जलविद्युत कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी १० प्रतिशतले घाटा व्यहोरे ।
आज एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीको उच्च कारोबार भएको छ । उक्त कम्पनीको २१ करोड ७१ लख ४८ हजार ८ सय १.१० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।
शेयर बजारमा २१.२७ अंकको सुधार, ६ अर्ब बढीको कारोबार
बाढी पीडितको उद्धारमा सक्रिय हुन प्रधानमन्त्रीको निर्देशन
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाढीपहिरो पीडितको उद्धार र राहतमा सक्रिय हुन नेपाल सरकारका सम्पूर्ण निकायलाई निर्देशन दिएका छन ।
सरकारको प्रयासमा सार्थक हातेमालोका निम्ति राजनीतिक दल, नागरिक समाज र सामाजिक संस्थाहरूसँग पनि उनले अनुरोध गरेका छन ।
‘अविरल वर्षापछि आएको बाढी पहिरोका कारण देशका विभिन्न भू(भागमा भएको धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दछु । प्राकृतिक प्रकोपबाट पीडित नागरिकको उद्धार र राहतमा सक्रिय हुन नेपाल सरकारका सम्पूर्ण निकायलाई निर्देशित गर्दछ ।’ प्रधानमन्त्रीद्धारा जारी सूचनामा उल्लेख छ ।
यस वर्ष उच्च वर्षा हुने प्रक्षेपण भइरहेकाले बाढी पहिरोबाट हुनसक्ने सम्भावित क्षति र जोखिम न्यूनीकरण गर्न सरकारले विपद् व्यवस्थापन तथा जोखिम न्यूनीकरण समितिको बैठक राखेर आवश्यक पूर्व तयारीको काम गरिरहेको उनको दाबी छ ।
पानीको सतह बढेपछि गण्डक ब्यारेजका सबै ढोका खुला
नवलपरासी । नारायणी नदीमा पानीको सतह निरन्तर बढ्दै गएपछि गण्डक ब्यारेजका सबै ढोका खोलिएका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–७ स्थित गण्डक बाँध (ब्यारेज) का सबै ढोका खोलिएका हुन् ।
गण्डक ब्यारेजमा निर्माण गरिएका ढोका बन्द हुँदा विनयी त्रिवेणी–१ बगुबन क्षेत्र डुबानमा परेपछि ब्यारेजका ३६ वटै ढोका खुला गरिएको गण्डक ब्यारेजका सम्पर्क तथा भूआर्जन अधिकृत काशिनाथ हरिजनले जानकारी दिएका छन । गण्डक क्षेत्रमा पानीको बहाव निरन्तर बढ्दै गएपछि ब्यारेजका सबै ढोका खोलिएको उनले जनाए । आज बिहान ७ः०० बजे गण्डक ब्यारेजमा पानीको बहाव चार लाख ४० हजार सात सय ५० क्युसेक मापन गरिएको अधिकृत हरिजनले जानकारी दिए ।
नदीमा शनिबार दिउँसोदेखि पानीको बहाव निरन्तर बढिरहेको छ । अधिकृत हरिजनका अनुसार शनिबार दिउँसो १२ बजे नदीमा पानीको बहाव एक लाख ६१ हजार क्युसेक थियो । त्यसपछि निरन्तर पानीको बहाब बढ्दो क्रममा छ । गण्डक ब्यारेजका सबै ढोका खोलिएपछि सिँचाइका लागि लगिएको नहरको ढोका बन्द गरिएको अधिकृत हरिजनले जनाए।
गण्डक ब्यारेज निर्माण गर्ने बेलामा ब्यारेजको क्षमता नौ लाख क्युसेक भए पनि अहिले ब्यारेज पुरानो भएको कारण पानीको बहाव ६ लाख क्युसेकसम्म धान्न सक्ने जनाईएको छ । ब्यारेजमा पानीको बहाव निरन्तर बढ्दो क्रममा छ ।
भारतको मेघालयमा ४ नेपालीको विभत्स ढंगले हत्या
काठमाण्डौं । भारतको मेघालयमा ४ नेपालीको हत्या भएको छ । उनीहरुको विभत्स ढंगले हत्या भएको भारतीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।
मेघालयको कोइलाखानीमा काम गर्ने गएका उनीहरुको हत्या भएको र मृतकको हातखुट्टा समेत बाँधिएको अवस्थामा शव भेला परेको समाचारमा उल्लेख छ । भारतीय प्रहरीले उनीहरुको नाम भने खुलाएको छैन ।
