काठमाण्डौं । संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दैछ। बैठक संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्नेछ ।
आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेर सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ।
त्यस्तै सभामुख घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूचीमा उल्लेख छ।
बैठकमा पुर्वाधार विकास समितिका सभापति दिपकबहादुर सिंहले ‘पुर्वाधार विकास समितिको बार्षिक प्रतिवेदन, २०८०’ र शिक्षा स्वास्थ्य सुचना प्रविधिसमितिका सभापति अम्बरबहादुर थापाले ‘शिक्षा, स्वास्थ्य तथा सुचना प्रबिधि समितिको बार्षिक प्रतिवेदन, २०८१’ पेश गर्ने कार्यसुचीमा उल्लेख गरिएको छ ।
कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति बिमला सुवेदीले ‘बेपत्ता पारिएका ब्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संसोधन) बिधेयक सबन्धी समितिको प्रतिबेदन, २०८१ पेश गर्ने महासचिव पदमप्रसाद पाण्डेले सार्बजनिक गरेको सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ ।
प्रतिनिधि सभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
प्रधानमन्त्री ओलीको ज्यान लिने धम्की दिने व्यक्ति पक्राउ
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको ज्यान लिने धम्की दिने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धादिङको गजुरी गाउँपालिकाका खेलकुद प्रशिक्षक राजन लामा रहेका छन । उनले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीसहित नेताहरूको ज्यान लिने धम्की दिएका थिए ।
लामामाथि साइबर व्युरोमा मुद्दा दर्ता भएको छ । ओली प्रधानमन्त्री भएपछि सामाजिक सञ्जाल फेसबुकबाट १७ हजारलाई एक महिनामा मार्ने धम्कीपूर्ण स्टाटस लामाले लेखेका थिए ।
लामाले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङको समर्थनमा प्रधानमन्त्रीसहित एमालेका नेताहरूलाई धम्की दिएका थिए ।
कांग्रेस बैठक भदौ ७ गते सम्मका लागि स्थगित
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक भदौ सात गतेसम्मका लागि स्थगित भएको छ । साउन २३ गतेबाट सुरु भएको बैठकमा ११ वटा विभिन्न प्रस्तावित विषयहरूमाथि नेताहरूले बोल्ने क्रम जारी छ ।
सोमबारको बैठकमा केन्द्रीय सदस्यहरू चित्रलेखा यादव, डा.मिनेन्द्र रिजाल, एनपी साउद, सुजाता परियार, प्रदीप पौडेल, सरिता प्रसाईँ, रामजनम चौधरी, डा.गोपाल दहित, मधु आचार्य, उमेशजंग रायमाझी, अर्जुनजंगबहादुर सिंह, रामहरि खतिवडा, विनोदकुमार चौधरी, रंगमती शाही, नानु बास्तोला, माया राई, रूपा वि.क.र अनिलकुमार रुंगटाले बैठकका एजेन्डामाथि केन्द्रीत रहेर आ–आफ्नो धारणा व्यक्त गरेका छन् ।
त्यसैगरी कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारी, वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही र ऊर्जा, जलश्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले बैठकमा आफ्नो धारणा राखेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।
पौडेलका अनुसार केन्द्रीय कार्यसमितिको अर्को बैठक भदौ ७ गते शुक्रबार बिहान ११ः०० बजे बस्नेछ ।
नबिल एसएसई फेलोशिप कार्यक्रमको चौथो चरणको आवेदन खुला
