Page 10

आज कोशीका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिँदै

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिँदै छन ।
आज अपरान्ह १ बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिन लागेका हुन ।
माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्री बन्नुभएका कार्कीले माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि विश्वासको मत लिन लागेका हुन । माओवादीले गत भदौ १४ गते समर्थन फिर्ता लिएको थियो ।
केन्द्रमा एमाले(कांग्रेसको नयाँ गठबन्धन बनेपछि प्रदेशको पनि सत्ता समीकरण परिवर्तन भएको थियो । अहिले केन्द्रको समीकरणअनुसार नै प्रदेशमा एमाले, कांग्रेसको सरकार रहेको छ ।
९३ सदस्यीय कोशी प्रदेश सभामा नेकपा (एमाले) का ४० र नेपाली कांग्रेसका २९ गरी ६९ सांसद रहेका छन् ।
त्यस्तै, प्रदेशमा माओवादी केन्द्रका १३, राप्रपाका ६, एकीकृत समाजवादीका ४ र जसपा नेपालका एक सांसद रहेका छन् ।

प्रदेश संरचना हटाउन नसकिने देउवाको उदघोष

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश संरचना हटाउन नसकिने उदघोष गरेका छन् ।
कांग्रेसको कानुन विभागले मंगलबार पार्टी कार्यालय, सानेपामा आयोजना गरेकव कार्यक्रममा देउवाले प्रदेशलाई अझ प्रभावकारी बनाउनु पर्ने जानकारी दिए । ‘प्रदेश संरचना बनिसकेको छ । प्रदेश संरचना हटाउन सक्ने स्थिति छैन’, उनले भने, कसरी अझ प्रभावकारी बनाउने सोच्ने विचार गर्ने हुनसक्छ ।’
उनले समानुपातिक प्रणालीमा प्रश्न उठेपनि समावेशीबारे कसैले प्रश्न नउठाएको जनाए । कतिपय समुदायले अहिले पनि चुनाव जित्न नसक्ने भन्दै उनले भने, ‘त्यसैले समावेशी राजनीति चाहिन्छ । यसविरुद्ध जनमत छैन ।’

संविधानलाई अझै उन्नत बनाउनु पर्ने पोखरेलको धारणा

काठमाडौँ । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेपालको संविधान कार्यान्वयनको नौ वर्षे अवधि लामो नभए पनि पछाडि फर्के संविधानलाई अझै उन्नत बनाउनु पर्ने धारणा व्यक्त गरेका छन् ।
मंगलबार राजधानीमा आयोजित ‘संविधान कार्यान्वयनको १० वर्ष, अनुभव, चुनौती र अबको बाटो’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले संविधान सभाबाट पारित संविधान लोकतान्त्रिक र जनताको भएकाले विगतका कमजोरीहरूलाई सच्याएर अगाडि बढ्नु स्वाभिमानी र सचेत नेपालीहरूको कर्तव्य भएको जानकारी दिए ।
उनले भने, ‘जनताका प्रतिनिधिहरूले बनाएको संविधान कार्यान्वयनको नौ वर्षे यात्रा धेरै लामो अवधि त होइन तर संविधानलाई पछाडि फर्केर उन्नत बनाउने बेला भने आएको छ । पछाडि फर्केर हेर्दा के के उपलब्धिहरू हासिल भए ? कमजोरीहरू कहाँ भए ? यसबाट शिक्षा लिँदै कसरी अगाडि बढ्ने आधार हामीले लिनुपर्छ । आफ्नो संविधान आफैँले लेख्ने र त्यही संविधानबाट शासित हुने ०७ सालदेखिको नेपालीको चाहना २०७२ सालमा आएर मात्र पुरा भयो । तसर्थ संविधान सभाबाट पारित लोकतान्त्रिक र जनताको संविधान भएकाले भएका कमजोरीहरूलाई सच्याएर अगाडि बढ्नु संविधानका पक्षधर स्वाभिमानी र सचेत नेपालीहरूको कर्तव्य हो ।’
संविधानले आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने सङ्कल्प गरेको पोखरेलको भनाइ छ ।
उनले संविधान मानव अधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता, निष्पक्ष र सक्षम न्यायपालिका कानुनी राज्यको अवधारणलगायत लोकतान्त्रिक मूल्य मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध भएको जनाए ।
उनले भने, ‘संविधानले आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने सङ्कल्प गरेको छ । मानव अधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता, निष्पक्ष र सक्षम न्यायपालिका कानुनी राज्यको अवधारण लगायत लोकतान्त्रिक मूल्य मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध भएर समृद्ध राष्ट्र निर्माण गर्न सङ्कल्पसहित आएको संविधान जनताको आन्दोलनको महत्त्वपूर्ण उपलब्धि हो ।’