मेघालयको पूर्वी जैन्तिया हिल्सस्थित उम्प्लेङ बजार पछाडि चार शव फेला परेको थियो भने घटनाको जानकारी लगत्तै स्थानीय प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
हाल, शवहरू स्थानीय अस्पतालमा पोस्टमार्टमका लागि पठाइएको छ ।
सप्तकोशीमा पानीको बहाव बढदै, ३९ ढोका खोलिए
सुनसरी । वर्षाका कारण सप्तकोशी नदीमा पानीको सतह निरन्तर बढेपछि सतर्क रहन आग्रह गरिएको छ ।
आज साँझ पानी बहाव मापन गर्दा कोशी ब्यारेज भएर तीन लाख तीन हजार आठ सय ६० क्युसेक प्रतिसेकेण्ड पानीको बहाव रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए ।
अहिले ब्यारेजका ३९ ढोका खोलिएका छन् । यहाँ निरन्तर पानीको बहाव बढ्दै गएको छ । आज बिहान ४ बजेको मापनअनुसार एक लाख २४ हजार चार सय ६५ क्युसेक, दिउँसो १ बजे दुई लाख ४४ हजार क्युसेक र साँझ ५ बजे दुई लाख ८२ हजार छ सय ८० क्युसेक प्रतिसेकेण्ड पानीको बहाव रहेको थियो ।
लगातार पानीको बहाव र तह बढ्दै गएपछि कोशी ब्यारेजमा सुरक्षा निगरानी बढाएको प्रहरी नायब उपरीक्षक भण्डारीले जनाए ।
भारी बर्षासँगै देशका विभिन्न स्थानमा बाढी पहिरो
काठमाडौं । अविरल वर्षासँगै देशका विभिन्न स्थानमा बाढी, पहिरोका घटनाहरु भएका छन् । विभिन्न स्थानमा साना ठूला सडकहरु पहिरोका कारण अवरुद्ध बनेका छन् ।
शुक्रबारदेखि सुरु भएको बर्षाले गर्दा काठमाडौं उपत्यकाका ठूला नदी र खोलाहरु बढेको छ कतिपय ठाउँ डुवानमा परेको छ । बर्षासँगै आएको पहिरोले सिद्धार्थ राजमार्गमा अवरुद्ध भएको छ ।
पहिरोले सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल खण्डको कालीमाटी, चर्चरे, बर्तुङु र राम्दी नजिकै पहिरो खसेको प्रहरीले जानकारी दिएको छ । यस्तै तानसेन–तम्घास सडक खण्डको अर्गली र जोर्ते क्षेत्रमा पनि पहिरो खसेर सडक अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिए ।
सडकमा खसेको पहिरोको कारण दुवै सडक शनिबार बिहानैदेखि अवरुद्ध बनेका छन् । सडक अवरुद्ध भएसङ्गै पहाड र तराईको यात्रामा निस्केका सवारी र यात्रु बाटोमै रोकिएका छ्न ।
सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । तर, पानी परेकाले पहिरो पन्छाउन समस्या भइरहेको जनाइएको छ ।
साथै, कालीमाटी, चर्चरे र राम्दी क्षेत्रका सडक एकतर्फी खुलाइएको छ । अन्य स्थानको पहिरो हटाउन भने केही समय लाग्ने प्रहरीले जनाएको छ । यता अविरल वर्षासँगै आएको पहिरोले बीपी राजमार्ग अवरुद्ध भएको छ । सिन्धुलीको सुनकोशी गाउँपालिका कमिरेफाडमा पहिरो आएपछि सडक अवरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार गोलन्जोर गाउँपालिका अक्करेभिरमा पहिरो जाँदा मध्य पहाडी लोकमार्ग पनि अवरुद्ध भएको छ । पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जानकारी दिएको छ ।
यो बर्ष बाढी पहिरोमा परी ४६ जनाभन्दा बढीको मृत्यु भइसकेको छ ।
गायिका नम्रताको स्वरमा’माया पिरतीको गाउँ ’ सार्वजनिक
काठमाडौँ । गायिका नम्रता खरेल र गायक प्रविण वेडवाल को स्वरमा ’माया पिरतीको गाउँ ’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतको शब्द तथा संगीत सागर अधिकारी सरद को रहेको छ । गीतको भिडियोमा माया प्रेम बैंश र जीबनको अर्थलाई कलात्मक तरिकाले देखाइएको छ । गीतमा प्रेमी प्रेमीका विचको अन्तरंग कुराकानी लाई समेटिएको छ । मायामा रुपको पछी भन्दा पनी भावनालाई एक आपसमा कदर गर्नुपर्ने कुरा गीतमा गरिएको छ ।
