काठमाडौं । ताप्लेजुङमा भूकम्पको धक्का महसुस गरिएको छ । शनिबार राति १० बनेर १३ मिनेट जाँदा भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सो भूकम्प ४.१ म्याग्निच्युडको हो ।
ताप्लेजुङमा भूकम्पको धक्का महसुस
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज आइतबार बस्दैछ । दिउँसो १ बजेका लागि बोलाइएको बैठक संसद भवन नयाँबानेश्वरमा बस्नेछ ।
आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाअन्तर्गतको विषयगत समितिमा सदस्यहरूको नाम हेरफेर गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जानकारी दिएको छ ।
यस्तै, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछिन ।
गोरखाको धार्चेमा पहिरोमा पुरिएर ५ जना बेपत्ता
काठमाण्डौं । गोरखाको धार्चे–५ मा पहिरो जाँदा ५ जना बेपत्ता भएका छन् । बेपत्तामध्ये तीन जना एउटै परिवारका छन् ।
स्थानीयका अनुसार आज बिहान एउटा घर र एउटा कृषि फर्मलाई पहिरोले पुरेको हो ।
गोरखाका प्रमुख जिल्ला अधिकारी भोला दाहालले पहिरो गएको खबर पाएलगत्तै खोज तथा उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको जानकारी दिए ।
उनका अनुसार खोर्लाबेसीबाट नेपाली सेना र आरुघाटबाट सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ । घटनाको विस्तृत विवरण प्राप्त नभएको प्रजिअ दाहालले जनाए ।
सौर्य एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएका १७ जनाको शव आफन्तले बुझे
काठमाडौं । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परी ज्यान गुमाएका १७ जनाको शव आफन्तले बुझेका छन् ।
नेपाल प्रहरीकाअनुसार दुर्घटनामा परी मृत्यु भएका १८ जनामध्ये शनिबार साँझसम्म १७ जनाका आफन्तले शव बुझेका हुन् ।
एक विदेशी नागरिकको शव भने त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमै रहेको छ । सौर्य एयरलाइन्समै कार्यरत यमनी नागरिक आरिफ रेडाको शव भने अस्पतालमै रहेको छ ।
गत बुधबार त्रिभुवन विमानस्थलबाट पोखरातर्फ उडेको सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परेको थियो ।
जहाजमा सवार १९ मध्ये विमान चालक मनिषरत्न शाक्यबाहेक सबैको ज्यान गएको थियो । विमान चालक शाक्यको अहिले सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ र उनको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।
कांग्रेस–एमालेको सरकार आउँदो निर्वाचनसम्मै रहने सञ्चारमन्त्रीको दाबी
लमजुङ । सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुक विकासका लागि गठन भएको कांग्रेस र एमालेको संयुक्त सरकार आउँदो निर्वाचनसम्मै रहने दाबी गरेका छन् ।
शनिबारदेखि सुरु भएको राष्ट्रिय युवासंघ नेपाल गण्डकी प्रदेशकोे प्रथम अधिवेशनको उद्घाटन गर्दै मन्त्री गुरुङले विकासको गति बढाउनका लागि २ ठूला दल मिल्नुपरेको स्पष्ट पारे ।
सबै क्षेत्रको विकासमा सरकारले ध्यान दिने जनाउँदै मन्त्री गुरुङले मुलुकलाई विकसित देशको दाँजोमा लैजानका लागि प्रतिबद्ध भएर लाग्ने जानकारी दिए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्राप्त मत अझै थपिँदै जाने विश्वास व्यक्त गरे ।
