सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । सोमबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री कँडेललाई नेपाली कांग्रेस र एमालेका सांसदहरुले विश्वासको मत दिएका हुन् ।
मुख्यमन्त्री कँडेलले संविधानको धारा १८८ को उपधारा २ बमोजिम विश्वासको मत पाऊँ भनेर प्रदेशसभा समक्ष प्रस्ताव पेस गरेका थिए । ४० सदस्यीय प्रदेश सभामा ३८ जना सांसदहरु सहभागी थिए ।
कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही निलम्बनमा छन् भने राप्रपा सांसद सन्तोषी शाही बैठकमा उपस्थित थिइनन् । सभामुखसहित ३८ मध्ये मतदानमा ३७ जना सदस्य सहभागी भएका थिए ।
सहभागीमध्ये मुख्यमन्त्री कँडेलको पक्षमा २३ र विपक्षमा १४ मत पर्यो । एमाले संसदीय दलका नेता समेत रहेका कँडेललाई एमालेका ९, कांग्रेसका १४ जना सांसदले मत दिएका थिए ।
मत नदिनेमा प्रतिपक्षी दल माओवादीका १३ र समाजवादीको एक जना सांसद रहेका छन् । ४० सदस्यीय प्रदेश सभामा सरकार बनाउनका लागि कम्तीमा २१ सिट आवश्यक पर्छ ।
मुख्यमन्त्री कँडेलले आफू कर्णालीको विकास र समृद्धिका लगातार अग्रसर भइरहने जानकारी दिए । कँडेल चैत्र २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए । उनले वैशाख १३ गते पहिलो पटक संसदबाट विश्वासको मत पाएका थिए ।
त्यो बेला माओवादी र समाजवादीको समर्थन पाएका उनले केन्द्रमा बदलिएको समीकरणसँगै कर्णालीमा पनि कांग्रेस–एमालेबिच सरकार बनेको छ ।
कर्णाली प्रदेशसका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत
बाङ्लादेशमा अन्तरिम सरकार बनाउने सेनाको घोषणा
काठमाडौं । बाङ्ग्लादेशमा प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएपछि भारत पलायन भएको विवरणहरू आइरहँदा देशका सेना प्रमुखले देशवासीका नाममा सम्बोधन गर्दै अब एउटा अन्तरिम सरकार गठन गरिने जानकारी दिएका छन्।
प्रधानसेनापति वकर उज्जामनले आफू राष्ट्रपति मोहम्मद शहाबुद्दिनसँग भेट गर्न जाने जनाउँदै दिनको अन्त्यसम्ममा कुनै ूसमाधानू हासिल हुने पनि जनाए। तर सरकारको नेतृत्व कस्ले गर्ने भन्ने स्पष्ट भएको छैन।
राजधानी ढाकामा हजारौँ प्रदर्शनकारीहरू प्रधानमन्त्रीको सरकारी निवासमा प्रवेश गरेका छन्। बीबीसी बाङ्ग्ला र अन्य सञ्चारमाध्यमले प्रधानमन्त्री हसिना आफ्नी बहिनीसँगै हेलिकप्टर चढेर छिमेकी देश भारतको त्रिपुरा राज्यस्थित अगरतलातिर गएकी जनाएका थिए।
समाचार संस्था एफएपीसँग हसिनासँग निकट स्रोतले यसको पुष्टि गरेका छन्। ती अधिकारीले एएफपीसँग भने, “उनी र उनकी बहिनीले गणभवन छाडेका छन् र सुरक्षित ठाउँका लागि हिँडेका छन्। जानुअघि उनी आफ्नो वक्तव्य रेकर्ड गराउन चाहन्थिन् तर उनलाई त्यसको अवसर दिइएन।”
रोएटर्सले सैनिक हेलिकप्टर चढेर उनी र उनको परिवारका सदस्यहरू भारतका लागि हिँडेको जनाएको छ। सरकारी जागिरमा आरक्षणको विषयप्रति असन्तुष्ट विद्यार्थीहरूले प्रदर्शन गर्न थालेपछि आन्दोलन चर्किएको थियो। उनीहरूले प्रधानमन्त्रीको राजीनामा माग गर्दै आएका थिए।
टेलिभिजनमा प्रसारित दृश्यमा प्रधानमन्त्रीको सरकारी निवासमा प्रदर्शनकारीहरू छिरेको देख्न सकिन्छ। केही प्रदर्शनकारीले त्यहाँ लुटपाट गरेको दृश्य सार्वजनिक भएको छ। केही मानिसले कुर्सी र सोफा बोकेर बाहिर हिँडेको देखिन्छ। प्रदर्शन गर्न सडकमा पुगेका मानिसहरूले हसिना सत्ताबाट बाहिरिएपछि हर्षोल्लास गरेका छन्।
एनएमबि बैंकको नाफा २ अर्ब ३३ करोड
