काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को पदाधिकारी निर्वाचनद्वारा चयन हुने भएको छ । पदाधिकारी चयनका लागि आइतबारदेखि जारी बैठकमा सहमति जुट्न नसकेपछि निर्वाचन गर्न लागिएको हो ।
गत असारमा सम्पन्न एकीकृत समाजवादीको १०औं महाधिवेशनले पार्टी अध्यक्षमा माधव कुमार नेपाल, महासचिवमा घनश्याम भुसाल र सम्मानित नेतामा झलनाथ खनाललाई चयन गरेको थियो । बाँकी १८ जना पदाधिकारी टुङ्ग्याउन एकीकृत समाजवादीलाई सकस परेसँग निर्वाचनको प्रक्रिया रोजिएको हो ।
पदाधिकारी टुङ्ग्याउने विषयमा सहमति जुट्न नसकेसँग निर्वाचन कार्यतालिका नै सार्वजनिक गरिसकिएको जनाईएको छ ।
भोलि विहान ७ बजे मनोनयनपत्र वितरण गरिनेछ । बिहान ७ः३० देखि ८ः३० सम्म मनोनयन दर्तासँगै अन्य प्रक्रिया पूरा गरेर दिउँसो १२ बजेदेखि १ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने छ । त्यस्तै २ बजेदेखि ५ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ ।
भोलि बेलुका ६ बजेबाट नै मतगनणा सुरु गरिने छ ।
एकीकृत समाजवादीको पदाधिकारी चयनका लागि भोलि निर्वाचन हुने
‘बेस्ट इन डिजिटल बैंकिङ अवार्ड’ एनआईसी एशिया बैंकलाई
काठमाडौं । दोस्रो आईसीसी इमजर्जिङ एसिया बैंकिङ अवार्डअन्तर्गतको ‘बेस्ट इन डिजिटल बैंकिङ अवार्ड’ एनआईसी एशिया बैंकले प्राप्त गरेको छ । ‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप सम्पूर्ण बैंकिङ्ग सेवाहरू क्रमिक रुपले डिजिटल माध्यममा रुपान्तरण गरिरहेको यस बैंकलाई प्राप्त पुरस्कारले डिजिटल बैंकिङ अझ बढी उत्पे्ररणा प्रदान बैंकले जानकारी दिएको छ ।
इण्डियन चेम्बर अफ कमर्सको अगस्त २३ मा भारतको नयाँ दिल्लीमा आयोजना गरिएको ‘बैंकिङ कनक्लेभ २०२४’ कार्यक्रममा बैंकलाई अवार्ड प्रदान गरिएको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत अर्जुनराज खनियाले जानकारी दिए ।
यस अवार्डमा विमस्टेकअन्तर्गतका राष्ट्रहरू नेपालसहित भारत, श्रीलंका, भुटान, म्यानमारलगायतका देशहरुका बैंकहरूले प्रतिस्पर्धा गरेका थिए । यी देशका बैंकहरूले विभिन्न आठ विधामा प्रतिस्पर्धा गरेका थिए, जसमा नेपालबाट यस बैंकले अवार्ड प्राप्त गर्न सफल भएको हो । यस अवार्डमा उत्कृष्ट बैंक छनोट गर्नका लागि इण्डियन च्याम्बर अफ कमर्सअन्तर्गतको आर्थिक मामिला तथा नीति विभागले विभिन्न १७ वटा सूचकहरू निर्धारण गरेको थियो ।
रुपन्देहीमा करेन्ट लागेर १ जनाको मृत्यु
रूपन्देही । जिल्लाको सिद्धार्थनगर नगरपालिका–१ बेलहिया भन्सार कार्यालयको पछाडि नयाँ बन्दै गरेको भवनमा लेवर काम गर्ने भारतको उत्तर प्रदेश घर भएका ३२ वर्षीय जाबेद अख्तरको करेन्ट लागेर सोमबार दिउँसो मृत्यु भएको छ ।
पानी तान्ने मोटरबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको भैरहवा मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो ।
घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।
नाडा अटो शो मंगलबारदेखि भृकुटीमण्डपमा शुरु हुँदै
काठमाडौं । नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपाल (नाडा) द्वारा आयोजित यसवर्षको नाडा अटो शो भदौ ११ मंगलबारदेखि शुरु हुँदैछ ।
काठमाडौंको भृकु्टीमण्डपमा उक्त अटो शो भदौ १६ गतेसम्म सञ्चालन हुनेछ ।
राजधानी काठमाडौंको भृकुटी मण्डपमा प्रदर्शनी स्थलमा हुने उक्त अटो शो पहिले भन्दा भव्य र प्रभावशाली हुने गरी तयारी गरिएको जनाईएको छ ।
टाटा ईभी मुख्य प्रयोजक र शिखर इन्स्योरेन्स सह प्रायोजकको रुपमा रहेका छन् ।
यस वर्षको प्रदर्शनीमा २४ चार पाङ्ग्रे ब्राण्ड, १९ दुई पाङ्ग्रे ब्राण्ड र १२ व्यवसायिक सवारी साधनका ब्राण्डहरु प्रदर्शन गरिने छ ।