काठमाडौं । नबिल बैंकले ‘नबिल स्कूल अफ सोसल इन्टरपेनर्ससीप’ फेलोसिप कार्यक्रमको चौथो ब्याच २०२४ का लागि आवेदन आह्वान गरेको छ । तेस्रो ब्याचको सफलतापछि बैंकले चौथो ब्याचको कार्यक्रमका लागि आवेदन माग गरेको हो । सामाजिक परिवर्तनका लागि नवीनतम सोच भएका १८ वर्षभन्दा माथिका नेपाली नागरिकले २०८१ साल भदौ १४ गतेसम्म आवेदन दिन सक्नेछन् ।
बैंकले कृषि, पर्यटन, ऊर्जा, वातावरण संरक्षण, र सूचना प्रविधि लगायत कुनै पनि क्षेत्रमा नवीनतम सोच भएका र उद्यम गर्न चाहिने सीप तथा तालिमको खोजीमा रहेका उद्यमीहरुका लागि निशुल्क तालिमको लागि आवेदन खुला गरेको हो । इच्छुक व्यक्तिहरूले बैंकको वेबसाइटमा उपलब्ध फारम भरेर वा क्युआर कोड स्क्यान गरेर आवेदन दिन सक्ने बैंकले जनाएको छ । यो कार्यक्रम बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन भइरहेको छ ।
यो कार्यक्रम नबिल बैंक र त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गतको स्कुल अफ म्यानेजमेन्टको सहकार्यमा ६ महिनासम्म चल्नेछ । आवासीय र प्रयोगात्मक ढाँचामा सञ्चालन हुने यस कार्यक्रममा सहभागीहरूले सामाजिक उद्यमको सम्पूर्ण व्यावसायिक चक्रमा आवश्यक तालिम प्राप्त गर्नेछन् । तालिमपछि, उनीहरूले आफ्नो उद्यमको प्रकृतिअनुसार विज्ञहरूको सहयोगमा व्यावहारिक चुनौतीहरूको समाधानका लागि आवश्यक सहयोग प्राप्त गर्नेछन् । यसले दीर्घकालीन सफलता प्राप्त गर्न मद्दत गर्ने बैंकले विश्वास लिएको छ ।
हालसम्म नबिल एसएसई अन्तर्गत ५६ जना सामाजिक उद्यमीले तालिम प्राप्त गरी ८० प्रतिशतले उद्यम स्थापना गरेका छन् भने ११ सय ८४ रोजगारीका अवसरहरू सिर्जना भएका छन् ।
यस कार्यक्रमका सहभागी फेलोहरुले स्थापना गरेका उद्यमले स्थानीय स्तरमा उपलब्ध स्रोत–साधनहरुको दिगो उपयोग गरी रोजगारी सिर्जना गर्नुका साथै स्थानीय अर्थतन्त्र बलियो बनाउन समेत मद्दत गरेको बैंकले जनाएको छ । साथै उद्यमीहरुको कार्यलाई स्थानीय सरकार तथा विभिन्न संस्थाहरुबाट पुरस्कृत हुनुले पनि यस कार्यक्रमको महत्व अझै थप बढेको महशुस बैंकले गरेको छ ।
बैंकले २४ लाख भन्दा बढी सेवाग्राहीलाई २६८ शाखा र ३१६ एटिएममार्फत सेवा प्रदान गर्दै आएको जनाएको छ ।
महालक्ष्मी विकास बैंकले गाडी खरिदको लागि ९.९९ प्रतिशतमै कर्जा दिने
काठमाडौं । महालक्ष्मी विकास बैंकमार्फत टेस्ला, अडी तथा पोर्श जस्ता लक्जरी ब्रान्डका गाडी खरिदको लागि ९.९९ प्रतिशतमै कर्जा प्रदान गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
बैंक र नेपालका लागि टेस्ला, अडी तथा पोर्श गाडीको आधिकारिक आयातकर्ता÷डिलर अरेत ईन्टरनेशनल प्रालिबीच समझदारी भएको हो ।
सम्झौता अनुसार टेस्ला, अडी तथा पोर्श जस्ता लक्जरी ब्रान्डका गाडी खरिद गर्न इच्छुक ग्राहकहरुले महालक्ष्मी विकास बैंकमा ९.९९ प्रतिशतमै कर्जा पाउनेछन् ।
विद्युतीय गाडीको हकमा अधिकतम ५ वर्ष अवधी रहने गरी भ्याट बिल वा कोटेशन मुल्यको ८० प्रतिशत, जुन कम हुन्छ, सो बराबरको कर्जा र विद्युतीय बाहेकको अन्य गाडीमा अधिकतम ८ वर्ष अवधी रहने गरी भ्याट बिल वा कोटेशन मुल्यको ५० प्रतिशत जुन कम हुन्छ, सो बराबरको कर्जा बैंकले प्रदान गर्नेछ ।
