काठमाडौँ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८१।०८२ को प्रथम त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीले अधिकांश सूचकहरुमा उल्लेख्य वृद्धि भएको हो ।
चालु आवको तीन महिनामा कम्पनीले १३ करोड २९ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १९.९३ प्रतिशतले बढी हो । यद्यपी बीमाकिय मूल्याकंन गर्दा नाफा केहि तल माथि हुन सक्छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको नाफा ११ करोड ८ लाख रुपैयाँ रहेको थियो ।
यसअवधिमा कम्पनीको कुल बीमा शुल्क आम्दानी ३.२७ प्रतिशतले बढेर एक अर्ब ५६ करोड ४९ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त आम्दानी एक अर्ब ५१ करोड ५३ लाख रुपैयाँ रहेको थियो ।
यता, कम्पनीको कुल दाबी भुक्तानी १३.५७ प्रतिशतले घटेर ४६ करोड ५१ लाख रुपैयाँ पुगेको छ । कम्पनीको जीवन बीमा कोषको आकार समेत ८.६३ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको असार सोही अवधिमा १४ अर्ब ७९ करोड रुपैयाँ रहेको जीवन बीमा कोषमा समीक्षा अवधिमा अइपुग्दा १६ अर्ब ६ करोड ६० लाख रुपैयाँ पुगेको छ ।
समिक्षा अवधिमा कम्पनीको चुक्तापूँजी ४ अर्ब ९५ करोड ३० लाख रुपैयाँ र जगेडा कोषमा ४१ करोड ३१ लाख रुपैयाँ सञ्चिति रहेको छ । चालु आवको असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी १०।७४ रुपैयाँ र प्रतिशेयर नेटवर्थ ११२.४१ रुपैयाँ पुगेको छ ।
सानिमा रिलायन्स लाइफको नाफा १९ प्रतिशतले बढ्यो
महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ्ग हाउसबीच अलिपे प्लस नेटर्वक अन्तर्गत क्युआर पेमेन्ट हुने
काठमाडौं । महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ्ग हाउसबीच अलिपे प्लस द्धारा एकीकृत गरिएका विभिन्न क्षेत्रीय र अन्तराष्ट्रिय मोबाइल वालेट, बैंकिङ्ग एप तथा अन्य डिजिटल भुक्तानीको माध्यमबाट नेपालमा भुक्तानी गर्न मिल्ने गरी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
नेपालमा यस्तो समझदारी गर्नेमा विकास बैंकहरुमा महालक्ष्मी विकास बैंक एक र पहिलो विकास बैंक बनेको छ । गत बुधबार एक कार्यक्रमका बीच उक्त समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
यस समझदारी अन्तर्गत चीन, हङकङ, मकाओ, सिंगापुर, मलेसिया, फिलिफिन्स, मंगोलिया, थाइल्याण्ड, दक्षिण कोरिया र इटाली जस्ता मुलुकबाट नेपाल घुम्न आएका पर्यटकहरुले अलिपे प्लस नेटर्वकमा आबद्ध भएका विभिन्न डिजिटल भुक्तानीका माध्यमहरुको प्रयोग गरी महालक्ष्मी विकास बैंकले उपलब्ध गराएका क्युआरमा सहज रुपमा क्युआर पेमेन्ट गर्न सक्नेछन् ।
यस्ता कार्यबाट नेपालको आर्थिक तथा पर्यटन विकासमा सहयोग पु¥याउन तथा नेपाल सरकार साथै नेपाल राष्ट्र बैंकले अख्तियार गरेको डिजिटल नेपालको अभियानलाई समेत यस्तो अभियानले टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।
यस अघि पनि यस बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल) बीच नेपाल र भारतबीच अन्तरदेशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।
