Page 3

आज प्रधानमन्त्रीले सरकारको सयदिने उपलब्धी सार्वजनिक गर्दै

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सरकारको सयदिने उपलब्धी सार्वजनिक गर्न लागेका छन् ।
दिउँसो साढे २ बजे प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा उनले सरकारको सयदिने उपलब्धी सार्वजनिक गर्न लागेका हुन् । ओली सरकारका सबै मन्त्रीहरूले आ–आफ्नो क्षेत्राधिकारभित्र भएका कामकारबाहीको प्रगति प्रधानमन्त्रीलाई बुझाइसकेका छन् ।
असार १७ गते नेपाली कांग्रेस र एमालेबीच भएको सात बुँदे समझदारीका आधारमा ओली असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।
राजनीतिक स्थिरता र संविधान संशोधनलाई प्रमुख एजेन्डा बनाएर सुरु भएको कांग्रेस–एमाले सत्ता सहयात्रामा लोसपा, अशोक राई नेतृत्वको जसपा, लोसपा र नाउपा सहभागी छन् ।
चौथो कार्यकालका लागि ओली प्रधानमन्त्री भएपछि भदौ १७ गते मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गरेका थिए । प्रधानमन्त्रीसँग भएको मन्त्रीहरूको सम्झौतामा चालु आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिलाई प्राथमिकतामा राखिएको थियो । त्यसैगरी मन्त्री र सचिव तथा प्रधानमन्त्री र नेपाल सरकारका मुख्यसचिवबिच पनि कार्यसम्पादन सम्झौता भएको थियो ।

 

सभामुखले दलका प्रमुख सचेतक र संसदीय समितिका सभापतिहरूसँग छलफल गर्दै

काठमाडौँ । सभामुख देवराज घिमिरेले आज राजनीतिक दलका प्रमुख सचेतक र दफावार छलफलका लागि विधेयक रहेका संसदीय समितिका सभापतिहरूसँग छलफल गर्ने भएका छन् । छलफल बिहान ११ः३० बजे सभामुखको कार्यालयमा सुरु हुनेछ
संसद्को आगामी अधिवेशनमा बिजनेसको अभाव हुन नदिन सभामुखले सभापतिहरूसँग छलफल गर्न लागेका हुन् । अधिवेशन नभएको अवस्थामा माननीयहरू जिल्ला बाहिर हुने र समितिको कोरम पुर्याउन समेत कठिन भएको सभापतिहरूले सभामुखसँग गुनासो गर्दै आएका छन् ।
बैठकमा सत्तापक्ष एमालेका मुख्य सचेतक महेश कुमाल बर्तौला, कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीलाई बोलाइएको छ ।
राज्य व्यवस्था तथा सुशासन समिति, पूर्वाधार विकास समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानुन, न्याय तथा मानव अधिकार समिति र अर्थ समितिमा दफावार छलफलका लागि विधेयक रहेका छन् ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेल अमेरिका प्रस्थान

काठमाण्डौ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेल अमेरिका प्रस्थान गरेका छन् ।
विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष आइएमएफको वार्षिक बैठकमा भाग लिन पौडेल गएराति अमेरिकाको वासिङ्टन डिसीतर्फ प्रस्थान गरेका हुन् ।
वासिङ्टन डिसी र न्यूयोर्कमा रहँदा अर्थमन्त्री पौडेलले द्विपक्षीय तथा बहुपक्षीय भेटवार्ता गर्ने कार्यक्रम तय भएको उनको सचिवालयले जानकारी दिएको छ । उनी कात्तिक दोस्रो साता स्वदेश फर्किने कार्यक्रम छ ।

रवि लामिछाने पक्राउविरुद्ध रास्वपाले पोखरा र काठमाडौंमा प्रदर्शन गर्दै

पोखरा । सभापति रवि लामिछाने पक्राउविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा ले पोखरा र काठमाडौंमा विरोध प्रदर्शन गर्ने भएको छ।
रास्वपाले शनिबार बिहान ११ बजे पोखरा चिप्लेढुंगा र दिउँसो १ काठमाडौंमा माइतिघर मण्डलमा ‘राजनीतिक प्रतिशोधविरुद्धको ऐक्यबद्धताका लागि’ भन्दै विरोध प्रर्दशन गर्न लागेको हो।
शुक्रबार रास्वपाको पार्टी कार्यालय वनस्थलीबाट उनलाई प्रहरीले पक्राउ गरेर पोखरा ल्याइएको थियो। शनिबार बिहान ३ बजे पोखरा ल्याइएकोमा रातिदेखि नै रास्वपा कार्यकर्ताले विरोध गरिराखेका छन ।
रवि ल्याउनुअघि जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यकर्ताको भिड लागेको थियो। रवि पक्राउ परेको विरोधमा रास्वपाले चर्को विरोध गरेका थिए। उनीहरुले प्रधानमन्त्रीविरुद्ध समेत नारा लगाए। जिल्ला प्रहरी कार्यालय ल्याइएलगत्तै प्रहरीले उनलाई स्वास्थ्य परीक्षण गराउन पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेको थियो।
जिल्ला अदालत कास्कीले उनीसहित १४ जना विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। रविविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीले संगठित अपराध र सहकारी ठगीमा मुद्दा चलाउनेछ।

