काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठकमा शनिबार पनि बस्दै ।
शुक्रबारदेखि सुरु भएको बैठक आज पनि जारी रहने माओवादीका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
बैठकमा आज सदस्यहरूले वैचारिक, राजनीतिक र सांगठनिक परिस्थिति तथा कार्यभारका सम्बन्धमा धारणा राख्नेछन् । यसअघि हिजोको बैठकमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक घटनाक्रमबारे छलफल भएको थियो ।
पार्टी मुख्यालय पेरिसडाँडामा बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय नेपाल र मित्रराष्ट्र बंगलादेशमा भएका राजनीतिक घटनाक्रमको ‘ब्रिफिङ’ गरेका थिए । साथै, उनले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषयमा दलहरूबीच भएको सहमतिबारे जानकारी गराएका थिए ।
माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्दै
भारतीय विदेश सचिव आइतबार नेपाल आउँदै
काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्री आइतबार दुईदिने नेपाल भ्रमणका लागि आउने भएका छन ।
परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणमा मिश्री साउन २७ गते नेपाल आउन लागेका हुन ।
भ्रमणका क्रममा उनले नेपाल–भारतको सम्बन्ध विस्तार र द्विपक्षीय सहमतिका विविध विषयमा छलफल गर्ने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। उनी २८ गते स्वदेश फर्कनेछन ।
भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका चूडामणि पुगे सर्वोच्च
काठमाडौँ । विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेका आन्तरिक राजश्व विभागका पूर्व महानिर्देशक चूडामणि शर्मा ढकाल पुनरावेदनको निवेदन लिएर सर्वोच्च पुगेका छन् । पक्राउलगत्तै शर्मा आफू बिरामी रहेको भन्दै पुनरावेदनको निवेदन लिएर सर्वोच्च पुगेका हुन् ।
विशेष अदालतले शर्मालाई कर फर्स्यौट आयोगमा रहँदा राज्यको सम्पत्ति दुरुपयोग गरी कर छुट दिएको भन्दै ९ वर्ष कैद र ४ अर्ब १० करोड ४६ लाख ९७ हजार ८९८ रुपैयाँको जरिवाना सुनाएको थियो । विशेषले २०८० असारमा उनलाई उक्त सजाय सुनाएको थियो ।
शर्मासँगै कर फर्छ्यौट आयोगका पदाधिकारीहरू अध्यक्ष लुम्बध्वज महत, सदस्य उमेशप्रसाद ढकाल पनि दोषी ठहर भएका थिए । अख्तियारले उनीहरूसँग १ अर्ब ३३ लाख २० हजार ३८५ रुपैयाँ बराबर भ्रष्टाचार गरेको दाबी गरेको थियो ।
पूर्वमहानिर्देशक शर्मासहितले सरकारलाई प्राप्त हुने ठुलो मात्राको राजश्व चुहावट गरी भ्रष्टाचार गरेको भन्दै आयोगमा उजुरी परेपछि आयोगले छानबिन गरेको थियो । आयोगले गरेको छानबिनका क्रममा शर्माले करदाताहरूको विभिन्न कर शीर्षकमा कर बक्यौता रहेकोमा कर फर्छ्यौट आयोगका पदाधिकारीहरूले आपसी कुराकानीलाई मात्र आधार लिई कर छुट दिनेगरी सम्झौता गरी राज्य कोषको दुरुपयोग गरेको अभियोगमा विशेषले दोषी ठहर गरेको थियो ।
माछापुच्छ्रे बैंकले अध्ययनका लागि विदेश जानेलाई विशेष बैंकिङ सेवा प्रदान गर्ने