काठमाडौं । एनएमबि बैंकको नाफामा २७.४९ प्रतिशतको गिरावट आएको छ । बैंकले अघिल्लो वर्ष ३ अर्ब २२ करोड रुपैयाँ नाफा गरेकामा गत आवमा २ अर्ब ३३ करोडमात्र नाफा कमाउन सफल भएको हो ।
ब्याज आम्दानी नै करिब ३ प्रतिशतले घटेपछि बैंकको नाफामा गिरावट आएको देखिन्छ । यससँगै बढेको निष्क्रिय कर्जाका कारण नोक्सानी व्यवस्था अघिल्लो आवको भन्दा बढी गर्नु परेपछि बैंकको नाफा प्रभावित भएको छ ।
एनएमबिको वितरणयोग्य नाफा २४ करोड छ जसअनुसार बैंकको लाभांश क्षमता १.३ प्रतिशत हुन आउँछ । बैंकले २ खर्ब २४ अर्ब रुपैयाँ निक्षेप परिचालन गरी १ खर्ब ९४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
१८ अर्ब ३६ करोड रुपैयाँ चुक्तापुँजी रहेको बैंकको जगेडामा गत आवभन्दा १७ प्रतिशत बढी अर्थात् १० अर्ब ४६ करोड रुपैयाँ छ ।
बैंकको प्रतिसेयर आम्दानी १२.७२ रुपैयाँ, नेटवर्थ १५८.२७ रुपैयाँ, निष्क्रिय कर्जाको अनुपात ३.२७ प्रतिशत, पीई रेसियो १७.१४ र सीडी रेसियो ८३.९१ प्रतिशत छ ।
शेयर बजारमा ४०.७६ को सुधार, पौने २२ अर्बको कारोबार
काठमाडौं । शेयर बजारमा आज सोमबार पनि उछाल आएको छ । बजार उच्च अंकले उचालिएर २८ सय अंक नजिक पुगेको छ भने पौने २१ अर्बको कारोबार भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ४०.७६ अंकले बढेको हो । १.४७ प्रतिशतले बजार बढेसँगै नेप्से परिसूचक २७९६.३८ अंकमा उक्लिएको छ ।
समग्रमा बजारमा उछाल देखिएपछि बैंकिङ, विकास बैंक, वित्त, उत्पादनमूलक, लघुवित्त र म्युचुअव फण्ड भने राताम्मे भएका छन् ।
बैंक तथा वित्तीय संस्थाहरुको आज प्रकाशित चौथो त्रैमासको वित्तीय विवरणमा अधिकांशको नाफा घटेपछि त्यसको असरसमेत बजारमा देखिएको छ । आज होटल समूह सबैभन्दा बढी ६.६९ प्रतिशतले बढेको छ ।
आज ३२६ कम्पनीका ४ करोड ९७ लाख ७३ हजार ७ सय ३० कित्ता शेयर किनबेच हुँदा २१ अर्ब ८६ करोड ४९ लाख ९२ हजार २ सय ७७.६४ रुपियाँ बराबरको कारोबार भएको छ ।
आज विभिन्न १३ कम्पनीका लगानीकर्ताहरुले ९ प्रतिशत बढी नाफा कमाएका छन् । रुरु जलविद्युत, सीईडीबी हाइड्रो, सगरमाथा जलविद्युत, कुथेली बुखरी, भगवती हाइड्रो, माथिल्लो मैलुङ खोला, भिजन लुम्बिनी उर्जा र मुक्तिनाथ कृषि कम्पनीको शेयर मूल्य १०–१० प्रतिशतले बढेको हो ।
सिटी होटल, माउन्टेन हाइड्रो, हाथवे, रावा इनर्जी र हिमालयन रि–इन्स्योरेन्सको शेयरमूल्य क्रमशः ९.९९, ९.९७, ९.९४, ९.८७ र ९.७४ प्रतिशतले नाफा कमाएका छन् ।
त्यस्तै नेपाल फाइनान्स लिमिटेडमा आज नेगेटिभ सर्किट लागेको छ । उक्त कम्पनीको शेयरमूल्य १० प्रतिशतले घटेको हो ।
आज हिमालयन रि–इन्स्योरेन्सको उच्च कारोबार भएको छ । उक्त कम्पनीको १ अर्ब २६ करोड ४ लाख रुपियाँको शेयर किनबेच भएको नेप्सेले जानकारी दिएको छ ।
कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बुढानीलकण्ठमा जारी
काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको संयुक्त बैठक बसिरहेको छ । बैठक बिहान नौ बजेदेखि पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा जारी छ ।
आगामी २३ गते बस्ने केन्द्रीय समिति बैठकको पूर्वतयारीका विषयमा सभापति देउवाले पदाधिकारी र पूर्वपदाधिकारीहरुलाई बैठकमा बोलाएका हुन् ।
बैठकमा केन्द्रीय समिति बैठकमा पेश गर्ने प्रस्तावबारे छलफल भइरहेको सभापति देउवाको सचिवालयले जानकारी दिएको छ ।
ग्लोबल आईएमईको नाफा ६ अर्ब
काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडको नाफा अघिल्लो आर्थिक वर्ष २०७९, ०८० को तुलनामा गत आव २०८०, ८१ मा सामान्य घटेको छ ।
गत आवको चौथौ त्रैमास अर्थात् असार मसान्तसम्म बैंकले ६ अर्ब १ करोड रुपियाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आवको तुलनामा १०.१३ प्रतिशतले कम हो । अघिल्लो आवमा बैंकले ६ अर्ब ६९ करोड रुपियाँ खुद नाफा कमाएको थियो ।
समीक्षा अवधिमा बैंकले १६ अर्ब ६३ करोड रुपियाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो आवमा बैंकले १७ अर्ब १० करोड रुपियाँ ब्याज आम्दानी गरेको थियो ।
त्यस्तै, बैंकले यस अवधिमा २ अर्ब ६७ करोड रुपियाँ खुद फी तथा कमिशन आम्दानी गरेको छ । अघिल्लो आवको तुलनामा गत आवमा यो २९.९० प्रतिशतले बढेको छ । अघिल्लो आवमा बैंकले २ अर्ब ६ करोड रुपियाँ आम्दानी गरेको थियो ।
त्यस्तै, गत आवको असार मसान्तसम्म बैंकको कुल सञ्चालन आम्दानी २.९६ प्रतिशत बढेर २० अर्ब ४४ करोड रुपियाँ छ भने सञ्चालन मुनाफा ८.२५ प्रतिशत घट्दा ८ अर्ब ७४ करोड रुपियाँमा सीमित हुन पुगेको छ ।
समीक्षा अवधिमा बैंकको खराब कर्जा ३.१५ प्रतिशतबाट बढेर ४.३७ प्रतिशत पुगेको छ ।
नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ । गत आवको चौथो त्रैमाससम्म बैंकको प्रतिशेयर आम्दानी २.६ पैसा घटेर १६.६५ रुपियाँ, प्रतिशेयर नेटवर्थ १६९.८१ रुपियाँ, मूल्य आम्दानी अनुपात ११.६६ गुणा र बैंकको वितरणयोग्य मुनाफा १ अर्ब १० करोड रुपियाँ रहेको छ ।
३६ अर्ब १२ करोड रुपियाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २४ अर्ब ८५ करोड रुपियाँ सञ्चित छ । समीक्षा अवधिमा बैंकको निक्षेप १४.३४ प्रतिशत बढेको छ भने कर्जा ४.२३ प्रतिशत बढेको छ ।
नबिलले कमायो बैंकिङ क्षेत्रमै उच्च नाफा
काठमाडौं । नबिल बैंकले गएको आर्थिक वर्षमा सात अर्ब छ करोड रुपियाँ खुद नाफा कमाएको छ जुन समग्र बैंकिङ क्षेत्रमा उच्च हो ।
बैंकले सार्वजनिक गरेको गत आवको अपरिष्कृत वित्तीय विवरणअनुसार खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको हो । बैंकले यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १०.२३ प्रतिशतले खुद नाफा बढाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले छ अर्ब ४० करोड रुपियाँ खुद नाफा कमाएको थियो।
नविलको खुद ब्याज आम्दानीमा सामान्य गिरावट आएको छ । तर इम्पेरमेन्ट चार्ज घटेका कारण खुद नाफा बढ्न पुगेको हो । बैंकको खुद ब्याज आम्दानी ८.६९ प्रतिशतले घटेको हो । तर खुद फि तथा कमिशन आम्दानी १२.०४ प्रतिशतले बढेको छ ।
समीक्षा अवधिमा बैंकको कुल सञ्चालन आम्दानी ६.०२ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ६.५१ प्रतिशत बढेको छ । त्यस्तै, खराब कर्जा १.१८ प्रतिशतबाट घटेर १.०७ प्रतिशतमा झरेको छ ।
यससँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ । गएको आवमा नविलको यस्तो आम्दानी दुई रुपियाँ ४२ पैसा बढेर २६ रुपियाँ ९ पैसा पुगेको छ । गएको असार मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ २२० रुपियाँ १६ पैसा र मूल्य आम्दानी अनुपात २०.०८ गुणा रहेको छ। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा भने तीन अर्ब ८५ करोड रुपियाँ रहेको छ।
जगेडा कोषमा साढे ३२ अर्बभन्दा बढी रकम रहेको नविलको चुक्ता पुँजी २७ अर्ब पाँच करोड रुपियाँ छ । बैंकको निक्षेप गत आवमा १६.४४ प्रतिशत बढेको छ भने कर्जा १२.९४ प्रतिशत बढेको छ।