लामिछानेविरुद्ध सहकारी ठगी र संगठित अपराधमा अनुसन्धान हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगी र संगठित अपराधमा अनुसन्धान हुने भएको छ ।
शुक्रबार काठमाडौंस्थित रास्वपा पार्टी कार्यालयबाट पक्राउ परेका लामिछानेविरुद्ध कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ४ मा रहेको सूर्य दर्शन बचत तथा ऋण सहकारीबाट गोरखा मिडिया प्रालि गएको रकम दुरुपयोगको अभियोग छ ।
शनिबार बिहान प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआईबीले लामिछानेलाई जिल्ला प्रहरी कार्यालय कास्कीको जिम्मा लगाएको छ । गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षणपछि उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएको छ ।
उनीमाथि प्रहरीले सहकारी ठगी र संगठित अपराधमा अनुसन्धान गर्ने जानकारी दिएको छ । संगठित अपराधको सोही प्रकरणमा यसअघि नै पक्राउ परेका छविलाल जोशीसँगै लामिछानेको अनुसन्धान प्रक्रिया अघि बढाउने प्रहरीको तयारी छ ।
संगठित अपराधको अनुसन्धान गर्न ६० दिनको अवधि पाइने कानुनी व्यवस्था रहेको छ । यद्यपि गत असोज ६ गते पक्राउ परेका जोशीले २७ दिन थुनामा बसिसकेको हुँदा उनीसँगै लामिछानेको अनुसन्धान पनि ३३ दिनमै सक्नेगरी प्रहरीले तयारी गरेको जनाईएको छ ।
सहकारी रकम अपचलन सम्बन्धमा अनुसन्धान गर्न बनेको संसदीय छानबिन विशेष समितिले सहकारी ठगीमा संलग्न देखिएको भन्दै लामिछानेलाई पनि कारबाही गर्न सिफारिस गरेको थियो ।

साफ महिला च्याम्पियनसिप आजदेखि, उद्घाटन खेलमा भारत र पाकिस्तान भिड्दै

काठमाडौं । सातौँ संस्करणको दक्षिण एसियाली फुटबल महासंघ साफ महिला च्याम्पियनसिप आजदेखि दशरथ रंगशालामा सुरु हुँदैछ ।
प्रतियोगितामा नेपालसहित माल्दिभ्स, पाकिस्तान, श्रीलंका, भारत, भुटान र बंगलादेश सहभागी हुने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । प्रतियोगिताको फाइनल खेल कार्तिक १४ गते हुनेछ ।
एन्फाकाअनुसार प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । साविक विजेता बंगलादेशसहित भारत र पाकिस्तान समूह ‘ए’ मा छन् भने समूह ‘बी’मा नेपालसँगै भुटान, श्रीलंका र माल्दिभ्स परेका छन् ।
प्रतियोगिताको उद्घाटन खेल आजै भारत र पाकिस्तानबीच हुनेछ । भोलि शुक्रबार नेपाल भुटानसँग भिड्नेछ ।

पहाडी क्षेत्रमा आज वर्षाको सम्भावना

काठमाण्डौ। आज देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने छ ।
हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहनुका साथै कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।
साथै गण्डकी प्रदेशको थोरै स्थानहरूमा तथा कोशी प्रदेश, बागमती प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाईएको छ ।
आज राति कोशी प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।
यस्तै कोशी प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।

