काठमाडौं । बानेश्वर स्थित समाज डेन्टल हस्पिटल र प्रभु बैंकबीच बैंकका ग्राहकहरुलाई विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
ग्राहकहरुलाई लक्षित गरी दन्त स्वास्थ्यमा सहुलियत प्रदान गर्ने सम्झौता भएको हो ।
प्रभु बंैकका कर्मचारी र कर्मचारीका परीवारजन तथा ग्राहकहरुले क्रमशः १५ र १० प्रतिशत छुट, समाज डेण्टल हस्पिटलका सम्पूूर्ण शाखाहरुमा यो सेवा प्राप्त गर्न सक्नेछन् ।
उक्त सम्झौता, समाज डेण्टल हस्पिटलका निर्देशक श्रेया पाँडे र प्रभु बैंकका बागमती प्रदेश प्रमुख सुदेशकुमार देवकोटाले हस्ताक्षर गरेका छन् ।
बैंकले नेपालभर ३१५ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टरमार्फत करिब ३५ लाख भन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको जनाएको छ ।
प्रभु बैंक र समाज डेन्टल हस्पिटलबीच सम्झौता
आज अमेरिकी उपराज्यमन्त्री बर्मा नेपाल आउँदै
काठमाण्डौं । अमेरिकाको व्यवस्थापन र स्रोत सम्बन्धी उपराज्यमन्त्री रिचार्ड आर. बर्मा नेपाल भ्रमणमा आउन लागेका छन् ।
अमेरिकी विदेश मन्त्रालयको प्रवक्ताद्वारा जारीे वक्तव्यअनुसार बर्मा अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज नेपाल भ्रमणमा आउन लागेका हुन् ।
भ्रमणको अवसरमा नेपाल र अमेरिकाबीच समृद्ध, सुरक्षित र बलियो रूपमा दृढ भविष्यलाई अगाडि बढाउन र सहयोग गर्ने विषयमा छलफल हुने पनि अमेरिकी विदेश मन्त्रालयको प्रवक्ताद्वारा जारीे वक्तव्यमा जनाइएको छ ।
बर्माले नेतृत्व गर्ने प्रतिनिधिमण्डलले आर्थिक विकास, महिला सशक्तिकरण, ऊर्जा र जनताबीचको सम्बन्धमा साझा प्राथमिकताका बारेमा उच्च सरकारी अधिकारी, विकास व्यवसायी र व्यवसायी नेताहरूसँग छलफल गर्ने जनाईएको छ ।
बर्मासँग राष्ट्रपति जो बाइडेनका अन्तर्राष्ट्रिय जलवायु नीतिका वरिष्ठ सल्लाहकार जोन पोडेस्टा र अमेरिकी ऊर्जा विभागका उपमन्त्री डेभिड टर्क पनि रहने छन् । नेपालपछि उनी भारत भ्रमणमा जाने छन् ।
बस दुर्घटना हुँदा १६ जना घाइते
धनगढी । डोटीमा बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् ।
बिहीबार धनगढीबाट छुटेको शैलेश्वरी यातायातको ना ५ ख ४४५१ नम्बरको यात्रुबाहक बस शुक्रबार बिहान करीब ४ बजे दिपायल सिलगढी नगरपालिका–४ स्थित रेडियो नेपालको प्रशारण केन्द्र नजिकै दुर्घटना भएको हो ।
दुर्घटनामा १६ जना घाइते भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जानकारी दिएको छ । उनीहरूमध्ये एक जनाको अवस्था गम्भीर छ ।
सबै घाइतेलाई उद्धार गरी उपचारका लागि सुजङ अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।
बस सडकबाट अन्दाजी एक सय मिटर तल खसेको छ । दुर्घटनाको कारण भने नखुलेको प्रहरीले जानकारी दिएको छ ।
गठ्ठाघर दुर्घटनाको गम्भीरतापूर्वक छानबिन गर्न गृहमन्त्रीको निर्देशन
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले भक्तपुरको गठ्ठाघरमा भएको सवारी दुर्घटनाको गम्भीरतापूर्वक छानबिन गर्न प्रहरी महानिरीक्षक (आइजीपी) लाई निर्देशन दिएका छन् । गृहमन्त्री लेखकले गम्भीरतापूर्वक दुर्घटना कारण खोज्न आइजीपी वसन्त कुँवरलाई निर्देशन दिएका हुन् ।
