काठमाण्डौं । कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन भएको छ ।
नकर्मीको उपचारको क्रममा गएराति बीर अस्पतालमा निधन भएको हो । उनी लामो समयदेखि मृगौलासम्बन्धी रोगबाट पीडित थिए ।
नकर्मीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि कीर्तिपुर नगरपालिकाको कार्यालय प्राङ्गणम राखिएको छ । मेयर नकर्मीको निधनको शोकमा नगरपालिकामा आज शोक बिदा दिइएको छ ।
कीर्तिपुर नगरपालिकाका मेयर नकर्मीको निधन
विश्व खेलकुदको महाकुम्भ ‘ओलम्पिक’ आजदेखि
काठमाडौं । विश्व खेलकुदको महाकुम्भ ‘पेरिस ओलम्पिक २०२४’ आजदेखि सुरु हुँदैछ । प्रतियोगिताको औपचारिक उद्घाटन आज हुने भएपनि फुटबललगायतका केही खेलहरु भने यसअघि नै सुरु भइसकेका छन् ।
फ्रान्सको राजधानी पेरिसमा शुक्रबार हुने उद्घाटन समारोहको तयारी पूरा भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् । तर ओलम्पिकको उद्घाटन समारोहमा वर्षाले ठूलो बाधक बन्न सक्ने अनुमान गरिएको छ ।
पेरिस ओलम्पिकको उद्घाटन समारोहमा सेइन नदी छेउछाउ पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । फ्रान्सको मौसम विज्ञान विभाग, मेटियो फ्रान्सले शुक्रबार पानी पर्ने भविष्यवाणी गरेको छ । दिउँसो मौसम सफा हुने भएपनि उद्घाटन कार्यक्रम हुने भएकाले साँझ फेरि पानी पर्ने सम्भावना छ । तर पानी परे पनि उद्घाटन कार्यक्रम निर्धारित समयमै हुनेछ ।
पेरिस ओलम्पिकमा एक सय २८ वर्ष पुरानो कीर्तिमान तोडिन लागेको छ । ओलम्पिक इतिहासमा एक सय २८ वर्षदेखि उद्घाटन समारोह रंगशालामा मात्रै हुने गरेको छ ।
पेरिसमा पहिलो पटक उद्घाटन समारोह रंगशालामा नभई नदीको किनारमा हुन लागेको हो । आधुनिक ओलम्पिक १८९६ मा सुरु भएयता उद्घाटन समारोह रंगशालामा गर्ने चलन थियो । सामान्यतया, खेलाडीहरू परम्परागत रूपमा मार्च गरेर स्टेडियममा प्रवेश गर्छन् । तर पेरिस ओलम्पिकमा सहभागी १० हजार पाँच खेलाडीहरू सीन नदीमा छ किलोमिटरको परेडमा ९० भन्दा बढी डुङ्गाहरूमा सवार हुनेछन् । यस अवधिमा सेन नदीको किनारमा सयौं दर्शकहरू उपस्थित हुनेछन् । यी सबै बाहेक धेरै ठूला सेलिब्रेटीहरू त्यहाँ प्रदर्शन गर्ने छन् ।
ओलम्पिकको उद्घाटन समारोहमा चर्चित गायिका लेडी गागा र सेलिन डियोन पनि प्रस्तुति दिनेछन् । पेरिस ओलम्पिकमा नेपालमा ४ खेलका ७ खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।
एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, सुटिङकी सुस्मिता नेपाल, पौडीमा डुवाना लामा र एलेक्जेन्डर शाह, टेबलटेनिसका स्यान्टु श्रेष्ठ, ब्याडमिन्टनका प्रिन्स दाहाल र जुडोकी मनिता श्रेष्ठ प्रधानले ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्ने छन् ।
टेबलटेनिसका स्यान्टुले मात्र छनोट चरण पार गरेर पेरिस ओलम्पिक खेल्दा अरुले बाँकी ६ खेलाडीले वाइल्ड कार्डमाफर्त ओलम्पिकमा सहभागीता जनाउन लागेका हुन् ।
राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त
काठमाडौं । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. शिवराज अधिकारी नियुक्त भएका छन् ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले पाल्पाका अधिकारीलाई आयोगको उपाध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो ।
अधिकारी त्रिवि अर्थशास्त्र विभागका पूर्वप्रमुख हुन् । यसअघि उनले आयोगको सदस्यको जिम्मेवारी समेत निर्वाह गरेका छन् ।
बैठकले आयोगका सदस्यहरुमा डा आरपी बिछार, डा रमेशप्रसाद सिंह, डा प्रकाशकुमार श्रेष्ठ, गीताकुमारी पौडेल अधिकारी, डा जयबहादुर टण्डन र गङ्गादत्त अवस्थीलाई नियुक्त गरेको छ ।
लिलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त