प्रधानमन्त्रीले १ महिनाभित्रमा सबै मन्त्रीहरूलाई देखिने गरी काम गर्न निर्देशन दिएको र सोही अनुरूप मन्त्रीहरू अघि बढेकाले कामको गति देखिने मन्त्री गुरुङको भनाइ छ । उनले विकासका कार्यक्रमलाई तीब्र रूपमा अगाडि बढाएर सरकारले जनतामा आशाको सञ्चार गराउने अठोट लिएको जनाए ।
कार्यक्रममा एमाले पोलिब्यूरो सदस्य तथा युवासंघका पूर्व अध्यक्ष महेश बस्नेतले देश बनाउने जिम्मा युवाहरूको काँधमा आएकाले सोही अनुरूप युवाहरू अग्रसर हुनुपर्नेमा जोड दिए । एमाले पार्टीले युवाहरूलाई विभिन्न अवसर दिँदै आएको उनको भनाइ छ ।
संघका पूर्व केन्द्रीय अध्यक्ष राजीव पहारीले युवाहरूले देश निर्माणमा ठूलो योगदान दिएको र राज्यले पनि सोही अनुरूप युवाहरूलाई अवसर प्रदान गर्नुपर्ने जानकारी दिए । एमाले केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य जमिन्द्रमान घले, एमाले गण्डकी प्रदेश सचिव धनजय दवाडीले युवासंघले जनतामा विश्वास जगाएर काम गर्नुपर्ने जनाए ।
महिला एसिया कप ः फाइनलमा भारत र श्रीलंकाको भिडन्त
काठमाडौं । एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र श्रीलंकाले प्रतिस्पर्धा गर्ने पक्का भएको छ । शुक्रबार राति भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै आयोजक श्रीलंकाले भारतसँगको फाइनल भिडन्त पक्का गरेको हो ।
यसअघि पहिलो सेमिफाइनलमा भारतले बंगलादेशलाई १० विकटले पराजित गर्दै महिला एसिया कपटको फाइनलमा नवौं पटक पुगिसकेको छ ।
रंगिरी डम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको पहिलो सेमिफाइनलमा भारतले बंगलादेशमाथि १० विकेटको शानदार जित निकालेको हो ।
सुरुमा ब्याटिङ गरेको बंगालदेशले दिएको ८१ रनको लक्ष्य भारतले ११ ओभरमा बिना विकेट भेट्टाएको हो । भारतका स्मृति मन्धनाले ५५ रनको शानदार अर्धशतक बनाइन भने सफाली वर्माले २६ रन जोडिन् ।
यता प्रतिस्पर्धात्मक बनेको दोस्रो सेमिफानलमा भने श्रीलंकाले कठिन जित निकालेको हो । सुरुमा ब्याटिङ गरेको पाकिस्तानले मात्र ४ विकेटको क्षतिमा दिएको १४१ रनको चुनौती एक बल बाँकी हुँदा श्रीलंकाले ७ विकेटको क्षतिमा १४१ रन बनाउँदै भेट्टाएको हो ।
आयोजक श्रीलंका र भारतको फाइनल भिडन्त आइतबार हुँदैछ । यो खेल आइतबार दिउँसो ३ः१५ बजे श्रीलंकाको डम्बुला क्रिकेट मैदानमा सुरु हुनेछ ।
पेरिस ओलम्पिकको भव्य उद्घाटन
काठमाडौं । विश्व खेलकुदको सबैभन्दा ठूलो मेला ३३औं समर ओलम्पिक (पेरिस ओलम्पिक २०२४) को भव्य उद्घाटन भएको छ । पहिलो पटक स्टेडियम बाहिर उद्घाटन समारोह आयोजना गर्दै पेरिसले कीर्तिमान बनाएको छ । एक शताब्दीपछि ओलम्पिक पेरिस फर्कँदा यस पटक अहिलेसम्म भएको भन्दा फरक शैलीमा उद्घाटन भयो ।
उद्घाटन समारोह पेरिस छेउको सेन नदिमा भएको थियो । जहाँ विश्वका २०६ राष्ट्रका खेलाडीहरु विभिन्न शैलीका डुङ्गाहरु चढेर मार्सपासमा सहभागि भएका थिए । उनी ८५ वटा बोटमा चढेर करिब ६ किलोमिटर लामो परेडमा सहभागि भएका थिए ।