डिजिटल भुक्तानीका माध्यमहरुको नविनतम प्रयोग प्रति बैंक सँधै प्रतिबद्ध रहेको र नेपालभर रहेको शाखा सञ्जाल तथा मर्चेन्ट नेटर्वकको माध्यमबाट अन्तरदेशीय क्युआर भुक्तानीमा समेत अग्रणी सेवा प्रदायकको रुपमा स्थापित हुने विश्वास बैंकले लिएको छ ।
बैंकको देशभर १०३ वटा शाखा कार्यालयहरु र करिब ८ लाख ग्राहकहरु रहेको विज्ञप्तिमा उल्लेख छ ।
दार्चुलामा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु
धनगढी । बिहीबार बिहान दार्चुलाको शैल्यशिखर नगरपालिका ६ को बकजेबलामा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको छ ।
बिहानसम्म घटनास्थलबाट ६ जनाको शव संकलन गरिएकोमा अस्पताल पुगाइएका थप दुई जनाको पनि मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक(एसपी) राजिव बस्नेतले सबै मृतकको सनाखत भएको जानकारी दिए ।
उनकाअनुसार मृतक मध्ये दुई जना भारतीय नागरिक, दुई जना बैतडीको डिलासैनी गाउँपालिका र अन्य ४ जना शैल्यशिखर नगरपालिकाका छन् ।
दुर्घटनामा ४५ वर्षीय मोहम्द सफीर, १८ वर्षीय मोहम्द बसिर, शैल्यशिखर नगरपालिका ९ नकतड का ४५ वर्षीय दिलिप विष्ट, ३० वर्षीय वीरेन्द्र रावल, उनकी श्रीमती २८ शान्ति रावल, शैल्यशिखर(५ बस्ने ४० वर्षीया मिना लेखकको मृत्यु भएको एसपी बस्नेतले जनाए ।
यस्तै, बैतडीको डिलासैनी गाउँपालिका ५ नगराउँका १५ वर्षीय सुदिप बोहरा र ५० वर्षीय वीरेन्द्र बोहराको पनि मृत्यु भएको छ । दुर्घटनामा जिप चालक मालिकार्जुन गाउँपालिका ८ पस्तीका ३० वर्षीय सुनिल जोशीसहितका ५ जना घाइते छन् ।
बिहीबार बिहान ४ बजेतिर मालिकार्जुन धामबाट गोकुलेश्वरतर्फ जाँदै गरेको म १ ज ३३८ नम्बरको जिप दुर्घटनामा परेको थियो ।
राष्ट्रपति पौडेल दोहाबाट काठमाडौंका लागि प्रस्थान
कतार । राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहाबाट काठमाडौंका लागि प्रस्थान गरेका छन् । उनलाई महाद अन्तर्राष्ट्रिय विमानस्थलमा दोहास्थित नेपाली दूतावासका कार्यवाहक राजदूत कुमार राईका साथै उक्त दूतावासका पदाधिकारी र कतार सरकारका शिष्टाचार अधिकारीले बिदाई गरेका थिए ।
राष्ट्रपति पौडेल अजरबैजानको बाकुमा आयोजित जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन कोप(२९ मा सहभागी भएर बिहीबार साँझ कतारको दोहा आइपुगेका थिए ।
अजरबैजानका राष्ट्रपति इल्हम अलियेभको निमन्त्रणामा सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल नेतृत्वको प्रतिनिधिमण्डल यही कात्तिक २५ गते बाकुतर्फ प्रस्थान गरेको थियो ।
राष्ट्रपति पौडेलले कोप २९ अन्तर्गत गत मङ्गलबार उच्चस्तरीय सत्रको ‘विश्व नेताहरु जलवायु कार्य शिखर सम्मेलन’लाई सम्बोधन गर्दै हिमालको सुरक्षा भनेकै पृथ्वीको सुरक्षा हो भन्ने वास्तविकतालाई मनन गर्न विश्व समुदायलाई आह्वान गरेका थिए ।
