काठमाडौँ । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउत सिफारिस भएका छन् ।
सोमबार बसेको संवैधानिक परिषद्को बैठकले उनको नाम प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय भएको उपसभामुख इन्दिरा रानाले जनाईन ।
वरिष्ठताको हिसाबले राउतलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय भएको उनले जानकारी दिईन ।
अब संसदीय सुनाई समितिबाट राउतको नाम अनुमोदन भएमा राष्ट्रपतिबाट नियुक्त हुनेछन् ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ असोज १८ गतेदेखि अवकाशमा जाँदैछन्
प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउत सिफारिस
सहकारी ठगीमा रविलाई कारवाही गर्न सरकारलाई निर्देशन
काठमाण्डौं । सहकारी ठगीमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा प्रतिनिधिसभा सदस्य रवि लामिछानेमाथि कारवाही गर्न संसदीय छानबिन समितिले सिफारिस गरेको छ ।
सोमबार प्रतिनिधिसभा बैठकमा छानबिन समितिको प्रतिवेदन पेश भएपछि सभामुख देवराज घिमिरेले सरकारलाई प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिइसकेका छन् । तसर्थ संसद्को निर्देशन बमोजिम अब सांसद लामिछानेमाथि सरकारले कारवाही प्रक्रिया अगाडि बढाउने जनाईएको छ ।
प्रतिवेदनको सुझाव खण्डमा सहकारीबाट अवैध तरिकाले गोर्खा मिडियामा आएको रकम खर्च गर्नमा लामिछानेको समेत संलग्नता औंल्याइएको छ । सुझावमा लेखिएको छ, ‘कुनै पनि कम्पनीको आफ्नै उद्देश्य र मर्म हुन्छ । कम्पनीका सञ्चालक वा शेयर होल्डरहरू त्स्तो संस्थामा मुख्य जिम्मेवार हुन्छन् । शेयर सदस्य, सञ्चालक सदस्य र प्रबन्ध निर्देशकको भूमिका र जिम्मेवारीमा रहेका पात्रहरूले कम्पनीमा प्राप्त हुने रकमप्रति जिम्मेवार र दायित्वबोध नगर्न मिल्दैन । खातावाल हस्ताक्षरकर्ताहरू जसले खाता सञ्चालन, अर्थात् वित्त परिचालकमा सहकारी हुन्छन्, त्यसबापत दायित्व ग्रहण गर्नुपर्दछ । सहकारी संस्थामा रहेको बचतकर्ताको रकम अनियमित तवरबाट गोरखा मिडिया नेटवर्क प्रालिको खातामा आइसकेपछि उक्त रकम खर्च गर्ने, गराउने प्रक्रियामा संलग्न रहेको देखिन आएबाट निज सञ्चालकहरू अध्यक्ष गितेन्द्रबाबु राई र सदस्य कुमार रम्तेल तथा तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने र सञ्चालक छविलाल जोशी कम्पनीमा साझेदारका रूपमा बहाल रहेको अवधिमा सहकारीबाट कम्पनीमा आएको रकमको हकमा जिम्मेवार रहेको हुँदा प्रचलित कानून बमोजिम कारवाहीका लागि नेपाल सरकारलाई सिफारिस गर्ने ।’
छानबिन समितिको प्रतिवेदन संसद्मा पेश भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै सभापति लामिछानेले सहमति गरेर प्रतिवेदनमा हस्ताक्षर गरेको प्रतिक्रिया दिए । रास्वपाबाट शिशिर खनाल छानबिन समितिमा सदस्य थिए । उनले प्रतिवेदनमा सहमति जनाएका छन् ।
लामिछानेले प्रतिक्रिया दिँदै भने, ‘जुन विषयमा मलाई लाञ्छना लागेको थियो त्यो समितिले प्रष्ट बनाएको छ । प्रचलित कानूनअनुसार कतै गडबड गरेको भए सजायको भागीदार हुनुपर्छ । गोर्खा मिडिया सञ्चालनका क्रममा मबाट गलत भएको रहेछ भने कसैले ल्याएको पैसा सञ्चालन गर्ने क्रममा कमजोरी भएका रहेछन् भने भागीदार हुनुपर्छ, त्यसकारण हामीले सहमति गरेर प्रतिवेदनमा हस्ताक्षर गर्यौं ।’