साथै ३३ कम्पनी कम्पनीहरु लुब्रिकेन्ट, टायर, ब्याट्री, ग्याजेट उपकरण र अन्य अटो कम्पोनेन्टहरु सहभागी हुने छन् । ७ वित्तीय संस्थाहरुसहित शो मा ९५ प्रदर्शक सहभागी हुने छन्, जसले १३० वटा स्टलहरुमा आफ्ना उत्पादनहरु र सेवाहरु प्रदर्शन गर्ने छन् ।
उक्त अटो शो ७५ हजार जनाले अवलोकन गर्ने आयोजकको अपेक्षा छ ।
टुँडिखेलमा प्रधानमन्त्री विरुद्ध नाराबाजी, बालेनको पक्षमा हुटिङ
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध काठमाडौंको टुँडिखेलमा नाराबाजी भएको छ । सुदूरपश्चिमको मुख्य चाड गौरा पर्वमा गएका प्रधानमन्त्री ओलीविरुद्ध दर्शकदीर्घाको अन्तिम लहरबाट नाराबाजी भएको हो ।
उनीहरूले ‘केपी तेरो पाराले, दुःख पाएर साराले’सहितका नारा लगाएका थिए । मञ्चको केही टाढाबाट नाराबाजी गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।
उनीहरूले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको पक्षमा भने हुटिङ गरेका थिए । नाराबाजीको अन्त्यतिर उनीहरूले ुबालेन, बालेन भनेर हुटिङ गरेका थिए ।
सांस्कृतिक पर्वमा आमन्त्रित भएर पुगेका प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने समूहको पहिचान नभएको प्रहरीले जानकारी दिएको छ । विरोधमा उत्रिएकाहरू अहिलेसम्म पक्राउ नपरेको प्रहरीले जनाएको छ ।
काठमाडौँ आइपुगे ओमानका विदेशमन्त्री
काठमाडौँ । ओमानका विदेशमन्त्री सय्यद बद्र बिन हमाद बिन हमूद अल्बुसैदी नेपालको दुई दिने औपचारिक भ्रमणका लागि सोमबार काठमाडौँ आइपुगेका छन् । उनी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको निमन्त्रणामा दुई दिनका लागि (भदौ १० र ११ गते) काठमाडौँ आइपुगेका हुन् ।
भ्रमणका दौरान दुई विदेश मन्त्रीबीच नेपाल–ओमान सम्बन्ध र अन्य विविध विषयमा द्विपक्षीय भेटवार्ता तथा छलफल हुनेछ । ओमानका विदेशमन्त्रीले भ्रमणका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टाछुट्टै शिष्टचार भेट गर्नेछन् । उनी भदौ ११ गते काठमाडौँबाट स्वदेश फर्किने कार्यतालिका छ ।
काठमाडौंको शंखमुलमा एक पुरुषको हत्या
काठमाडौं । काठमाडौं महानगरपालिका १०, शंखमुलमा एक जनाको हत्या भएको छ ।
आइतबार राति शंखमुलस्थित बुद्ध बिहार अगाडि पुल हाउसमा रुपक बान्तवाको हत्या भएको प्रहरीले जानकारी दिएको छ । बान्तवाको शरीर घाउचोटका निशान रहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
आज ओमानका विदेशमन्त्री बुसैदी नेपाल आउँदै
काठमाण्डौं । ओमानका विदेशमन्त्री सैयद बदर बिन हमद अल बुसैदी आज नेपाल आउँदै छन् ।
परराष्ट्रमन्त्री आरजु देउवा राणाको निमन्त्रणामा उनी दुईदिने भ्रमणमा नेपाल आउन लागेका हुन् ।
दुई देशका विदेशमन्त्रीबीच दुई देशको आपसी हितबारे छलफल हुने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।
नेपाल बसाइका क्रममा उनको राष्ट्रपति र प्रधानमन्त्रीसँग पनि भेटवार्ता गर्ने कार्यतालिका छ । उनी भोलि ओमान फर्किनेछन् ।
आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै
काठमाडौं । वैदिक सनातन हिन्दू धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् ।
ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । यसदिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ ।
अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मनुभएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्नुभएको थियो ।