उद्घाटन समारोहमा हल्का वर्षा भएपनि त्यसले समारोहलाई खासै प्रभाव पार्न सकेन । फ्रान्सेली राष्ट्रपति माक्रोनले ३३औं समर ओलम्पिकको उद्घाटन भएको घोषणा गरेका थिए ।
फ्रान्सेली जुडो खेलाडी टेड्डी रिनर र स्प्रिन्टर मारिए जोस पेरेकले ओलम्पिक फ्लेम बालेका थिए ।
उद्घाटन समारोहमा चर्चित गायिक लेडी गागा, सेलियन डियोन लगायतले प्रस्तुती दिएका थिए । यस्तै फ्रेन्च फुटबल लेजेण्ड जिनेदिन जिदान, टेिनस स्टार राफायल नाडाल लगायत सहभागि थिए ।
पेरिस ओलम्पिकको उद्घाटन समारोहको मार्च पासमा नेपालको झण्डा टेबलटेनिसका श्यान्टु श्रेष्ठ र जुडोकी मनिता श्रेष्ठ प्रधानले बोकेका थिए । उद्घाटन समारोहमा नेपाल, नामबिया र नाउरको खेलाडीहरु एउटै डुङ्गामा चढेका थिए । श्यान्टु र मनितासहित पौडी खेलाडी एलेक्स शाह, ब्याडमिन्टनका प्रिन्स दाहाल नेपाली टोलीका सेफ दि मिसिन टंक लाल घिसिङ लगायत डुङ्गामा सयर गरेका थिए । छनोट चरण पार गरेर ओलम्पिक खेल्ने तेस्रो नेपाली खेलाडी बनेका श्यान्टुले उद्घाटनको भोलीपल्ट शनिवार नै आफ्नो चुनौती पेश गर्दैछन् । यस्तै ब्याडमिन्टनका प्रिन्सको पहिलो खेल पनि शनिवारै छ ।
पेरिस ओलम्पिकमा विश्वका १० हजार ७१४ खेलाडीले ३२ खेलको ३२९ इभेन्टमा प्रतिस्पर्धा गर्नेछन् ।
पेरिस ओलम्पिकको उद्घाटन समारोहअघि नै फुटबल, रग्बी सेभेन्ज, आर्चरी र ह्यान्डबलका प्रतिस्पर्धाहरु सुरु भइसकेका छन् ।
दोलखा भीमेश्वर मन्दिरमा राष्ट्रपति पौडेदद्धारा क्षमापूजा
काठमाडौं । दोलखाको भीमेश्वर मन्दिरमा राष्ट्रपति पौडेलद्धारा क्षमा पूजा गरिएको छ ।
दोलखा भीमेश्वरको शीलामा पसिना आउँदा राष्ट्र र जनतामा अनिष्ट हुने जानविश्वास छ । भीमेश्वरको शीलामा पसिना आउँदा राजतन्त्रकालमा दरबारले पञ्चवली पठाउने चलन थियो । गणतन्त्रपछि त्यो परम्परा छाडेर भीमेश्वरको शीलामा पसिना आउँदा राष्ट्रपतिलाई महाप्रसाद पुर्याउने, राष्ट्रपतिले भेटिघाटी दिने तथा साइत निकालेर राष्ट्रपतिकै नाममा क्षमापूजा लगाउने प्रचलन रहिआएको छ ।
सोही परम्पराअनुसार राष्ट्रपतिको कार्यालयको तर्फबाट प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल कर्ता बसेर धार्मिक विधि अनुसार रुद्री र होम गरिएको हो । क्षमा पुजामा ११ जना पुरोहितले लघुरुद्री पाठ, यज्ञ होम, ग्रह पूजा र मुलुकमा शान्तिको कामनासहित माङ्गलिक दोष शान्ति पूजा गरिएको थियो । क्षमापूजाको सबै खर्च सरकारले ब्यहोर्ने जनाईएको छ ।
दोलखा भीमेश्वरको शीलामा गत साउन ५ गते र लगत्तै साउन ९ गतेपनि पसिना आएको थियो । भीमसेनको शिलाको बाँया भागबाट पसिना आउँदा अनिष्टको संकेत मानिन्छ । शीलाको दाँया भागबाट पसिना आउँदा भने शुभ संकेत मानिन्छ । गत साउन ५ गते शिलाको बाँया भागबाट र ९ गते शीरबाट पसिना आएको थियो ।
यसअघि वि.सं.१९९०, १९९७, २००७, २०१७, २०३६, २०४६, २०५७, २०६४, २०७२, २०७७, २०७८ मा भीमसेनको शिलाको बाँया भागबाट पसिना आएको थियो ।