काठमाडौं । माछापुच्छ्रे बैंक र नेपाल शैक्षिक परामर्श संघ (इक्यान) झापाबीच विशेष बैंकिङ्ग सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
इक्यानमा आबद्ध व्यवसायी र इक्यानमा आवद्ध शैक्षिक परामर्श केन्द्र (कन्सल्टेन्सी) बाट अध्ययनका लागि विभिन्न देश जाने विद्यार्थीलाई सहुलियतपूर्ण कर्जा र एजुकेशन लोन उपलब्ध गराउने लगायतका विषयमा दुई पक्षबीच सम्झौता भएको हो ।
उक्त सम्झौतापत्रमा इ–क्यान झापाको तर्फबाट अध्यक्ष रोशन सुबेदी तथा माछापुच्छ्रे बैंकको तर्फबाट सहायक महाप्रबन्धक भरतकुमार लम्सालले हस्ताक्षर गरे ।
सम्झौता पश्चात क्यान, झापामा आवद्ध परामर्शदाताहरुको सिफारिसमा आउने सेवाग्राहीले सहज र सरल ढंगले शैक्षिक कर्जा प्राप्त गर्ने, स्वीफ्ट पेमेन्टमार्फत विभिन्न शुल्क भुक्तानी गर्ने लगायतका पूर्ण सेवा बैंकका सबै शाखा कार्यालयबाट प्राप्त गर्न सक्नेछन् ।
बैंकले हाल देशका ७ वटै प्रदेशमा १६५ वटा शाखा कार्यालय, १२ वटा एक्सटेन्सन काउन्टर, १६७ स्थानमा शाखारहित बैंकिङ्गबाट सेवा प्रदान गर्दै आएको जानकारी दिएको छ ।
प्रभु बैंकको नयाँ शाखा प्युठानको बिजुवारमा
काठमाडौं । प्रभु बैंक लिमिटेडले शाखा सञ्जाल विस्तार गर्ने क्रममा आजदेखि प्युठान नगरपालिका,वडा नं. ४ प्युठान स्थित बिजुवारमा ३१५औं शाखा खोली कार्यालयको सेवा सञ्चालनमा ल्याएको छ ।
जिल्ला समन्वय समिति प्रमुुख धरमबहादुर जीसीले बैंकको नयाँ शाखाको उद्घाटन गरेका हुन् ।
बैंकको बिजुवार शाखा मार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।
बैंकले नेपालभर ३१५ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टरमार्फत करिब ३५ लाख भन्दा बढि ग्राहकहरुलाई बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको जनाएको छ ।
माओवादी केन्द्रको स्थायी समिति बैठक ४ बजे बस्दै
काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक आज बस्दैछ । बैठक आज अपराह्न चार बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने छ ।
स्थायी समिति बैठक अघि बिहान ११ बजे कार्यालय बैठक बोलाइएको छ । उक्त बैठकले स्थायी समितिका बैठकका एजेण्डा तय गर्ने छ ।
बैठकमा समसामयिक राजनीतिक परिस्थिति, विगतको समीक्षा र आगामी कार्ययोजनाबारे लगायतका एजेण्डामा छलफल हुने जानकारी दिईएको छ ।
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक ११ बजे बस्दै
काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । बैठक आज बिहान ११ बजेबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।
बैठकमा बुधबार प्रस्तुत ११ वटा विभिन्न प्रस्तावहरूमाथि केन्द्रीय सदस्य, पार्टी प्रदेश प्रमुखहरूले आफ्ना धारणा राख्नेछन् । साथै समसामयिक राजनीतिक विषयहरूमा पनि नेताहरूले आफ्ना धारणा राख्नेछन् । बैठक साउन २८ गतेसम्म सञ्चालन हुने पार्टी प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिएका छन् ।