कर्जा लिन चाहने ग्राहकहरुले बैंकको आधिकारिक वेबसाइट, सामाजिक सञ्जालहरु, सम्पुर्ण शाखा कार्यालयहरु तथा पत्रपत्रिकामा रहेको क्युआर कोड स्क्यान गरेर समेत आवेदन दिन सक्नेछन् ।
बैंकको देशभर १०३ शाखा कार्यालयहरु र करिब ७ लाख ग्राहकहरु रहेका छन् ।
शेयर बजारमा ७०.८१ अंकको उछाल, सवा २७ अर्बको कारोबार
काठमाडौं । शेयर बजारमा आज पनि उछाल आएको छ । बजार उचालिएसँगै नेप्से २९ सय अंक माथि पुगेको छ सवा २७ अर्ब कारोबार भएर हिजोको रेकर्ड तोडिएको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ७०.८१ अंकले बढेको हो । २.४७ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २९३१.६५ अंकमा पुगेको छ ।
समग्रमा बजार उचालिए पनि लगानी समूह ०.१९ र उत्पादनमूलक समूह १.१९ प्रतिशतले घटेका छन् । अरु समूहमा भने हरियाली छाएको छ । आज जीवन बीमा समूह सबैभन्दा बढी ५.८५ प्रतिशतले बढेको छ ।
आज ३३९ कम्पनीका ६ करोड ४८ लाख ७६ हजार २ सय १७ कित्ता शेयर किनबेच हुँदा २७ अर्ब २४ करोड २० लाख ३४ हजार ७ सय ६५.८९ रुपियाँ बराबरको कारोबार भएको छ ।
आज विभिन्न १९ कम्पनीका लगानीकर्ताहरुले ९ प्रतिशत बढी नाफा कमाएका छन् । ती मध्ये ९ कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।
बजार उचालिँदा पनि एक कम्पनीमा भने नेगेटिभ सर्किट लागेको छ । कुथेली बुखरी हाइड्रोको मूल्य सबैभन्दा बढी १० प्रतिशतले घटेको हो ।
आज पनि हिमालयन रि कै उच्च कारोबार भएको छ । उक्त कम्पनीको १ अर्ब २२ करोड ८० लाख ७२ हजार ४ सय ३.८० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।
साताको पहिलो दिन हिजो आइतबार ९४.५३ अंकले बजार उचालिंदा २५ अर्ब ७७ करोड ९४ लाख ५३ हजार ५ सय ९.९० रुपियाँ बराबरको शेयर किनबेच भएको थियो ।
गायक प्रकाश तिमिल्सिनाको निधन
काठमाडौं । गायक प्रकाश तिमिल्सिनाको निधन भएको छ ।
शनिबार साँझ परिवारका सदस्यहरूले तिमल्सिनालाई भैंसेपाटीस्थित डेरामा बेहोस अवस्थामा फेला पारेपछि तत्काल पाटन अस्पताल लगेका थिए । तर, अस्पताल पुर्याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
‘नेपाली तारा’ गायन प्रतियोगिताबाट चर्चामा आएका तिमल्सिना भैंसेपाटीमा बस्दै आएका थिए ।
‘प्रिय तिम्रो सिउँदोमा सिन्दुर भर्न देऊ’ ‘नमान लाज यसरी’, ‘नआए नि हुन्थ्यो’लगायत उनका दर्जनौं गीतहरू लोकप्रिय छन् ।
तिमिल्सिनाको आज पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने जनाईएको छ ।
जसपा नेपालको केन्द्रीय समितिको बैठक आजदेखि सुरु हुँदै
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको नवगठित केन्द्रीय समितिको बैठक आजदेखि सुरु हुँदैछ । आगामी साउन ३० गतेसम्म चल्ने बैठकमा मुलुकको समसामयिक राजनीतिक विषय, पार्टीको सङ्गठन सुदृढीकरणलगायत विषयमा छलफल हुने जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए।
उनका अनुसार वर्तमान राष्ट्रिय राजनीतिक सन्दर्भमा पार्टीको भूमिका, पार्टीको वैचारिक एवं सैद्धान्तिक अवधारण तथा संविधान संशोधनको आवश्यकता र अपरिहार्यता सम्बन्धमा छलफल हुनेछ ।