आज मोहम्मद जयन्ती, मुस्लिम समुदायले हर्षोल्लासका साथ मनाउँदै
काठमाण्डौं । मुस्लिम धर्माबलम्बीले आज मोहम्मद जयन्ती अर्थात् मोहम्मद दिवस मनाउँदै छन् ।
हजरत मोहम्मदको जन्म इस्लामी पात्रो हिजरी संवतको रवि अव्वल महिनामा साउदी अरबको मक्कामा बिबी आमिनाको कोखबाट ५७० एडीमा भएको थियो । उनको निधन भने मृत्यु मक्कामा ६३२ जून ८ मा ६३ वर्षको उमेरमा साउदीकै मदिनामा भएको थियो । साउदी अरेबियामा जन्मेका मोहम्मद इस्लाम धर्मका संस्थापक हुन् ।
यस दिनलाई इद मिला दुननबी र १२ रबिउल अब्बल पनि भन्ने गरिन्छ ।
आजको दिन मुस्लिम समुदायले रैली निकाल्नुका साथै मस्जिदमा कुरान पाठ गर्ने, हजरत मोहम्मदका उपदेश स्मरण गर्ने, सामूहिक भोजन गर्ने र एकअर्कामा शुभकामना साटासाट गर्ने प्रचलन छ । मोहम्मदको जन्मदिनमा विभिन्न नाअत शरिफ वाचन गर्ने तथा उहाँका उपदेश र वाणी स्मरण गर्ने गरिन्छ ।
दिवसको अवसरमा सरकारले आज मुस्लिम धर्माबलम्बीलाई बिदा दिएको छ ।
बलात्कार मुद्दाका अभियुक्त १० वर्षपछि पक्राउ
धनगढी । डोटीमा जबर्जस्तीकरणी मुद्दाका फरार प्रतिवादी १० वर्षपछि पक्राउ परेका छन् ।
दिपायल सिलगढी नगरपालिका ७ उडीतोला बस्ने ४७ वर्षीय रामबहादुर खड्कालाई १० वर्षपछि आइतबार पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
खड्कालाई जबरजस्ती करणी मुद्दामा ३ वर्ष कैद सजाय सुनाइएको थियो ।
जिल्ला प्रहरी कार्यालय डोटीका निमित्त प्रमुख डीएसपी भीमलाल भट्टराईले ३० साउन २०७२ देखि फरार रहेका खड्कालाई दिपायल सिलगढी नगरपालिका ७ सिलगढी(साफे सडकखण्डमा शंकास्पद रुपमा हिंडिरहेको अवस्थामा पक्राउ गरिएको जनाए ।
उनलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत डोटीमा पु गरिएको उनले जानकारी दिए ।
प्रतिनिधि सभा बैठक बस्दै, प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्ने भएका छन ।
दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
माओवादी केन्द्रले ‘हिंसा’ शब्द संसद्को रेकर्डबाट नहटाएसम्म अवरोध जारी राख्ने अडान राखेपछि हिजोको बैठक बस्दै नबसी स्थगित गरिएको थियो ।
यसैबीच, सरकारले संघीय संसद्को दुवै सदनको चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरिसकेको छ ।
सिंहदरबारमा आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले भदौ ३१ गते सोमबार आज राति १२ बजेदेखि संसद्को चालु अधिवेशन अन्त्य गर्ने गरी राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
यसैबीच, प्रतिनिधि सभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची छ ।
आजको बैठकमा सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले ‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिको प्रतिवेदन, २०८१’ पेश गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।
परराष्ट्रमन्त्री राणा सोमबार क्यानडा जाँदै
काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा सोमबार क्यानडा जाने भएकी छिन् । महिला परराष्ट्रमन्त्रीको सम्मेलनमा भाग लिनका लागि उनी त्यतातर्फ जान लागेकी हुन् ।
