Page 2

सूर्यज्योति लाइफ इन्स्योरेन्सद्वारा २० प्रतिशत लाभांश घोषणा

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले २० प्रतिशत लाभांश घोषणा गरेको छ ।
सञ्चालक समितिको आज बसेको बैठकले आव २०८०, ८१ को नाफाबाट हाल कायम चुक्ता पूँजीको २० प्रतिशत नगद लाभांश (करसहित) प्रस्ताव गर्ने निर्णय गरेको जनाईएको छ ।
कम्पनीको हाल कायम चुक्ता पूँजी ५ अर्ब १ करोड १९ लाख ७७ हजार ७ सय ९७।४६ रुपियाँ छ ।
सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृति र आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीहरुले पाउने छन् ।

 

यू–१९ एसिया कप ः टस जित्दै नेपालले रोज्यो फिल्डिङ

काठमाडौं । एसीसी यू–१९ एसिया कपमा नेपालले टस जित्दै फिल्डिङ रोजेको छ।
यूएईको सारजहाँ क्रिकेट स्टेडियममा आफ्नो पहिलो खेलमा नेपालले टस जित्दै श्रीलंकालाई पहिला ब्याटिङको निम्तो दिएको हो।
नेपाल एसिया कपमा समूह बी मा रहेको छ। नेपाल रहेको समूहमा श्रीलंका, बंगलादेश र अफगानिस्तान रहेका छन्।
नेपाली टोली हेमन्त धामीको कप्तानीमा मैदानमा उत्रिँदैछ।

सरकारी वकिलको कार्यालयमा लामिछानेको बयान सुरु

काठमाण्डौं । सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि पोखराबाट काठमाडौं ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई बयानका लागि काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालय लगिएको छ ।
कार्यालयमा सरकारी वकिलको रोहबरमा अनुसन्धान अधिकृतले रविसँग बयान लिइरहेका हुन् । उनलाई बबरमहलस्थित सरकारी वकिलको कार्यालय लगिएको हो ।
बिहीबार साँझ काठमाडौं ल्याइएका लामिछानेलाई राति भद्रकालीस्थित प्रहरी कार्यालयमा राखिएको थियो ।
कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको अपचलनमा लामिछानेविरुद्ध २ मंसिरमा पक्राउ पुर्जी जारी भएपछि पूर्वउपप्रधान एवं गृहमन्त्रीसमेत रहेका लामिछानेलाई थप अनुसन्धानका लागि बयान लिन थालिएको हो । उनीसँगै पक्राउ पुर्जी जारी भएका अर्का आरोपी नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई भने बयान लिएर पोखरा फिर्ता पठाइसकिएको छ ।
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा २ कात्तिकमा पक्राउ परेका लामिछाने कास्की प्रहरीको हिरासतमा रहँदै आएका थिए । उनीमाथि अदालतले पटक–पटक म्याद थपेर अनुसन्धान गर्न अनुमति दिँदै आएको छ ।
लामिछानेमाथि रुपन्देही र चितवनमा पनि मुद्दा परेको छ । रुपन्देहीमा उनको बयान सकिएको छ भने चितवनमा बाँकी छ ।

प्रधानमन्त्रीसँग ८७ जना चीन भ्रमणमा जाने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणमा ८७ सदस्यीय टोली सहभागी हुने निश्चित भएको छ ।
३९ जना सरकारी र ४८ जना निजी क्षेत्रका व्यक्ति प्रधानमन्त्री ओलीसँग चीन भ्रमणमा जाने टुंगो मन्त्रिपरिषद् बैठकले लगाएको हो ।
बिहीबार साँझ सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले भ्रमण टोलीका सदस्यको टुंगो लगाएको जनाईएको छ ।
प्रधानमन्त्री ओली नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै मंसिर १७ गते चीन प्रस्थान गर्नेछन् । प्रधानमन्त्रीको चीन भ्रमण पनि मन्त्रिपरिषद्को आजकै बैठकले स्वीकृत गरेको हो ।