आगामी संसद अधिवेशनबाट प्रहरीसम्बन्धी विधेयक पारित गर्ने गृहमन्त्रीको दाबी

काठमाडौं। गृहमन्त्री रमेश लेखकले संघीय संसदको आगामी अधिवेशनबाट प्रहरीसम्बन्धी विधेयक पारित दाबी गरेका छन ।
६९औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालय नक्सालमा मंगलबार आयोजित श्रद्धाञ्जली कार्यक्रममा उनले प्रहरी संगठनको वृहत्तर हित र उन्नतिका लागि आफू प्रतिबद्ध रहेको जानकारी दिए
‘गृह मन्त्रालयले प्रहरी ऐन, २०१२ लाई प्रतिस्थापन गरी नेपाल प्रहरीको सुदृढीकरण गरी सेवाको विशिष्टिकरण, प्रहरी कर्मचारीको हित र कल्याणका नयाँ र उत्कृष्ट प्रावधानहरू पहिचान गरी विधेयकमा समाविष्ट गरिएको छ,’ उनले भने, ‘गृह मन्त्रालयले यसलाई छिटो भन्दा छिटो प्रतिनिधि सभा समक्ष पेश गर्ने लक्ष्य राखेको छ । प्रस्तावित विधेयकले ऐनको हैसियत प्राप्त गरे पश्चात नेपाल प्रहरीको वृहत्तर हित र वर्षौ वर्षदेखिका हाम्रा अपेक्षाहरू पूरा हुने विश्वास मैले राखेको छु ।’
कार्यक्रममा गृहमन्त्री लेखकले कर्तव्य पालनका क्रममा मृत्युवरण गर्नुभएका र घाइते भएका प्रहरी कर्मचारीहरुको योगदानको उच्च मूल्याङ्कन हुने जनाए । ‘वर्तमान सरकार गठन भएलगत्तै संक्रमणकालीन न्यायसम्बन्धी कानुनलाई पूर्णता दिइएको छ । सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता भएका व्यक्तिको छानबिनसम्बन्धी कानुन बनेको छ,’ उनले भने, ‘यसले द्धन्द्धको बेलामा मुत्युवरण गर्ने सुरक्षा निकायका व्यक्तिहरुको परिवारलाई पनि पीडित सरह परिपूर्ण दिने व्यवस्था गरिएको छ । द्धन्द्धको बेलामा घाइते तथा अपाङ्ग हुनुभएका सुरक्षा निकायका व्यक्तिलाई पीडित सरह व्यवहार गरिने व्यवस्था गरिएको छ ।’
सुरक्षा निकायको कमी कमजोरीले सरकारले नै आलोचना व्यहोर्नुपर्ने भएकाले थप सतर्कताका साथ काम गर्न गृहमन्त्री लेखकले निर्देशन दिए। ‘नेपाल प्रहरीसहितका सुरक्षा निकायहरुले परिश्रमका साथ आफ्नो कत्वर्य निर्वाह गरी रहेका छन् । कहिले कही सुरक्षा निकायबाट हुने कमी कमजोरीका कारण नागरिकबाट ठूलो आलोचना हुन्छ र मन्त्री वा सरकारले आलोचना बोक्नुपर्ने अवस्था सिर्जना हुन्छ । तसर्थ थप सचेतना, सतर्कता र व्यवसायिकताका साथ काम गर्न म निर्देशन गर्दछु ,’ उनले भने । २०१२ सालमा स्थापना भएको नेपाल प्रहरी अहिले मुलुकको अपरिहार्य र महत्वपूर्ण संस्थाका रूपमा स्थापित भइसकेको उनको भनाइ छ ।
‘आम नागरिकको सारथि र जीवनदेखि मरणसम्मको सहयात्री हुन सफल भएको छ । यो महत्वपूर्ण उपलब्धि र आम विश्वासप्रति गौरव बोध गर्दछु । यस अवसरमा नेपाल प्रहरी परिवारलाई हार्दिक बधाई छ,’ उनले भने ।
राज्यको नागरिकसँग सम्पर्क सुत्र नै प्रहरी भएको भन्दै नेपाल प्रहरीको संस्थागत हित र दिगो उन्नतिका लागि आफ्नो भूमिका सदैव सहयोगी रहने विश्वास गृहमन्त्री लेखकले दिलाए। मुलुकभर महिला तथा बालबालिकामाथि हुने हिंसा, कसुरजन्य कार्य, भेदभाव छुवाछुतलगायतका अपराधिक कार्यमा संलग्नलाई शून्य सहनशीलताको नीति लिएर कानूनको दायरामा ल्याउन गृहमन्त्री लेखकले प्रहरीलाई निर्देशन दिए ।

