काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री र राज्यमन्त्रीहरूबीच आपसी समन्वय बढाई परिणाम आउने गरी काम गर्न निर्देशन दिएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा शुक्रबार नवनियुक्त ३ राज्यमन्त्रीको शपथ ग्रहणपछि बधाई तथा शुभकामना दिँदै उनले राज्यमन्त्रीको मुख्य काम सम्बन्धित मन्त्रीहरूलाई सहयोग गर्ने भएकाले रचनात्मक भई आफ्नो कार्यक्षेत्रको सदुपयोग गर्न सुझाव दिए ।
प्रधानमन्त्री ओलीले सम्बन्धित मन्त्रीहरूले पनि राज्यमन्त्रीलाई आवश्यक जिम्मेवारी दिने र परिणाम निकाल्ने विषयमा ध्यान दिन अनुरोध गरे । अहिलेको विषम परिस्थितिलाई अनुकूलस्थितितर्फ लैजानका लागि आफूहरू प्रयत्नरत रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले नवनियुक्त राज्यमन्त्रीलाई गलत मान्छेहरूको संगत र उनीहरूको प्रलोभनमा नपर्न पनि सचेत गराए ।
उनले राज्यमन्त्रीहरूले मन्त्रालयसँग सम्बन्धित सबै विषयमा विस्तृत अध्ययन गरेर सूचनाको भण्डारको रूपमा रही बढी जानकारी लिएर मन्त्रीहरूलाई सहयोग गर्न पनि अनुरोध गरेका छन् ।
प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिक रहेको इन्धन भण्डारण खतरा रहेको भनी आइरहेको विषयप्रति चासो जनाउँदै खतरा भनिएको भण्डारणलाई अन्यत्र स्थानान्तरण गर्न पनि सम्बन्धित मन्त्री र राज्यमन्त्रीलाई ध्यान पुर्याउन निर्देशन दिए ।
गलत मान्छेको संगत र प्रलोभनमा नपर्न प्रधानमन्त्रीको निर्देशन
माछापुच्छ्रे बैंकद्वारा विद्यालयमा खानेपानीको पूर्वाधार निर्माण
काठमाडौं । माछापुच्छ्रे बैंकले कैलाली जिल्ला स्थित नवदुर्गा माध्यमिक बिद्यालयमा खानेपानी सेवाको लागि आवश्यक पूर्वाधार निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरेको छ ।
आज एक कार्यक्रमकाबीच बैंकले निर्माण गरेको पूर्वाधारहरु विद्यालय व्यवस्थापन समिति एवम् विद्यालय प्रशासनलाई हस्तान्तरण गरिएको हो ।
विद्यालय संचालनका लागि अति आवश्यक पर्ने खानेपानीको असुविधाका कारण पठनपाठनमा समेत समस्या भईरहेको जानकारी पाए पश्चात बैंकले उक्त विद्यालयको अवस्था अवलोकन गरी उक्त पूर्वाधारहरु निर्माण गरेको हो ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न स्थानहरुमा विभिन्न संघसंस्थाहरुसंग मिलेर स्वास्थ्य, शिक्षा, पूर्वाधार निर्माण, वित्तिय साक्षरता, दिगो विकास लगायतका क्षेत्रहरुमा काम गर्दै आएको छ ।
प्रभु बैंकको नयाँ शाखा झापाको दुर्गापुरमा
काठमाडौं । झापाको कनकाई नगरपालिका–७ मा प्रभु बैंकको दुर्गापुर शाखा सञ्चालनमा आएको छ ।
दुर्गापुरमा झापाको पाँचौं र देशभरको ३१४ औं शाखाको सञ्चालनमा आएको हो । बैंकका सञ्चालक समिति अध्यक्ष लीलाप्रकाश सिटौलाले शाखाको बिहीबार उद्घाटन गरेका हुन् ।
कार्यक्रममा विशेष अतिथि कनकाई नगरपालिका नगर उपप्रमुख आशा शर्मा शिवाकोटी, कनकाई–७ का वडाध्यक्ष भिष्मभूषण सिटौला, कनकाई–८ का वडाध्यक्ष लीलाबहादुर कटुवाल, कोटीहवन धार्मिक विकास संस्थाका अध्यक्ष शेरबहादुर थापा लगायतले सफलताको शुभकामना व्यक्त गर्दै दुर्गापुर शाखाले त्यहाँको जनजीविका उकास्नु मद्दत मिल्ने विश्वास व्यक्त गरे ।