क्यानडाको कार्यक्रम सकाएर उनी उतैबाट अमेरिका जाने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । अमेरिकामा जारी संयुक्त राष्ट्र संघको महासभामा भाग लिनका लागि उनी त्यता जाने छिन् ।
सोही कार्यक्रममा भाग लिनका लागि नेपालबाट प्रधानमन्त्री केपी शर्मा ओली पनि अमेरिका जाँदैछन् ।
प्रभु बैंकद्वारा गण्डकी प्रदेशमा शैक्षिक केन्द्र स्थापना
काठमाडौँ । प्रभु बैंक लिमिटेडले पोखरामा शैक्षिक केन्द्र (एजुकेशन हव) स्थापना गरेको छ । बैंकले आफ्नो सेवा परिस्कृत गर्ने क्रममा भदौ २८ गते गण्डकी प्रदेश कार्यालय अन्तर्गत स्वदेश तथा विदेशमा उच्च शिक्षा हासिल गर्न जानेहरुका लागि आवश्यक शैक्षिक कर्जा सहज तथा सरल रुपमा उपलब्ध गराउने उद्धेश्यले गण्डकी प्रदेश कार्यालय एजुकेशन हव स्थापना गरेको हो ।
स्वदेश तथा विदेशमा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरुको लागि प्रदेशस्तरबाट उपलब्ध हुन सक्ने सहज भुमिकालाई मध्यनजर गर्दै बैँक गण्डकी प्रदेश कार्यालय अन्तर्गत उक्त विभाग स्थापना गरिएको हो । हाल नेपालबाट उच्च शिक्षा हासिल गर्नको लागि विद्यार्थीहरु विभिन्न देशका कलेज तथा विश्वविद्यालयमा भर्ना हुनका लागि आवश्यक वित्तिय लागत परिपुर्ति गर्नको लागि आवश्यक पर्ने कर्जाको सहज उपलब्धतामा टेवा पुग्ने विश्वास गरिएको छ ।
सिमित वित्तिय स्रोत साधनका कारण आफ्ना सन्ततीहरुलाई उच्च शिक्षा प्रदान गर्नबाट बञ्चित रहेको समसामयिक परिप्रेक्षलाई मध्यनजर गरी छिटो छरितो र सहज तरिकाले शैक्षिक कर्जा प्रदान गर्ने हेतुले यस प्रभु बैँक लि. गण्डकी प्रदेश कार्यालय अन्तर्गत उक्त शैक्षिक केन्द्र स्थापना गरी प्रभु बैँक लि. को सेवालाई थप प्रभावकारी बनाईने प्रतिबद्धता व्यक्त गरेको छ । शैक्षिक कर्जा सुविधा उपभोग गर्नका लागि यस बैँकको प्रदेश कार्यालयको शैक्षिक केन्द्र तथा गण्डकी प्रदेश अन्तर्गतका विभिन्न शाखा कार्यालयहरुमा सम्पर्क राखी ५ दिनभित्रै कर्जा स्वीकृत हुने व्यवस्था मिलाएको छ । उक्त शैक्षिक केन्द्र, गण्डकी प्रदेशको समुद्घाटन प्रमुख व्यवसाय केन्द अधिकृत शान्ती शेरचनबाट गरिएको थियो ।
आफ्नो बैंकको सेवालाई परिस्कृत गर्दै जाने क्रममा गण्डकी प्रदेश कार्यालय अन्र्तगतका सम्पुर्ण शाखा कार्यालयहरुबाट सरल र सहज रुपमा नियमित बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ । शैक्षिक केन्द्रको स्थापना पश्चात विद्यार्थी तथा अभिभावकहरुलाई थप सहज र उत्कृष्ट सुविधा प्राप्त हुने विश्वास बैंकले लिएको गण्डकी प्रदेश प्रमुख राजु रानाले बताएका छन् । शैक्षिक केन्द्रले शैक्षिक कर्जा तथा त्यससंग सम्बन्धित विषयहरुको मात्रै समेटने भएकोले शाखा तथा शैक्षिक केन्द्रबाट प्रारम्भ गरिने कर्जाको प्रकृया अत्यन्तै छिटो तथा प्रभावकारी हुने जनाएको छ । वैंंकको गण्डकी प्रदेश अन्तर्गत ५५ वटा शाखा कार्यालय सञ्चालनमा छन ।
त्यसैगरी, ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३१५ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टर मार्पmत करिब ३१ लाख भन्दा बढि ग्राहकहरुलाई बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ । साथै, छोटो समयको अन्तरालमा नै नविनतम प्रविधि फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट समेत सम्मानित भएको छ ।