आजदेखि रास्वपाको पहिलो राष्ट्रिय भेला सुरु हुँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय भेला आजदेखि सुरु हुँदैछ ।
प्रज्ञा प्रतिष्ठान कमलादीमा आजदेखि सुरु हुने भेला भोलि बुधबारसम्म चल्नेछ । भेला पौने बिहान ९ बजे घण्ट बजाएर उद्घाटन हुनेछ ।
भेलामा विचार, संगठन, संसदीय मामिला, अभियान, मूल्य(मान्यता, उम्मेदवार क्लब, लिडरसिप एकेडेमी, विधान संशोधन लगायतका एजेन्डामा छलफल हुने रास्वपाले जानकारी दिएको छ ।
सभापति रवि लामिछानेले भेलामा राजनीतिक प्रतिवेदन पेस गर्नेछन् भने कार्यवाहक महामन्त्री एवम् संगठन विभागका प्रमुख बुर्लाकोटीले सांगठनिक प्रतिवेदन पेस गर्नेछन् ।
यसै भेलाबाट राष्ट्रिय अभियान पनि घोषणा गर्नुका साथै प्रथम महाधिवेशनको मितिसमेत तय हुनेछ ।
भेलामा देशभरबाट १५०० बढी प्रतिनिधि सहभागी हुनेछन् । निर्वाचन क्षेत्र समिति, जिल्लाका संयोजक, उपसंयोजक, प्रदेशको समितिरविभाग, केन्द्रीय समिति, विभाग, आयोगहरूबाट प्रतिनिधित्व रहनेछ ।
भेलाले नीतिगत, वैचारिक, सांगठनिक रुपले रास्वपालाई थप परिपक्व र स्पष्टता प्रदान गर्ने रास्वपाले अपेक्षा राखेको छ ।
आज पहिलो दिन संगठन विभाग प्रमुख बुर्लाकोटीले सांगठनिक प्रतिवेदन पेस गर्नेछन् । सोही प्रतिवेदनमाथि छलफल हुनेछ ।
पार्टी सभापति लामिछानेको प्रतिवेदन भने बुधबार पेस हुने जनाईएको छ ।