बैंकका कोशी प्रदेश प्रमुख अधिकृत बद्रीकुमार कटुवालले यसक्षेत्रको आर्थिक चलायमान बनाउन बैंक शाखा सञ्चालनमा आएको जनाए ।
बैंकले नेपालभर ३१४ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टरमार्पmत करिब ३५ लाख भन्दा बढि ग्राहकहरुलाई बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको जनाएको छ ।
तीन वटा संसदीय समितिको बैठक आज बस्दै
काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत शुक्रबार तीन वटा संसदीय समितिको बैठक बस्दै छ । सङ्घीय संसद् सचिवालयका अनुसार आज अर्थ समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दै छ ।
अर्थ समितिमा आज राष्ट्रिय अर्थतन्त्रका समसामयिक विषयमा अर्थमन्त्रीसँग छलफल गरिने छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।
त्यस्तै, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान ११ः३० बजे सिंहदरबार स्थित समितिको कार्यकक्षमा बस्नेछ । उक्त बैठकमा विद्युतीय व्यापार विधेयक, २०८० का सम्बन्धमा संशोधन प्रस्तावकर्ता सांसदहरूसँग छलफल गरिने सङ्घीय संसद् सचिवालयले जनाएको छ ।
त्यसैगरी, बिहान ११ बजेका लागि बोलाइएको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा समितिको गत आर्थिक वर्ष २०८०,०८१ को वार्षिक प्रतिवेदन माथि छलफल हुने जानकारी दिईएको छ ।
रास्वपाको दुईदिने ‘क्लोज क्याम्प’ वनस्थलीमा सुरु
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को दुईदिने बन्द कार्यशाला सुरु भएको छ । पार्टीका पदाधिकारी तथा नेतृत्वमा रहेका सदस्यहरुलाई रणनीतिक रुपमा क्षमता अभिवृद्धि गर्नका लागि आयोजना गरिएको बन्द कार्यशाला पार्टी केन्द्रीय कार्यालय चःमति, वनस्थलीमा सुरु भएको हो ।
पार्टीको रणनीति तयारीमासमेत सहयोग पुग्ने अपेक्षा गरिएको कार्यशालामा केन्द्रीय पदाधिकारी, सदस्य र केन्द्रीय विभागका गरी ५० जना सहभागी रहेको जनाईएको छ ।
साउन १० गतेको केन्द्रीय समिति बैठकले पार्टीका पदाधिकारी तथा नेतृत्वमा रहेका सदस्यहरुलाई रणनीतिक रुपमा क्षमता अभिवृद्धि गर्न सघन प्रशिक्षण र तथा बन्द कार्यशाला सञ्चालन गर्ने निर्णय गरेको थियो ।
कार्यशालामा विचार, संगठन, मूल्य–मान्यता, संसदीय मामिला, लिडरसिप एकेडेमी र क्यान्डिडेट क्लब तथा पार्टी अभियानबारे गहन छलफल हुने जनाईएको छ । कार्यशाला शनिबार सम्पन्न हुन्छ ।
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिँदै
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज विश्वासको मत लिने भएका छन् । प्रदेश सभाको आज ४ बजेका लागि आह्वान गरिएको बैठकमा उनले विश्वासको मत लिन लागेका हुन् ।
सत्तासीन दल नेकपा एमाले सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका सोडारीले विश्वासको मत पाउने सम्भावना भने छैन ।
विश्वासको मत लिन प्रदेश सभा बैठकमा उपस्थित भएर सम्बोधन गरेर राजीनामा दिने तयारीमा रहेको जनाईएको छ ।
एमालेले तोक्यो सातै प्रदेशका इन्चार्ज, बराललाई उपाध्यक्षमा मनोनित