काठमाण्डौं । सरकारले कायम मुकायम मुख्यसचिव लिलादेवी गड्तौलालाई मुख्यसचिवमा नियुक्त गरेको छ ।
बिहिबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले गड्तौलालाई मुख्यसचिवमा नियुक्त गरेको हो ।
३१ असारमा सरकारले निमित्त मुख्यसचिव गड्तौलालाई कायम मुकायम मुख्यसचिवको जिम्मेवारी दिएको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएपछि निलम्बित मुख्यसचिव डा. वैकुण्ठ अर्याललाई गत १० असारमा राष्ट्रिय योजना आयोगमा राजपत्रांकित विशिष्ट श्रेणीको मुख्यसचिव सरहको विशेष पद सिर्जना गरी उक्त पदमा सरुवा गर्ने निर्णय भएको थियो ।
त्यसपछि प्रधानमन्त्री कार्यालयमा कानुन मामिला हेर्ने सचिव गड्तौलाले वरीष्ठताका आधारमा स्वतः निमित्त मुख्यसचिवको जिम्मेवारी पाएकी थिइन्।
ग्लोबल आइएमई बैंकको महिला सञ्चालकमा ज्ञवाली र प्रमुख कार्यकारी अधिकृतमा रेग्मी नियुक्त
काठमाडौँ । ग्लोबल आइएमई बैंकको स्वतन्त्र÷महिला सञ्चालकमा भागिरथी भट्टराई ज्ञवाली र प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन्। बिहीबार बसेको बैंकको सञ्चालक समितिको बैठकले ज्ञवालीलाई सञ्चालक र रेग्मीलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो।
त्रिभुवन विश्वविद्यालयबाट जनप्रशासन र अर्थशास्त्रमा स्नातकोत्तर गरेकी ज्ञवाली लामो समयदेखि अध्यापन र बिभिन्न संघ संस्थामा संलग्न छिन्।
त्यसैगरी समितिले बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत रेग्मीलाई २०८१ भदौ १ गतेदेखि लागु हुनेगरी बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ।
तीन दशकभन्दा लामो समय बैंकिङ्ग क्षेत्रमा रहेका रेग्मीले २०६५ मा नायव प्रबन्धक तहबाट ग्लोबल आइएमई बैंकमा प्रवेश गर्नुभएको थियो।
रेग्मीले त्रिभुवन विश्व विद्यालयबाट एमए (अर्थशास्त्र) तथा वेलायतको युनिभर्सिटि अफ वेल्सबाट एमबीए गरेका छन्।
ग्लोबल आइएमई बैंकमा कर्जा व्यवस्थापन, जोखिम तथा नियन्त्रण, बैंकिङ्ग अपरेसन, जोखिम व्यवस्थापन, अनुपालन, शाखा सञ्चालन, सामान्य प्रशासन, मर्जर व्यवस्थापन लगायत समग्र बैंकिङ्गको सुपरिवेक्षण तहमा काम गरिसकेका रेग्मी एक अब्बल बैंकरका रुपमा परिचित छन्।
शेयर बजारमा ३२ अंकको सुधार, १४ अर्ब १३ करोडको कारोबार
काठमाडौं । लगातार ६ दिन बढेर हिजो करेक्शन भएको शेयर बजार आज पुनः उकालोतर्फ अघि बढेको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ३२ अंकले उचालिएको हो । १.२६ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २५६८.११ अंकमा उक्लिएको छ ।
समग्रमा बजार बढे पनि विकास बैंक, हाइड्रो, लगानी र अन्य समूह क्रमशः ०.३५, ०.१०, ०.७३ र ०.३३ प्रतिशतले घटेका छन् । बाँकी समूहमा हरियाली छाएको छ । लघुवित्त समूह सबैभन्दा बढी ६.८३ प्रतिशतले बढेको हो ।
आज ३२० कम्पनीका ३ करोड ५५ लाख ९४ हजार ८ सय ६८ कित्ता शेयर किनबेच हुँदा १४ अर्ब १३ करोड ७८ लाख ९९ हजार ४९.२८ रुपियाँ बराबरको कारोबार भएको छ ।
विभिन्न १४ कम्पनीका लगानीकर्ताहरुले ९ प्रतिशत बढी नाफा कमाएका छन् । सबैभन्दा बढी उपकार लघुवित्त, जीवन विकास लघुवित्त र एशियन हाइड्रोका लगानीकर्ताहरुले क्रमशः १०, ९.९९ र ९.९९ प्रतिशतले नाफा कमाएका हुन् ।
त्यस्तै मितेरी डेभलपमेन्ट बैंकका लगानीकर्ताहरुले सबैभन्दा बढी ७.६५ प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज सानिमा जीआईसी इन्स्योरेन्सको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ३४ करोड १७ लाख ७९ हजार ९ सय ७२.७० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।