बैठकमा बुधवार प्रस्तावहरू प्रस्तुत भएका थिए भने बिहीबारको बैठकमा प्रदेश प्रमुख र केन्द्रीय सदस्यहरूले आफ्ना धारणा राखेका थिए । आज पनि नेताहरूले आफ्ना धारणा राख्ने क्रम जारी रहने जनाईएको छ ।
गुणस्तरीय शिक्षाको योजना ल्याउन प्रधानमन्त्रीको निर्देशन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जीवनोपयोगी र गुणस्तरीय शिक्षा सुनिश्चित हुने गरी ठोस कार्ययोजना ल्याउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएका छन ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार शिक्षा क्षेत्रमा देखिएका समस्या, समाधानका उपाय र आगामी एक सय दिनभित्र गर्न सकिने ठोस कामसम्बन्धी छलफलमा उनले शिक्षामा प्राविधिक धारको हिस्सा ७० प्रतिशत हुनुपर्ने उल्लेख गरे । ‘जति पढे पनि कुनै क्षेत्रमा काम गर्ने सीप छैन भने त्यस्तो जनशक्ति प्रयोगबिहीन हुन्छ भने रोजगारी पनि नपाउने सम्भावना हुन्छ, त्यसैले सीपमुलक जनशक्ति उत्पादनमा ध्यान दिन म निर्देशन दिन्छु’, उनले भने, ‘उच्च आचरणयुक्त जनशक्ति तयार गर्न आवश्यक भएकाले सोहीअनुसार नीति निर्माण र कार्यान्वयन गनुैहोस् ।’ वर्तमान सन्दर्भमा मुलुकमा समाज बनाउने खालको जनशक्ति उत्पादन गर्ने शिक्षा आवश्यक भएको उनको भनाइ थियो ।
प्रधानमन्त्री ओलीले विद्यालय तहमा भर्नादर बढाउने, ‘ड्रपआउट’ घटाउने र शिक्षाको गुणस्तर बढाउने गरी काम गर्न आवश्यक भएको उल्लेख गर्दै आगामी वर्षको एसइईमा कम्तीमा ७० प्रतिशत विद्यार्थी उत्तीर्ण हुने गरी सक्षम शिक्षक र निशुल्क इन्टरनेटको प्रयोग कसरी गर्न सकिन्छ भन्ने चासो दिए ।
‘एसइईमा कम्तीमा पनि ७० प्रतिशत विद्यार्थी गर्ने लक्ष्य निर्धारण गरी काम गर्नुहोस्, यसका लागि स्मार्ट शिक्षक छनोट, निःशुल्क इन्टरनेट र अनलाइन कक्षा सञ्चालनको तयारी गर्नुहोस् ।’ उनले भने ।
उनले त्रिभुवन विश्वविद्यालयमा हालै सम्पन्न सिनेट बैठकमा तत्काल जरुरी भएका ग्रेस लिस्ट र बजेट पारित गर्न पदाधिकारीहरुसँगको गृहकार्यका आधारमा आफूले सहमति दिएको उल्लेख गरे । विश्वविद्यालयको कुलपतिका हैसियतमा आफूलाई नीति तथा कार्यक्रम अघिल्लो दिन मात्रै उपलब्ध गराइएकाले अध्ययन गर्न नभ्याइएको र नीति तथा कार्यक्रमसम्बन्धी सिनेटको अर्को बैठक पदाधिकारीहरुकै सहमतिमा चाँडै बस्ने समेत तय भएकोमा कुलपतिले हस्तक्षेप भएको भन्ने प्रचार गरिएकोमा टिप्पणी गरे ।
प्रधानमन्त्री ओलीले विज्ञान र प्रविधिलाई उच्चतम प्रयोगमा जोड दिन आवश्यक रहेको उल्लेख गर्दै यससम्बन्धी ठोस कार्यक्रम बनाउन पनि निर्देशन दिए । ‘नागरिकको स्वास्थ्यको सुरक्षा, शुद्धता परीक्षण र प्रमाणिकरण गर्ने, निरोगी नेपालको अवधारणालाई सहयोग गर्ने, गरिबी घटाउने, कृषि र उद्योगका क्षेत्रमा विज्ञान र प्रविधिको प्रयोग बढाउने गरी काम गर्ने गरी ठोस कार्यक्रम बनाएर अघि बढ्नुहोस ।’ उनले भने ।
छलफलमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई, नेपाल सरकारका मुख्यसचिव लिलादेवी गड्तौला र सचिवद्वय डा. दीपक काफ्ले र विश्वबाबु पुडासैनीलगायतको सहभागीता थियो ।
आज नाग पञ्चमी पर्व मनाइँदै, नागपोखरीमा भक्तजनको भीड
काठमाण्डौं । श्रावण शुक्ल पञ्चमीका दिन आज नाग पञ्चमी पर्व मनाइँदै छ । आज घरको मूल ढोकामाथि नागको फोटो टाँसेर विधिपूर्वक पूजा गर्ने गरिन्छ ।
नागको चित्र टाँसेर पूजा गर्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायत विषालु जीवको भय नहुने धार्मिक विश्वास छ ।
नाग पञ्चमीका अवसरमा आज काठमाडौं उपत्यकाका नक्सालस्थित नागपोखरी, ललितपुरको नागदह र भक्तपुरको नागपोखरीमा पूजाआजा गर्ने श्रद्धालुहरूको बिहानैदेखि भीड लागेको छ ।
नेपाली आकाश सुरक्षित नभएको सञ्चारमन्त्रीको धारणा
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले लगातार हवाई दुर्घटना हुनुले नेपालको आकाश सुरक्षित नभएको धारणा व्यक्त गरेका छन ।
मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा आज सिंहदरबारमा सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले दुर्घटनाको कारण पत्ता लगाएर समाधान निकाल्न सरकारले योजनाबद्ध रुपमा काम गर्ने जानकारी दिए ।
‘अस्ति पनि भयो सौर्य एयरको विमान भयो एयरपोर्टमै, हिजो पनि एयर डाइनेस्टी हेलिकप्टर दुर्घटना भयो, नेपाली आकाश सुरक्षित छैन भन्ने यसले पुष्टि गरेको छ’, उनले भने ।
मन्त्री गुरुङले निरन्तर हवाई दुर्घटनाले पर्यटन क्षेत्रमा नकारात्मक धक्का पुगेको भन्दै यसले अन्तर्राष्ट्रियस्तरमा पनि मुलुकको छविमा आँच आउने अवस्था आएको उल्लेख गरे। यही साउन २३ गते बसेको मन्त्रिपरिषद् बैठकले नुवाकोट जिल्लामा भएको हेलिकप्टर दुर्घनाबारे जाँच आयोग गठन गर्ने निर्णय गरेको मन्त्री गुरुङले जानकारी दिए ।
शिवपुरी गाउँपालिकाको सूर्यचौरमा एयर डाइनेष्टि हेली सर्भिस प्रालिको ९एन–एजेडी कल साइन रहेको हेलिकप्टर दुर्घटना भएको थियो। सो दुर्घनाको जाँच गरी काम सुरु गरेको मितिले ३० दिनभित्र सिफारिससहितको प्रतिवेदन पेस गर्न नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापाको संयोजकत्वमा तीन सदस्यीय दुर्घटना जाँच आयोग गठन गर्ने सरकारको निर्णय रहेको प्रवक्ता गुरुङले जनाए । यसरी पटकपटक हवाई दुर्घटना हुनु भनेको हाम्रो आकाश सुरक्षित छैन भन्ने सङ्केत गरेको उनको भनाइ छ ।
हेलिकप्टर दुर्घटनामा परेका नेपालीसहित चिनियाँ नागरिकप्रति सञ्चार तथा सूचना प्रविधिमन्त्री गुरुङले समवेदना प्रकट गरे । ‘अहिलेसम्म दुर्घटना हुने छानबिन र जाँचबुझ समिति बनाउनेमा सरकार सीमित भयो’, उनले भने, ‘अब सरकारले कारणसहित समाधान निकाल्ने गरी छलफल गरिरहेको छ।’ सरकारको नीति वा व्यवस्थापन वा प्रविधि वा आकाश केमा समस्या छ पत्ता लगाएर समाधान निकाल्ने गरी काम गरिने उनले जानकारी दिए ।