राष्ट्रपति नेतृत्वको प्रतिनिधिमण्डलमा प्रथम महिला सविता पौडेल, वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी, राष्ट्रपतिका विज्ञ एवं सल्लाहकारसहित उच्चपदस्थ सरकारी अधिकारीहरु सम्मेलनमा सहभागी थिए ।
यही कात्तिक २६ देखि सुरु भएको कोप २९ आगामी मंसिर ७ गतेसम्म सञ्चालन हुनेछ । सम्मेलनको नारा ‘न्यू कलेक्टिभ क्वान्टिफाइड गोल (एनसिक्युजी)’ रहेको छ ।
आज रवि लामिछानेलाई भैरहवाबाट पोखरा पठाइने
बुटवल । पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई आज भैरहवाबाट पोखरा पठाइने भएको छ।
रुपन्देहीका एसपी रञ्जित राठोरले आज विमानस्थल खुलेपछि पोखरा पठाउने तयारी गरेको जानकारी दिए । भैरहवामा गौतमबुद्व विमानस्थल मौसम प्रतिकुलताका कारण ११–१२ बजे यता खुल्ने सम्भावना कम रहेको जनाईएको छ ।
मंगलबार कास्कीबाट भैरहवा ल्याइएका लामिछानेलाई बुटवलको सुप्रिम सहकारीको सङ्गठित ठगी आरोपमा बयान लिएको थियो । उनलाई अहिले जिल्ला प्रहरी कार्यालयमा रुपन्देहीमा नै राखिएको छ।
गण्डकी प्रदेश सभा सदस्य विमला गौचनको निधन
म्याग्दी । गण्डकी प्रदेश सभा सदस्य विमला गौचनको ६३ वर्षको उमेरमा निधन भएको छ ।
काठमाडौंको ग्राण्डी अस्पतालमा डेङ्गीको उपचारका क्रममा बुधबार राति उनको निधन भएको नेपाली कांग्रेस म्याग्दीका पूर्वसभापति तथा संविधानसभा सदस्य रेशमबहादुर बानियाँले जनाए ।
उनी नेपाली कांग्रेसबाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रदेश सभामा चुनिएकी थिइन् ।
उनको शव अस्पतालमै राखिएको तथा उनका छोरा अमेरिकाबाट आएपछि अन्त्यष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।
भारतीय ब्याटर शिखर धवन कर्णाली याक्समा अनुबन्ध
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा भारतका चर्चित ब्याटर शिखर धवनको प्रवेश भएको छ। उनलाई कर्णाली याक्सले अनुबन्ध गरेको छ। कर्णाली याक्सले बिहीबार भारतीय राष्ट्रिय टिमबाट तीनै फर्म्याट क्रिकेट खेलिसकेका धवनलाई अनुबन्ध गरेको जानकारी दिएको हो।
सम्झौतामा कर्णाली याक्सका मालिक झनक दत्त खनाल र खेलाडी धवनले हस्ताक्षर गरेका छन्। सम्झौता रकम भने गोप्य राखिएको छ। सम्झौता हस्ताक्षर कार्यक्रममा कर्णाली याक्सका मालिक खनाल र धवनसँगै भारतका लागि कार्यवाहक राजदूत डाक्टर सुरेन्द्र थापासहित कर्णाली याक्सका सह–मालिक गृहेन्द्र घिमिरेको उपस्थिति थियो।
३८ वर्षीय बायाँ हाते ओपनरले भारतसँगै आईपीएलको दिल्ली क्यापिटल्स, मुम्बई इन्डियन्स, सनराइजर्स हैदरावाद र पञ्जाव किंग्सबाट खेलेका छन्। उनी विश्व क्रिकेटकै सर्वाधिक सफल खेलाडीमा चिनिन्छन्। उनले सन् २०१६ मा हैदरावादलाई आईपीएल जिताएका थिए। त्यस्तै, भारतलाई एसीसी एसिया कपको उपाधि जिताएका छन्।
धवनलाई कर्णाली याक्समा अनुबन्ध गरेपछि मालिक झनक दत्त खनालले खुसी व्यक्त गरे । उनले नेपाली क्रिकेटकै लागि ठूलो उपलब्धि रहेको जनाए। ‘विश्व क्रिकेटकै चर्चित खेलाडीलाई नेपाली क्रिकेटमा समावेश गर्न पाउँदा सिंगो कर्णाली याक्स टिम नै खुसी छौं। यो हाम्रो र नेपाली क्रिकेटको लागि ठूलो उपलब्धि हो’ खनालले भने, ‘धवनको आगमनले कर्णाली याक्सलाई मात्रै नभएर नेपाली क्रिकेट र नेपाली खेलाडीलाई फाइदा पुग्ने विश्वास छ।’