लामिछानेलाई बयानका लागि काठमाडौँ ल्याइयो

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई बयानका लागि पोखराबाट काठमाडौँमा ल्याइएको छ । कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनबारे बयान लिन उनलाई बुद्ध एयरको उडान मार्फत काठमाडौँ ल्याइएको हो । लामिछानेविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको छ ।
सो सहकारीको रकम अपचलनबारे पूर्व डीआईजी छविलाल जोशीसँग प्रहरीले बयान लिइसकेको छ । स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा संलग्न आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–६ घर भएका कमल लामा र काठमाडौँ महानगरपालिका–३१ घर भएकी सुनिता नेवा छिन् ।
कारागार कार्यालय कास्कीमा थुनामा रहेका कुमार रम्तेललाई पनि काठमाडौँमा ल्याएर बयान लिइएको छ । ओखलढुङ्गा घर भएका रम्तेल स्वर्णलक्ष्मी सहकारीका पनि कोषाध्यक्ष हुन् । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष जीवी राई हुन् । रकम अपचलनबारे अनुसन्धान गर्न ६४५ जना बचतकर्ताले प्रहरीमा जाहेरी दिएका छन् । स्वर्णलक्ष्मीबाट १ अर्ब ११ करोड निक्षेप अपचलन भएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।
२७ हजार निक्षेपकर्ताले सो सहकारीमा २ अर्ब ६५ करोड ९५ लाख जम्मा गरेको सहकारीको रेकर्डमा भेटिएको छ ।

ज्योति विकास बैंक र इ रिभल्भिङ इन्डियन कुजिन रेस्टुरेन्टबीच संझौता

काठमाडौं । ज्योति विकास बैंकले काठमाडौँस्थित इ रिभल्भिङ इन्डियन कुजिन रेस्टुरेन्टमा आफ्ना ग्राहकहरूलाई १० प्रतिशतसम्मको विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ।
यस सम्झौतापछि ज्योति विकास बैंकका ग्राहकहरूले उक्त रेस्टुरेन्टमा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने जनाईएको छ । स्वादिष्ट परिकार, आकर्षक वातावरण, उत्कृष्ट आतिथ्य सेवा र हरेक ४६ मिनेटमा एक सुस्त घुमाउरो घुम्ने विशेषताका कारण, काठमाडौँको न्युरोडमा रहेको यो रेस्टुरेन्टले ग्राहकहरूको मन जित्दै विशिष्ट गन्तव्यको रूपमा आफूलाई स्थापित गरेको छ।
हालै बैंकले काठमाडौँस्थित अचार घर, नेपाल हाउस रेस्टुरेन्ट एन्ड बार र र महोत्सव एन्ड बारमा १० प्रतिशतसम्मको छुट प्रदान गर्ने सम्झौता गरेको छ। यसका साथै, बैंकले काठमाडौँस्थित प्रख्यात स्वेच्छा ट्रेडर्समा १८ प्रतिशतसम्मको विशेष छुट प्रदान गर्ने सम्झौता पनि गरेको छ।
बैंकले अन्नपूर्ण केबल कारमा १० प्रतिशतसम्मको विशेष छुट प्रदान गर्ने सम्झौता पनि गरेको छ। ज्योति विकास बैंकले ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै, देशका अन्य विभिन्न व्यवसायहरूसँग निरन्तर सहकार्यसहित ग्राहकहरूलाई विशेष छुट र सुविधा प्रदान गर्दैआएको छ।