प्रभु बैंकको नाफा चार अर्बभन्दा बढी
काठमाडौं । गत आर्थिक वर्ष २०८०,०८१ को चौथो त्रैमास अर्थात् असार मसान्तसम्ममा प्रभु बैंकको खुद नाफा उल्लेख्य मात्रामा बढेको छ ।
समीक्षा अवधिमा बैंकले ४ अर्ब ४८ करोड रुपियाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा १४९९.०४ प्रतिशतले बढी हो । बैंकले अघिल्लो आवमा खुद नाफा २८ करोड कमाएको थियो ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १९.४३ प्रतिशतले बढेको छ भने खुद फी तथा कमिसन आम्दानी १९.९६ प्रतिशत र कुल सञ्चालन आम्दानी २०.६७ प्रतिशतले बढेको छ।
असार मसान्तसम्म बैंकको प्रतिशेयर आम्दानी पनि उल्लेख्य बढेको छ । यस अवधिमा बैंकको यस्तो आम्दानी १७.८४ पैसा बढेको छ भने वितरणयोग्य मुनाफा १ अर्ब २२ करोड रुपियाँ रहेको छ।
२३ अर्ब ५४ करोड रुपियाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १२ अर्ब ८९ करोड रुपियाँ सञ्चित छ । समीक्षा अवधिमा बैंकको निक्षेप ५.५१ प्रतिशतले बढेको छ भने कर्जा ३.८३ प्रतिशत घटेको छ वित्तीय विवरणमा उल्लेख छ ।
दाङमा जीप दुर्घटना हुँदा ७ जना घाइते
दाङ । दाङमा यात्रुवाहक जीप दुर्घटना हुँदा सात जना घाइते भएका छन् । आइतबार साँझ तुलसीपुरबाट सल्यानतर्फ जाँदै गरेको जीप शान्तिनगर १ हाँडिचारमा दुर्घटना हुँदा सात जना घाइते भएका हुन् ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार रा १ ज ७७० नम्बरको जीप दुर्घटना हुँदा सल्यान त्रिवेणी गाउँपालिका–३ टोट्केका ४६ वर्षीय यमबहादुर केसी, सोही ठाउँका ४५ वर्षीय ऐश्वर्य केसी, सोही ठाउँका ४५ वर्षीया पार्वती केसी, ३४ वर्षीया रेखा ओली घाइते भएका छन ।
त्यस्तै, रुकुम–पश्चिम त्रिवेनी गाउँपालिका–३ निवासी २५ वर्षीया सरिता खड्का, सल्यान त्रिबेणी गाउँपालिका–३ निवासी ३१ वर्षीया रोजिका ओली र लमजुङको मध्येनेपाल नगरपालिका–७ निवासी २४ वर्षीया लिला बाँस्तोला घाइते भएका छन ।
घाइतेमध्ये टोट्के निवासी केसीको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । उनको टोउको र छातीमा चोट लागेको छ । घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।
जीप आफै अनियन्त्रित भई पल्टिँदा दुर्घटना भएको र दुर्घटनापश्चात चालक फरार छन् ।
कर्णाली प्रदेशका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज सोमबार विश्वासको मत लिँदै छन ।
मुख्यमन्त्री कँडेलले विश्वासको मत लिनका लागि मुख्यमन्त्री कँडेलले प्रदेश सभा सचिवालयमा पत्र दर्ता गराएका छन ।
मुख्यमन्त्री कँडेलले प्रदेश सभाबाट दोस्रो पटक विश्वासको मत लिन लागेका हुन । उनले यसअघि गत वैशाख १३ गते विश्वासको मत लिएका थिए ।
केन्द्रमा कांग्रेस–एमालेको नयाँ समीकरण बनेपछि कर्णालीमा माओवादीले सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिएपछि कँडेलले विश्वासको मत लिन लागेका हुन ।
सरकारमा सहभगी दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान रहेको छ ।
४० सदस्यीय कर्णाली प्रदेश सभामा बहुमतका लागि २१ मत आवश्यक पर्दछ । प्रदेश सभामा कांग्रेस र एमाले जोड्दा स्पष्ट बहुमत देखिन्छ ।
कर्णाली प्रदेशमा कांग्रेसका १४ र एमालेका १० गरी २४ प्रदेश सदस्य छन् भने माओवादी केन्द्रका १३ तथा राप्रपा, एकीकृत समाजवादी र स्वतन्त्रका एकएक जना प्रदेश सदस्य छन् ।