साताको पहिलो दिन आइतबार बजार ६१.६१ अंकले बढ्दा १५ अर्ब २३ करोड ८२ लाख ७१ हजार २ सय ९०.९८ रुपियाँ, सोमबार २.१५ अंकले बजार बढ्दा १३ अर्ब ९१ करोड ५५ लाख ३५ हजार ४ सय ४०.९८ रुपियाँ, मंगलबार ७५.३३ अंकले बजार बढ्दा १४ अर्ब ११ करोड ६३ लाख ३० हजार ९ सय ९५.७६ रुपियाँ र हिजो बुधबार २७.३२ अंकले बजार घट्दा १६ अर्ब २० करोड ८५ लाख ७७ हजार ३ सय १४.५३ रुपियाँ बराबरको कारोबार भएको थियो ।
रास्वपाको केन्द्रीय समिति बैठक ११ बजे बस्दै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज बस्दै छ ।
केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने बैठक बिहान ११ बजेदेखि सुरु हुने रास्वपाले जानकारी दिएको छ ।
बैठकमा संगठनको आन्तरिक रणनीति, आगामी कार्यक्रम र कार्यदिशा तथा दलको अधिवेशनको तयारीबारे छलफल हुने जनाईएको छ ।
सौर्य जहाज दुर्घटनामा परेकाको शव भोलिसम्म आफन्तलाई बुझाइने
काठमाडौं । सौर्य एयरको जहाज दुर्घटनामा परेर मृत्यु भएका १८ शव उनीहरुका आफन्तले भोलिमात्रै पाउने भएका छन् ।
सबै शवलाई अहिले त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । भाव विह्वल अवस्थामा रहेका आफन्तले शव पर्खिइरहेका छन् । त्रिवि शिक्षण अस्पताल महाराजगन्जका अनुसार सबैको डीएनए परीक्षण गरेर पहिचान गरिने जनाएको छ ।
बुधबार बिहान काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको दुर्घटनामा परी सौर्य एयरका प्राविधिकसहित १८ जनाको मृत्यु भएको थियो । क्याप्टेन मनिषरत्न शाक्यको भने घाइते अवस्थामा उद्धार गरिएको थियो ।
उनको अवस्था स्थिर रहेको अस्पतालले जानकारी दिएको छ । केएमसी अस्पतालमा उपचाररत शाक्यलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली पनि अस्पताल पुगेका थिए ।
त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विभाग प्रमुख डा. गोपाल चौधरीका अनुसार सबै शव जलेर चिन्न नसकिने अवस्थामा छन् । उनीहरुको फिंगर प्रिन्ट, डेन्टल म्याचिङ आदिको माध्यमबाट पहिचान गर्नुपर्ने हुन्छ ।
त्यसका निम्ति बुधबार ४ जनाको तथ्यांक संकलन भयो । सबै मृतकको तथ्यांक संकलन गरी शव पहिचान गर्न करिब ३ दिन लाग्छ ।
भोलि राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय
काठमाडौं । सरकारले विमान दुर्घटनामा मृत्यु भएकाहरूको शोकमा भोलि, बिहीबार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले शोक मनाउने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङका अनुसार पाँच सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ भने विमानहरुको अनिवार्य प्राविधिक परीक्षण गर्न निर्देशन दिएको छ ।
बुधबार बिहान काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको विमान विमानस्थल परिसरमै दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो भने पालट गम्भीर घाइते भएका छन् ।
प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका छन्।
बैठक बुधबार अपराह्न ५ बजे सिंहदरबारमा बस्नेगरी बोलाएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
बुधबार बिहान पोखराका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्ने क्रममा भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनाबारे छानबिनको प्रक्रियाबारे बैठकले निर्णय लिने बुझिएको छ।
मन्त्रिपरिषद् बैठकले दुर्घटनाबारे छानबिन समिति बनाउने र उद्धार तथा राहतबारे समेत निर्णय लिने बुझिएको छ।
सौर्य एयरलाइन्सको जहाज ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट रनवे छाड्नेवित्तिकै दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ। दुर्घटनामा चालक मनिषरत्न शाक्य घाइते भएका छन्।