ग्लोबल आईएमई बैंक एनवाईईएफ स्टार्टअप अवार्ड्स ४.० को ‘ओरिएन्टेसन’ सम्पन्न

काठमाडौँ । नेप्लिज योङ ईन्टरप्रेनियर्स फोरम (एनवाईईएफ) काठमाडौं च्याप्टरले ग्लोबल आईएमई बैंक एनवाईईएफ स्टार्टअप अवार्ड्स ४.० का लागि ओरिएन्टेसन कार्यक्रम सम्पन्न गरेको छ ।
पाटन कलेज फर प्रोफेशनल स्टडिजमा सम्पन्न भएको उक्त कार्यक्रमले नेपालमा उद्यमशीलताको सम्भावनालाई मजबुत बनाउने आयोजकले जनाएका छन् ।
यस वर्षको प्रतियोगिताका लागि नेपालभरका १७० भन्दा बढी स्टार्टअपहरु दर्ता भएका छन् । उक्त ओरिएन्टेसनले प्रतियोगिताको प्रक्रिया, मेन्टरशिप र वृद्धिका अवसरहरूका बारेमा विस्तृत जानकारी प्रदान गरेको थियो ।
कार्यक्रमको सुरुवात एनवाईईएफ काठमाडौं च्याप्टरका अध्यक्ष अभिमन्यु गोल्छाको स्वागत सम्बोधनबाट भएको थियो । जसमा उनले स्टार्टअपहरुलाई स्केल गर्न र सफल बनाउन यस्ता प्लेटफर्महरूको महत्वलाई जोड दिएका थिए ।
कार्यक्रमका अध्यक्ष सन्दीप शर्माले प्रतियोगिताको संरचनाबारे विस्तृत जानकारी प्रदान गर्दै मेन्टरशिप, नेटवर्किङ र पुरस्कार जित्ने अवसरहरूलाई प्रस्ट पारेका थिए । कार्यक्रमको समापन एनवाईईएफ नेशनल गभर्निङ काउन्सिलकी कार्यकारी सदस्य बिलाषा श्रेष्ठको सम्बोधनबाट भएको थियो ।
कार्यक्रमबारे थप प्रकाश पार्दै बिटुबी सेसनले सहभागीहरूलाई समान विचारधाराका उद्यमीहरू र सम्भावित साझेदारहरूसँग नेटवर्किङ गर्ने अवसर पनि प्रदान गरेको थियो । हाई–टी सेसनका साथ समापन भएको कार्यक्रममा अनौपचारिक अन्तरक्रिया र नेटवर्किङका लागि पनि उपयुक्त वातावरण बनेको थियो ।
ग्लोबल आईएमई बैंक एनवाईईएफ स्टार्टअप अवार्ड्स ४.० केवल एक प्रतियोगिता मात्र होईन । यो ५ लाख रुपियाँँभन्दा माथिको नगद पुरस्कार, विशेषज्ञ परामर्श र लगानीकर्तासँगको सम्पर्क बढाउने एक प्रगतिशील प्लेटफर्म पनि हो । यस वर्षको बलियो सुरुवातले अर्को सफल संस्करणको संकेत गरेकोे छ ।
प्रतियोगिताका आगामी चरणहरू र थप जानकारीका लागि एनवाईईएफका सुचनाहरु निरन्तर अवलोकन गर्न फोरमले अनुरोध गरेको छ । नेपाली स्टार्टअपहरूको महत्वाकांक्षालाई निरन्तर समर्थन गर्ने प्रतिबद्धता एनवाईईएफले व्यक्त गरेको छ ।

शेयर बजारमा ८.३० अंकको गिरावट, साढे ८ अर्बको कारोबार

काठमाडौं । निरन्तर बढिरहेको शेयर बजारमा आज भने करेक्शन देखिएको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ८.३० अंकले घटेको हो । ०.३० प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २७४८.०५ अंकमा झरेको हो ।
समग्रमा बजार घटे पनि आज विकास बैंक, जीवन बीमा र ट्रेडिङ समूह क्रमशः १.०५, ०.४७ र ९.२५ प्रतिशतले बढेका छन् । बाँकी समूह भने राताम्मे भए ।
आज ३०७ कम्पनीका १ करोड ६६ लाख ६३ हजार ३ सय ५५ कित्ता शेयर किनबेच हूँदा ८ अर्ब ५४ करोड ५५ लाख २५ हजार ३ सय ७३.१३ रुपियाँ बराबरको करोबार भएको छ ।
बजार घटे पनि विशाल बजार कम्पनी, वीन नेपाल लघुवित्त, सपोर्ट माइक्रोफाइनान्स, पाँचथर पावर र एलआईसी नेपालका लगानीकर्ताहरुले क्रमशः १०, १०, ९.९८, ८.३३ र ८.११ प्रतिशतले नाफा कमाएका छन् ।
त्यस्तै मानुषी लघुवित्त, अपर साङ्गे हाइड्रो, कर्णाली डेभलपमेन्ट बैंक, सुपर मादी हाइड्रो र गुराँस लघुवित्तका लगानीकर्ताहरुले सबैभन्दा बढी १०, ८.६०, ६.८४, ५.२७ र ४.८८ प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज एक्सेल डेभलपमेन्ट बैंकको उच्च कारोबार भएको छ । उक्त बैंकको ३१ करोड ८ लाख ६४ हजार ७ सय ३७.१० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।
साताको पहिलो दिन आइतबार १३.०३ अंकले बजार घट्दा ७ अर्ब ७२ करोड ८८ लाख ६१ ह्जार २ सय ५०.७३ रुपियाँ, सोमबार १५.८३ अंकले बजार बढ्दा ६ अर्ब ३४ करोड ५८ लाख ९ हजार ५ सय ९७.८४, मंगलबार ३३.४१ अंकले बजार बढ्दा ७ अर्ब ४४ करोड ९८ लाख ९८ हजार ९ सय ८७.८९ रुपियाँ र हिजो बुधबार ३९ अंकले बजार बढ्दा ९ अर्ब ३१ करोड २९ लाख ३४ हजार ८ सय ४०.३६ रुपियाँ बराबरको कारोबार भएको थियो ।