काठमाडौं । नेकपा (एमाले) को सचिवालय बैठकले गुरू बराललाई उपाध्यक्ष पदमा मनोनीत गर्ने निर्णय गरेको छ।
बिहीबार बसेको सचिवालय बैठकले उपाध्यक्षमा बराललाई मनोनीत गर्ने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए।
एमाले उपाध्यक्ष सुवास नेम्वाङको २०८० भदौ २६ गते निधन भएको थियो। त्यसयता उपाध्यक्ष पद रिक्त थियो।
साथै स्थायी कमिटी सदस्यमा मुकुन्द न्यौपाने, लिलानाथ श्रेष्ठलाई मनोनीत गरिएको छ। साथै सातै प्रदेश इन्चार्ज पनि तोक्ने निर्णय भएको छ।
कोशी इन्चार्जमा शेरधन राई, मधेसमा लिलानाथ श्रेष्ठ, बागमतीमा राजन भट्टराई, गण्डकीमा किरण गुरूङ, लुम्बिनीमा पद्मा अर्याल, कर्णालीमा गोरख बोगटी, सुदूरपश्चिममा लेखराज भट्टलाई तोकिएको छ।
केन्द्रीय सदस्यमा सुवास कर्मचार्यलगायत १७ जना मनोनीत गर्ने निर्णय पनि भएको छ।
कुन्दन कुसवाह, जितेन्द्र देव, रामप्रित राम, कृष्णभक्त पोखरेल, कमलकृष्ण तिमिल्सिना, गोविन्द पुन, केदार सिग्देल, मनमोहन पौडेल, भरदेव जोशी, हरि उप्रेती, ईन्द्र भण्डारी, महेश बर्तौला, सरिता भुसाल, प्रभा बराल, मञ्जु शर्मा चालिसे, आशा जवेगुलाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने निर्णय भएको एमालेले जानकारी दिएको छ।
नवनियुक्त प्रदेश प्रमुखहरूले लिए शपथ
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रदेश प्रमुखहरूलाई पद तथा गोपनीयताको शपथग्रहण गराएका छन ।
विहीबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक कार्यक्रममा राष्ट्रपति पौडेलले प्रदेश प्रमुखहरू दीपक प्रसाद देवकोटा, कृष्णबहादुर घर्तीमगर र यज्ञराज जोशीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन ।
देवकोटा बागमती, घर्तीमगर लुम्बिनी र जोशी कर्णाली प्रदेशकालागि प्रदेश प्रमुख नियुक्त भएका हुन ।
एमाले सचिवालय बैठक ११ बजे बस्दै
काठमाडौं । नेकपा (एमाले) को सचिवालय बैठक आज बस्दैछ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।
आजको बैठकले नेताहरूको कार्यविभाजनबारे निर्णय गर्ने जनाईएको छ । बैठकमा समसामयिक राजनीति तथा पार्टीको आन्तरिक रणनीतिबारे पनि छलफल हुने जनाईएको छ । यसअघि एमालेले नेताहरूलाई फरक भूगोलको जिम्मेवारी दिएको थियो ।
स्वास्थ्य अवस्थाले साथ दिएसम्म बालुवाटारमा पार्टीको बैठक नराख्ने ओलीको घोषणा
काठमाडौँ । एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटारमा पार्टीको बैठक नराख्ने घोषणा गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले आफ्नो स्वास्थ्यले साथ दिएसम्म पार्टी बैठक बालुवाटारमा नराख्ने जानकारी दिएका हुन् ।
उनले लेखेका छन्– सामाजिक सञ्जाल मार्फत तपाईँहरूले दिनु भएको सुझाव अनुसार मेरो स्वास्थ्य अवस्थाले साथ दिएसम्म सरकारी निवास बालुवाटारमा पार्टीको बैठक नराख्ने जानकारी गराउँछु।
उनले थप लेखेका छन् – आज हाम्रो पार्टीको सचिवालय बैठक छ। मनोहरा खोलामा आएको बाढीको डुबानले बैठक पार्टी कार्यालयमा बस्न नसक्ने भएका कारण यसपटक बैठक अन्यत्र राखिएको छ। यसरी नै मलाई सुझाव दिँदै जानुहोला ।