बैठकमा एकताको राष्ट्रिय महाधिवेशनले तय गरेको पार्टीको वैचारिक, सैद्धान्तिक, अवधारणा, वर्तमान राष्ट्रिय राजनीतिक अवस्थाबारे छलफल हुने जसपा नेपालले जानकारी दिएको छ । वर्तमान भूराजनीतिक परिस्थिति र नेपालको परराष्ट्र नीति तथा सम्बन्ध बैठकको कार्यसूची छ ।
यस्तै, पहिचान र राष्ट्रियरजातीय मुक्तिको सवाल, समाजवादसम्बन्धी अवधारणा जसपा नेपालको आदर्श, वैचारिक एवं सैद्धान्तिक अवधारण तथा संविधान संशोधनको आवश्यकता र अपरिहार्यता सम्बन्धमा छलफल हुनेछ । स्थानीय तह, प्रदेशसभा र संसद्मा पार्टीको भूमिका, पार्टी विस्तार तथा सुदृढीकरण कार्ययोजना सम्बन्धमा पनि छलफल हुने जनाइएको छ ।
देशव्यापी रूपमा जनपरिचालन अभियान ,सदस्यता वितरण, सङ्गठन निर्माण र परिचालन, प्रशिक्षण, सेमिनार, गोष्ठी, जनसभालगायत आवश्यक कार्यक्रमहरू०सम्बन्धमा कार्ययोजना तथा कार्यक्रम निर्माणलगायत विषयमा बैठकमा विचारविमर्श हुने अध्यक्ष यादवले जनाए ।
बैठकले अभियानसम्बन्धी कार्यक्रम सम्पन्न गर्न समयावधि निर्धारण गर्ने र केन्द्रीय सदस्यहरूलाई जिल्ला, महानगर,नगरलगायत स्थानीय तहहरूको अभियन्ताको रूपमा जिम्मेवारी दिइने जनाइएको छ । केन्द्रीय समितिको बैठक ललितपुरको सानागाउँस्थित थसी बैंक्वेटमा हुनेछ ।
भारतीय विदेश सचिव मिश्री आज नेपाल आउँदै
काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्री आज दुईदिने नेपाल भ्रमणका लागि आउने भएका छन ।
परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणमा मिश्री आउन लागेका हुन ।
भ्रमणका क्रममा उनले नेपाल–भारतको सम्बन्ध विस्तार र द्विपक्षीय सहमतिका विविध विषयमा छलफल गर्ने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।
भ्रमणका क्रममा मिश्रीले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री आरजु राणासँग भेटवार्ता गर्ने तालिका छ । उनी सोमबार स्वदेश फर्कने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
ब्राजिलमा विमान दुर्घटना हुँदा ६१ जनाको मृत्यु
काठमाण्डौं । ब्राजिलको साओ पाउलो राज्यमा विमान दुर्घटना हुँदा विमानमा रहेका सबै ६१ जनाको मृत्यु भएको छ ।
दक्षिणी राज्य परानाको कास्केभेलबाट साओ पाउलो शहरको ग्वारुल्होस विमानस्थलमा उडिरहेको विमान भिन्हेडो शहरमा खसेको भोपस एयरलाइन्सले जनाएको छ । दुर्घटनामा चालक दलका चार सदस्य र ५७ जना यात्रु गरी ६१ जनाको मृत्यु भएको स्थानीय अधिकारीलाई उद्धृत गरी बीबीसीले जनाएको छ ।
सामाजिक सञ्जालमा सार्वजनिक फुटेजमा विमान ठाडो रूपमा तल झरेको देखिन्छ । विमान खस्दै गर्दा घुमिरहेको थियो । आवासीय क्षेत्रमा भएको दुर्घटनामा एउटा घरमा क्षति पुगेको छ । तर त्यसबाट थप मानविय क्षति नभएको खबरमा उल्लेख छ ।
प्रहरी र दमकलले दुर्घटनास्थलमा उद्दार र भग्नावशेष हटाउने काम गरेका छन् । एटीआर ७२–५०० विमान दुर्घटनापछि फ्रान्सेली–इटालियन विमान निर्माता कम्पनी एटीआरले अनुसन्धानमा सहयोग गर्ने जनाएको छ । ब्राजिलको नागरिक उड्डयन एजेन्सीकाअनुसार सन् २०१० मा निर्माण भएको विमान राम्रो अवस्थामा सञ्चालन भइरहेको थियो ।
ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले दुर्घटनालगत्तै दुःख व्यक्त गरेका छन् । साओ पाउलो राज्यका गभर्नर टार्सिसियो गोम्स डे फ्रेटासले तीन दिनको शोकको घोषणा गरेको बीबीसीले जनाएको छ ।