गीतमा सन्तोष तामाङको छाँयाङकन , विजय राज भुर्तेल को निर्देशन तथा सम्पादन तथा समिर राईको कन्सेप्ट रहेको छ । भिडियोमा एस राज गराज र रिचा थापा को अभिनयलाई देखाइएको छ ।
एमाले संसदीय दलको बैठक बिहान १० बजे बस्दै
काठमाडौँ । नेकपा एमालेले संसदीय दलको बैठक बस्दै छ । आइतबार बिहान १० बजे संसद् भवनको ल्होत्से हलमा बैठक बस्न लागेको हो ।
बैठकमा एमालेका सांसद्हरुलाई अनिवार्य उपस्थितिको लागि निर्देशन दिइएको छ । भोलि प्रतिनिधि सभा बैठक बस्नु अघि सदनमा एमालेको भूमिकाबारे छलफल गर्न संसदीय दलको बैठक बोलाइएको प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।
नयाँ समीकरण बनेपछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । यससँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असार २८ मा विश्वासको मत लिने तयारी गरेका छन् ।
कांग्रेस संसदीय दलको बैठक ३ बजे बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्ने भएको छ । बैठक नयाँ वानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा दिउँसो ३ बजे बस्ने तय भएको छ ।
यही असार १७ गते नेकपा (एमाले) सँग सत्ता सहकार्यको सहमति भएसँगै त्यसबारे जानकारी गराउन बैठक बस्न लागेको कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।
असार १९ गते बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठनको सहमति अनुमोदन गरेको थियो ।
आजको बैठकले पनि सोही निर्णयलाई अनुमोदन गर्ने प्रमुख सचेतक लेखकले जनाए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही असार २८ गते विश्वासको मत लिन संघीय संसद्लाई जानकारी गराएका छन ।
प्रधानमन्त्रीले असार २८ गते विश्वासको मत लिने
काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले असार २८ गते विश्वासको मत लिने भएका छन् । त्यसका लागि शुक्रबार संसद सचिवालयलाई पत्र पठाइएको छ।
प्रचण्डले सङ्घीय संसदका महासचिवलाई सम्बोधन गरेर पठाएको पत्रमा सरकारमा सहभागी दलहरूमध्ये एक दल (एमाले) ले आफ्नो समर्थन फिर्ता लिएकाले विश्वासको मत लिनका लागि असार २८ गतेको प्रतिनिधि सभा बैठकको कार्यसूचीमा समावेश गर्ने व्यवस्था मिलाइदिन अनुरोध गरेका छन् ।
‘मेरो नेतृत्वमा संवत् २०७९ साल पुस ११ गते गठित सरकारमा सहभागी दलहरूमध्ये एक दलले आफ्नो समर्थन फिर्ता लिएको हुँदा नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम तीस दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधि सभासमक्ष प्रस्ताव राखु पर्ने प्रावधान भएअनुरूप उक्त विषय संवत् २०८१ साल असार २८ गतेको प्रतिनिधि सभा बैठकको कार्यसूचीमा समावेश गर्ने व्यवस्थाका लागि अनुरोध छ’, प्रधानमन्त्रीको पत्रमा भनिएको छ ।
असार १७ गते राति एमाले र कांग्रेसबीच नयाँ समीकरण बनाउने सहमति भएको थियो । लगत्तै एमालेले आफ्नो मन्त्री फिर्ता बोलाउँदै सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।
कांग्रेस र एमालेले नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गरिदिन प्रधानमन्त्रीलाई आग्रह गरेपनि उनले संसदमार्फत विश्वासको मत लिने जनाउँदै सोहीअनुसार पत्राचार गरेका हुन् ।