प्रतिनिधि सभाको बैठक बस्दै नबसी स्थगित
काठमाडौं । प्रतिनिधि सभाको आज बस्ने भनिएको बैठक स्थगित भएको छ । सभामुखको सचिवालयका अनुसार बैठक भोलि अपराहन्न १ बजेसम्मका लागि बैठक स्थगित भएको हो ।
आज १ बजे बस्ने भनिएको बैठक शुरुमा २ बजे र त्यसपछि ३स्१५ बजे बस्ने तय गरिएको थियो ।
गत बुधबार बसेको बैठक माओवादी केन्द्रले अवरुद्ध गरेपछि स्थगित भएको थियो । संसदमा माओवादी जनयुद्धलाई लक्षित गर्दै प्रयोग भएको ‘हिंसा’ शब्द असंसदीय नभएको सभामुखले रुलिङ गरेपछि माओवादी केन्द्रले त्यसको विरोध गर्दै संसद अवरुद्ध गरेको थियो ।
अब माओवादी केन्द्रले सो रुलिङ फिर्ता नलिएसम्म संसदको अवरोध कायम राख्ने जनाईएको छ ।
मंसिर १६ गते उपनिर्वाचन गर्न निर्वाचन आयोगको प्रस्ताव
काठमाण्डौं । निर्वाचन आयोगले आगामी मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचनको मिति तोक्न नेपाल सरकारलाई परामर्श दिएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहितका पदाधिकारीले आज भेट गरी उपनिर्वाचनको मिति तोक्न प्रस्ताव गरेका हुन् ।
स्थानीय तहमा हाल रिक्त जिल्ला समन्वय समितिका दुई प्रमुखसहित ४१ जनप्रतिनिधिको बाँकी कार्यकालका लागि उपनिर्वाचनको तयारी भएको हो ।
भेटमा प्रधानमन्त्री ओलीले प्रस्ताव अध्ययन गरी नेपाल सरकारले छिटो मिति तोक्ने जनाउँदै निर्वाचनलाई मितव्ययीरुपमा स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण ढंगले सम्पन्न गर्न आग्रह गरे।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विश्नुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, मुख्यसचिव एकनारायण अर्याललगायत सहभागी थिए ।
कुमारी बैंकद्वारा १० लाख रुपियाँ बीमा रकम भुक्तानी
काठमाडौं । कुमारी बैंक लिमिटेडले परिवार सुरक्षा बचत खाता योजना अन्तर्गत खाताका हकवालालई १० लाख रुपियाँको दुर्घटना बीमा रकम भुक्तानी गरेको छ ।
भरतपुर २, चितवन निवासी खाता धारक सुस्मा श्रेष्ठको दुर्घटनामा परि मृत्यु भए पश्चात श्रीमान ईन्द्रनारायण श्रेष्ठलाई बीमा वापतको १० लाख रकम हस्तान्तरण गरिएको हो ।
उक्त रकम बैंकको पोखरा बसपार्क शाखाबाट हस्तान्तरण गरिएको थियो । सानिमा जिआईसि इन्स्योरेनसबाट बीमा दावी रकम प्राप्त भएपश्चात बैंकमार्फत सो रकम भुक्तानी गरिएको थियो ।
बैंकले कुमारी परिवार सुरक्षा बचत खातामा आकर्षक बीमा सुविधा उपलब्ध गराउँदै आएको छ । यस खातामा खातावाला सहित परिवारका चार जना सदस्यहरुले २६ लाख रुपियाँसम्मको बीमा सुविधा प्राप्त गर्न सकिन्छ ।
सो खातामा आकस्मिक दुर्घटना, मृत्यु, पुर्ण शारीरिक अशक्तता, चिकित्सा उपचार र घातक रोगहरुका लागि बीमा सुविधा प्रदान गरिन्छ । कुमारी बैंकले विगत ५ वर्ष देखि ग्राहकहरुको सुविधाका लागि परिवार सुरक्षा बचत खाता योजना मार्फत बिमा लगायत अन्य उत्कृष्ट सुविधा प्रदान गर्दै आएको छ ।
बैंकले देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१८ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत सेवा प्रदान गर्दै आएको छ ।

