भारतका लागि कार्यवाहक राजदूत थापाले शिखर धवनलाई कर्णाली याक्समार्फत नेपालमा भित्राउनु पर्यटन प्रवर्द्धनको लागि सुखद सन्देश रहेको जानकारी दिए। ‘शिखर धवनलाई भित्राउँदै पर्यटन प्रवर्द्धनमा कर्णाली याक्सले सुखद सुरुवात गरेको छ,’ थापाले भने।
आज पनि रवि लामिछानेसँग बयान लिइँदै
काठमाण्डौं । रास्वपाका सभापति रवि लामिछानेसँग रुपन्देही प्रहरीले आज पनि बयान लिइँदैछ ।
मंगलबार रुपन्देही ल्याइएका लामिछानेसँग बुधबार साढे ८ घण्टा लामो बयान लिइएको थियो । तर, बयान नसकिएकाले आज बिहान १० बजेदेखि फेरि लामिछानेसँग बयान लिइने प्रहरीले जानकारी दिएको छ ।
मंगलबार र बुधबार गरी उनीसँग १३ घण्टा लामो बयान लिइएको थियो ।
गोर्खा मिडिया नेटवर्क मार्फत सुप्रिम सहकारीको रकम अपचलन गरेको सम्बन्धमा जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीमा उनको बयान लिइएको हो ।
जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीका प्रमुख प्रेमराज पौडेल, इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी विजयराज पण्डितसहित अनुसन्धान अधिकृतहरूले लामिछानेको बयान लिएका हुन् । लामिछानेको बयान सम्भवतः आज सकिने प्रहरीको भनाइ छ । लामिछानेले मंगलबारको बयानमा जस्तै बुधबार पनि इनकारी बयान दिएको हुन् ।
जिल्ला सरकारी वकिलको कार्यालय भैरहवामा बयान चलिरहँदा सडकमा रास्वपाका नेता कार्यकर्ताहरूले आन्दोलन गरिरहेका थिए । भैरहवास्थित बर्मेली टोलमा रास्वपाका नेता कार्यकर्ताहरूले राष्ट्रिय झण्डा सहित प्लेकार्ड बोकेर नाराबाजी गरेका थिए । उनीहरूले राजनीति प्रतिशोधकै लागि निर्दोष व्यक्तिलाई थुन्न नपाइने भन्दै लामिछानेको रिहाइको माग गरेका हुन् ।
लामिछाने गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक हुन् । उनी पदमा रहेकै बेला सुप्रिम सहकारीबाट ठुलो रकम गोर्खा मिडिया नेटवर्कमा गएको देखिएको छ । यसअघि भएका अनुसन्धान प्रतिवेदन अनुसार सुप्रिम सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा १४ करोड २९ लाख रुपैयाँ गैरकानुनी रुपमा गएको छ । त्यसमध्ये २ करोड लामिछानेको नाममा निकालिएको यसअघिका अनुसन्धान प्रतिवेदनमा औँल्याइएको छ ।
बुटवलको राजमार्ग चौराहमा केन्द्रीय कार्यालय रहेको सुप्रिम सहकारीमा १० हजार ३ सय ९१ बचतकर्ता छन् । ती बचतकर्ताले जम्मा गरेको १ अर्ब ७ करोड मध्ये ८६ करोड १८ लाख रकम जीवी राईको समूहले अपचलन गरेको भन्दै सहकारीका १ हजार ८३१ बचतकर्ताले इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएका छन् । तीनै उजुरीका आधारमा करिब ९ महिना अघि देखि सुप्रिम सहकारी ठगी प्रकरणमा अनुसन्धान जारी छ ।
अनुसन्धानकै क्रममा प्रहरीले गत वैशाखमा सहकारीका संरक्षक तथा गोर्खा मिडिया नेटवर्कका अध्यक्ष जीवी राई, सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङ, सचिव दिपेश पुन,सहकारीका व्यवस्थापक सागर केशी लगायतका २८ जना विरुद्ध सरकारी वकिलको कार्यालय मार्फत मुद्दा दायर गरेको थियो ।