गठ्ठाघरमा भएको दुर्घटनाबारे दुःख व्यक्त गर्दै उनले भने गठ्ठाघरको दुर्घटनामा के भएको हो ? दुर्घटना हुनुमा कसैको गल्ती छ कि ? यसमा हाम्रो पुलिस फोर्सको गल्ती छ कि ? यसको गम्भीरतापूर्वक छानबिन गर्नुहोस् ।
बिहीबार दिउँसो भक्तपुरको गठ्ठाघर चोकनजिकै ट्रकले ठक्कर दिँदा स्कुटर चालकको घटनास्थलमै मृत्यु भएको थियो । ना ६ ख २१७३ नम्बरको ट्रकले बा३९प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक ओखलढुङ्गा स्थायी घर भएका उत्तम कोइरालाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
ट्रक चालक घटनास्थलबाट फरार भए पनि बिहीबार साँझ काठमाडौँको नयाँ बानेश्वर वृत्त तीनकुनेले पक्राउ गरी थिमि वृत्तको जिम्मा लगाएको छ ।
प्रधानमन्त्रीको सट्टा जनताका नाममा कार्यक्रम राख्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री वा उच्च पदका नाममा नभई जनताका नाममा कार्यक्रम राख्न निर्देशन दिएका छन ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आजको बैठकमा मन्त्री, सचिवलगायतलाई निर्देशन दिँदै उनले प्रधानमन्त्री जस्ता ठूला पदको सट्टा जनताका नाममा कार्यक्रम बनाउन निर्देशन दिएका हुन ।
“प्रधानमन्त्रीसँग रोजगार जस्ता कार्यक्रम ठूला पदका नामबाट राखियो । यही सिको गर्दै प्रदेशमा पनि मुख्यमन्त्रीसँग फलानो कार्यक्रम भनेर आएका छन् । यो परिपाटीलाई बदलेर जनतासँग रोजगारजस्ता कार्यक्रम राख्न निर्देशन दिन्छु । नयाँपन दिने गरी काम गर्नुहोस्”, उनले भने ।
प्रधानमन्त्री ओलीले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान स्तरोन्नतिका लागि सम्पूर्ण समय दिएर काम गर्न निर्देशन पनि दिए । उनले पुँजीगत खर्च बेरुजु नहुने गरी शतप्रतिशत खर्च गर्न, दसौँ राष्ट्रिय खेलकुदलाई भव्य र प्रभावकारी बनाउन आवश्यक प्रस्ताव ल्याउन पनि निर्देशन दिएका थिए ।
बैठकमा उनले मुलुकलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने, बजारमा स्वस्थ खाना उपलब्ध हुने वातावरण बनाउन र कृषि उपजको निर्यात हुने गरी आधार तय गर्न समेत निर्देशन दिए । “गरिबलाई कानुन देखाएर मात्रै हुँदैन, उनीहरुलाई केन्द्रमा राखेर विकासका कार्यक्रम तय गर्न सकियो भने मात्रै अर्थपूर्ण रहन्छ”, प्रधानमन्त्री ओलीले भने ।
यसअघि आजको बैठकमा प्रधानमन्त्रीले विभिन्न मन्त्रालयका मन्त्रीलगायतलाई निर्देशन दिँदै एक सय दिनभित्र उपलब्धिपूर्ण काम गर्ने गरी कार्यक्रम निर्माण र कार्यान्वयन गर्न निर्देशन दिएका थिए ।
पेट्रोल, डिजल र मट्टीतेलको भाउ घट्यो
काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेलको भाउ घटाएको छ ।
बिहीबार साँझ बसेको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ५ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ घटाएको हो । घटेको मूल्य बिहीबार राति १२ बजेदेखि लागू हुनेछ ।
घटेको मूल्य अनुसार चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा पेट्रोल प्रतिलिटर १६२, डिजल र मट्टीतेल १५२ रुपैयाँ कायम भएको छ ।
त्यस्तै सुर्खेत र दाङ क्षेत्रमा पेट्रोल प्रतिलिटर १६४, डिजल तथा मट्टीतेल १५४ रुपैयाँ कायम भएको छ ।
काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा पेट्रोल प्रतिलिटर १६५ रुपैयाँ र डिजल तथा मट्टीतेल १५५ रुपैयाँ कायम भएको निगमले एक सूचना मार्फत जानकारी दिएको छ ।