यी समयको आसपासमा ठूला राजनीतिक परिवर्तन, प्राकृतिक विपत्ती र अन्य दुःखदायी घटना भएको इतिहास छ । भीमसेनलाई आएको पसिनाले ती घटनाहरुको पूर्वसंकेत गरेको जनविश्वास रहँदै आएको छ । भीमेश्वर मन्दिर व्यवस्थापन समितिको तर्फबाट दुई जोर कालो बोकासमेत बली दिइएको थियो ।
सन्दीपविरुद्ध पुनरावेदन नगर्ने गौशाला २६ को निर्णय
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जबरर्जस्ती करणीको आरोप लगाउँदै आएकी गौशाला–२६ ले पुनरावेदनको फैसलाविरुद्ध सर्वोच्च अदालत नजाने भएकी छन्।
उनले शुक्रबार सरकारी वकिलको कार्यालय र बुधबार महान्याधिवक्ता कार्यालयमा एक निवेदन दिँदै आफू उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्च नजाने जानकारी गराएकी हुन्। साथै उनले अब उक्त मुद्दालाई थप अघि नबढाउनसमेत निवेदनमा अनुरोध गरेकी छन्।
महान्यायाधिवक्तालाई बुधाबार भेटेरै निवेदन दिएकी उनले आज भने सरकारी वकिलको कार्यालयमा पुगेर निवेदन दर्ता गराएकी हुन्। उक्त निवेदनमा उनले मुद्दा दर्ता भएदेखि नै आफूलाई मानसिकरुपमा परेको असरको फाइदा उठाउँदै विभिन्न व्यक्ति तथा संस्थाहरुले प्रतिवादीविरुद्ध भ्रमपूर्ण खबर फैलाएको र आफूमाथि दबाब बढाएको उल्लेख गरेकी छन्।
लामो समयदेखि उक्त घटनाको कारण त्रासपूर्ण जीवन बाँच्दै आएको भन्दै उनले मुद्दाको कारण आफू त्रासपूर्ण जिवन बाँच्दै आएको र मुद्दाले पार्ने दूरगामी असरबारे आफू त्यसबेला जानकार नभएको जानकारी दिएकी छिन ।
उच्च अदालतले फैसलामा लिएका आधारहरुलाई सम्मान गर्दै उनले अब मुद्दाको थप कारबाही अगाडि नबढाउन सरकारी वकिलको कार्यालयलाई अनुरोध गरेकी छन्।
गौशाला २६ ले हालेको बलात्कारको मुद्दामा जिल्ला अदालत काठमाडौंले सन्दीपलाई दोषि ठहर गरेको थियो। जिल्लाले उनलाई ८ वर्ष कैद सजाय तोकेको थियो। तर, सो फैसला उल्टाउँदै उच्च अदालतले सफाइ दिएको थियो।
फैसलाको पूर्णपाठ बुझेको ७० दिनभित्र पुनरावेदन गर्न सकिने प्रावधान रहेको छ। उनले आफ्नो निवेदनमा फैसलाको पूर्णपाठ आफूले अध्ययन गरिसकेको र अब थप प्रक्रियामा नजाने जनाएकी छिन।
कोशी प्रदेश सरकारबाट बाहिरिँदै माओवादी केन्द्र
विराटनगर । नेकपा (माओवादी केन्द्र) ले कोशी प्रदेश सरकारबाट बाहिरिने तयारी गरेको छ । केन्द्रीय सत्ता गठबन्धनमा आएको फेरबदलपछि माओवादी कोशी सरकारबाट बाहिरिन लागेको हो ।
केन्द्र सरकार परिवर्तन हुँदासमेत कोशी सरकार नछाडेको भन्दै माओवादीको तीव्र आलोचना भइरहेको छ ।
नेपाली कांग्रेस र एमालेलगायतका दल सम्मिलित गठबन्धन बनेपछि केन्द्रमा माओवादी प्रतिपक्षमा पुगेको छ । तर, कोशीमा भने माओवादीले सरकार छाडेको छैन ।
मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको कोशी प्रदेश सरकारमा माओवादीबाट गणेश उप्रेती भौतिक पूर्वाधार विकास, राजेन्द्र कार्की स्वास्थ्य र नारायणबहादुर मगर पर्यटन, वन तथा वातावरणमन्त्री हुनुहुन्छ भने बन्दना झाँगड राज्यमन्त्री छन ।
माओवादीका मन्त्रीहरुले आजै राजीनामा दिएर सरकार छाड्ने तयारीमा रहेको जनाईएको छ ।