ती मध्ये सात जना वैशाखमै पक्राउ परेका थिए । अध्यक्ष गुरुङलाई पुर्पक्षकालागि थुनामा पठाइएको छ । सचिव पुन सहितका ६ जना धरौटीमा रिहा भए । जीवी सहितका १९ जना अहिले पनि फरार छन् ।
फरार १९ जना विरुद्ध जिल्ला अदालतले गत वैशाखमै पक्राउ पुर्जी गरी गरेको थियो । अनुसन्धानकै क्रममा गोर्खा मिडिया नेटवर्क प्रालिका संचालक, पदाधिकारी तथा सदस्यहरूको नाममा सुप्रिमबाट पैसा झिकेर गोर्खा मिडिया खर्च गरेको देखिएपछि रवि लामिछाने, पूर्व डिआइजी छविलाल जोशी लगायतका १२ जना विरुद्ध पनि जिल्ला अदालत रुपन्देहीले कात्तिक ८ मा पक्राउ पुर्जी जारी गरेको थियो ।
सोही मुद्दामा गोर्खा मिडियाका उपाध्यक्ष रहेका पूर्व डिआइजी छविलाल जोशीलाई यसअघि नै रुपन्देहीमा बयान गरेर पोखरा पठाइएको छ । पूर्व गृहमन्त्री समेत रहेका लामिछानेलाई भने मंगलबार भैरहवा ल्याएर बयान लिन सुरु गरिएको हो ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई थप प्रभावकारी बनाउने प्रधानमन्त्रीको दाबी
जुम्ला । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई थप प्रभावकारी रुपमा सञ्चालन गरी गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा दिइने दाबी गरेका छन् । प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रतिष्ठानका कुलपति ओलीले कर्णालीका जनताले आफ्नै ठाउँमा गुणस्तरीय स्वास्थ्य सुविधा पाउन थालेकामा खुसी व्यक्त गर्दै राकम कर्णालीमा सय श्यैयाको अस्पताल बनाउने प्रक्रिया सुरु भइसकेको अवगत गराए ।
प्रधानमन्त्री ओलीले प्रतिष्ठानमा आवश्यक सेवा, सुविधामा उपलब्ध नेपाल सरकार प्रतिबद्ध रहेको समेत जानकारी दिए । प्रतिष्ठानको परिकल्पनादेखि आफू जानकार रहेको र चुनौतीका बिच विगतमा आफू प्रधानमन्त्री हुँदा चिकित्सा शिक्षा आयोगको बैठकबाट स्वीकृति गराएर प्रतिष्ठानमा चिकित्सा कक्षा सञ्चालन भई पहिलो दीक्षान्तसम्म आइपुगेकामा खुसी व्यक्त गर्दै दीक्षित विद्यार्थीहरूलाई हरेक क्षेत्रमा सफलता हासिल गरी नयाँ नयाँ कीर्तिमान कायम गर्न शुभकामना दिए ।
“अभिभावकको लगानी, आशा र विश्वासका साथै तपाईँहरुको मेहनत र लगावका कारण आज यो सफलता हासिल भएको छ । यस सफलतालाई दूरदराजका जनताको गुणस्तरीय स्वास्थ्य सेवा दिन लाग्नुहोस् ।’’
दीक्षित विद्यार्थीलाई प्रधानमन्त्री ओलीको आग्रह थियो, “म खुसी व्यक्त गर्न चाहान्छु, कर्णाली अगाडि बढ्दैछ । कर्णाली र सुदूरपश्चिमका समेत गरी १३ जिल्लाका जनताले यहाँबाट स्वास्थ्य सेवा पाउनु असम्भव जस्तै ठानिएको सपना पूरा भएको अवसर हो । अब यसलाई थप प्रभावकारीरुपमा सञ्चालन गर्नु हामी सबैको दायित्व हो ।’’
संयुक्त राज्य अमेरिकाको हार्वर्ड मेडिकल कलेज सेन्टर फर प्राइमरी केयर र सिस्टम स्ट्रेन्थेनिङका निर्देशक प्रा डा क्रिस्टिन मसेङ्गर प्रमुख अतिथि रहेको समारोहमा जनस्वास्थ्य, नर्सिङ र चिकित्साशास्त्र विषयमा स्नातक र स्नातकोत्तर तहमा अध्ययन पूरा गरेका ५८ विद्यार्थीलाई दीक्षित भएका छन् । समारोहमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा डा अञ्जनीकुमार झालगायत सहभागी रहेका छन् ।