आज इन्द्रजात्रा, उपत्यकमा सार्वजनिक विदा

काठमाडौं । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा मनाइन्छ ।
भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिंगो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ ।
भाद्र शुक्ल द्वादशीका दिन ठड्याइएको लिंगोलाई ‘इन्द्रध्वजोत्थान’ पनि भनिन्छ । लिंगोको फेदमा भैरवको पूजा गरिन्छ । सत्रु पराजय भएपछि विजय मनाउने पर्वका रुपमा इन्द्रजात्रा मनाउने गरिएको हो । इन्द्रध्वजको पूजागरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रुपमा पनि इन्द्रजात्रालाई लिइन्छ । यसअघि तान्त्रिक विधिद्वारा पूजागरी भक्तपुरको चितपोल जंगलमा छोडिएको बोकाले छोएको रूख भाद्र शुक्ल द्वितीयाका दिन काटिन्छ । काटेपछि लिंगोलाई उपत्यका भित्र्याउन पनि साइत हेरिन्छ । उपत्यका भित्र्याएपछि एकरात भोटाहिटीमा राखी एकादशीका दिन विधिपूर्वक इन्द्रध्वजाको लिंगो तयार पार्ने गरिन्छ ।
आजको दिन मुख्य रूपमा मनाइने इन्द्रजात्रा पर्वमा राष्ट्रपतिबाट हनुमानढोकास्थित गद्दी बैठकमा जीवित देवीका रूपमा रहेका श्री गणेश, श्री भैरव र श्री कुमारीको रथयात्रा नजर गर्ने परम्परा छ । राजतन्त्र रहुञ्जेल राजाबाट श्री गणेश, श्री भैरव र श्री कुमारीको रथयात्रा नजर गर्ने परम्परा थियो ।
इन्द्रध्वजाको लिंगो ठड्याएपछि सुरु भएको जात्राभरि भक्कुनाच, महाकालीनाच, लाखेनाच, दशअवतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच नचाउने गरिन्छ । यस उपलक्ष्यमा आज उपत्यकाको पश्चिममा पर्ने दहचोकस्थित इन्द्रदहमा रातभर जाग्राम बसी भाद्र शुक्ल पूर्णिमाका दिन बुधबार स्नान गरेर मेला भर्न भक्तजनको घुइँचो लाग्छ । सरकारले इन्द्रजात्राका लागि काठमाडौं उपत्यकाभर सार्वजनिक विदा दिएको छ ।

आज विश्वकर्मा पूजा आराधना गरी मनाईंदै

काठमाण्डौं । आज विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवम् विश्वकर्मा पूजा मनाइँदैछ । विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको बालुवाको मूर्ति वा तस्बिरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ ।
आजका दिन कालीगढले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिने लगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ । द्वापर युगमा भगवान कृष्णलाई राक्षसहरुले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाइ लुकाएको धार्मिक विश्वास छ ।
एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानी त्यसै समयदेखि पूजा गर्ने परम्परा बसेको धर्मशास्त्रविद्हरु जनाउँछन । विश्वकर्माले निर्माण गरेको ‘भेद द्वारका’ अहिले पनि भारतको गुजरात राज्यमा समुद्रको बीचमा रहेको विश्वास गरिन्छ ।
विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रुपमा मानिन्छ । यही सम्झनामा नेपालका कालीगढहरुले आज भव्यरुपमा विश्वकर्मा बाबाको पूजा गरी उहाँको विद्वताको सम्मान गर्ने गर्छन् । वास्तु शास्त्र पुस्तकका लेखक एवम् अध्येताको सम्झनामा आजको दिनलाई वास्तुविद्हरुले वास्तु दिवसका रुपमा पनि मनाउने गर्छन् ।
पछिल्लो समय नेपालमा पनि वास्तु विद्याको पुनर्जागरण शुरु भएको छ । चार उपवेदमध्येको एक स्थापत्यवेदमा वास्तु शास्त्रकै विषय उल्लेख गरिएको छ ।

माओवादी केन्द्रले संसद चल्न दिने

काठमाडौं । नेकपा माओवादी केन्द्रले संसद चल्न दिने भएको छ ।
जनयुद्वलाई हिंसा शब्द प्रयोग गरिएकोमा आपत्ति जनाउँदै सदन अवरोध गर्दै आएको माओवादीले आज भने अवरोध नगर्ने भएको हो ।
कार्यव्यवस्था परामर्श समितिको बैठकमा माओवादी प्रमुख सचेतक हितराज पाण्डेले प्रधानमन्त्रीको सम्बोधनमा अवरोध नगर्ने जानकारी दिए । प्रधानमन्त्रीलाई सदनमा बोल्न नरोक्ने पाण्डेले जनाए ।
एमालेका सांसद योगेश भट्टराईले माओवादी जनयुद्धलाई होच्याउने, अपमान गर्ने गरी हिंसा शब्द प्रयोग गरेको भन्दै माओवादीले संसद अवरोध गर्दै आएको थियो ।
माओवादीले ‘हिंसा’ शब्द रेकर्डबाट हटाउनुपर्ने माग भने कायमै राखेको छ ।