कुरुक्षेत्रमा कौरवसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् भगवान् श्रीकृष्णका मुखारविन्दबाट व्यक्त ‘श्रीमद्भागवतगीता’ पवित्र ग्रन्थ मानिन्छ । छोटकरीमा गीता नामले समेत चिनिने यो ग्रन्थ विश्वमै सबैभन्दा बढी भाषामा अनुवाद भएको विश्वास गरिन्छ ।
बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाउनुभएका श्रीकृष्णले पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गर्नुभएको पौराणिक ग्रन्थमा उल्लेख छ । यस अवसरमा आज पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्ण मन्दिरमा ठूलो मेला लाग्दछ ।
यसैगरी, राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी मनोहरा नगरपालिकामा रहेको नवतनधाममा पनि भक्तजनको भीड लाग्छ । उत्तरी भेगस्थित बूढानीलकण्ठमा रहेको अन्तर्राष्ट्रिय श्रीकृष्ण भावनामृत सङ्घको कार्यालयमा रहेको श्रीकृष्ण मन्दिरमा पनि भक्तजनको भीड लाग्छ ।
बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिर परिसरमा रहेको श्रीकृष्ण मन्दिरमा पनि आज श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा झुलनोत्सव कार्यक्रम आयोजना गरिएको छ । यसैगरी राजधानीका विभिन्न स्थानमा रहेका ठूला, साना श्रीकृष्ण मन्दिरमा पनि भक्तजनको भीड लाग्ने गर्छ ।
यसै उपलक्ष्यमा काठमाडौंका विभिन्न धार्मिक संघसंस्थाद्वारा श्रीकृष्णको झाँकीसहित शोभायात्रा तथा रथयात्रा निकाल्ने चलन छ । शोभायात्रा आज मध्यरातमा श्रीकृष्णको जन्म भएपछि मङ्गलबार निकाल्ने गरिन्छ । यस पर्वका अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ ।
श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा सामुदायिक एवं संस्थागत विद्यालयले बालबालिकालाई श्रीकृष्ण एवं राधाका रुपमा शृङ्गार गरेर विभिन्न कार्यक्रम आयोजना गर्ने गरेका छन् । यसबाट बालबालिकामा यस पर्वको महत्व बुझ्न सहयोग पुग्ने गरेको छ ।
बाढी, पहिरोमा परी हालसम्म २०३ जनाको मृत्यु
काठमाडौं । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी आइतबार दिउँसोसम्म २ सय ३ जनाको मृत्यु भएको छ ।
बाढी, पहिरो लगायतका विपद्मा परी काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २८ जना, मधेश प्रदेशमा ८ जना, बागमती प्रदेशमा ४२ जना, गण्डकी प्रदेशमा ५६ जना, लुम्बिनी प्रदेशमा ३७ जना, कर्णाली प्रदेशमा १३ जना र सुदूरपश्चिम प्रदेशमा १६ जना गरी जम्मा २ सय ३ जनाको मृत्यु भएको हो ।
साथै काठमाडौं उपत्यकामा ११ जना, कोशी प्रदेशमा ३८ जना, मधेश प्रदेशमा १२ जना, बागमती प्रदेशमा २८ जना, गण्डकी प्रदेशमा ४७ जना, लुम्बिनी प्रदेशमा १९ जना, कर्णाली प्रदेशमा ६२ जना र सुदूरपश्चिम प्रदेशमा ३४ जना गरी जम्मा २ सय ५१ जना घाइते भएका छन् ।
घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ । साथै काठमाडौं उपत्यकामा २८ जना, कोशी प्रदेशमा ४९ जना, बागमती प्रदेशमा १२ जना, गण्डकी प्रदेशमा १४ जना, लुम्बिनी प्रदेशमा ४ जना, कर्णाली प्रदेशमा २ जना र सुदूरपश्चिम प्रदेशमा १ सय १ जना गरी जम्मा २ सय १० जनाको उद्दार गरिएको छ ।
बाढी पहिरोमा परी कोशी प्रदेशमा ३ जना, मधेश प्रदेशमा १ जना, बागमती प्रदेशमा ४५ जना, गण्डकी प्रदेशमा २ जना, लुम्बिनी प्रदेशमा १ जना, कर्णाली प्रदेशमा १ जना र सुदूरपश्चिम प्रदेशमा १ जना गरी ५४ जना वेपत्ता भएका छन् । वेपत्ताको खोजी कार्य जारी छ ।
बाढीको कारण जम्मा ४ सय ८ घर डुबानमा परेका छन् । ३ सय ६४ वटा घर, १ सय २३ वटा गोठ, ५२ वटा पुल, ६ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । ९ सय २४ वटा पशु चौपायको मृत्यु भएको छ । उक्त अवधिमा विपद्का घटनाबाट ६ हजार ४४ घर परिवार विस्थापित भएका छन् ।