 

आज परराष्ट्रमन्त्री राणा चीन जाँदै

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवा आज चीन जाने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको मंसिर १७ गतेदेखि हुने भ्रमणको तयारीका लागि उनी आज चीन जान लागेकी हुन् ।
परराष्ट्रमन्त्री राणाले शुक्रबार चिनियाँ समकक्षी वाङ यीसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको मन्त्रालयले जानकारी दिएको छ ।
भेटमा प्रधानमन्त्रीको भ्रमणको तयारीलगायत दुई देशबीचको आपसी हितका विविध विषयमा छलफल हुने जनाईएको छ ।
गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्रमन्त्री राणाको चीन भ्रमण स्वीकृत गरिसकेको छ ।

आज साँझ पाँच बजे मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषद् बैठक आज साँझ बस्दैछ । बैठक साँझ पाँच बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्न लागेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबारे निर्णय गर्न बैठक बस्न लागेको हो । बैठकमा चीन भ्रमणका एजेन्डाबारेमा पनि छलफल हुनेछ ।
प्रधानमन्त्री ओली यही मंसिर १७ गते चीन भ्रमण जाने तयारीमा छन् । प्रधानमन्त्री केपी शर्मा ओली ४० सदस्यीय टोलीको नेतृत्व गर्दै चीन भ्रमणमा जाँदैछन् ।
त्यसअघि भ्रमणको तयारीका लागि आजै दिउँसो परराष्ट्रमन्त्री आरजु राणा चीन जाँदैछिन् । मन्त्री राणाले शुक्रबार (मंसिर १४) चिनियाँ विदेशमन्त्री वाङ यीसँग छेङ्दुमा भेटवार्ता गर्ने तय भएको छ ।
भेटमा प्रधानमन्त्रीको भ्रमण दुई देशको आपसी हितका विविध विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

लेटेष्ट समाचार

हमासको ग्रिनेड फालेर साथीहरूलाई जोगाए, आफू युद्धभूमिमै बिलाए विपिन

इजरायल र हमासबीचको युद्ध दुई वर्षपछि अन्त्य भएपछि सोमबार हमासले २० इजरायली बन्धक मुक्त गर्‍यो। गाजामा बन्धक बनाइएकाहरुको परिवारमा पुनर्मिलन हुँदाको क्षणले इजरायलमा खुसीयाली छ।...

‘जेनजी विद्रोह’पछि एमाले र माओवादीद्वारा मंसिरमा महाधिवेशन घोषणा, माैन कांग्रेस

काठमाडौं । भदौ २३ र २४ गतेको ‘जेनजी विद्रोह’पछि देशको राजनीतिक परिदृश्य उथलपुथल बनेको छ । यसबीच, दुई ठूला कम्युनिस्ट दल—नेकपा एमाले र नेकपा...

ओली–लेखकविरुद्धको जाहेरी प्रहरीबाटै सीधै जाँचबुझ आयोगमा

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरी प्रहरीमार्फत दर्ता नभई सीधै जाँचबुझ आयोगमा पुगेको छ। जेनजी आन्दोलनका क्रममा...