साइबर सुरक्षा चुनौती र रणनीति, यस्ता छन् विज्ञहरुको सुझाव
चलचित्र देववाणी आगामी मङ्सिर ७ गते रिलिज हुने
काठमाडौँ । चलचित्र ‘देववाणी’ आगामी मङ्सिर ७ गते रिलिज हुने भएको छ । बाबु साहेब बलामी निर्देशित चलचित्रले बिहीबार एक पोस्टर सार्वजनिक गर्दै रिलिज मितिको बारेमा जानकारी दिएका हुन् ।
पोस्टरमा चलचित्रका प्रमुख नायक कुन्दन भारद्वाज र नायिका अनुजा लेप्चा फिचर्ड छन् । उनीहरूलाई रोमान्टिक भावमा देखाइएको छ । मौसम फिल्मस् प्रोडक्सन हाउस र अनुजा इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा कुन्दन भारद्वाज, अनुजा लेप्चा, सुनिल थापा, ध्रुव कोइराला, नन्दु श्रीवास्तव, अमिता श्राप, मौसम पौडेल, देव सिंह, प्रदीप ढकाल, सरिता भण्डारी, लक्ष्मीनाथ तिमल्सिना, काजोल राघवाणी र मौसम पौडेलको अभिनय छ ।
सिमरा, वीरगन्ज, इटहरी र काठमाडौँमा छायाङ्कन भएको चलचित्रमा निराजन मेहता मन्जिलको पटकथा तथा संवाद, हरिबहादुर घलेको छायाङ्कन, श्री श्रेष्ठ र देव महर्जनको द्वन्द्व, रामजी लामिछाने र तेन्जु योञ्जनको कोरियोग्राफी, मनोहर सुनाम र सन्तोष प्रगाढको सङ्गीत, बन्दे प्रसादको सम्पादन छ ।
मिना खड्का र हिराबहादुर लेप्चा निर्माता रहेको चलचित्रको कार्यकारी निर्माता मनकुमार लेप्चा र रमेश ढुङ्गेल ‘झापाली’ हुन् । चलचित्र नेपाली र हिन्दी भाषामा निर्माण भएको छ ।
आईएमई लिमिटेडमा दिवाकर पौडेल सीईओ नियुक्त
काठमाडौं । आइएमई लिमिटेडमा दिवाकर पौडेल सीईओ (प्रमुख कार्यकारी अधिकृत) नियुक्त भएका छन् । जीएमई रेमिटलाई गाभेर बुधबार मात्रै एकीकृत कारोबार गरेको आइएमईका नयाँ सीीईओले कार्यभार सम्हालेको कम्पनीले जानकारी दिएको छ ।
जीएमई रेमिटको स्थापनादेखि नै सीईओ रहेका पौडेलको रेमिटेन्स क्षेत्रमा २५ वर्षको अनुभव रहेको छ । उनले प्रतिस्पर्धी बजारमा अझै स्तरीय तथा विस्तारित रेमिटेन्स सेवा प्रदान गर्न थप योगदान दिने जनाएका छन् ।
यसैगरी समग्र रेमिटेन्स सेवालाई थप सरल, सहज एवम् थप प्रविधियुक्त बनाउँदै डिजिटल रुपान्तरणलाइ थप तीव्रता दिने पौडेलको भनाई छ । डिजिटल रेमिटेन्सको अवधारणालाई मुख्य प्राथमिकतामा राखेको र डिजिटल रेमिटेन्स तर्फको रुपान्तरणले आइएमईको सेवालाई थप चुस्त र सुलभ बनाउने उनले जानकारी दिएका छन् ।
पोडेलले रेमिटेन्स कम्पनीहरूको कार्यक्षेत्र विस्तारमा पहल गर्ने तथा रेमिटेन्स रकमलाई उत्पादनमूलक क्षेत्रमा परिचालन गरी राष्ट्रिय आम्दानी बढाउँदै रोजगारी सिर्जनामा योगदानका लागि तत्पर रहेको जनाएका छन् ।
गैरे र न्यौपाने समिति सभापतिमा निर्विरोध निर्वाचित
काठमाडौँ । सङ्घीय संसद्का दुई समितिका सभापति निर्विरोध निर्वाचित भएका छन् । संसदीय सुनुवाइ समितिको सभापतिमा कांग्रेस सांसद ईश्वरीदेवी न्यौपाने र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको सभापतिमा नेकपा (एमाले) का सांसद ठाकुर गैरे निर्विरोध निर्वाचित भएका हुन् ।
बिहीबार दुवै समितिका बैठकमा दुवै समितिको सभापतिमा न्यौपाने र गैरे निर्विरोध निर्वाचित भएको समितिका ज्येष्ठ सदस्यले घोषणा गरेका हुन् । निर्विरोध निर्वाचित दुवै सभापतिले सभामुख देवराज घिमिरेबाट शपथ ग्रहण गर्दैछन् ।