माओवादीको उकालो यात्रा सुरु भएको प्रचण्डको दाबी
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी विभाजनपछि सुरु भएको माओवादीको आरोलो यात्रा सकिएर अब उकालो लाग्न सुरु भएको दाबी गरेका छन् । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका नेताहरुलाई पार्टीमा स्वागत गर्दै उनले यस्तो धारणा राखेका हुन् ।
‘जनयुद्ध, शान्ति प्रक्रिया र २०६४ को संविधानसभा निर्वाचनसम्म आइपुग्दा माओवादी जनताको सबैभन्दा भरोसायोग्य र पहिलो पार्टी बनेको थियो’,अध्यक्ष प्रचण्डले भने, ‘तर विभाजनपछि सुरु भएको माओवादीको आरोलो यात्रा सकिएर अब उकालो लाग्न सुरु भएको छ, यो यात्रा रुपान्तरणसहित निरन्तर अघि बढ्ने छ ।’
उहाँले जनताले माओवादी एकताबद्ध भएको देख्न चाहेको र त्यसको वातावरण पनि बन्दै गएको जानकारी दिए । पार्टी एकताका विभिन्न दलगतरुपमा विभिन्न माओवादी घटकहरुसँग छलफल भइरहेको र नेता कार्यकर्ताको स्वस्फूर्त ध्रुवीकरण पनि चलिहरहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले जनयुद्धको तयारी, जनयुद्धको सञ्चालन र शान्ति प्रक्रियाको पनि मुख्य नेतृत्व हुनुको हैसियतले आफूले सबैलाई गोलबन्द गर्दै अघि बढ्ने जनाए ।
जनयुद्ध लडेका कयौं नेता कार्यकर्ता क्रान्ति भइहाल्छ कि भनेर बिद्रोह गरेर गएको उल्लेख गर्दै उनले भने, ‘क्रान्तिको खोजीमा निस्कनु तपाईहरुको गलत नियत थिएन तर क्रान्ति रहरले नभई एउटा प्रक्रियाले हुने भएकाले फेरि पनि क्रान्तिकारीहरुबीच ध्रुवीकरण र एकताको विकल्प छैन । सबै साथीहरु ढिलोचाँडो एक ठाउँमा हुने छौं, जनताले क्रान्तिप्रति गरेको विश्वास र सपना पूरा गर्न सबै मिलेर नयाँ प्रक्रियाबाट अघि बढ्ने छौं ।’
अहिले एकातिर माओवादी एकताको क्रम सुरु भएको र अर्कोतिर आफूले प्रधानमन्त्रीको रुपमा सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा थालेको पहलका लागि जनतामा माओवादी पार्टी र प्रचण्डप्रति विश्वास बढेको उल्लेख गर्दै उनले विभिन्न जिल्लाहरुमा जाँदा २०६४ कै झल्को आउने गरी जनआर्षण देखिन थालेको जनाए ।
सो क्रममा क्रान्तिकारी कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य डा. थारु ‘शेरमान’, लुम्बिनी प्रदेश सदस्यहरु वीरबहादुर बिक ‘संघर्ष’, तुकलाल पुन ‘यात्री’, माया थापा, नन्दकिशोर यादव र कपिलवस्तु जिल्ला सदस्य रामप्रसाद खनाल माओवादी केन्द्रमा प्रवेश गरेका थिए । कपिलवस्तुको मुख्य नेतृत्व माओवादी केन्द्रमा आएपछि अब जिल्लाका सबै नेता कार्यकर्ता जिल्लामा आयोजना हुने कार्यक्रममार्फत माओवादी केन्द्रमा सामेल हुने डा. थारुले जानकारी दिए ।
अध्यक्ष प्रचण्डको निवास खुमलटारमा भएको कार्यक्रममा माओवादी केन्द्रका लुम्बिनी प्रदेश इञ्चार्ज चक्रपाणि खनाल ‘बलदेव’को पनि उपस्थिति रहेको थियो ।