आज पनि मान्यजनबाट टीका र जमरा लगाउने क्रम जारी

काठमाडौं । आश्विन शुक्लपक्ष त्रयोदशीका दिन आज पनि मान्यजनबाट आशीर्वादस्वरुप नवदुर्गाको प्रसादका रुपमा टीका र जमरा लगाउने क्रम निरन्तर रहन्छ ।
आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना गरिएको प्रसादस्वरुप विजयादशमीका दिनदेखि सुरु भएको टीका र जमरा लगाउने क्रम आज पनि जारी रहनेछ । मान्यजन टाढा टाढा हुने आफन्त विजयादशमीदेखि आश्विन शुक्ल पूर्णिमासम्म आशीर्वाद थाप्न घर घरमा जाने गर्छन् ।
आफन्त टाढा हुनेका लागि बडादशैं नवदुर्गाको प्रसाद र आशीर्वाद लिनुका साथै भेटघाट गर्ने अवसर पनि हो । महाअष्टमी र महानवमीका दिन सुनसान प्रायः देखिएको राजधानीमा विजयादशमीदेखि नै चहलपहल बढ्न थालेको छ । निधारमा रातो टीका र जमरा लगाएका मानिस मान्यजनकहाँ टीका लगाउन गइरहेको देखिन्छ ।
बडादशैंको सार्वजनिक बिदा सोमबार सकिएर आजदेखि सरकारी कार्यालय खुल्ने भएपनि टीका र आशीर्वाद थाप्ने क्रम भने कोजाग्रत पूर्णिमामा अखिल बलि पूर्ति नभएसम्म निरन्तर चलिरहन्छ ।
यस वर्ष असोज ३० गते बुधबार अखिल बलिपूर्ति र कात्तिक १ गते बिहीबार कोजाग्रत पूर्णिमा परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो पञ्चाङ्गमा उल्लेख छ । कोजाग्रत पूर्णिमाका दिन राति जाग्राम बसी महालक्ष्मीको पूजा आराधना गरिन्छ । कात्तिक १ गतेदेखि नेपालीको महान् चाड बडादशैं समापन हुन्छ ।

दसैंको दुई दिनमा ६३ हजार भन्दा बढीले गरे हवाईयात्रा

काठमाण्डाीैं । बडादसैंको दुुई दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर कुल ६३ हजार दुई सय ४२ जनाले हवाई यात्रा गरेका छन्।
असोज २४ गते फूलपाती र २६ गते महाअष्टमी,महानवमीमा आन्तरिक र अन्तर्राष्ट्रिय दुवैगरी ६३ हजारभन्दा बढीले हवाई यात्रा गरेका हुन्।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार असोज २४ गते आन्तरिकतर्फ दुईतर्फी गरेर तीनसय एक उडानमार्फत १७ हजार तीनसय २९ र असोज २५ गते दुई सय ७८ उडानबाट १४ हजार चार सय ३६ गरी कुल ३१ हजार सात सय ६५ ले आन्तरिक उडानमा हवाई यात्र गरेका छन्।
यस्तै अन्तर्राष्ट्रियतर्फ असोज २४ गते दुईतर्फी एकसय सात उडानमार्फत १६ हजार पाँच सय नौ र असोज २५ गते पनि एकसय सात उडान हुँदा १४ हजार नौ सय ६८ गरी कुल ३१ हजार चार सय ७७ ले हवाईयात्रा गरेको विमानस्थल कार्यालयले जनाएको छ। यो उडान र यात्रु सङ्ख्या आगमन र प्रस्थान दुवैको हो।
यसअघि यही असोज १४ गते एकैदिन आन्तरिक उडान र अन्तर्राष्ट्रिय उडान गरी पाँच सय ५९ उडान भएका थिए। ती उडानमार्फत सोही दिन ३५ हजार सात सय चार जनाले हवाईयात्रा गरेका छन्। यही असोज ११ र १२ गतेको अविरल वर्षाका कारण मुलुकका विभिन्न स्थानमा बाढी पहिरोले सडक सञ्जाल अवरुद्धहुँदा हवाई उडानमा चाप भएको थियो।

 

लेटेष्ट समाचार

हमासको ग्रिनेड फालेर साथीहरूलाई जोगाए, आफू युद्धभूमिमै बिलाए विपिन

इजरायल र हमासबीचको युद्ध दुई वर्षपछि अन्त्य भएपछि सोमबार हमासले २० इजरायली बन्धक मुक्त गर्‍यो। गाजामा बन्धक बनाइएकाहरुको परिवारमा पुनर्मिलन हुँदाको क्षणले इजरायलमा खुसीयाली छ।...

‘जेनजी विद्रोह’पछि एमाले र माओवादीद्वारा मंसिरमा महाधिवेशन घोषणा, माैन कांग्रेस

काठमाडौं । भदौ २३ र २४ गतेको ‘जेनजी विद्रोह’पछि देशको राजनीतिक परिदृश्य उथलपुथल बनेको छ । यसबीच, दुई ठूला कम्युनिस्ट दल—नेकपा एमाले र नेकपा...

ओली–लेखकविरुद्धको जाहेरी प्रहरीबाटै सीधै जाँचबुझ आयोगमा

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरी प्रहरीमार्फत दर्ता नभई सीधै जाँचबुझ आयोगमा पुगेको छ। जेनजी आन्दोलनका क्रममा...