असोज महिनाका लागि पनि घट्यो ब्याजदर

काठमाडौं । वाणिज्य बैंकहरूले असोज महिनाका लागि पनि निक्षेपको ब्याजदर थप घटाएका छन् । व्यक्तिगत मुद्दती निक्षेपमा २० वाणिज्य बैंकको अधिकतम औसत ब्याजदर भदौको तुलनामा असोजमा ०.१५ प्रतिशत विन्दुले घटेको छ ।
भदौमा यी बैंकको व्यक्तिगत मुद्दतीमा अधिकतम औसत ब्याजदर ६.५४ प्रतिशत रहेकोमा असोजमा ६.३९ प्रतिशतमा झरेको छ । यसअघि साउनमा व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर ६.७३ प्रतिशत थियो ।
असोजमा दुई बैंक कृषि विकास र नेपाल बैंकले व्यक्तिगत मुद्दतीको अधिकतम ब्याजदर भदौको तुलनामा बढाएका छन् । तीबाहेक १० बैंकले घटाएका छन् भने ८ बैंकले स्थिर राखेका छन् । व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटाउनेमा राष्ट्रिय वाणिज्य, नेपाल एसबीआई, कुमारी, प्राइम, सानिमा, सिटिजन्स, नबिल, एनएमबी, एनआईसी एसिया र एभरेस्ट छन् ।
स्थिर राखेकामा लक्ष्मी सनराइज, ग्लोबल आईएमई, नेपाल इन्मेस्टमेन्ट मेगा, सिद्धार्थ, स्टान्डर्ड चार्टर्ड, माछापुच्छ्रे, प्रभु, हिमालयन छन् ।
असोज महिनामा व्यक्तिगत मुद्दतीमा सबैभन्दा धेरै ब्याज दिनेमा एनआईसी एसिया बैंक छ । जसले अधिकतम ७.१८ प्रतिशत ब्याज दिनेछ । यसअघि भदौमा व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ७.४१ प्रतिशत थियो । जुन एनएमबी र एनआईसी एसिया बैंकले दिएका थिए ।
त्यस्तै असोजमा व्यक्तिगत मुद्दतीमा न्यूनतम ब्याजदर भने सानिमाको ५.९ प्रतिशत छ ।

परराष्ट्रमन्त्री डा. आरजुु राणा देउवा क्यानाडा प्रस्थान

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा सोमबार साँझ क्यानाडा प्रस्थान गरेकी छन् । क्यानाडाको टोरन्टोमा यही सेप्टेम्बर १९ र २० मा आयोजना गरिएको महिला परराष्ट्रमन्त्रीहरुको बैठकमा सहभागी हुन उनी त्यसतर्फ प्रस्थान गरेकी हुन् ।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्साल र मन्त्रालयका वरिष्ठ अधिकारीहरूले बिदाइ गरेका छन् ।
क्यानाडा र जमैकाद्वारा आयोजित सो बैठकमा विश्वका १५ भन्दा बढी देशका महिला परराष्ट्रमन्त्री सहभागी हुने कार्यक्रम रहेको छ । सो सम्मेलनमा परराष्ट्रमन्त्री डा राणाले राजनीति, नेतृत्व र शासन सत्तालगायतका सार्वजनिक पदहरूमा महिलाको उपस्थिति र चुनौती विषयमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
बैठकपछि मन्त्री डा राणा अमेरिका प्रस्थान गर्नेछिन् । उनी अमेरिकाको न्युयोर्कमा आयोजित संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा सेप्टेम्बर २१ मा नेपाली प्रतिनिधिमण्डलमा सहभागी हुनेछिन् । सो महासभामा प्रधानमन्त्री केपी ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डल सहभागी हुँदैछ ।
अमेरिकामा रहँदा मन्त्री डा राणाले विभिन्न फोरमहरुलाई सम्बोधन गर्ने र द्विपक्षीय भेटवार्तामा सहभागी हुनेछिन् ।
मन्त्री डा राणा अमेरिकाबाट कतारको दोहा प्रस्थान गर्नेछिन् । उनी दोहामा आगामी अक्टोबर २ र ३ मा आयोजित एसिया कोअपरेसन डायलगको तेस्रो सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरी सहभागी हुने कार्यक्रम रहेको छ ।
सो सम्मेलनलाई परराष्ट्रमन्त्री डा राणाले सम्बोधन गर्नेछिन् । मन्त्री डा राणा आगामी अक्टोबर ४ मा स्वदेश फर्कने छिन् ।

नेशनल लाईफ इन्स्योरेन्सका सीईओ क्लब सदस्यहरु सम्मानित

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले जनकपुरस्थित मिथिला यात्री निवासमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
आर्थिक वर्ष २०८०–८१ मा तोकिएको बीमाशुल्क संकलन गरी मधेश प्रदेशबााट योग्य भएका १५० जना भन्दा बढि अभिकर्ताहरु, विभागीय प्रमुख, प्रदेश प्रमुख एवम् शाखा प्रमुखहरुको सहभागितामा कम्पनीले सीईओ क्लब सदस्य बन्न सफल अभिकर्ताहरुलाई सम्मान कार्यक्रम गरेको हो ।
प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीबाठ सम्मान कार्यक्रममा मधेश प्रदेशबाट सीईओ क्लबका सदस्य हुन सफल अभिकर्ताहरुलाई सिइओ क्लब सदस्यता वितरण गरिएको थियो । सो प्रदेशबाट आफ्नो कोडमा र संजालमा प्रथम द्धितीय र तृतीय हुन सफल अभिकर्ताहरुलाई विशेष सम्मान तथा पुरस्कृत पनि गरिएको थियो ।
सो अवसरमा सीईओ खत्रीले मधेश प्रदेशबाट नेशनल रत्न हुन सफल अभिकर्ताहरुलाई पनि नेशनल लाईफ लोगो अंकित चाँदीको मेडल, सर्टिफिकेट र खादाबाट सम्मान गरेका थिए ।
अभिकर्ता सञ्जाललाई प्रविधिमैत्री र व्यवसायिक बनाउन थप लगानी गर्ने जानकारी गराउँदै यसमा महत्वपूर्ण भुमिका खेल्ने अभिकर्ता समूहको वृत्ति विकासलाई कम्पनीले सँधै प्राथमिकतामा राख्ने प्रतिवद्धत्ता समेत व्यक्त गरे । साथै सीईओ क्लब र नेशनल रत्न अन्तर्गत योग्य हुने अभिकर्ताहरुलाई प्रदेश स्तरीय रुपमा सम्मान कार्यक्रम सम्पन्न गर्दै लाने कम्पनीको योजना अनुसार मधेश प्रदेशमा पहिलो सम्मान कार्यक्रम राखिएको जानकारी गराए ।
सम्मानित बिजनेश लिडरहरुले प्रमुख कार्यकारी अधिकृतबाट सम्मान ग्रहण गर्न पाउँदा आफूले गरेको मेहनतको कदर भएको र अत्यन्तै गर्व लागेको जानकारी दिएका थिए ।

लेटेष्ट समाचार

‘जेनजी’ आन्दोलनको भावनाअनुसार अघि बढ्न सरकारलाई खबरदारी

काठमाडौँ । ‘जेनजी’ युवाहरुले आन्दोलनको भावनाअनुसार अघि बढ्न सरकारलाई खबरदारी गरेका छन् । ‘जेनजी युनाइटेड–फर परिवर्तन’ संस्थाले आज माइतीघर मण्डलामा आयोजना गरेको खबरदारी सभामा सम्बोधन...

रुकुमपश्चिममा जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु, १० घाइते

रुकुम  । रुकुम पश्चिमको मुसिकोट खलंगाबाट आठविसकोट नगरपालिकाको स्यालाखदीतर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने १० घाइते भएका छन्...

मोरङको लेटाङमा १८ दिनदेखि बेपत्ता बालिका मृत फेला, बलात्कारपछि हत्या भएको...

विराटनगर । मोरङको लेटाङमा दुई सातादेखि हराईरहेकी बालिकाको बलात्कारपछि हत्या भएको आशंका गरिएको छ ।  असोज २१ गतेदेखि हराइरहेकी लेटाङ नगरपालिका–२ स्कुलचोककी १३ वर्षीया...